'नायग्रा फल्स' नजिकका पार्कमा पुगेर त्यहाँका झर्नाहरू नियाल्दा एक तमासको आनन्दले मेरो मन भरियो। कुनै पहाडबाट खसेको झर्ना नभएर अग्ला ठाउँको एउट ठूलो नदी सयौं फिटको गहिराइमा रहेको अर्को नदीमा प्रवाहसाथ झरेको, झर्नाहरूको राजा रहेछ अमेरिकाको नायग्रा फल्स।
त्यहाँको प्राकृतिक सौन्दर्य आँखाभरि हेरेर मन बहलाउन ठूलो संख्यामा मानिसहरू भेला हुँदा रहेछन् – कोही अमेरिकन, कोही अफ्रिकन, कोही एसियन।
बालबालिका, युवा, बुढाबुढी सबै उमेरका अगन्तुकहरूको भिड लाग्दो रहेछ।
संसारभरिका मानिसहरू ज्यादै लालायित हँदारहेछन् नायग्रा फल्सको प्राकृतिक सौन्दर्यमा लुटुपुटु हुन। अन्यत्रका झर्नाहरूमा भन्दा नायग्रा फल्समा उदेकको टुना नै रहेछ। संसारभरिका मानिसलाई आफूतिर खिच्नसक्ने शक्तिशाली चुम्बक रहेछ।
टाढैबाट हेर्दा पनि हामी यसपटकको यात्रामा रोमाञ्चित हुँदै थियौं। नायग्रा फल्सका आँगनबाट सेन्ट लरेन्स नदीपारि रहेको क्यानडाको ओन्टारियो सहर सोह्र शृंगार गरेर चिटिक्क परेकी नयाँ बेहुली जस्तै सुन्दर र झिलिमिली देखिन्थ्यो, अन्यन्तै मनमोहक।
नायग्रा फल्स हेर्न क्रुजको टिकट लिएपछि नीला प्लास्टिकका बर्सादी पनि दिँदारहेछन्। बर्सादी लगाएर एउटा ठूलो लिफ्टबाट हामी तल उत्रिएर नदी किनारको नजिकै पुग्यौं।
सेन्ट लरेन्स नदीमा दुईतले क्रुज आगन्तुक पर्खेर बसेको थियो। आलोपालो हामी क्रुजमा चढेर छतमा पुग्यौं। केही बेरपछि क्रुज बिस्तारै अघि बढ्यो। सबै यात्री फोटा खिच्न तल्लीन भए। नदीमा तैरिएका पानीचराहरू पंक्तिबद्ध बनेर जलक्रीडामा मस्त थिए। क्रुजमा हामीले पनि त्यहाँको रमाइलो क्षण दृश्यमा कैद गर्न धेरै फोटा खिच्यौं।
क्रुजमा युवायुवतीको एउटा आकर्षक जोडी आफ्नै लयमा मग्न भएर हाम्रा नजिकै बसेको थियो। युवती अफ्रिकन काली र युवक अमेरिकी गोरा थिए, दुबै खाइलाग्दा र हँसिला देखिन्थे। उनीहरू अरू यात्रुलाई बेवास्ता गरेझैं देखिन्थे। केही बेरपछि त्यो हँसिलो युवकले मेरा छेउमा आएर आफ्नो मोबाइल मतिर बढाउँदै अंग्रेजीमा सोध्यो – हाम्रो फोटो खिचिदिन सक्छौ?
