सुदूरपश्चिम नेपालको बाजुराको अति रमणीय र प्राकृतिक परिवेशमा अवस्थित बडिमालिका मन्दिर र त्रिवेणी पाटनको भिडिओ युट्युबमा हेरेपछि केही वर्षअघिदेखि नै त्यहाँ घुम्न जाने ठूलो रहर जागेको थियो।
काठमाडौंबाट निकै टाढा पर्ने भएकोले जाने साथीहरू नमिल्दा रहरमै सीमित थियो। यसपालि भने एक जना दाजुसँग कुरो मिलाएर २०८१ साल भदौ १ र २ गते हुने बडिमालिका मेलामा जाने पक्कापक्की भयो। २०८१ साउन २८ गतेको काठमाडौंंदेखि बाजुरा सदरमुकाम मार्तडीको बस टिकट काटियो अनि झोलातुम्बा बोकेर बाटो तताइयो।
२८ गते सोमबार दिउँसो ११:२२ बजे कलंकीबाट बस चढ्यौं। राति करिब १०:३० बजेतिर ड्राइभर दाजुले बुटवलको खाना खाने ठाउँमा पुर्याएर बस रोक्नुभयो।
गर्मी उधुम थियो र थकान पनि त्यतिकै। तर जे भए पनि खाना त खानैपर्यो। धेरै खाँदा पनि धन्न पचाइयो र ज्यान केही हल्का भएझैँ लागेर केहीबेर निदाइयो।
२९ गते बिहान अत्तरियामा केहीबेर चियापान गरेपछि महाकाली राजमार्ग पछ्याएर बिस्तारै गर्मीलाई छोड्दै चिसो हावाको मिठास अनुभूत गर्दै सुदूर पश्चिमको यात्रालाई अघि बढाइयो।
-1752307794.jpg)
-1752307794.jpg)
यात्रामा अघि लम्किँदै गर्दा भोकले आन्द्रा बटारिएपछि गुरूजीलाई खाना खानुपर्यो भन्दै गर्दा 'अब एकछिन' भन्दै झण्डै ४ घन्टापछि बल्ल उहाँको सम्पर्कको खाने ठाउँमा पुर्याउनु भयो। तर के गर्नु बाटोको खाना जे जस्तो भए पनि भोकको झोँकमा दबाएर खाइयो अनि फेरि गन्तव्यतिर लागियो।
डोटी, डडेल्धुरा, अछाम र बाजुरा जिल्लाका कैयौँ डाँडा काँडा र अनेकन घुम्तीहरू पार गर्दै बल्ल बल्ल झन्डै ३५ घन्टाको लामो बस यात्रा सकियो। यत्रो लामो बाटो एक्लैले बस हाँकेर सकुशल मार्तडीसम्म पुराइदिनुभएकोमा गुरूजीलाई धन्यवाद दिएर रातको १० बजे बासस्थानको खोजी गर्दै हिँडे पनि राम्रै बास पाइयो र दुई रातको निद्रा मजाले सुतियो।
३० गते बिहान सबेरै उठेर नुहाइधुवाइ सकेर रोटी तरकारीको खाएको आडमा जुत्ता कसियो अनि झिटिगुन्टा बोकेर मार्तडी बजारको सिरानमा अवस्थित स्थानीय बाडिमालिका मन्दिर दर्शन गरेर स्वर्गझैँ सुन्दर पाटन अनि माता भगवतीको दर्शनको अनेकन परिकल्पना गर्दै निकै जोसका साथ ठाडो उकालो लागियो।
माथि सोतापाटनसम्म गाडी पुर्याउन खनेको घुमाउरो बाटोलाई ठाउँ-ठाउँमा काट्दै ठाडो गोरेटो हिँड्दै गर्दा हिँड्ने बानी त्यति नभएको र त्यसमाथि १०/१२ किलोको भारी बोकेर उकालो हिँड्नु पर्दा निकै चाँडो थकित महसुस हुन थालेको थियो।
त्यतिकैमा बाटो छेउमा स्थानीय आमाले 'काँक्रा खाइजाऊ बाबु शितल हुन्छ' भन्दै काँक्रो र उसिनेको आलु बेच्न राख्नुभएको थियो। त्यो देख्नेबित्तिकै झोला भुइँमा बिसाएर २ चिरो काँक्रोमा नुनखुर्सानी दलेर ओठ नै पिरो हुनेगरी मज्जाले खाएर फेरि उकालो लागियो।
