यात्रा अनुभूतिः
घन्टौं एक फिटको सिटमा खुम्चिएर कयौंपटक पृथ्वीको एक गोलार्धबाट अर्को गोलार्धमा यात्रा गर्दा कहिल्यै पनि शरीरले रोमाञ्चकता अनुभव गरेन तर मन भने गन्तव्यको पर्खाइमा उद्धेलित भैरहन्थ्यो।
हुन त यात्रा आफै रोमान्चित उडान हो तर जहाजको सिटमा खुम्चिएर, समय समयमा बज्ने खराब मौसमको सूचना र बेल्ट लगाउनको लागि हुने आग्रह अनि कोक्रो जस्तो विमान हल्लिरहँदा उडानभर डराइरहेका कतिपय यात्रीहरू आफू निदायो भने जहाज नै उत्रिँदैन जस्तो गरेर निदाउन नसकेको कहानी सुन्दा मलाई भने हाँसो उठ्छ।
तर म भने मज्जाले निदाउँछु। साथीहरू ‘हैन यो मान्छे कसरी निदाउन सक्छ?,’ भन्दै खिसी गर्छन्।
मानव शरीरलाई मन र मस्तिष्कले चलाउने रहेछ। मन र मस्तिष्कलाई चेतनाले चलाउँदो रहेछ। सायद मेरो चेतनाले भन्दो हो ‘हुने भैहाल्छ कसैले आजसम्म रोक्न सकेका छैनन् अनि नहुने कुरा त निश्चित नै नहुने नै भयो। त्यसकारण डरमा होइन भरमा अघि बढ्ने हो।’
सायद यही सोचले निदाउँदो हो मेरो शरीर।
यात्राको पहिलो दिन हामी बिहान ७ बजे भ्यानकुभरमा उत्रियौं। जब हवाई जहाज धावनमार्गमा उत्रिन्छ र रोकिन्छ ओहो कुनै युद्ध जितेर फर्किएभन्दा बडो आनन्ददायक हुने। हवाई जहाजको एकोहोरो आवाजको मुक्तिले होला शरीरलाई आनन्दित तुल्याउने अनि नयाँ सहर, नयाँ विमानस्थल, नयाँ वातावरणले मन र मस्तिष्क रोमाञ्चित हुने।
मेरो यो दोस्रो पटकको टेकाइ थियो भ्यानकुभर। पहिलोचोटि सन् २०१० मा पुगेको थिएँ तर त्यो यात्रा थियो बिट्रिस कोलोम्बियाको राजधानी भिक्टोरियाबाट फेरीमा। हामी अमेरिकाको पोर्टल्याण्ड सियाटलबाट सिधा भिक्टोरिया हवाई जहाजबाट पुगेका थियौं। अहिले भने नेपालबाट हवाई जहाजमा।
भ्यानकुभर सहर अमेरिकासँग जोडिएको सहर। अमेरिकाको सियाटल र भ्यानकुभर प्राकृतिक छटाहरूको दृष्टिकोणमा पनि उस्ता उस्तै। समुद्री तटीय दुवै सहरहरूमा पहाड, हरियाली जङ्गल, ताल, झरनाहरूले मनमोहक। हामी हिमालमा जन्मेर होला पहाडहरूले लोभ्याइहाल्ने। उक्लन, पक्रन, खेल्न मन लागिहाल्ने।
त्यही भएर होला २०१० मा जब म पोर्टल्यान्डको भ्रमणमा थिएँ, मलाई अमेरिकन साथीहरूले पहाड र पहाडमा गीत गाइरहेको रिलहरूमा घुमाउनु हुन्थ्यो, फोटो खिच्न उभ्याउनु हुन्थ्यो र फोटो खिचेर कति राम्रो सुहाएको भन्दै देखाउनु हुन्थ्यो।