सकारात्मक संकेतमा टाउको हल्लाएर मैले भनेँ – स्योर।
उसले मप्रति आभार प्रकट गर्यो।
मैले विभिन्न पोजमा उनीहरूका केही ओटा फोटा खिचिदिएँ। मैले मोबाइल फिर्ता गर्दा युवतीले मुस्कुराउँदै भनी – थ्यांक्स् (धन्यवाद)। युवती मुस्कुराउँदा अनारदाना जस्ता दन्तलहरबाट देखियो। उसको मुस्कुराहटमा मलाई सिंगै नायग्रा फल्स नै मुस्कुराएझैं लाग्यो।
क्रुज मूल छाँगाको नजिकै पुग्यो। नायग्राका बाछिटा जिउभरि पर्नथाले। त्यहाँ भिज्नुको मजै बेग्लै हुने! नायग्रा फल्समा पुगेर त्यहाँको प्रकृतिसित रमाउन हिँडेको हाम्रो टोलीमा म, हाम्री छोरी साधना, ज्वाइँ प्रकाश, नाति प्रशम, नातिनी शान्भी, मेरी जीवन सँगिनी सपना र म थियौं।
हामी सबै जना अलौकिक आनन्दको अनुभूति गर्दै थियौं। सानी नातिनी शान्भी पहिले त हाँसिरहेकी थिई, पछि हावासहित आएका बाछिटाले निसास्सिएकी देखिई। तैपनि ऊ बेलाबेला मुस्कुराउँदै थिई।
हामी चढेको क्रुजको नजिकै अर्को एउटा क्रुज थियो। त्यो क्रुज राता बर्सादी लगाएका मानिसहरूले भरिभराउ थियो। त्यो क्यानडातर्फको रहेछ। क्यानडातिरका मानिसका लागि रातो र अमेरिकातर्फका लागि नीलो बर्सादी दिँदा रहेछन्। नायग्रा फल्सका नजिक हिँडेर जाने यात्रुले पहेँला बर्सादी पाउँदा रहेछन्।
सेन्ट लरेन्स नदीमा तैरिएर रमाइलो गरिरहेका चराचुरूंगी हेरेर मन रमाउने र नदीमा माछा मार्न बल्छी लिएर जानेको संख्या पनि निकै ठूलो हुँदो रहेछ। हाम्रो क्रुज अमेरिका र क्यानडातर्फका छाँगाहरूको भरपूर दृश्यावलोकन गराएर फर्किन थाल्यो।
हामी जुन ठाउँबाट चढेका थियौं त्यहीँ पुर्याएर हामीलाई क्रुजले नदीकिनारमा पोखिदियो। हामी बर्सादी सँगै बाहिर निस्कियौं। उन्मुक्तिसाथ लिफ्ट चढेर नायग्रा पार्कतिर कदम चाल्यौं। त्यहाँ पार्क घुमाउने ट्रली बस पनि पाइँदो रहेछ। हामी त्यसमा चढेर नायग्रा फल्सको किनारमा हरियाली पार्कमा घुमफिर गरेर फर्कियौं।
विश्वप्रसिद्ध नायग्रा फल्स अमेरिका र क्यानडाको अन्तर्राष्ट्रिय सीमामा छ। नायग्रा फल्सबाट निकालिएको विद्युतले अमेरिकाको न्यूयोर्क र क्यानडाको टोरन्टो राज्यलाई उजिल्याउन भरथेग गरेको रहेछ। सिंगै अमेरिका र क्यानडामा खानेपानीको ठूलो हिस्सा नायग्रा फल्सबाट प्राप्त हुने रहेछ।
अमेरिकातर्फका दुई ठूला झर्ना १८० फिटमाथिबाट झर्दा रहेछन्। यसबाट प्रति सेकेन्ड दुई लाख ८० हजार टन पानी बग्ने मानिँदो रहेछ। क्यानडातर्फबाट झरेको एउट फल्स त अझ बढी उचाइबाट झरेको मानिँदो रहेछ।
रातमा रातो, सेतो, नीलो, हरियो र पहेँलो रङ झर्ना रंगिचंगी देखिँदो रहेछ। झर्नाको पानी बहुरंगी देखिँदा मनको आनन्दको सीमा नै नरहने! क्यानडा र अमेरिकाका भित्तामा रङरङका लाइट राखेर साँझ परेपछि दुवै देशका झर्नामा प्रकाशका किरण आलोपालो गरेर पोखिदिँदा त्यसरी रंगिचंगी भएको रहेछ।