जति माथि उक्लिँदै गयो, त्यति हुस्सु र कुहिरोभित्र लुकेको बाटो पहिल्याउँदै शितलताको अनुभूति गर्दै हिँड्नुको मज्जा नै बेग्लै। त्यो आनन्दले थकान महसुस गर्न दिएन तर बिस्तारै घुँडा दुखेको पीडा चाहिँ हुन थाल्यो। तर के गर्नु, छोरो मान्छे हो दुख्यो भनेर अलमलिने त कुरै भएन।
उक्लिँदै गर्दा स्थानीयले प्लास्टिकको पाल टाँगेर बनाएको अस्थायी ओत लाग्ने ठाउँ जहाँ चिया, रोटी, चनाको झोल, खिर बेच्ने पसल जसलाई होटल भनिँदो रहेछ, ठाँउ ठाउँमा भेटियो।
कहीँ काठको फ्ल्याक (पट्टा) र जस्ताले बनाएको आराम गर्ने कोठा (धर्मशाला) पनि एक दुई वटा भेटिए र केहीबेर आराम पनि गरियो।
अझै माथि चढ्दै गर्दा झ्याउले बेरिएका पुराना सल्लाका रूखहरू भएको हरियो जंगलमा पुग्दा सिमसिम पानी परेपछि जाडोको महसुस हुन थाल्यो। त्यसपछि अलि माथि भेटिएको धर्मशालामा बसेर दालमोठ चिउरा खाइयो। त्यहाँबाट अलि तेर्सो बाटो भेटिएकोले सजिलै अरू यात्रुहरूसँगै लम्कियौं।
अझै अगाडि बढ्दै गर्दा प्राकृतिक दृश्यहरूको परिवर्तित स्वरूप देखिन थाले। रूखहरूको संख्या घट्दै गए भने भुइँफूल सहितका हरिया मनमोहक खाली भागहरू देखिन थाले।
त्यस्तो सुन्दर पर्यावरणबीच केही समय अझै हिँडेपछि फूल चढाउने भन्ने सानो मन्दिर भएको ठाउँमा पुगियो। त्यहीँ पाइने जंगली फूलहरू टिपेर माता तपाईंको चरणमा आउँदै छु रक्षा गर्नुस् भनेर चढाइयो।
बिहानदेखि लगातार हिँडेको ६/७ घन्टा भैसकेकोले घुँडाको दुखाइले गर्दा खोच्याउँदै हिँड्ने अवस्थामा पुगिसकेको भए पनि 'उकाली ओराली गर्दै मनभरी रहर भर्दै दु:ख पीडा बिर्सँदै म आएँ' भन्ने राजेश हमालको गीत सम्झँदै बिस्तारै अघि त बढ्नै पर्यो।
-1752307793.jpg)
-1752307792.jpg)
तर अबको बाटो तेर्सो भएको र भौगोलिक अनि प्राकृतिक छटाले समेत मनलाई मोहित बनाउँदै गर्दा अझ माथि झन् कस्तो होला भन्ने कुरा मनमा खेलाउँदै बाटोमा भेटिएका छाप्रे होटलमा घोडे चनाको झोल खाँदै गन्तव्यतिर अगाडि बढियो।
साउन अन्तिमको गर्मी समयमा पनि शितल कुहिरोभित्र लुकामारी गर्दै पर गाई, भैंसी अनि बाख्राको घाँटीमा बांँधिएको घण्टीको ट्याङ्टुङ आवाज सुन्दै अनेकन जंगली फूलहरू फुलेका बाटो हिँड्दाको आनन्दानुभूतिको बयानभन्दा पनि अनुभव मात्र गर्न सकिने रहेछ।
मोटर गुडाउन खनिएको तेर्सो बाटो हिँड्न अलि सजिलै भएर होला चाँडै लामो यात्रा पार गरियो र आजको बास बस्ने सोता पाटन भनिने एकदमै सुन्दर अनि रमाइलो ठाउँमा पुगियो।
राता, प्याजी र पहेला भुइँफूल सहितको हरिया पहाडी फाँटमा पर चर्दै गरेका भेँडा अनि भैँसीहरू, थोरै सल्लाका रूखहरूबीच केही गोठ अनि सँगै कलकल गर्दै बागिरहेको खोला सहितको सुन्दर दृश्य देख्दा जोकोही यात्रु प्रशन्न एवं मन्त्रमुग्ध भएको अनुभव गर्न सकिन्थ्यो।
