'७:३० को फ्लाइट छ। अबेर हुन्छ है अलि चाँडो गर्नू। मामू! मैले पठाओ बोलाइ सकेँ।' मिमांशा मलाई अझ अत्याउँछे।
हिजैदेखि हतारिएकी छु ढिलो नहोस् भनेर। चारै बजेदेखि उठेर खाना पकाएर तातो भाँडाहरूमा राखिदिएकी छु। कान्छी छोरीको छुट्टी छैन आज सरस्वती पूजा भए पनि। बूढा भएका सासूससुरालाई पनि सजिलो हुन्छ बुहारीले खाना पकाएर टक्क राखिदिँदा।
एक अँगालो बुहारीको कर्तव्य छिमलेर पदयात्रीको भेषमा तयार भएकी छु तर अझ आमाको जिम्मेवारी टुंगिएको छैन। महिलालाई यात्रामा हिँड्न सजिलो छ र भन्या! तर समय व्यवस्थापनले सहज भएको छ दैनिकी।
बिहान सवा पाँच बजे नै गुर्जुधाराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर हुँकियौं।
नेपाल लिटरेचर फेस्टिबलमा सामेल हुनको लागि छोरी पोखरा जाँदैछ। छोरीको साहित्यप्रतिको प्रेम र रुचि देखेर गर्वले भरिएकी छु। हामीलाई नुवाकोट जान हतार छ। बाआमा सँगै हिँडिदिए हुन्थ्यो भन्ने छोरीको मीठो इच्छालाई नकार्न सक्दैनौं। विमानस्थलभित्रै हामी पनि जान्छौं। सामाखुसी चोकमा बिहान सात बजे कसैगरी आइपुग्नुपर्ने निर्देशन जारी गर्नुभएको छ शितल गिरी सरले।
स्रष्टा पदयात्राको जायज नियम उल्लंघन गर्न कुनै पनि हालतमा मन मान्दैन। तर छोरीलाई एयरपोर्ट पुर्याउन आएकी छु बाटैबाट के हिँड्नु! मन भुट्भुटिएको छ समय भड्किन्छ कि भनेर।
समयको कदर हामीबाटै भएन भने के होला? छोरीलाई प्रश्न तेर्स्याउँछु। छोरीले कुराको गम्भीरता बुझ्छे। हामीलाई जान अनुमति दिन्छे। अनि ११ नम्बरको आफ्नै पाङ्ग्रा गुडाउँदै रिङरोडतिर ओर्लिछौं। महानगर यातायातले हाम्रो औडाहा बुझेको छ। हामीलाई नै पर्खिरहेको छ महानगर। दगुर्दै रोडपारि पुग्यौं। गाडीको भुँडीखुल्लै देखेर स्वाट्टै पसिहाल्छौं।
बिहानको समय छ, जाम खानेबेला भइसकेको छैन। आँखाहरू घडीमै अड्किएका छन्। गाडी पशुपति कटिसकेको छ। गाडीमा गीत घन्किरहेको छ। कानले सुन्दैछन् केदारनाथका लोकप्रिय गीतहरू। गाडी उडिरहेको छ। सडक खुला छ। नारायण गोपाल चोक पुग्दा सात बज्नै लाग्यो। मन हुलबुल हुलबुल भएको छ। मोबाइल जोडले बज्छ। साथी शोभाको फोन रहेछ। शोभा र राधा दिदी पुगिसक्नु भएछ।
‘म पनि अब आइपुगिहालेँ’ भन्दै झर्नलाई ताउरमाउर गर्न थालेँ। महानगरलाई बाई बाई गरेर सामाखुसीको धुलोमा हिँड्दै छौँ। टोखा जाने बाटोतिर आँखा छरिएका छन्। रोड पारि देखिँदै हुनुहुन्छ राधा दिदी र साथी शोभा।
