मनै फुरूङ्ग हुने चार्डपर्वको समय सकिँदै थियो। मौसम पनि बदलिँदै थियो। हल्का चिसो बढिसकेको!
माछापुच्छ्रे हिमालको छाया फेवातालमा पर्ने पोखराको सुन्दरतामा तिहारमा बालिने बिजुली बत्ती र दियोको झिलीमिलीले निखार थपिरहेको थियो। सुनमा सुगन्ध थपिए जस्तै के! मनै लोभ्याउने।
हामीलाई पोखराबाट सूर्योदयसँगै सूर्यास्तसम्म हेरिरहने सुन्दर माछापुच्छ्रेको मुस्कानले सधैं लोभ्याइरहेको हुन्थ्यो। त्यो हिमालको मुस्कान उसैको काखमा रहेर हेर्ने रहर पहिले पनि नपलाएको होइन। तर त्यो अवसर पाउन पहाडको उकालो चढ्नु पर्ने थियो। तर आँट गर्न सकिरहेको थिइनँ।
भाइटीकाका दिन साँझ सधैं भेटिरहने आत्मीय दाजुहरूसँग भेट भो। कफी गफ, गफै गफ। भोलि बिहान उकालो चढ्ने गरी यात्रामा जाने योजना बन्यो। मझेरी रिसोर्ट लेकसाइडमा खाना खाइयो। फर्कँदै गर्दा दीपक पौडेल दाइको सहायतामा आवश्यक सामान किनी घर लागेँ।
अर्जुन खनाल दाइले अरूण गिरीलाई रत्नचोकबाट म र विक्रम पाण्डेलाई नयाँ बजार, रवि खत्रीलाई आलुमाइला चोकबाट पिकअप गर्नुभयो। यसरी बिहान ९ बजे विन्ध्यावासिनी मन्दिरलाई दाहिने पारि हरिचोक हुँदै सिमपानीमा प्रकाश गुरूङ दाइलाई पिकअप गरियो।

चिसो बतास चल्दै थियो। हेम्जाको मनमोहन सडक हुँदै मिलनचोक पुग्यौं। कफी पिउन माथि पाइएला नपाइएला मिलनचोकमा कफी पिउन बस्यौं। कफीसँगै यात्राको तयारी पूरा गरी लाचोक, घाचोक हुँदै सरिपाखा पुग्यौं। हाम्रो यात्राको अन्तिम सडक विन्दु यहीसम्म हो। हामीले पनि गाडी यही राख्यौं।
अब यात्राको चुनौती म र विक्रम दाइलाई रह्यो। गाडीमा त सजिलो नै थियो तर अब झोला पनि ओजन थियो। चुनौती झोला होइन, चुनौती हाम्रो पहिलो ट्रेक थियो। हातमा लौरी, काँधमा झोलासँगै अब पैदल यात्रा सुरूआत गर्यौं।
हामी आज दुरीले छोटो तर उकालो भनौं या अप्ठ्यारोले अलि कठिन ट्रेकको रूपमा स्थापित गरिरहेको खुमैडाँडा सम्मको यात्रामा थियौं। खुमैडाँडा कास्की माछापुच्छ्रे गाउँपालिकास्थित रहेको महत्वपूर्ण ट्रेक हो। तपाईंहरूलाई पनि मेरो र हाम्रो समूहले यस ट्रेकमा पाएको अनुभव शब्दमा केलाउने कोसिस गरिरहेको छु।
ट्रेकको अनुभव गरिसक्नु भएका दाइहरू अगाडि बढ्न थाले, हामी पछाडि।
केही समय अगाडिदेखि शारीरिक व्यायाम थिएन र यसरी यात्रामा हिँड्दा 'कार्डियोभास्कुलर स्ट्रेस' ल्याउन सक्थ्यो। (काडियोभास्कुलर भनेको धेरै समयदेखि शारीरिक कसरत नगरेको अवस्थामा शरीरलाई पर्ने बाह्रय दबाबमा आउने शारीरिक समस्या हो)। जसले केही समयका लागि गाह्रो महसुस हुन्छ भन्ने कुरा त्यो बेला महसुस पनि भयो।

बाटो उकालै उकालो। उकालो उक्लदै गर्दा अलि तर्पाई (समथर) बाटो देख्दा उधुम खुसी लाग्ने। शरीरलाई आराम मिल्ने। तर फेरि खुसी मर्थ्यो। आउँथ्यो उकालो।