साँझ पनि परिसकेकोले बासको व्यवस्था मिलाउन गोठतिर लागियो। त्यहाँको व्यवस्था हेर्दा होचोगरी हालिएको प्लाष्टिकको पालभित्र भुइँमा घाँस बिछाइएको मात्रै रहेछ।
नजिकैका दुइटा पालमध्ये एउटा भरिसकेको रहेछ भने अर्को चाहिँ कोही नभएर हामीलाई बोलाउँदै थिए। प्रति व्यक्ति पाँच सय रुपैयाँमा खाने बस्ने कुरा मिलाएर झोला बिसाइयो।
त्यहीँ छेउको अँगेनामा ठूला मुढा जोतेर बालिएको आगो ताप्दै गर्दा दुई टोली यात्रुहरू त्यही बासमा आइपुग्नुभयो। करिब ४० जनाको सामूहिक वनभोजझैं रमाइलो गर्दै कोहीले खिर र कोहीले चनाको झोलसँग रोटी खाएर भुइँमा प्लाष्टिक ओछ्याएर सुतियो।
राति करिब तीन बजेतिर एक्कासि हावासँगै परेको पानीले सबैको सातो खाँदै ब्युँझाइँदिएपछि कोही पानीले अबको यात्रा कठिन बनाइदिने भयो भन्दै बरबराउन थाले।
त्यसमाथि झन् छेउमै बगिरहेको खोलाको कलकल आवाज र प्लाष्टिकमा परेको पानीको आवाजले फेरि निद्रा लाग्ने त कुरै भएन।
अलि उज्यालो भएपछि पानी पनि रोकियो र उठेर चिया पान गरेर फेरि यात्रातिर अगाडि बढियो।
साउन ३१ गतेको सुरूआत पनि उकालै बाटोबाट सुरू गर्दै वरिपरि लेउ अनि झ्याउले ढाकेका र हिउँले खाएका भाँचेकुँचेका रूखहरूको जंगल चढ्दै घोडापाटन पुगियो।
त्यता कतै फोन चल्ने रहेछ। त्यसैले कोही अग्लो ठाउँतिर गएर हलो-हलो भन्दै थिए त कोही मौसम खुलेर पर देखिएको हिमाल र वरिपरिका हारिया डाँडाको तस्बिर कैद गर्दै गरेको भेटिन्थे।
बाटोमा भेटिएको पालको होटलवाला दाजुले चिया नास्ता गरेर जाऊँ भन्दै गरेको सुनेर के छ त भनेर सोध्दा उही चना-रोटीटा हो हजुर भन्ने जबाफ पाइन्थ्यो।
घोडापाटन पुगेपछि त्यहाँबाट पर हाम्रो गन्तव्य बाडिमालिका डाँडा सहित थुप्रै हरिया थुम्काहरू र त्यहाँ चर्दै गरेका भेँडा र भैँसीहरू सहितको सुन्दर दृश्य देख्न सकिन्थ्यो।
त्यहाँबाट बिस्तारै तेर्सिएर अनि अलि अप्ठेरो बाटो झरेपछि फेरि ठाडो उकालो लाग्नुपर्ने रहेछ। तर ओरालो झर्दै गर्दा तल देखिने दुई खोलाको सुन्दर दोभान र त्यहाँ नुहाउँदै गरेका यात्रुहरूको मोहनी दृश्य देख्दा पक्कै पनि स्वर्गको कुनै टुक्रा नै हो कि जस्तो भान भयो। अझ आफै त्यहाँ पुगेर चिसो अनि कञ्चन पानीमा डुबेर रमाउन पाउँदा त झन् सबै थकान नै मेटिएको अनुभूति भयो।
अब त्यहाँ पुनर्ताजगी भएर फेरि अर्को ठाडो उकालो लागियो जुन रूखपात सहितको अन्तिम ठाउँ रहेको अन्य यात्रुहरूले बताउनुभयो। माथि उक्लिसकेपछि त्यहाँ पनि पालको होटलमा चना-रोटा खाँदै कुहिरोको बीच घण्टीको ट्याङ्टुङ आवाजसँग रमाउँदै बीचबीचमा खुलेको मौसममा सम्झनाका कोसेली फोटोहरू समेट्दै भित्तिचिन्ना भन्ने ठाउँमा पुगियो।
-1752307790.jpg)
-1752307791.jpg)
खुल्दै गरेको कुहिरोका बीच थुप्रै यात्रुहरू राष्ट्रिय झन्डा फर्फराउँदै सुन्दर हरियो फाँटमा रमाउँदै गरेको देख्दा आफूले पनि मन थाम्न सकिएन र झोला बिसाएर प्रकृतिको सुन्दर काखमा आनन्दानुभूति गर्दै केही क्षण विश्राम गरी फेरि बाटो तताइयो।
