काठमाडौंमा बसेर पर्यटन कर्ममा लागेको तीन दशक नाघिसक्यो। यो भागदौडको जिन्दगीमा धेरैथरि मान्छेसँग संगत गर्न पाइयो। दिनदिनै नयाँ नयाँ मान्छेसँग भेटघाट भइरहेको छ। भनिन्छ, दोबाटोमा भेटिएकाहरू दोबाटोमै छुटिन्छन्। तर कतिपय मनकारी मान्छेसँगको सहकार्य जीवनभर चलिरहन्छ।
यस्तै एक मित्र हुन्, जिरीका पर्यटन अभियन्ता लिलाराम खड्का।
दस वर्षअघि उनी जिरीमै बसेर पर्यटन र सामाजिक काम गर्थे। त्यति बेला उनले हामीलाई जिरीको पर्यटनबारे बुझाउन बोलाएका थिए। उनले जिरी उपत्यका, ठूलो नागी र च्योर्दोङ क्षेत्रमा साइक्लिङको सम्भावना उजागर गर्ने कुरा गरिरहन्थे।
उनी बेला बेला पर्यटनकर्मी र पत्रकारलाई आफ्नै खर्चमा जन्मथलो जिरी मात्र होइन, दोलखाका अन्य गन्तव्य भीमेश्वर, कालिञ्चोक र सैलुङ घुमाइरहन्छन्। हामीलाई पनि निम्तो दिइरहन्छन्।
दस वर्षपछि फेरि उनीसँगै जिरी घुम्ने मौका मिल्यो। यसपालिको अभियान थियो- जाऔं है च्योर्दोङ।
ब्यानरमा आयोजकको नाम पर्यटन प्रवर्द्धन मञ्च नेपाल भनेर लेखिएको थियो, तर सबै खर्च उनै लिलारामले गरेका हुन्।
यही मंसिर २४ देखि २७ गतेसम्म चार दिन हामीलाई च्योर्दोङ घुमाएर अभियान शुभारम्भ गरेका हुन्।
काठमाडौंबाट मात्र हामी १६ जना जिरी पुगेका थियौं। त्यहाँबाट पनि केही साथीहरू थपिए। साथै डाँडामा क्याम्पिङ गर्नुपर्ने भएकाले सगरमाथा आरोही लालबहादुर जिरेलको समूहलाई क्याम्पिङ जिम्मेवारी दिइएको थियो। उनीसँग १५ जना सहयोगी थिए। यसरी हामीले मंसिर २५ गते एक रात च्योर्दोङ डाँडामा क्याम्पिङ गरेर बितायौं।
साँच्चै च्योर्दोङ (३,७०० मिटर) स्वर्गको टुक्रा नै रहेछ। डाँडाबाट हिमाल, सूर्योदय, सूर्यास्तको मनमोहक दृश्य देखिँदो रहेछ। च्योर्दोङ त हरेक दिन गौरीशंकर हिमालसँग आँखा जुधाउँदो रहेछ!
च्योर्दोङले मात्र होइन, डाँडामा पुग्ने सबै घुमन्तेले गौरीशंकरसँग पिरती गाँस्न पाउँछन्। दुःखको कुरा, डाँडामा खाना र बासका लागि होटल, लज वा होमस्टे सुविधा छैन। अहिलेका लागि क्याम्पिङको विकल्प देखिँदैन।
यति रमाइलो डाँडामा हामी (म, गोपाल श्रेष्ठ, सुदीप पौडेल र चन्दा खड्का) ले साइकल कुदायौं। डाँडामा कुदाउन रमाइलो भयो। तर एउटा कुरा भनौं, माथि डाँडासम्म साइकल लैजान सजिलो छैन। च्योर्दोङको बेस क्याम्पसम्म सडक खुलाउन सके सजिलो हुन्थ्यो।
डाँडाबाट डाउनहिल साइक्लिङ गर्न भने सकिन्छ। सिकारू होइन, अनुभवी साइक्लिस्टले साइकल कुदाउन सक्छन्। त्यसैले यहाँ साइक्लिङ पर्यटनको भविष्य छ।
हाम्रो अभियानका आयोजक पर्यटनकर्मी लिलारामले यहाँ डाउनहिल साइक्लिङ प्रतियोगिता गर्ने योजना बनाइसकेका छन्। त्यसो गर्न सके धेरैको ध्यानाकर्षण हुनेछ।
पदयात्राका लागि च्योर्दोङ उपयुक्त छ। जिरी बजारबाट क्याङ्से, पेमादिङ हुँदै च्योर्दोङ पुग्न करिब ६ घन्टा लाग्छ।
क्याङ्से पोखरीसम्म सडक ट्रयाक खुलेको छ। तर जिरीबाट एकै दिनमा माथि पुग्नु राम्रो हुँदैन। किनभने जिरीको उचाइ १९०० मिटर छ भने क्याङ्सेको ३७०० मिटर। बीचमा एक रात बसेर माथि जाने वातावरण बनाउन सके च्योर्दोङमा आन्तरिक पर्यटकको भिड लाग्नेछ।
च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न। जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान्? एउटा व्यक्तिले अभियान शुभारम्भ गरेर उनले राम्रो सन्देश दिएका छन्।
च्योर्दोङ घुमियो। मन रमायो। तर धित मरेको छैन।
दशकअघिको च्योर्दोङ सपना पूरा भयो। डाँडामै क्याम्प गरेर दुई-चार रात बिताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो।
च्योर्दोङबाट फर्केको धेरै दिन भएको छैन, फेरि जान मन लागिसक्यो।
(राजभण्डारी नेपाल साइक्लिङ संघका महासचिव हुन्।)