माछापुच्छ्रे हिमालले हामीलाई पछ्याउन सुरू गरिसकेको थियो। अन्नपूर्ण पनि झल्याकझुलुक आफ्नो उपस्थिति जनाउँथ्यो। छोरासँग मेरो यो तेस्रो पदयात्रा थियो।
यी हिमाल हामीले पहिला पनि देखिसकेका थियौं। तर योपटक अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्नु थियो। हामीलाई अन्नपूर्ण आधार शिविरसम्म पुग्नु थियो।
आकाश सफा थियो, मौसम सुहाना। पोखराबाट नयाँ पुलसम्म निजी गाडीमा गएका थियौं हामी। त्यहाँबाट सार्वजनिक गाडीमा झिनुसम्म पुग्यौं। अनि हाम्रो पैदल यात्रा सुरू भयो। अघिल्लो दुई पदयात्राले थपिदिएको साहसले होला, हामी लौरो पनि नबोकी हिँडेका थियौं। झिनुको पुल तरेर छुमरूङको उकालो सुरू भएपछि भने हामी अत्तालियौं।
मैले छोराको अनुहार हेरेँ। उ त रोउँलारोउँला जस्तो रातोपिरो भएको थियो। उसलाई हौसला दिन मैले उसको मनपर्ने खेल फुटबलको सहारा लिएँ।
उसलाई सोधेँ, 'तिमीलाई फुटबलमा क्रिस्टियानो रोनाल्डो मनपर्छ होइन?'
उसले सहमति जनायो।
'क्रिस्टियानोले सबै खेल जित्दैन। कहिलेकाहीँ हार्छ पनि। किन होला?' मैले फेरि अर्को प्रश्न सोधेँ।
उत्तर पनि आफै दिएँ, 'किनभने हरेक खेल नयाँ हुन्छ। हरेक खेलका लागि अभ्यास गर्नुपर्छ। एक पटक जितियो भन्दैमा अर्कोपटक फेरि जितिन्छ भन्ने हुँदैन। हामीले दुइटा पदयात्रा गरिसक्यौं भन्दैमा यो सजिलो हुने होइन। हामीसँग धेरै आत्मविश्वास भएकाले छिट्टै निराश भएका हौं।'
मलाई लौरो बिना हिँड्न त्यति गाह्रो भएको थिएन। स्वप्नीललाई भने गाह्रो भएकाले मैले बाटामा हिँडिरहेका अर्का मानिससँग लौरो सहयोग मागेँ। हामीले हाम्रो उत्प्रेरणा लियौं, 'हरेक पदमार्ग फरक हो।'
दुई घन्टा जति ठाडो उकालो चढेपछि हामी छुमरूङ पुग्यौं। दिनको १२ बजेको थियो। खाना त्यहीँ खाएर हामीले करिब एक घण्टा आराम गर्यौं।
त्यसपछिको एक घन्टा हिँडाइपछि हामी तल्लो सिन्वा पुग्यौं। हामीले यही बास बस्ने सोचेका थियौं तर होटलमा धेरै पैदलयात्रीहरू थिए। होटल भरिभराउ भएकाले हामीले अन्त जहाँ भेट्यो, त्यतै बस्ने योजना बनायौं।
दोस्रो दिन बिहानको नास्ता खाएर सात बजे यात्रा सुरू गर्यौं। करिब एक घन्टा जति हिँडेपछि उपल्लो सिन्वा पुग्यौं। त्यहाँ मनमोहक प्राकृतिक दृश्यहरू देख्यौं। चिसो बढेको थियो। आजको दिन अलि धेरै हिँड्नुपर्ने थियो। हामी धेरै समय नभुली हिँड्यौं।
बाटो ठाडो उकालो भएकाले थकाइ लाग्दै थियो। ठ्याक्क बीच बाटोमा ठूलो झरना आयो। सबै थकान क्षणभरमै गायब भयो। एकछिन हामी त्यही झरनामा रोकियौं र प्रकृतिको आनन्द लियौं। झरनाको आवाज, हावाको शीतलता, खोला बगेको आवाज, कीरा, चराचुरूंगीको आवाजको आनन्द लिएर फेरि हिँड्ने ऊर्जा बटुल्यौं। करिब दुई घन्टा हिँडेपछि दिउँसो एक बजेतिर हामी हिमालय भन्ने ठाउँ पुग्यौं। त्यहीँ खाना खायौं।
स्वप्नीलले 'कस्तो राम्रो ठाउँ हेर्नुस् त, दुइटा अग्लो पहाडको बीचमा बसेर हामी खाना खाँदै छौं, मलाई पृथ्वीको अर्को भागमा आएको जस्तो भएको छ' भन्यो।
उसले प्रकृतिबाट आनन्द लिएको देखेर म खुसी भएँ।
हामी फेरि हिँड्न सुरू गर्यौं। करिब दुई घन्टा जति हिँडेपछि देउराली पुग्यौं जहाँ आजको बास थियो। चिसो धेरै बढे पनि यात्रुहरूको भिड थियो। सायद धेरै हिँडेर होला, त्यो रात हामीलाई खास राम्रो निद्रा लागेन।