त्यहाँबाट कुहिरोमा लुक्दै हिँडेको केही घन्टामा केही समतल ठाउँमा दुई चार वटा पालको होटलहरू लस्करै भेटियो, जहाँका साहुजी खाजा नास्ता खाऊँ है अब त पुगिहालियो नि भन्दै बोलाउँदै थिए।
हो र! भनेर यताउति हेर्दाहेर्दै चिसो बतासले कुहिरो उडाइसकेपछि देखिएको त्यो स्वर्गीय प्राकृतिक सुन्दर दृश्य शब्दमा कसरी वर्णन गर्न सकिएला र खै! जहाँसम्म नजर पुग्छ त्यहाँसम्म हरिया डाँडा अनि राता, पहेँला र प्याजी रंगका जंगली भुइँफूलहरूसहित अनौठा वनस्पतिहरूले ढाकेका समतल चौर जहाँ सयौँको संख्यामा चर्दै गरेका भेँडाका थुप्रै बथान र केही घोडाहरूले झन् त्यहाँको प्राकृतिक सुन्दरतालाई थप मनमोहक बनाइरहेको आभास गर्न सकिन्थ्यो।
त्यो दृश्य हेर्दै गर्दा सबै थकान त उसै हराइनैहाल्यो साथै एक किसिमको मानसिक शान्ति पनि अनुभूत गरियो। त्यही सम्झनालाई तस्बिरमा कैद गर्दागर्दै प्रकृतिको त्यो सुन्दरतालाई कुहिरोले लाजको घुम्टो ओढाइदियो र हामी अझै यस्ता प्राकृतिक छटाहरूको आनन्द लिने महत्वाकांक्षासहित नयाँ जोस जाँगर लिएर त्रिवेणीधाम कता हो भनी सोध्दै अगाडि बढ्यौं।
साँझ पनि पर्नै लागेको र कुहिरो पनि लागेको हुनाले नयाँ यात्रुहरूलाई बाटो पहिल्याउन गाह्रो पर्ने भएकोले सोधेर हिँड्नु नै उचित हुने रहेछ किनकि विगतमा यस्तै अवस्थामा केही मानिसहरू बाटो भुलेर सम्पर्कमा नआएको दु:खद खबर सुनियो।
कुहिरोबीच कता हो कता भनेर हिँड्दै अनि सुन्दर हरिया फाँटबीच बग्दै गरेका कञ्चन खोलाहरू तर्दै एक्कासि एउटा ढुंगाहरूको त्यस्तो थुप्रोमा पुगियो जुन अन्य ढुंगाभन्दा बिल्कुलै बेग्लै थिए।
प्राचीन कालमा देवीले राक्षसहरूको संहार गर्दा राक्षसको हाड र मासु त्यहाँ झरेर त्यो पथ्थरको थुप्रो बनेको भनाइ सुनियो। त्यहाँबाट पनि केहीबेर अगाडि बढिसकेपछि पानीको कलकल आवाजसहित मानिसहरूको ठूलै हल्लीखल्ली सुनिएपछि त्रिवेणीधाम पुगिएछ भन्ने पक्का भयो।
केही समय त्यही ध्वनी पछ्याउँदै हिँडेपछि कुहिरो पनि हट्यो र फेरि अर्को नौलो र छुट्टै सुन्दर प्राकृतिक दृश्य देखियो, जहाँ दुई सुन्दर खोला मिसिएर बनेको दोभानको बीचमा ठूलो पोखरी बानाइएको रहेछ र एक किनारमा मन्दिर रहेछ र यसैलाई त्रिवेणीधाम भनिँदोरहेछ।
दुई खोला वारि र पारि घुम्न आउने यात्रु तथा धार्मिक तीर्थालुहरूले टाँगेको पाल र व्यापारिक पालका होटल सोचेकोभन्दा निकै धेरै मात्रामा देखियो। त्यति धेरै त्रिपाल र मान्छेको भिडभाड देख्दा एकछिन त अन्यत्र कुनै ठाउँको मेलाको माहोल जस्तो पनि लाग्यो। त्यस क्षेत्रमा तीर्थ श्राद्ध अनि तर्पण पनि गरिने रहेछ। साँझमा भए पनि थुप्रै मानिसहरू कर्म गरिरहेका देखिन्थे। त्यतै टहलिँदै गर्दा केही चिनजानका व्यक्तिहरूसँग अकस्मात भेट भयो। आजको रात उहाँहरू बसेकै पालमा सँगै बस्ने निर्णय गरियो।