अब चारै जना टोखा रोडतिर लम्किएका छौं। स्रष्टा पदयात्राको पोसाक लगाएर स्रष्टाहरू सडक छेउमा देखिँदै छन्। अभिवादन गरेपछि हामी पनि त्यहीँ मिसिन्छौं। सबै स्रष्टा जम्मा हुँदा सामाखुसीमै आठ बजेको संकेत घडीले दिन्छ। समूहमा हिँड्दा सबैले समयको ख्याल गरे पो राम्रो हुन्छ त! सबै आफ्नै पाराले समूहमा हिँड्दा अरूलाई समस्या पर्छ भन्ने कुराको बोध सबैलाई भइदिए जाती हुन्थ्यो। समूहका यात्रीले बुझ्नैपर्छ यात्रामा मिनेट मिनेट कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा। टोखा रोड हुँदै गाडी हुइँकियो शिवपुरी नागार्जुन डाँडालाई छिचोल्न।
गाडीको गतिसँगै मनको गति पनि दगुरेको छ। पहिलोपटक नुवाकोट जाँदैछु। नवीन ऊर्जा जागृत हुँदैछ। नुवाकोटको इतिहास कानैमा आएर मलाई जगाउँछ। नुवाकोटको भूगोलमा पाइला टेक्ने सौभाग्य जुराएको हो स्रष्टापद यात्राको संकल्पले। यो संस्थाको कल्पनाकारलाई नमन गर्दैछ यो मन। विनोद नेपाल सर ठ्याक्कै हाम्रै सिटको पछाडि हुनुहुन्छ। साथी शोभा र मसँगै छौं। प्रेम दिवस र सरस्वती पूजा एकैदिन परेको छ आज। विनोदी वातावरण छ गाडीभित्र पनि।
गाडीले ग्राण्डी छोडेको निकै समय भइसकेको छ। झोरमा आइपुगेका छौं हामी। गाडीको झ्यालबाटै विनोद सरले झोरको झरना जाने मार्ग देखाउँदै हुनुहुन्छ। प्लटिङ, डोजर र स्काभेटरको आतंक भोग्नु वरिपरिका डाँडाहरूको नियति नै भएको छ। तल चापाबोट देखिन्छ। गाडीले चापाबोटको भूगोलबाट छोडेको कुरा विनोद सरले जानकारी दिँदै हुनुहुन्छ। हामी उकालो लाग्दैछौं। अस्तव्यस्त सहर देखेर पीडाले आत्मविस्मृत भएकी छु। दिव्योपदेश कानमा आएर जोडले गुन्जिन्छ अनि आत्मजागृत हुन्छु ‘खेती गर्न योग्य जमिनमा खेती गर्नू र डाँडा पाखामा बस्ती बसाउनू’।
नेपाली जनताले के बुझे कुन्नि खेतीयोग्य जमिनमा सिमेन्टका विशाल भवनहरू उमारेर पनि अझ चित्त बुझेको छैन। हरिया डाँडालाई पनि नङ्ग्याएर उदांगो पारिँदै छ। डोजरले उदिनेका पहाडहरू विरूप मात्र होइन, विकराल देखिएका छन्।
नजिकै घना हरियाली देखेर विस्मित हुनपुग्छु। डोजरले चिथोरेको पहाडको नजिकै विशाल जंगल देखिन्छ।
म दंग पर्छु कसरी नजिकैको जंगलले आफ्नो अस्तित्व बचाएर राख्न सकेको होला? किन र कसरी जंगल मास्ने दुम्सीका नजर यो हरियालीमा परेनछ? मन नाच्दै छ।