तेस्रो दिन हामी बिहानको नास्ता खाएर आठ बजेतिर हिँड्यौं। मज्जाको घाम लागेको थियो। माछापुच्छ्रे नजिकै थियो। अन्नपूर्ण पनि राम्ररी देखिएको थियो। करिब दुई घन्टा उकालो हिँडेपछि माछापुच्छ्रे बेसक्याम्प पुग्यौं। त्यहाँको मनमोहक दृश्य गज्जब लाग्यो। एकछिन त्यहीँ रमायौं र हिँड्न थाल्यौं। करिब एक घन्टा हिँडेपछि हामी अन्नपूर्ण बेसक्याम्प पुग्यौं।
आजको हिँडाइ थोरै थियो, चार घन्टा हिँडेर गन्तव्यमा पुग्यौं। खाना खाएर अघिल्लो दिनको निद्रा पुर्याउने गरी सुतौं है भन्दै सुतियो।
उठेपछि त बाउछोराकै टाउको दुख्यो। एकछिन आत्तियौं। त्यहीँका एक जना दाइले 'तपाईँहरू दिउँसो सुत्न हुँदैन थियो, गल्ती भयो, सिटामोल खानुस्' भने।
औषधि खाएको एक घन्टापछि निको भयो।
अनि रातिको खाना खाएर सुत्यौं। रात्रिकालीन दृश्य हेर्न भनेर म राति उठेँ। तारा र चन्द्रमाको उज्यालोले अन्नपूर्ण हिमाल सजाएको हेरेँ। चिसो बढेको थियो। मनमा कुराहरू खेलाउँदै सुत्न गएँ।
चौथो दिन हामी सूर्यको किरणले अन्नपूर्णलाई सजाएको हेर्न बिहान छ बजेदेखि हिमाल अगाडि बस्यौं। चिसो हावा, चराहरूको आवाज सँगै सूर्य उदाएको हेर्न पर्खिरह्यौं।
सूर्य उदायो।
अन्नपूर्ण हिमाललाई गज्जबसँग सिँगार्यो। हामीले हेरेर आनन्न लियौं।
अब ओरालो लाग्ने तयारी गरियो।
बिहानको नास्ता खाएर सात बजेतिर ओरालो लाग्यौं। ओरालो लाग्दै गर्दा उकालो चढेको मान्छेहरू देखिए।
स्वप्नीललाई भनेँ, 'के उकालो चढ्ने सबै मान्छे साहसी हुन् र ओरालो झर्ने निराश हुन्?'
स्वप्नीलले भन्यो, 'हैन।'
'त्यही त उकालो र ओरालो दुवैमा सन्तुलित तरिकाले हिँड्नुपर्छ। जिन्दगीमा पनि उकालो ओरालो आउँछ। हरेक समयमा धैर्य हुन र सम्हालिन जान्नुपर्छ,' मैले उसलाई भनेँ।
यति भन्दै फटाफट हिँड्दै थिएँ, ओरालो भन्दै हौसिँदा म पल्टिएँ। धन्न धेरै चोटपटक लागेन।
बिस्तारै सम्हालिँदै सन्तुलित भएर हिँड्नुपर्छ भन्ने सम्झिएँ र बिस्तारै बिस्तारै हिँडे। जति ओरालो झर्दै थियौं, त्यति 'बाफरे, कसरी चढिएछ है' भन्दै हिँड्यौ।
करिब दस घन्टा आराम गर्दै हिडेर यिधभच कष्लगधब बास बस्न पुग्यौं।करिब करिब पैदल यात्रा सकिएको थियो।
पाँचौं दिन हामी बिहान खाजा खाएर आठ बजेतिर हिँड्यौं। अन्तिम उकालो थियो यात्राको। दस बजेतिर छुमरूङ पुग्यौं। गजबको दृश्य देखियो। माछापुच्छ्रे र अन्नपूर्ण एकै साथ देखिएको थियो।
कफी खाएर आराम गरेर हामी फेरि हिँड्यौं। करिब एक घन्टा हिँडेपछि झिनु पुग्यौं। छुमरूङको उकालोमा हरेस खानेहरूलाई हामीले हौसला दियौं।
अनि हामी नयॉं पुलका लागि बस चढ्यौं। नयॉं पुलबाट आफ्नै गाडीमा पोखरा पुग्यौं।
यात्रा रमाइलो भयो।
नरमाइलो चाहिँ के लाग्यो भने, यहॉंका स्थानीय समुदायले आफ्नो पहिचान देखाउन पाएका छैनन्। विदेशीले खाने खानेकुरा बेच्न बाध्य छन्। आफ्नो पहिचानको कुरा गर्दा मननपराउने भइसके। कामको सम्मान नहुँदा यो मार्गमा होटल पेसा गर्ने युवा पुस्ता पनि कोही छैन।
जे भए पनि हामीले चाहिँ यो यात्रामा अति आत्मविश्वासले मात्र हुँदैन, हरेक यात्रा नयॉं हो, उकालो-ओरालो होस् वा सम्म मैदान, सम्हालिएर हिँड्नुपर्छ र धैर्य हुनुपर्छ, यति भए कठिन काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने सिक्यौं।