बेलुका खाना खाउँ भन्ने कुरो भयो र त्यहाँ त केही खान पाइन्छ कि भन्ने आस लागेको थियो तर हे प्रभु जगन्नाथ!! उही चना-रोटा खाएर भलाकुसारी गर्दै थकित शरीरलाई आराम दिइयो।
साउन ३२ गते सबेरै उठेर शौच गरिसकेपछि खोलामा ओर्लेर कति वर्षदेखि नखौरेको कपाल खौरेर सात्तो जाने चिसो पानीमा नुहाइसकेपछि काम्दै पितृ तर्पण गरियो र हतार हतार आफ्नो बासमा आएर कपडा लगाइयो र फेरि पनि चना-रोटा खाएर सुन्दर अनि अलौकिक त्रिवेणी पाटन विचरण गर्न निस्कियौं।
बिहानीपख मौसमले राम्रै साथ दिएकोले थुप्रै मानिसहरू त्रिवेणी पाटनको अलौकिक सुन्दरतामा रमाउन यत्रतत्र डुलिरहेको देखिन्थे त कोही त्यहाँबाट देखिएको बडिमालिका माता अवस्थित डाँडातिर फर्केर प्रार्थना गर्दै थिए।
एउटा डाँडा पछाडि अर्को डाँडा अनि रंगीचंगी फूलहरूले ढाकेको हरिया फाँटैफाँट जति डुले पनि नसकिनेरहेछ। त्रिवेणीधामको दक्षिण पूर्वमा अवस्थित खोलापारि कालिकोट जिल्ला पर्ने र अलि पर डाँडाबाट कालिकोटको गाउँ देखिने कुरो सुनेर त्यतै लागियो।
नभन्दै आधी घन्टाको हिँडाइपछि परै भए पनि नजिकै देखिने रहेछ कालिकोटको निकै रमाइला गाउँहरू। अब त्यहाँबाट बडिमालिका माताको खेतीपाती गर्ने ठाउँ हेर्न पुगियो जुन दृश्य हेर्दा विशाल पाटनको बीच विभिन्न बालीनाली लगाइएको खेतबारीझैँ देखिने।
अन्यत्र जाँदा करिब ३९५० मिटरको उचाइमा विशाल चट्टानी र रूखासुखा पहाडी भिर देखिराखिएकोमा यहाँ यस्तो मलिलो माटो, हरियो फाँट अनि त्यो खेतीपाती देख्दा प्राय: मानिसहरू अचम्मित नै परेको पाइयो।
विगतका वर्षहरूमा निकै पानी परेर यात्रुहरूलाई मौसमले त्यति साथ नदिएको तर यसपालि भने निकै राम्रो साथ दिएको कुरा सुनियो। साँच्चै दिन निकै घमाइलो अनि रमाइलो पनि भैरहेको थियो। पूरै खुलेको निलो आकाशमा छिटफुट बादलसरी पातलो कुहिरो, आँखाले भ्याएसम्म देखिने विशाल पाटन, त्यहाँ चरिरहेका थुप्रै भेँडाका बथान र केही घोडाहरू सहितको सुन्दर शान्त अनि दैविक लाग्ने त्यस ठाउँको सुन्दरताको बयान जति मिलाएर गरौं भन्दा पनि नसकिने रहेछ, त्यो त केवल अनुभव मात्र गर्न सकिने रहेछ।
घुम्दै गर्दा केही समय चौरमा घाम तापेर पल्टिने भनेर पानी पर्दा ओढ्न बोकेको वर्षादी भुइँमा ओछ्याइयो र फोनमा गीत बजाएर एकैक्षण पल्टेको झण्डै एक घन्टापछि ब्युँझिएछ।
-1752307788.jpg)
-1752307788.jpg)
त्यस्तो सुन्दर शान्त वातावरणमा बिताइएको उक्त आरामदायी क्षणलाई नै वास्तवमा RIP(Rest in Peace) भनिनुपर्नेमा किन विदेशीहरूले अर्को अर्थ लगाएका होलान् झैँ लाग्यो। जे होस् निकै रमाइलो गर्दै चना-रोटा खाएकै भरमा भए पनि निकैबेर डुलियो र अझै डुल्ने क्रममा कुहिरोले झपक्कै छोपेर शितलहर चल्न थालेकोले थोरै नजिक पनि राम्रो देख्न नसकिने भयो।