भ्यानकुभर ओर्लिएपछि होटलले उपलब्ध गराएको सटलमा हुइँकिँदै गर्दा २०१० को भिक्टोरियाबाट भ्यानकुभरको यात्राको अलि बढी नै याद आयो। त्यो यात्रामा हामीलाई मजाक भएको एक घटना सम्झिएछु र एक्लै हाँस्न पुगेछु। मेरी श्रीमती र छोरीले मेरो हाँसोको उत्तर खोज्न थाले।
त्यो यात्रामा हामी ४ जना फेरीमा थियौं। फेरी समुद्रसँग दौंतरी लगाउँदै कुदिरहेको थियो। सरर चिसो हावाले मेरो कपाल हल्लाइरहेको, समुद्रमा विभिन्न कलाकृत जहाज, डुङ्गाहरू आफ्नै सुरमा कुदिरहेका अनि फेरीको छतमा अगाडि डन्डीमा समातेर हरियाली, जङ्गल, कन्चन पानी, समुद्री चराहरू रमन गरिहेको आनन्दमयी दृश्यको स्वादपान गरिरहेका थियौं म र मेरा आदरणीय दाजुहरू।
मैले झण्डै ३/४ किलोमिटर पर देखाउँदै ‘कत्रो महल रे छ है दाइ? सायद त्यो कि त पाँच तारे होटल होला कि त सपिङ सेन्टर होला,’ प्रश्न तेर्स्याएँ।
२०/२५ तलाको भव्य त्यो संरचनालाई हेर्दै फोटो खिच्दै गर्दा ‘सायद समुद्रको किनारामा बनाएको पाँच तारे होटल अथवा सपिङ सेन्टर होला।’ भन्ने कुरामा सहमत भयौं।
हामी जति त्यो भव्य संरचना नजिक पुग्छौं, महल होइन कि जस्तो शंका बढ्दै गयो। केही बोल्न सकिनँ। जब अलि बढी नै नजिक पुगेँ ‘दाजु त्यो त महल होइन जस्तो पो छ, के होला?’ अर्को प्रश्न तेर्स्याएँ।
उपेन्द्र दाइले पनि सहमति जनाउनुभयो ‘महल त होइन रहेछ।’ हामी झन् नजिक पुग्यौं। झण्डै २०० मिटर जति नजिकबाट हाम्रो फेरी बगिरहेको थियो। यो त पानी जहाज पो रहेछ! जसलाई क्रुज भनिँदो रहेछ।
हामीले पढेका थियौं खेलकुद मैदान, सपिङ सेन्टर, सिनेमा हल लगायत सबै कुरा भएको एक महादेशबाट अर्को महादेश, एक देशबाट अर्को देशको सहर सहरमा विश्राम लिँदै ६/७ महिनासम्म हिँडिरहने हजारौं यात्रुहरूको भेला हुने पानी जहाज हुन्छ रे।
जब हामीले थाहा पायौं त्यो भव्य संरचना त त्यही हामीले पढेजस्तै पानी जहाज पो रहेछ। हामी तीन जना मज्जाले हास्यौं। सायद हामी सबैको यस प्रकारको २० तलाको पानी जहाजको दर्शन पहिलो थियो। हिजो पढेको कथा जस्तो लाग्ने आज आफ्नो आखाँ अगाडिबाट अर्घेलो लागेको थियो।
यो कहानी सुनेपछि छोरी ज्वाइँ पनि मजाले हाँसे। होटल पुगेको थाहा नै भएन। बिहान ९:३० मै हामी होटल पुग्यौं। होटलको बुकिङमा रूम चेकिङको समय ३ बजे उल्लेखित थियो। हामीले लगेजहरू थन्काएर बजार जाने योजना बनाएका थियौं।
होटलको लविमा लगेज राख्यौं। नेपालको तुलनामा चिसो अनुभव भएको थियो। म रिसेप्सनमा गएँ र होटल बुकिङको प्रमाण देखाएँ। मेक्सिकन जस्तो देखिने सुन्दरीलाई हामी नेपालबाट अति नै लामो हवाई यात्राबाट आएको कथा सुनाएँ र कोठाहरू खाली छन् भने चेकिङको लागि विशेष अनुरोध गरेँ।