'मेरो नेपाल मनमा छ आँखामा, जाँदैछु म हिमालको काखैमा' अर्जुन दाइ गीत गाउन थाल्नुभो। अगाडिका साथी गीत सुनेर रोकिए। हामी अलि छोटो पाइला चलायौं। अनि रवि दाइको ठट्यौउली। गाउन नजान्नेको नाच। यात्रा रोचक बन्यो। अन्य धुमन्तेहरू पनि रमाइलो मान्दै थिए। २ घण्टाको हिँडाइपछि हिले आइपुग्यौं। पेटमा मुसा कराउँदै थियो। खाना अर्डर गरियो। यो थकाइ मार्न र भोजनका लागि उपयुक्त स्थान हो।
दसैंपछि सुस्ताएको आन्तरिक पर्यटक तिहारपछि बढेका रहेछन्। हिलेमा भरिभराउ थियो। एक घण्टाको पर्खाइपछि खाना आयो। शरीरमा अलि तागत थपियो। र लागियो फेरि त्यस्तै उकालो। असिना पसिना।
फर्किंदै गरेकाहरूलाई के कति समय लाग्छ सोध्यौं। कसैले एक कसैले दुई घण्टा भन्थे। मानिस अनुसार फरक फरक समय। उनीहरूले भनेको समयमा त अलिकति पनि हिँडेझैं नलाग्ने। सजिलो र नजिक नबताउने। डर माथि डर थपिरहने।
यो त सजिलो हो अब उकालो आउँछ भन्थे नभन्दै यात्राको एक गाह्रो ठाउँ आइपुगियो। कछुवा ताल, पानीको सुर्की, चकलेटको मिठासको साथ अघि बढिरह्यौं।
उपत्यकामा रहेका हामीलाई कल्पनाभन्दा ठूलो लाग्थ्यो वातावरण। प्रकृति किन यति प्यारो छ। किन यति सुन्दर छ। यदि मानिसहरू पनि सबै प्यारा र सुन्दर भए मानवता कस्तो हुने थियो होला। पृथ्वी कति शान्त हुने थियो होला। खोलाका, झरनाका कलकल बगेका पानी, चराचुरूङ्गीको आवाज। पहाडहरू, चिसो सिरेठो। थकान त दोस्रो कुरा मन आन्नतित थियो।
हिलेदेखि लगभग २ घण्टापछि चिचिम्ले आइपुियो। हिलेपछि आराम गर्ने ठाउँ चिचिम्ले रहेछ। यो पनि खाना, नास्ताको अर्को स्थान रहेछ। साँच्चिकै बाह्य पर्यटक हाम्रा लागि पर्याप्त नआएका होलान् तर आन्तरिक पर्यटकहरूको कमी पक्कै भएको रहेनछ। १६ देखि ६०, ६५ उमेरकाहरू भेटिन्थे। कलिला उमेरका एक समूह हामीसँगै थिए। भर्खर छोरालाई विदेश पठाएर ट्रेक आउनु भएका रवि दाइ तिनीहरू देख्दा भावुक हुन्थे। मेरा छोरा उमेरका भन्नु हुन्थ्यो। उनीहरू पनि अंकल भन्थे। हामी जेनजी भन्दै ठट्याउला गर्थ्यौं। हुन त अन्य समूहहरू पनि भेटिएका थिए। यात्रामा सबै कहाँ साथी हुन्छन् र!
नयाँ पुस्ताका उनीहरूसँग भलाकुसारीले हामीलाई पनि गजब लागिरहेको थियो। ओहो! पाँच बजिसकेको संकेत घडीले गरेछ। चिचिम्लेबाट करिब दुई घण्टाको यात्रापछि रेस्ट क्याम्प आइपुग्यौं। चिसो बढ्यो अब अलि तातो लुगाको तयारी भो। प्रकाश दाइको चिनजानको होटल रहेछ। दाइले आफै कफी बनाएर ल्याउनु भो। तातो कफी केही बिस्कुट खाइयो।
कफीसँगै तातो लुगाले शरीर तात्यो। बाटोले केके तताउने हो। भोग्न बाँकी नै थियो। साँझ झिमिक्क हुँदै थियो। हिँड्दै थियौं। रात त पर्यो। यात्राको दोस्रो अप्ठ्यारो उकालो आइपुग्यौं। हामी चार जना अगाडि हिँड्यौं तर अरूण र अर्जुन दाइ भने सँगै आएका जेनजीहरूलाई लिएर आउँदै थिए।
उनीहरूलाई ट्रेक गाह्रो भइरहेको थियो। दाइहरूले मानवताको नाताले उनीहरूको झोला समेत बोकेर सहयोग गर्नुभएको रहेछ। चिसो भएर पनि होला, पहिलो ट्रेक भएर पनि होला। यात्रा कठिन नै भएको थियो। दुई घण्टापछि खुमै डाँडा बस्ने ठाउँ पुग्यौं।