अहो! त्यो त शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज पो रहेछ। निकुन्ज घोषणा गर्ने दूरदृष्टिलाई सलाम नगरी यो मन शान्त भएन। निकुञ्जको अवधारणा नजन्मिएको भए जङ्गल हेर्न राजधानी नजिकै कहाँ जान्थे होलान् हाम्रा दरसन्तान।
जङ्गलकै छेउमा हुर्किएकी हुँ म पनि। तर लामो समय सिमेन्टको जंगलमा हराउन थालेपछि अचेल कौसीको हरियालीले पनि मलाई मोहित पार्छ। अझ यहाँ त घना जङ्गलको चित्ताकर्षक वातावरण छ। नुवाकोट हिँडेकी भएर होला पृथ्वीनारायणलाई भुल्न सकेकी छैन। उनको दिव्योपदेश मानेर योजनाबद्ध सहरीकरण गर्न सकेको भए आज कैयौं पर्यावरणीय समस्याहरू जन्मिने थिएनन् होलान्।
ध्याच्च गर्छ गाडी। अचानक उकालोमा गाडी घ्यार्रध्यार्र गर्छ। मुटु बुद्रुक्क हुन्छ। लौ खा उकालोमा उक्लिनै मान्दैन त गाडी अब भएन त फसाद! केहीबेर गाडीले छोडेको धुवाँ सुँघेर गाडीभित्रै उकुसमुकुस भएर बसिरहेका छौं। गाडीलाई चिसोले भेट्यो जस्तो छ। लहरे खोकी लागेकोझैं ख्यारख्यार गर्छ गाडी। गाडीमा गुम्सिरहन पटक्कै मन लागेन। झ्यालबाट देखिएको छ बाहिरको दृश्य। स्वच्छ हावा पिउन मन लागेर गाडीबाट हतारिँदै ह्वार्ह्वार्ती निकुञ्ज क्षेत्रमा झर्छौं। प्रकृतिको अद्भुत स्वच्छताले रोम रोम आनन्दित भएको छ। हामी हिँड्दै छौं सफा र शान्तमय जङ्गलको छातीमा। सुनिँदै छ चरीका श्रुतिरञ्जक आवाजहरू। राधा दिदी भिडिओ बनाउँदै हुनुहुन्छ।
निकुञ्जको सौन्दर्यलाई क्यामेरामा सुरक्षित गर्नलाई फुत्त ब्यागबाट मोबाइल झिक्यौं। फोटो खिच्न मात्र के लागेका थियौं। डरलाग्दो आवाजले हामीलाई खंग्रंग पार्यो– 'बन्द गर्नुस् मोबाइल। खोसौं ती मोबाइल। होइन भने आफैं बन्द गर्नुस्। यहाँ फोटो खिच्न पाइँदैन।'
हतारहतार ब्यागमा मोबाइल हालेर भन्छु – 'हस् भाइ थाहा थिएन फोटो खिच्नु हुँदैन भनेर। यति राम्रो जङ्गल देखेर मन लोभियो। अब खिच्दैनौं। बरू त्यो बोर्ड तल र माथि दुवैतिरबाट देखिने गरी राखिदिए हुने।' मैले सैनिक भाइलाई विनम्र भएर भनेँ।
एकैछिनमा भाइको बोली पनि नौनी जस्तै नरम भयो।
आखिर ओठभित्र त्यति मीठो मुस्कान र आवाज दबाएर किन बोलेका होलान् त्यति रूखो बोली? मन आफैं तर्क गर्छ 'कति अटेरी पथिकहरू आउँदा हुन्। कतिले टेर्देनन् होलान्। अनि आवाज कडा पार्नै पर्यो नि बरा!'