उनले होटल रिजर्भेसन हेरिन्, आइडी र क्रेडिट कार्ड मागिन्, मैले दिएँ। फर्ममा सही गर्न लगाइन् र केही पनि नभनी ‘ह्याभ अ नाइस स्टे’ भन्दै चाबी दिइन्। मन्द मुस्कानसँगै कोठामा जाने बाटो बताइन्। मैल पनि ‘थ्यान्कू सो मच फर योर काइन्डनेस’ भनेँ। मलाई हेर्दै मुसुक्क हाँसिन्। म पनि उनलाई हेर्दै मुस्कुराएँ।
हामी सबै मक्ख पर्दै कोठातिर लाग्यौं र एक दुई घन्टाको रिफ्रेसमेन्टपछि बाहिर निस्कने योजना बनायौं।
भ्यानकुभरमा हाम्रो जम्मा ३ दिनको बसाइँ थियो। पहिला नै कार्यक्रमहरू तय थिए। पहिलो सी प्लेनबाट भ्यानकुभरको दृश्यावलोकन गर्ने अर्को भ्यानकुभरको प्रख्यात पर्यटन आकर्षणको रूपमा रहेको क्यापिलानो सस्पेन्सन्स ब्रिज, अक्वारियम, स्टालिन पार्क, क्यानडा प्यालेस भ्रमण गर्ने।
योबाहेक नेपालबाट धर्म पुत्रपुत्रीको रूपमा आएका छोराछोरीहरू र उनको परिवार भेट्ने कार्यक्रम थियो। मैले नै एक कक्षादेखि १२ कक्षासम्म पढाएकी अनिता उच्च शिक्षाको लागि भ्यानकुभरमा थिइन् उनलाई पनि भेट्ने कार्यक्रम थियो।
तीन दिनमा यति धेरै कार्यक्रम सक्नु थियो। हामी थाकेका कारणले होला हामीले १२ बजेतिर मात्र निस्कन सक्यौं।
हाम्रो पहिलो दिन थियो। हामीले लोकल बस र ट्रेनको अनुभव गर्ने योजना बनायौं। हाम्रो पहिलो भ्रमण छोरीको चाहनाअनुसार भ्यानकुभर अक्वारियम बन्यो।
गुगलले होटलबाट पाँच मिनेट हिँडेपछि ट्रेन स्टेसन पुग्ने र त्यहाँबाट ट्रेन र अनि अर्को बस चेन्ज गरेर पैंतालिस मिनेटमा पुगिने जानकारी दियो। हामी गुगलकै निर्देशन अनुसार भ्यानकुभर अक्वारियमतिर अघि बढ्यौं।
एक घन्टामा हामी गुगलको निर्देशन अनुसार भ्यानकुभर अक्वारियम पुग्न सफल भयौं। क्यानडियन डलर ५३.९५ प्रवेश शुल्क रहेछ। हामीलाई महँगो लाग्यो। नेपालीमा कन्भर्ट गर्दा झण्डै पाँच हजार रहेछ हुँदो रहेछ।
हुन त कुनै पनि सार्वजनिक आकर्षणहरू बनाउन भन्दा गाह्रो त्यस्ता आकर्षणहरूको व्यवस्थापन र मर्मतसम्भार हो। हामी कहाँ मुख्यतय सरकारको नियन्त्रणमा रहेको जे जति संरचनाहरू छन् त्यसको व्यवस्थापन र मर्मतसम्भारमा अति नै लापरबाही देखिन्छ।
छोरी ज्वाइँले टिकट लिनुभयो। हामी भ्यानकुभर अक्वारियमको आनन्द लिन प्रवेश गर्यौं। क्रमश:
यो पनि
आश्चर्य लाग्ने विमानस्थलको कायापलट!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)