एकीकृत समाजवादीसँग असन्तुष्ट रहेका रामकुमारी झाक्री, किसान श्रेष्ठ र अम्बरबहादुर थापाहरूले बुधबार छुट्टै पत्रकार सम्मेलन गर्दैछन्।
आजै एकीकृत समाजवादीका असन्तुष्ट घनश्याम भूसाल, विजय पौडेलसहितको एउटा पंक्तिले पुनःगठनका लागि आह्वान गर्दै पत्रकार सम्मेलन गर्दैछ। त्यहाँ पनि सामेल नहुने झाक्रीसहितको समूहले नेकपा (एमाले) फर्कन आह्वान गर्दै पत्रकार सम्मेलन गर्न लागेको निवर्तमान सांसद श्रेष्ठले बताए। उनीहरूले बुधबार बिहान १० बजे काठमाडौंको सिंहदरबार सामुन्ने रहेको बसेरा होटलमा पत्रकार सम्मेलन गर्दैछन्।
‘हामीले दसै बजे पत्रकार सम्मेलन किन राख्यौं भने यहाँ माओवादी केन्द्रतिर एकता गर्ने र पुनःगठन गर्नेभन्दा ठूलो समूह एमालेतिर जाने छ,’ उनले भने, ‘हामी भित्रभित्रै एमालेभित्र त कुराकानी गरिराखेका थियौं। तर हामीभित्रको ठूलो पंक्ति यसबारे अन्यौल छ। उनीहरूलाई एमालेसँग वार्ता–संवाद भइरहेको छ, हामी एमाले जाने हौं भन्ने पत्रकार सम्मेलन राखिएको हो।’
उनले करिब सय जना हाराहारी केन्द्रीय कमिटी सदस्यहरू नै एमालेमा जान तयार रहेको दाबी गरे। आजै माओवादी केन्द्रसहितका ८ दलले एकता घोषणा गर्दैछन्।
एकीकृत समाजवादीमा माधव नेपालसहितको पंक्तिले ८० जनाभन्दा बढी केन्द्रीय सदस्य मनोनीत गरेर एकताका लागि निर्णयमा बहुमत जुटाएको श्रेष्ठले आरोप लगाए।
‘नत्र उहाँहरूसँग बहुमत नै थिएन। ८०–९० जना एकाएक मनोनीत गरेर एकताको निर्णय गर्नुभयो। त्यसप्रति असन्तुष्ट हामीहरूको पंक्ति मूल घर फर्कन वार्तामा छ। पत्रकार सम्मेलन गरेर अगाडि आएपछि एमाले जान चाहने थप साथीहरू हामीसँग सम्पर्कमा आउँछन्,’ उनले भने।
यसैबीच मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खनालको सचिवालयले बताएको छ।
भेटमा एमाले जानेबारे कुराकानी नभएको र खनाल सबै नेतासँग छलफलमा रहेको उनको सचिवालयको दाबी छ। आज बिहान खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्दैछन्।