हामी उभिएको ठाउँ त गुर्जे भन्ज्याङ पो रहेछ।
यहीँबाट नुवाकोटको भूखण्ड दृश्यमान भयो। स्रष्टाहरू एकै ठाउँमा भेला भएका छौं अहिले। शितल गिरी दाइ परिचय लिँदै हुनुहुन्छ सम्पूर्ण स्रष्टाहरूसँग।
गंगा भेटवाल दाइ सामूहिक फोटो र भिडिओ खिच्दै हुनुहुन्छ। उल्लासमय वातावरण निर्माण भएको छ। काठमाडौं र नुवाकोटको सिमानामा शान्तिको अनुभव गर्दै उभिएका छौं। नुवाकोट त डाँडामा होला भन्ने सोचेकी थिएँ। पहाडहरूको माथि र तलसम्म नुवाकोट हाँसेको रहेछ। पर परसम्म देखिएको छ नुवाकोटको नौलो भूगोल। मनमा अर्को पिर परेको छ। मौसम आज त्यति खुलेको छैन। हामी घुम्न आएको तुवाँलोलाई मन परेनछ जस्तो लाग्यो। एकैछिनमा तुवाँलोले ढाक्दै लग्यो वातावरणलाई। नुवाकोटको सौन्दर्य हामीले स्वाट्टै लुट्छौं भनेर त होला नुवाकोटको अनुहारमा पर्दा लगाउन हतारियो तुवाँले खलनायक। तुवाँलोको षड्यन्त्र देखेर पटक्कै मन डराएको छैन। अचम्मको विश्वास उठेको छ – 'एकछिनपछि अवश्य घाम पनि झुल्किन्छ। केहीबेर हो तेरो पाइन, देखा देखा। अनि त घामको तातो किरणहरूले तँलाई झापड हान्छ अनि थाहा पाउलस्।' मैले मज्जाले कुम खुच्याएँ।
हृदयमा नवीन ऊर्जा लिएर नुवाकोटे ओरालो झर्दैछौं। यहाँ पनि डोजर आतंक उस्तै छ। चित्थ्रा चित्थ्रा पारिएको छ पहाडको छाती। धर्ती माताको क्रन्दन यहाँ पनि सुन्दैछु। मुटु रोएकै छ। सिमेन्टको ढलाने बाटोमा हिँड्दै छौँ। देखिँदै छ झुसेली कीराको एकता। हेर्दैछौं बाटोभरि झुसेलीको सामूहिकता। मौरीको एकता सुनेर, देखेर हुर्किएका हामी दङ्ग परेका छौं। हात बिनाका अचम्मका कीराहरू बाँधिएर हिँडेको सामूहिक हिँडाइ, अनुकरणीय छ। झुसेलीको जीवन दर्शनलाई क्यामेरामा सुरक्षित पार्दै हुनहुन्छ त्रिभुवनचन्द्र वाग्ले सर। हामी पनि झुम्मिन्छौं। हामी समूहमै अगाडि बढेका छौं। कीराको एकता चर्चाको विषय बन्दैछ। एक्कासि गाडी प्वाँ गरेर करायो। झसङ्ग भयौं। हाम्रै अगाडि आएर गाडी टक्क रोकियो। केहीबेरको हिँडाइपछि सबै जना गाडीभित्र छिर्यौं। गाडीले ओरालो बाटोमा आफ्नो पाइन देखाउन पो थाल्यो। गुटुङटुङ गरेर गाडीले ओरालोको बाटो नाप्दै छ। गुरूङ गाउँमा गाडी पुनः घ्याच्च रोकियो। गाडीमै बसेका छौं। गाडीमै कुकिज, चाकु खाँदैछौं। स्रष्टाहरूले निकै प्रेमले ल्याउनु भएकोले हो कि मुखमा आएको भाग अपूर्व भएको छ। गाडीले लाउनुपर्ने ठाउँमा मज्जाले मोबिल दलिएको छ अहिले।
