२०७८ भदौ २ गते निर्वाचन आयोगमा एउटा दृश्य देखियो।
विद्यार्थी आन्दोलनबाट उदीयमान नेताको छवि बनाइरहेकी रामकुमारी झाक्री नेकपा एमालेका तत्कालीन नेता माधव नेपालको हात समात्दै निर्वाचन आयोगतर्फ बढिरहेकी थिइन्।
नेता नेपाल ५० वर्ष पसिना बगाएको पार्टी परित्याग गरेर नयाँ आन्दोलन निर्माण गर्दै थिए।
उनीसँग थुप्रै सहयात्री छुटेका थिए।
एमाले कालमा लामो समयदेखि उनलाई साथ दिँदै आएका अमृत बोहरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत पहिलो पुस्ताका नेता मात्र होइन, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट लगायत नेताहरूको पंक्ति पनि थिएन।
एमालेको तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहेकी झाक्रीले भने नेता नेपालाई दिएको दर्बिलो साथको चौतर्फी चर्चा भयो। त्यसलाई धेरैले झाक्रीको साहसका रूपमा चित्रण गरे।
विद्यार्थीकाल, २०६२–६३ को जनआन्दोलन हुँदै नेकपा विग्रहसम्म आइपुग्दा उनको छवि क्रान्तिकारी नेताका रूपमा स्थापित हुँदै थियो। त्यस दिनको दृश्यले उनको छविलाई अझ परिस्कृत तुल्याएको रूपमा धेरैले बुझे र टिप्पणी गरे।
त्यस दिन निर्वाचन आयोगमा सञ्चारकर्मीको ठूलो जमघट थियो। नेकपा विग्रह हुँदै एमाले विभाजनसम्मको साक्षी बसिरहेका पत्रकारको पंक्ति माधव नेपाल सहितका नेता बाहिरिएको समाचार संकलनका लागि निर्वाचन आयोग पुगेको थियो।
त्यही भीड छल्न सहज होस् भनेर झाक्रीले सहजीकरण गरेकी थिइन्। त्यो दृश्य एमाले विभाजनको ठूलो विम्ब बनेको थियो।
अहिले त्यही दृश्यले नेता झाक्रीलाई पिरोलिइरहेको छ।
२०७८ भदौ ९ गते एमालेबाट विभक्त भएर गठन भएको एकीकृत समाजवादी अहिले विघटनको संघारमा छ। अध्यक्ष नेपालसहित ठूलो पंक्ति माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा समाहित भएको छ।
बुधबार नै काठमाडौंको भृकुटीमण्डपमा पार्टी एकता घोषणा गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका नेताले नयाँ पार्टी घोषणा गरेका छन्। यो पार्टी विगतको माओवादी केन्द्र, एकीकृत समाजवादीको निरन्तरताका रूपमा नभई नयाँ समाजवादी आन्दोलनको स्वरूप भएको अध्यक्ष प्रचण्डले बताएका छन्।
यसैबीच नेता झाक्रीले बुधबार नै पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादी आन्दोलन विसर्जन भइसकेको र आफू एकता प्रक्रियामा नजाने बताएकी छन्।
उनले आफू हिँड्न लागेको नयाँ बाटो भने बताइनन्। बरू त्यही पुरानो विम्बले आफूलाई पिरोलेको अनुभूति सुनाइन्।
'हामीले त्यस्तो अवस्थाबाट समाजवादी पार्टी निर्माण गर्यौं, जुन बेला दलभित्रको आन्तरिक लोकतन्त्र खुम्चिइरहेको थियो। जनतामा भरोसा थियो र त्यो भरोसालाई डोहोर्याउन सक्छौं होला भन्ने लागेर हामीले पार्टी निर्माण गरेका थियौं। समय क्रममा यो पार्टी विसर्जनको ठाउँमा पुग्यो,' उनले बुधबार पत्रकार सम्मेलनमा आफ्नो अनुभूति पोखिन्, 'त्यो यात्रामा माधवकुमार नेपाललाई निर्वाचन आयोगतिर जाँदै गर्दाको एउटा दृश्यलाई विम्बात्मक हिसाबले ल्याएर धेरै मानिसले ममाथि प्रश्न गर्नुभयो, तिमी नेकपा एमाले विभाजनका लागि प्रमुख पात्र हौ भनेर!'