नायग्रा फल्ससँगै सेन्ट फ्लोरेन्स र नायग्रा नदी आपसमा एकाकार भएर लेक इरीको शोभा बढाउँदा रहेछन्।
अमेरिका पुग्ने होऊन् वा क्यानडा पुग्ने, विदेशी पर्यटकहरू र ती देशका बासिन्दाहरू, विश्वप्रसिद्ध नायग्रा फल्स हेरेर मन बहलाउन नछुटाउँदा रहेछन्।
हामी न्यूजर्सी, पेन्सिलभेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङटन डिसी र न्यूयोर्क त पहिल्यै घुमेका थियौं। त्यस बेला न्यूयोर्कबाट टेक्सस फर्किसकेपछि गोरखापत्र दैनिकका सहकर्मी किशोर केसीले फोन गरेर भन्नुभएको थियो – न्यूयोर्क पुगेपछि त नायग्रा फल्सतिर पनि जानुपर्ने थियो। त्यो ज्यादै रमाइलो छ।
अहिले नायग्रा फल्समा क्रुज यात्रा गर्दा मेरा स्वर्गवासी मित्र किशोरको भनाइ कानमा गुन्जिएको जस्तो भयो।
२०८१ साउन २४ गते ह्युस्टनबाट इलिनोई राज्यको शिकागो एयरपोर्टमा उत्रेर शिकागोका लेक इरीका किनारबाट धेरै राम्रा ठाउँमा रमाउँदै त्यहीँको मरियट होटलमा रात बितायौं।
भोलिपल्ट त्यहाँबाट केन्टकी, इन्डियाना राज्य पार गरेर निकै समयमा हामी ओहायो राज्यमा पुग्यौं। त्यहाँको एउटा इन्डियन होटलमा मेरी साली कल्पना, उनका पति प्रदीप, छोराबुहारी सौगात, सविता र सानी नातिनी मिरू हाम्रो प्रतीक्षामा बसेका थिए।
उनीहरूका साथमा मिठो खाना खाएर ओहायोको डाउन टाउन र क्लिभलेन्ड लगायत विभिन्न पार्क घुमफिरमा रमाउँदै साँझमा इन्डियाना राज्यको मेरियट होटललाई नै हामीले आफ्नो आश्रय स्थल बनायौं।
अर्को दिन बिहानको खाजा खाएर बाटो लाग्यौं। इन्डियानाबाट हिंडेको निकै बेरपछ पेन्सिलभेनिया राज्य हाम्रो स्वागतमा उभिएजस्तो लाग्यो। बाटाका छेउमा अंग्रेजीमा लेखिएको थियो– पेन्सिलभेनियामा तपाईंलाई स्वागत छ।
वनजंगल र बुट्यान छिचोल्दै लेक इरीका अगलबगलबाट रमाउँदै, ठाउँठाउँ उत्रेर लेक इरी सम्झाउने फोटा खिच्दै दिउँसो एक बजेतिर हामी बुफेलो सहर पुग्यौं। त्यहाँको प्रसिद्ध इन्डियन रेस्टुरेन्टमा खाना खान पस्यौं। आफूले रोजेको स्वादिलो खाना आफैले पस्केर खायौं।
बुफेलो सहर घुम्न निस्किने तरखर गर्दै थियौं। 'नेपाली स्वादको खाना' लेखिएको र नेपालको झण्डा अंकित साइनबोर्डले हाम्रो मन खिच्यो। पहिले नै खाइसकेका थियौं, साइनबोर्ड हेरेर चित्त बुझायौं।
साँझमा बुफेलोको प्रख्यात 'इस्टर्न माउन्टेन फुड' रेस्टुरेन्टमा त्यहीँको मौलिक खाना खाएर अर्को दिन बिहान ह्युस्टन उड्न बुफेलो एयरपोर्टतिर हानियौं।
त्यहाँबाट हिँडेको तीन घण्टामा ह्युस्टनको जर्ज बुस इन्टरनेसनल एयरपोर्टमा उत्रियौं। त्यसको एकघण्टा पछि चुच्चे ढुंगो उही टुंगो भनेझैं हाम्रो निवास साइप्रसमा पुग्यौं।
त्यहाँ पुग्दा पनि विश्व प्रसिद्ध नायग्रा फल्सको रोमाञ्चकारी भ्रमणको स्मृति चलचित्रको रिलझैं मनका मझेरीमा ओहोरदोहोर गरिरह्यो।