त्यसैबीच नजिकै खोलापारी फाँटमा भेँडाको बथान भेटियो र तिनीहरूसँग डुल्दाडुल्दै निकै चिसो महसुस हुन थालेको फर्किन खोजियो तर कता जाने प्रष्ट नभएकोले एकछिन त्यतै अलमलियो।
निकैबेर कुर्दा पनि मैसम नखुलेकोले अन्दाजमै अगाडि बढियो र पर पुगेपछि मानिसहरूको हल्ला र खोलाको आवाज सुनिसकेपछि सही दिशामा लागिएछ भन्ने ढुक्क भयो।
त्यहाँबाट आफ्नो बासतिर लागियो र फेरि उही चना-रोटाको खानापछि साथीभाइ भलाकुसारी गर्दै निदाइयो।
भदौ १ गते बिहान झिसमिसेदेखि नै मानिसहरू नुहाएर दियालो बाल्दै माताको दर्शनको लागि उकालो चढिरहेका थिए। हामी चाहिँ अलि उज्यालो भैसकेपछि उठेर नुहाइधुवाइ गरियो र त्यहाँको मान्दिरमा ढोगेर उकालो लागियो। त्यस दिन पनि मौसमले राम्रै साथ दिएकाले अलि माथिबाट त्रिवेणीधाम र विशाल पाटनको दृश्य हेर्दा अझ बढी सुन्दर र दैविक लाग्यो। प्राय: मानिसहरू त्यही सुन्दरतालाई सम्झनाको रूपमा क्यामेरामा कैद गर्दै हिँडिरहेका थिए।
निकैबेर ठाडो र तेर्सो बाटो हिँडेपछि लौरीबिनायक भन्ने ठाउँमा पुगियो जहाँ सानो ढुंगाबाट बनेको मन्दिरभित्रबाट पुजारीले टीका लगाइदिने र भक्तजनहरूले टेक्ने लैरो र विभिन्न जिल्लाबाट पूजा लिएर आएको खाँडोलाई बिसाउने गरिँदो रहेछ।
गन्तव्य अझै माथि भएकोले गर्दा फेरि उकाली ओराली गर्दै अघि बढ्ने क्रममा टाढाबाट कमिलाको ताँतीझैँ देखिने मानिसहरूको ताँतीको अलौकिक सुन्दर दृश्य पनि अविस्मरणीय यादको रूपमा सम्झना बन्यो।
माथि उक्लँदै गर्दा अब चाहिँ बाटो खतरनाक भेटियो किनभने त्यो उचाइमा साँघुरो बाटो अनि दायाँबायाँ ठाडो भिर हुँदा धेरैको मन सिरिङ्ग नै हुने रहेछ तर ठाउँ ठाउँमा रेलिङ राखिएकोले केही सुरक्षित भने महसुस गरियो।
हिँड्ने क्रममै बाटोमा कैलालीतिरकी एक जना ८१ वर्षकी बुढीआमा अबको बाँकी बाटो हिँड्न नसकेर दु:खी भएर बस्नु भएको देखेर मसँगै जानुभएको समाजसेवी मुरारी बिस्ट दाजुले मानवीय सहयोगी भावना र अदम्य साहस देखाउँदै ती आमालाई पिठ्युँमा बोकेर हिँड्नुभयो।
आफूचाहिँ खुट्टा खोच्याउँदै हिँड्नुपरेको अवस्थामा त्यस्तो उकालो अनि अप्ठेरो बाटोमा त्यतिको भावना र साहस देखाउनु निकै गर्वको कुरो हो झैँ लाग्यो।
मौसम खुलेको बेला बाटोबाट देखिने बादलुको घुम्टोमाथिबाट चिहाइरहेका मनास्लु, अपी र सेती हिमालहरूका अपूर्व दृश्यहरूले मनलाई शान्त बनाउनाको साथै उकालो चढ्ने ऊर्जा पनि थपिएको अनुभूति गर्दै क्रमश: उक्लिँदै गइयो।
जति नजिक पुग्यो, त्यति बाटो ठाडो र कठिन हुँदै गएको पाइयो भने तलतिरका क्षेत्रभन्दा पानीको स्रोत पनि न्यून भेटियो र माथि त झन् पानीको अभाव नै हुन्छ भन्ने सुनेर आफूसँग भएका भाँडा भरेर हिँडियो।