यहाँ ८ वटा बस्नका लागि साना ठूला होटलहरू छन्। हामी फिस्टेल कटेजमा बस्यौं। यो हामीसँगै जानुभएको प्रकाश दाइ लगायत अरू साथीहरूको संयुक्त लगानीमा रहेको कटेज हो। अन्यभन्दा सेवा र संख्यामा सेवा दिन सक्ने स्तरको रहेछ।
मोबाइलमा घरिघरि कतै कतै टावर आउने। इन्टरनेट यति खेर बन्द रहेछ। जेनतेन घरसम्म खबर पुर्यायौं। ३२०० उचाइमा पहिलो पल्ट पुगेँ। शरीरले केही फरक महसुस गरिरहेको थियो। तातो हुने कपडा र आगोले शरीरलाई आराम गराउने प्रयास गरिरहेँ।
एकछिनपछि जेनजीहरू पनि त्यही बस्न आइपुगे।
'खाउँ त भने सुन्तला पानी नखाऊँ भने दुवैको ज्यान जाने'
ठाउँ र परिस्थिति हेरेर टुक्का निकाल्न कला भएका अर्जुन दाइ गीत निकाल्न थाल्नुभो। अरूण र रवि दाइ मादल समाते, म खैजडी। विक्रम दाइ नाच्नमा पर्नुभो। ओहो! यो यात्रामा दीपक दाइलाई धेरै सम्झियो। जहाँ अप्ठ्यारो र रमाइलो हुन्थ्यो उहाँको अनुपस्थितिले मन खिन्न हुन्थ्यो। दोहोरी गाइयो। नाचियो। खाना खाई। आराम गर्ने तर्फ लागियो।
सुरूमा निद्रा पर्ने सकेन। मध्यरात तिर निदाएछु। समूहमा धुर्ने साथी भएको पीडा पनि भोगियो।
रमाइला मान्छेहरू भएपछि यात्रा रमाइलो हुन्छ। आफूलाई निद्रा नलागेका कारण रवि दाइले चार बजे नै उठाइ दिनुभो। उठेर नि ठिकै भो। सूर्योदय हेर्न कोर्चन डाँडा पुग्यौं। मोबाइलको लाइट बाल्दै हिँड्यौं। बिहानै बाटो खचाखच थियो। हाम्रो समूह पनि भीडभाडमा छुट्यौं।
नेटवर्क नभएको कारण सम्पर्क थिएन। दुई घण्टाको यात्रापछि कोर्चन पुग्यौं। सूर्योदय हेर्यौं। सूर्योदयसँगै माछापुच्छ्रे हिमाललाई पहिलोपल्ट आमुने सामुने भएर दर्शन गरियो। माछापुच्छ्रेको काखमा थकान बिसायौं। पोखराबाट देखेको हिमालको आज म काखमा थिएँ। कति सुन्दर हिमाल, कति अटल। सधैं मुस्कुराइरहने। यस्तै बन्न पाए!
हिमालसँगै त्यहाँको अनुभूत प्रकृतिसँगका सम्झनाहरू कैद गरियो। ३७०० उचाइमा जीवनको रमणीय सम्झना राखियो। ती ठूला ठूला ढुंगाहरू। ढुंगैको पहाडमा हिउँले ढाकिएर बनेको हिमाल। वरपर पहाडहरूले घेरिएको। सुन्दर भूमि। कति लोभलाग्दो। कसरी शब्दमा कैद हुन्छन् होला र ती सुन्दरताहरू, ती पलहरू। हामी त फोटो खिच्ने, रमाउने गरिरहेका थियौं तर फोटो खिच्न सिपालु अरूण दाइ चाहिँ सबैको फोटो खिचिदिन भ्याइनभ्याई थियो।
सँगै निस्किएका हामीमध्ये बिक्रम र रवि दाइ सम्पर्क बाहिर हुनुभयो। खोजी कार्य सुरू भयो। तर अँध्यारोमा अघिअघि हिँडिएका कारण उहाँहरू अझै माथि पुग्नु भएछ। बल्ल बल्ल नेटवर्क लागेको थियो कुरा पूरा नहुँदै काटियो। भन्ने र सुन्ने फरक परेर हामीलाई पनि उहाँहरूले धेरै खोज्नु भएछ, पछि आइपुग्नु भयो। यहाँका अधिकाँश होटल बन्द थिए। अलि तल पानीसम्म पिउने सानो होटल देखियो। पानी पियौं।