गाडीलाई मोबिलको कमी भएर घ्यार्रघ्यार भएको रे। पत्याउनु नै पर्यो। अब गाडीको गोडा ठिक भयो भन्दै मक्ख परेकी थिएँ तर गाडी स्टार्ट गर्दा नराम्रोसँग चिच्याएछु। गाडी त बुरूक्कै पो उफ्रियो।
ए मेरा बा! आँखै अगाडि मृत्युले ताण्डव देखायो। कत्रो विश्वास हामीलाई अपरिचित चालक र गाडीको। हाम्रो जीवन कति असुरक्षित छ सार्वजनीक यातायातमा। गाडीको कुनै जाँचपडताल छैन। भर्खरै सडक दुर्घटनाको कहालिलाग्दो शृंखला पढेकी थिएँ ‘नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी १२ हजार ६१२ जनाको मृत्यु भएको छ। ३५ हजारभन्दा बढी सडक दुर्घटनाहरू भएका छन् एक वर्षमा।
मुटु थररर काम्छ सम्झेर ल्याउँदा। मन निकैबेर फत्किन्छ। अनि हतारिँदै भन्छु ‘यस्तो गाडी छोडिदिऊँ। यहीँबाट पदमार्ग समाऊँ। निकै डराराएकी छु। केही हुँदैन भन्दैछन् सहचालक। तन्तु तन्तुमा मृत्युको स्पन्दन अझ गुन्जित छ। अग्रजहरू मलाई सम्झाउनु हुन्छ 'परीक्षण गरेको हो अब गाडी ठिक छ।' तर पनि डरको सिर्का मुटुसम्मै आएर रोपिएको छ। गाडी हुइँकियो।
आँखामा आउँदै छन् सडक दुर्घटनाहरूका भयाभय दृश्यहरू। अतीतका दुर्घटनाहरूले तर्साउँछन्। राम! राम ! राम ! भन्न छोडेको छैन मन।
बल्ल पदयात्रा आरम्भ हुने ठाउँ आयो। मन ढुक्क छ। आफ्नै एघार नम्बरको पाङ्ग्राको बढो भर लागेको छ। गाडीबाट झर्दा मृत्यु जितेर आएकी जस्ती भएकी छु। हामी काफलडाँडा शिवपुरी ८ नुवाकोटमा ओर्लिएका छौं। थानापती सेवा समाजले स्रष्टा पदयात्रा समाजलाई नुवाकोटमा हार्दिकताका साथ निमन्त्रणा गरेर हामी आज यहाँ जम्मा भएका छौं। फूलको गुच्छाले हाम्रो भव्य स्वागत हुँदैछ।
छोटो स्वागत मन्तव्य दिनुभएको छ थानापती सेवा समाजका अध्यक्ष होमनाथ थपलियाले। निकै सुन्दर पलहरूलाई अनुभूत गर्दैछु। यस्तो साहित्यिक यात्रा पहिलोपटक हो मेरो। साहित्य प्रेम कति अमूल्य रहेछ अझ नजिकबाट छाम्दै छु। स्वागतपछि उल्लासित भएका हाम्रा पाइतालाहरू नुवाकोटको भूमिमा निकै रमाएका छन्।
अब हाम्रो गन्तव्य रहेको छ नजिकैको ऐतिहासिक बासुकी झरना र घट्टेदेवी मन्दिर। जङ्गलको छातीबाट बाटो ओरालिएको छ। बाटो सफा छ। सजिलो छ। तर पनि मन अमिलो हुन्छ।स्थानीय सामग्री प्रयोग गरेर पनि बाटो निर्माण गर्न सकिन्थ्यो होला। जङ्गलको राज्यमा छौं। प्रकृतिको उपहार मनग्य छ। ढुंगा, माटो र काठहरू प्रशस्त भएको ठाउँमा पनि सिमेन्टको सिँढी निर्माण गरिएको छ। झलक्क सम्झिन्छु याकजीलाई। युवराज नयाँघरे याकजीमा लेख्छन् 'विदेशीहरू सानो धुले घोडेटो बाटो देख्दा रमाउँछन्। गाडी हिँड्ने बाटो आयो भने मुख बिगार्छन्।'