केही समयको उकालोपछि बासुधारा भन्ने ठाउँमा पुगियो जहाँ स्नान गरेर मात्र माताको दर्शन गर्नुपर्ने प्रचलन रहेको हुँदा मानिसहरू हातपाउ पखाल्न मात्र भए पनि लामबद्ध भएर पालो कुरेर बसिरहेका पाइयो।
त्यहाँबाट छोटो हिँडाइपछि नै मन्दिर रहेको डाँडामा पुगियो, जहाँ भिरालो जमिनमाथि कोही निजी टेण्ट हालेर त कोही व्यापारिक पाल टाँगेर बाक्लै उपस्थिति जनाइसकेका रहेछन्।
झण्डै २ घन्टा बोकेर त्यहाँसम्म पुर्याइदिएकोमा दाजुलाई बुढीआमाले रूँदै धेरै आशीर्वाद दिनुभयो र हामीलाई भावुक बनाइदिनुभयो।
हामीभन्दा पहिला नै त्यहाँ साथीहरू पुगिसकेका थिए। यताउती आँखा डुलायौं। कुहिरोले केही पनि देखिएको थिएन। माताको मन्दिर छेउमा पुग्दा दर्शनको लागि लामबद्ध भएर बसेका सयौं मानिसहरूको भिड थियो। केहीबेर चिसो सिरेटोसँगै उडेको कुहिरो हटेपछि झकिझकाउ तोरण र धजाहरूबीच सिँगारिएको माता बडिमालिकाको मन्दिर र सँगै रहेको हवन कुण्ड सहितको दैविक एवं अलौकिक दृश्य देख्न पाउँदा धन्न यति देख्न पाउनु भग्यमा रहेछ, जिउँदै स्वर्गमा पुगेझैँ अनुभूति गरियो।
साथै सम्पूर्ण यात्राको थकान पनि मेटिएझैँ भयो। केहीबेर त्यहाँ वरपरको स्वर्गीय एवं धार्मिक माहोलको दृश्यावलोकन गरेर नजिकै बासको व्यवस्था मिलाएर आराम गरियो। फेरि पनि हे प्रभु चना-रोटा खाएर भलाकुसारी गर्दै सुत्ने तर्खर गरियो।
राति झन्डै १:३० बजेदेखि नै थुप्रै मानिसहरू अब भदौ २ गते भैसक्यो दर्शन गर्न लाम लाग्न जाऊँ भन्दै हल्लाखल्ला गर्दै हिँड्न थालेपछि आफ्नो पनि निद्रा खुलिहाल्यो।
उठेर पानीको अभाव भएको ठाउँमा जसोतसो शौच जाने र मुख धुने व्यवस्था मिलएर आधारातमै लाम लाग्न पुग्दा पनि निकै लामो भैसकेको रहेछ।
थाकेको शरीरलाई आराम दिएर मज्जाले निदाउन पर्ने बेलामा मध्यरातमै उठेर ४२०० मिटरको उचाइमा मुटु छेड्ने अति नै चिसो सिरेटोसँग झन्डै ४ घण्टा लडाइँ खेल्दै अन्ततः माताको चरणमा पुगेर दर्शन गरियो र धुप बत्ती गरेर फर्कियौं।
आफूले बोकेको अन्तिम कप चाउचाउ खाएर करिब ८ बजे त्यहाँबाट नाटेश्वेरी मन्दिर जाने ठाडो अनि छोटो बाटो पछ्याउँदै तल झर्न थालियो। त्यति माथि उचाइमा कुहिरोले ढपक्कै ढाकेको निकै नै ठाडो अनि त्यसमाथि साँघुरो गोरेटो बाटोमा कमिलाको ताँती झैँ मानिसहरूको लाम देखिन्थ्यो।
चार दिन लगातार चना-रोटाको भरमा हिँडेर थाकेको अनि चिसो सिरेटोले सेकेको ज्यान अब झन् त्यस्तो ठाडो ओरालो ओर्लन पर्दा त बाउको बिहे देखेझैँ भयो।
-1752307789.jpg)
यतिका दिन साथ दिएको मौसमले पनि अप्ठेरो ठाउँमा पुगेपछि धोका दियो र सिमसिम पानी पर्दै गर्दा बाटो चिप्लो समेत हुनथालेपछि त झन् गाह्रो अप्ठेरोको के कुरो गर्नु र! तै पनि जसोतसो हिँड्दै गर्दा पानी परे सँगै बिस्तारै कुहिरो फाटेपछि मेरो मुटुले ढ्याङ्ग्रो ठोक्यो, पाइलाहरू एक्कासि रोकिए, डरले गर्दा दिमागले नै काम गरेन, सास रोकिएजस्तो भएर रिँगटा लागेझैँ भयो र म त भित्तो पो समाउन थालिसकेछु।