झाक्रीले यसअघि पनि पटक पटक यस्तो आत्मालोचना गरेकी छन्। दुःखमनाउ पनि गरेकी छन्।
त्यसैलाई निरन्तरता दिँदै उनले निर्वाचन आयोगको त्यो दृश्य एउटा राजनीतिक परिघटना भएको र समयक्रममा एउटा विम्ब बन्न पुगेको बताइन्। आवरणमा आफू देखे पनि विभाजनको प्रमुख पात्र आफू हो कि होइन भनेर समयक्रममा र इतिहासको कालखण्डमा हेर्नुपर्ने धारणा राखिन्।
'त्यो दृश्य एउटा विम्ब थियो। त्यो सत्य पनि थियो एक प्रकारले। तर म प्रमुख थिएँ कि थिइनँ भनेर इतिहासको कालखण्डमा हेर्दै जानुपर्छ,' उनले भनिन्।
अहिले फर्किएर हेर्दा त्यो विभाजनले अगाडि बढ्न बाटो नदिएको भन्दै उनले विद्रोह पुष्टि हुन नसकेको आसय प्रकट गरिन्।
एकीकृत समाजवादीको यात्रा टुंगिएपछि र आन्दोलन विसर्जन भएपछि मात्र यो कुरा अनुभूत नभएको, बरू धेरै पहिले ज्ञात हुँदाहुँदै यात्रा टुंग्याउन नसकेको उनले बताइन्।
'त्यो फोटो र तपाईंहरूले बनाएको विम्बले एउटा अध्यायको अन्त्य नगरी अर्को अध्यायमा अगाडि बढ्न बाटो दिएकै थिएन,' उनले आत्मानुभूति व्यक्त गर्दै भनिन्, 'यो यात्रा अवरूद्ध छ भन्ने हामीले धेरै पहिले थाहा पाएका थियौं। हामी गलत बाटो हिँडिरहेका छौं भन्ने पनि धेरै पहिले थाहा पाएका थियौं। तर त्यसलाई सच्याउन केही हाम्रा जिम्मेवारी थिए। हामीले केही बोलेका थियौं, केही गरेका थियौं। वास्तविकता यही नै हो, हाम्रा कारणले केही भएको थियो। त्यस कारण त्यो यात्रा बीचमै टुंग्याउन सकेनौं।'
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि झाक्रीलाई अब अर्को विम्बले पनि पिरोल्न थालेको छ।
एमाले र नेकपा कालमा रामकुमारी झाक्री सबभन्दा बढी नेतृत्वलाई प्रश्न गर्थिन्। नवौं महाधिवेशनसम्म एमालेभित्रको आन्तरिक लोकतन्त्र ठीकठाकै रहेको उनको बुझाइ थियो। माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेपछि आन्तरिक लोकतन्त्र समाप्त भएको उनी बताउँथिन्।
नेकपारूपी जहाजको ककपिटमा दुई पाइलट देखा परेपछि सामूहिक नेतृत्व मात्र समाप्त भएको होइन, प्रश्नहरूको सुनुवाइ हुन छाडेको उनले बताउँदै आएकी थिइन्।
नेकपाभित्रको विग्रह उत्कर्षमा पुग्दै पार्टी अध्यक्ष ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि झाक्री विरोधको अग्रपंक्तिमा देखिइन्।
काठमाडौंको पुराना बसपार्क अगाडि, भृकुटीमण्डप जाने सडकको मुखैमा तत्कालीन प्रचण्ड–माधवकुमार नेपाल समूहले ओलीको कदमविरूद्ध सडक सभा राखेको थियो। उक्त विरोध सभामा झाक्री मुखमा टेप टाँसेर पुगेकी थिइन्। पार्टीभित्र बोल्न निषेध गरिएको प्रतिक्रियास्वरूप 'बोल्न पाइन्छ' भन्दै मुखको टेप उघारेकी थिइन्।
त्यति बेला पार्टी, नेतृत्वको विरोध गर्दा समाजमा कहीँ न कही अराजकतालाई प्रश्रय पुगेको अनुभूति अहिले उनी गर्न थालेकी छन्।
'आज के दलहरूको औचित्य सकिएको हो? सारा राजनीतिक पार्टीहरूका कार्यालय जल्दै गर्दा लाखौं सदस्य भएका कुनै पनि दलका कुनै पनि सदस्यले किन बचाउन सकेनन्? लाखौं पार्टी सदस्य भएका पार्टीका कार्यकर्ताले आफ्नो नेताको घर जल्दै गर्दा किन बचाउन सकेनन्? सयौं सैनिक भएको सिंहदरबार किन कसैले जोगाएनन्? सैनिक मुख्यालयबाट दुई सय मिटर अगाडिको सर्वोच्च अदालत किन कसैले बचाएनन्? भैरवनाथ गणबाट ५० मिटर अगाडिको राष्ट्रपति भवन किन कसैले बचाएनन्?' झाक्रीले प्रश्न गरिन्।