पुन: होटल आयौं। नास्ता पानी गर्यौं। कफी पियौं। प्रकाश दाइसँगै भएको कारण आफ्नै घरझैं भयो। नास्ता गर्दै हराउने, खोज्नेहरूबीच रमाइलो भो। के रमाईलो भन्नू! जोर कि तोर भो। हिजो आएका सबै लगभग फर्किसकेका थिए। तर हामी आज पनि यहीँ नै बस्ने योजनामा थियौं। गफगाफ गरियो। खाना खाएर केही समय सबै जना आराम गर्नतर्फ लाग्यौं। दिउँसो अलि घाम देखा पर्यो। घाम ताप्दै मिठा गफ चले। एकछिनमा नै घाम देखिन्छ छिनमै तुवाँलोले ढाकिन्छ।

बिस्तारै नयाँ यात्रीहरूको आगमन हुँदै थियो। फिस्टेल कटेज हिजो बेलुकाको जस्तो खचाखच भरिँदै थियो। दिउँसो खाली भएको यो डाँडा राति भरिभराउ हुन्थ्यो। गफ गर्यो। तास खेल्यौं। नयाँ यात्रीहरूसँग भलाकुसारी गर्यौं। साँझ पर्यो। आगो बाल्यौं। आगो वरपर बसेर आज पनि हिजोझैं कला र गला भएकाहरूले वातावरण रमणीय बनाउँदै गयौं। अन्य मानिसहरू पनि लय मिलाउँदै थिए।
'आधिखोला उल्लेर आयो, आउने थिन मायाले बोलायो' बुटवलबाट आउनु भएकी दिदीसँग अर्जुन दाइको दोहोरी चल्यो।
'लेकाली मायाको चिनो निरमसी खनेर ल्याइदिनु' भाका हाल्दै कालुराम दाइले पनि थप माहोल तताइरहनु भएको थियो।
कालुराम होटल सञ्चालक र खच्चडमा सामान ओसार पोसार गर्ने व्यवासायी हुन्। उहाँमा गाउने प्रतिभा साह्रै उत्कृष्ट छ। यो भीर पाखामा उहाँले शव्दहरू परिचित गराइरहनु भएको छ।
हाम्रा धेरै जिज्ञासका उहाँ उत्तरकर्ता हुनुहुन्थ्यो। गोठ बस्दा जाडो हुने भएर गुरूङ भाषामा खुनामै भनियो। पछि नेपालीकरण हुँदा चिसो डाँडा अर्थात् खुमैडाँडा रहेको कुरा पनि बताउनु भयो।
हामी मात्र होइन, हामीसँग यात्रीहरू रमाइरहनु भएको थियो।
सौर्य ऊर्जाको प्रयोग गरी उज्यालो तथा विद्युतीय प्रयोग हुने भएको कारण निश्चित समय चार्ज गर्न पाइने रहेछ। मोबाइल चार्ज गर्यौं। खाना, रमाइलो पछि हामी आराम गर्नतर्फ लाग्यौं।
बिहान कोही छिटो उठ्यौं। कोही ढिला। हिजो सूर्योदयसँग बाँकी रहेका कुरा कैद गरियो। नास्ता गरी अब हामी फर्किने तयारी गर्यौं। खर्च भरपाइ गर्यौं। सरसामान ढुवानी गर्न अप्ठ्यारोको कारण यहाँको खर्च महङ्गो लाग्छ। सामूहिक होटल संचालक सहित सम्झना कैद गर्यौं।
फेरि लौरो र झोला। तर आज ओरालो बाटो। अस्ति त्यत्रो समय लागाएर हिँडेको बाटो झर्दा त कति छिटो लाग्ने। अरूण दाइको खुट्टामा समस्या पर्यो। उहाँसँगै हामी हिँड्यौं।
अस्ति झैं हिलेमा खाना खायौं। लौ हामीभन्दा दुई घण्टापछि हिँडेका कालुराम भेट भो। हामीलाई जिस्काउँदै बल्ल यहाँ भन्दै अगाडि लागे।
छिटो हिँड्ने अगाडि गएर बस्यौं। ढिला हिँड्ने बिस्तारै आए। सरिपाखा आएर महत्वपूर्ण फोन गर्यौं। ढिला आउनेहरूको प्रतीक्षा गर्यौं। काक्रा किन्यौं। यात्रामा सारथी बन्न छुटेका दीपक दाजुलाई मर्दीसम्म निमन्त्रणा गरियो।
सरिपाखादेखि पैदल यात्रा टुङ्गायौं। गाडीमा मर्दी पुग्यौं। यहाँ दीपक दाइ पनि आउनु भो। सरिपाखामा किनेको काक्रा खायौं। यताको चिसो यतै फाल्न मर्दी खोलाको लोकल माछाको सुप खायौं।
घर पुग्दा तेस्रो दिन रात नै परिसकेको थियो।