४२०० मिटरको उचाइबाट एकसुरमा ठाडो ओरालो झर्दै गर्दा एक्कासि तल पिँधसम्म नै प्रष्ट नांगो उजाड बाँदर लड्ने भिर अनि खुकुरीको धार जस्तो आफू हिँडिरहेको बाटो देखिएपछि सात्तो नै गयो।
उता केही मान्छेहरू बाबै- आम्मै भन्दै भित्ता समाउँदै र हिलो चिप्लो बाटोमा घिस्रदै हिँँड्न थाले तर मलाई भने हिँड्ने साहस नै आइरहेको थिएन।
पानी थामिने छाँट थिएन र बिस्तारै ओर्लनुको विकल्प पनि।
त्यसैले लौरो टेक्दै बिस्तारै ओर्लंदै गइयो। फेरि पनि ठाउँठाउँमा आँङसिरिङ्ग हुने अङ्ग्रेजी चलचित्रमा देखाइने खतरनाक भिरको दृश्य जस्ता थुप्रै भिरहरू पार गर्दै तल झर्दै गरियो।
ओढ्ने क्रममा आफ्नो वर्षादी पनि च्यातियो र पानी पनि ठूलै पर्न थालेपछि लगाएको जाकेट पनि भिजेकोले दुई जना मिलेर प्लाष्टिकको पाल ओढेर हिँँड्ने कोसिस गरियो।
निथ्रुक्क भिजेर अनि चिप्लो बाटोमा चिप्लँदै निकै तल झरिसकेपछि पानी रोकियो र अलि सहजताका साथ यात्रा अघि बढाउन सकियो। निकै तल झरिसकेपछि बाटोमा भेटिएका मान्छेहरूसँग अब नाटेश्वरी मन्दिर पुग्न कति समय लाग्ला भन्दै सोध्दै गर्दा प्राय:ले अब एक घण्टा जतिमा पुगिन्छ भन्नुभयो।
तर हरे भगवान् प्रत्येक घण्टाको हिँडाइपछि अब कति टाढा छ भनेर सोध्दा फेरि पनि एक घण्टा जति भन्ने उत्तर आउँथ्यो र बल्ल करिब तीन घण्टाको हिँडिसकेपछि कथित एक घण्टाको बाटो पार गरिएछ र साँझ नै परिसकेपछि नाट्यश्वरी मन्दिर पुगियो।
रमाइलो जंगलको छेउ केही खाली ठाउँ सहितको प्राङ्गणमा अवस्थित भव्य नाट्यश्वरी मन्दिर निकै सुन्दर अनि दिव्य लाग्यो।
मन्दिर पर पनि निकै फैलिएको रहेछ रमणीय मन्दिर क्षेत्र। एकै क्षण मन्दिर परिसर विचरणपछि बासको लागि अलि तलको मौलिक गाउँको एक पुरानो मौलिक नेपाली गाउँले घरमा आफ्नो थकान मेटाउने अवसर पाउँदा निकै रमाइलो महसुस भयो।
भोलिपल्ट बिहान भदौ ३ गते जनै पूर्णिमाको दिन नुहाइधुवाइ सकेर आफ्नो झोलातुम्बा बोकेर फेरि मन्दिरतिर लागियो। मन्दिर पुगेर जनै फेरि माताको दर्शनको लागि लाइनमा लागियो।
उक्त दिन त्यस मन्दिरमा विशेष भिडभाड हुने रहेछ। माथि बडिमालिका गएर आउने र अन्य धेरै श्रद्धालुहरूले बोकाको बलीसहित पूजा गर्ने प्रचलन रहेछ।
आफ्नो पालो आएर मन्दिर प्रवेश गर्दा फेरि पनि अर्को अनौठो अनुभव भयो किनभने त्यत्रो भव्य मन्दिरको भित्र फेरि अर्को सानो चिटिक्क माटोले लिपिएको मौलिक शैलीको मूल मन्दिर रहेछ जुन आफूले अन्त कतै देखेको थिएन। उक्त दिव्य मन्दिरको दर्शन सकेर प्रसाद ग्रहण गरेर मेला घुम्दै खाना खाइयो अनि यात्राका क्रममा भेटिनुभएका सबै सहयात्रीहरूसँग बिदाबारी गर्दै यस मनमोहक, रोमाञ्चक अनि दिव्य यात्रालाई बिट मारियो।
जय बडिमालिका माता।
-1752307789.jpg)
-1752307791.jpg)
-1752307787.jpg)
-1752307787.jpg)