उनले अगाडि भनिन्, 'रोजगारी सिर्जना गर्ने निजी प्रतिष्ठानहरू जले, उद्योग–व्यापारिक प्रतिष्ठानहरू किन कसैले बचाएनन्? यो कसले बदला लियो? भोलि हुँदैन भन्ने कुरा सायद मानिसहरूले बिर्सिएका थिए? के भएको हो? कहीँ न कहीँ हाम्रा अभिव्यक्ति, हाम्रा कुरा, काम वा व्यवहारले समाजमा हाम्रो जबाफदेहिता छैन भन्ने कुरा हामीले नै त सिकाएनौं? यो प्रश्नको जबाफ आज हामीले उभिएर दिनुपर्छ भन्ने लाग्यो।'
आन्तरिक लोकतन्त्रको सन्दर्भमा पार्टीभित्र आफूहरूले जे-जे गरेको थियो, त्यसको प्रत्यक्ष प्रभाव समाजमा पर्दै गएको अनुभूति भएको उनले सुनाइन्। आफ्ना अभिव्यक्ति, क्रियाकलाप र कार्यशैलीले समाजलाई अराजकतातिर डोहोर्याएका त थिएनन् भन्ने प्रश्न पनि उठ्न थालेको उनले बताइन्।
'यो घटना (भदौ २४ गते) को सबभन्दा जिम्मेवार राजनीतिक पार्टीहरू नै त थिएनन्? नभए दलभित्र, पार्टीभित्रका मानिस एकअर्काविरूद्ध कसरी प्रयोग भए त?' उनले भनिन्।
यही प्रश्न सघन बनेपछि उनी अहिले दल नै बलियो बन्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेकी छन्।
तर झाक्रीसँग अहिले कुनै दल छैन। १३ वर्षको बालवयमै राजनीति सुरू गरेयता पहिलोपटक झाक्री पार्टीविहीन बनेकी छन्।
उनी ओत लागिरहेको एकीकृत समाजवादी माओवादी केन्द्रसहित ८ वाम घटक दलमा समाहित हुँदैछ। उनले भने एकताको बाटो नरोज्ने बताइसकेकी छन्।
झाक्रीको मन एमाले प्रविष्ट गरेको उहिल्यै हो। तर पाइला एमालेको घरभित्र पस्न सकेका छैनन्। एकीकृत समाजवादीमा असन्तुष्ट रहँदै आएका समूह एमाले फर्काउन अध्यक्ष केपी शर्मा ओलीसहितको पंक्ति उदार नै छ। तर समूहगत रूपमा प्रवेश गराउँदा दिनुपर्ने पद र प्रतिष्ठानको झन्झट एमालेले व्यहोर्न चाहेको छैन।
एमालेको मौजुदा नेतृत्वलाई थाहा छ — एकीकृत समाजवादीको विद्रोही पंक्ति विगतमा एमालेको नीति र नेतृत्वमा बारम्बार प्रश्न उठाएरै बाहिरिएको थियो। अहिले प्रतिकूल स्थितिमा पार्टीमा भित्रिए पनि आफूलाई अनुकूल पर्नेबित्तिकै प्रश्न उठाउन थालिहाल्नेछन्। नेतृत्वविरूद्ध गुट र ध्रुवीकरणको प्रक्रियामा सामेल हुन्छन्।
त्यसप्रति सचेत हुँदै महासचिव शंकर पोखरेलले एकीकृत समाजवादी लगायत विभिन्न समूहबाट एमाले फर्कन लागेकाहरूलाई नीति (जनताको बहुदलीय जनवाद) र नेतृत्व (केपी ओलीसहित उनको समूहमा रहेका नेताहरू) बारे प्रश्न उठाउन नपाउने सर्त राखेका छन्।
अर्थात्, अब एमाले प्रवेश गर्नेहरूले जनताको बहुदलीय जनवाद, पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेलविरूद्ध प्रश्न उठाउन पाउने छैनन्।
महासचिवले यसो भन्नुको कारण छ — एमाले ११औं महाधिवेशनको संघारमा छ। जेनजी आन्दोलनपछि कम्युनिस्ट पार्टीहरू तरंगित भएका छन्। कम्युनिस्ट पार्टीहरू विघटन, ध्रुवीकरण र एकीकरणको नयाँ प्रक्रियामा सामेल भएका छन्। विगतमा एमालेबाटै बाहिरिएको एकीकृत समाजवादी तीन टुक्रामा विभक्त भएको छ। त्यसबाहेक भीम रावलको नेतृत्वमा अलग्गै समूह पनि क्रियाशील छ।
पछिल्लो आन्दोलनको तरंगका कारण एमाले फर्कनेहरूको संख्या बढ्नसक्छ। त्यसो त एमालेभित्र पनि प्रश्नको वृत्त बढ्न थालेको छ। महाधिवेशनको मिति घोषणा भइसकेकाले पनि पार्टीभित्र प्रतिस्पर्धा पेचिलो बनिरहेको छ। नेतृत्वमाथि प्रश्न उठाइरहेको संख्या बढिरहेकाले प्रवेशीहरू त्यसमा मिसिएर विरोधको स्वर अझ घनिभूत बन्न सक्ने ठानेरै महासचिव पोखरेलले सर्त राखेका हुन्।
झाक्रीलाई महासचिवले राखेको बिनाप्रश्न नीति र नेतृत्व मान्नुपर्ने सर्तले खासै अर्थ राखेको छैन। यसबारे सोधिएको प्रश्नमा उनले टिप्पणी गर्न चाहिनन्।
उनको यो उदार मनले एमाले प्रवेश गर्ने बाटो खोल्छ कि खोल्दैन झाक्रीलाई पनि थाहा छैन।
***