हामी प्रकृतिको स्वच्छतामाथि प्रहार गर्छौं र आफूलाई सम्पन्न ठान्छौं। कति राम्रो बाटो रहेछ भन्ने सामूहिक आवाजले मलाई जिस्क्याउँछ। हामी सबै सिमेटको निर्जीव बाटोमा रमाएको देखेर आफैंसँग शरम लाग्छ। मुटुमाथि ढुङ्गा राखेर हाँसेकी छन् पृथ्वी। संवेदी प्रश्नहरूले मलाई घरी घरी दुःख दिन आउँछन्। आफ्नै विचारबाट भाग्न ओरालोमा गीत गाउँदै छु। ओरालो झरेर निकै तल पुगेका छौं।
स्थानीयले सुनाउँदै हुनुहुन्छ मन्दिर उत्पत्तिको दन्ते कथा – यो बाटो भएर जुद्ध शमशेर हिँड्थे। पिसानी कुटानीको लागि यहाँ पानीबाट चल्ने घट्ट थियो। त्यही घट्ट भएको कारणले यो खोलाको नाम घट्टे खोलो रहन गएको हो। पञ्चकुमारी मन्दिर हो खासमा यो मन्दिरको नाम। तर घट्ट खोलाको आँगनमा भएको हुनाले घट्ट देवी भनिएको छ बोलीचालीमा। यो मन्दिर देवीको इच्छाले नै निर्माण गरिएको हो। त्योबेला बृद्धलाल लोहनीलाई सपनामा यहाँ मन्दिर बनाउन पञ्चकन्याले आज्ञा दिएका थिए रे। सात चोटिसम्म एउटै सपना देखेपछि लोहनीले घट्ट खोला छेउछेउ सपनामा देखेको ठाउँ खोज्दै आउँदा यो ठाउँ भेटेछन् जुन सपनामा देखेको जस्तै लागेछ। सपनामा देखेको जस्तै ठाउँ ठ्याक्क मिलेपछि यहीँ मन्दिर बनाएका हुन्।
मन्दिरको कथा सुनेर हामी सबै मख्ख पर्यौं। मन्दिरभन्दा अझ तल छ झरना। झरनाको आवाजले हामीलाई बोलाउँदै छ। मन्दिरमा पूजा अर्चना गरेर दर्शन गरेपछि हामी बासुकी झर्नामा झर्यौं। आँखाले झर्नाको सौन्दर्यलाई निकैबेर पियौं। आनन्दले झरनाको आवाजमा झङ्कृत भयौं। पाइलाहरू दगुरेका छन् घट्टे खोलाको वारिपारि। झरना सानो छ। खोला पनि सानो छ। तर आफ्नो अस्तित्वलाई समेटेर राखेकोले उसको विशेष महत्व छ। मान छ। सम्मान छ। आफ्नो पहिचान र अस्तित्वले गर्दा घट्टे खोलो र बासुकी झरना सानै भए पनि विशाल छ। पहिचानको छुट्टै सौन्दर्य छोडेको छ झरनाले।
वास्तवमा कसैको अस्तित्व कसैले पनि खोस्नु हुँदैन। कसैले पनि आफ्नो पहिचान भुल्नु हुँदैन भन्ने शिक्षा मिलेको छ घट्टे खोला र झरनाबाट। घट्टेकी देवी र बासुकी झरनालाई हृदयमा सजाएर पुनः अघि ओर्लिएको बाटो फर्किएका छौं। अब बाटो निकै उकालो लाग्दै छ। फ्याँफ्याँ गर्दै उक्लिदै छौं। रुबी म्यामले दिएको उकालोको दुई केस्रा सुन्तला अमृत भएको छ। मुखै रसिलो भयो। प्राण नै फर्किए जस्तो लाग्यो। मुख मिठ्याउँदै हिँडेका छौं सरोवरी। माथि पुगेपछि सडक भेटियो। भोजनको लागि मन हतारिएको छ। घडीले १२ बजेको जानकारी दिँदैछ। यात्रा जारी नै छ।