विशेषगरी कालिञ्चोकमा पुस/माघ महिनामा हिउँ परेकै हुन्छ। यस वर्ष अलि ढिला पर्यो। २ वर्षअघि त मंसिरमै परेको थियो हिउँ। दोलखाको कालिञ्चोकमा हिउँ पर्दा युवाहरू काठमाडौंबाट धाएर आएका हुन्छन्।
काठमाडौंबाट चरिकोट १३३ किलोमिटर टाढा र चरिकोटबाट १७ किलोमिटरमै कालिञ्चोक पुग्न सकिन्छ।
राजधानीबाट नजिक भएको कारणले पनि प्राय: धार्मिक पर्यटक र हिउँप्रेमीहरू आएका हुन्छन्।
कालिञ्चोकमा हिउँ पर्दा प्राय: म धेरै पटक पुगेको हुन्छु। कालिञ्चोक आफैंमा सुन्दर देखिन्छ। अझ हिउँ पर्दा सुनमा सुगन्धझैं लाग्छ। आकर्षक घर, डाँडाकाँडा र बुट्यानहरूमा हिउँले ढाक्दा कम्ता सुन्दर देखिन्छ। बयान गर्ने शब्द नै हुन्न। त्यसैले हिउँ पर्दा यहाँ पुगेका जोकोही पनि घण्टौंसम्म रमाउँछन्।
चिसो, भोक, प्यास केहीको महसुस हुँदैन। यस वर्ष त झन् छिमेकी भारतबाट समेत सयौं जना हिउँ खेल्न आएका देखिन्थे। कोही पारिवारिक रूपमा आएका थिए भने कोही साथीभाइसँग।
यहाँ एकदिन परेको हिउँ हप्तौंसम्म रहने गर्छ। यस क्षेत्र अलि सेपिलो पर्ने भएकाले पनि हिउँ हप्तौंसम्म रहने गर्छ।
सम्भवत: नेपालकै अग्लो स्थान मानिन्छ कालिञ्चोक भगवती मन्दिर रहेको ठाउँ। समुन्द्री सतहबाट ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेकाले पनि वर्षमा एक पटक हिउँ परेकै हुन्छ।
कालिञ्चोकको एउटा अद्भूत विशेषता नै मान्नुपर्छ हिउँ पर्ने। पहिला पहिला हिउँ पर्न थालेपछि मान्छेहरू आगो बालेर घरभित्र बस्थे। न्यानो न्यानो लाउने, तातो तातो खाने गर्थे। अहिले हिउँप्रति अधिकांशको क्रेज बढ्न थालेको छ। हिउँमा सेल्फी, टिकटक, ट्वीटर, फेसबुक लगायतका सामाजिक सञ्जालमा राम्रा राम्रा भिडिओ, फोटो पोष्ट गर्नका लागि पनि हिउँमा खेल्ने, रमाउने गर्छन्।
हिउँ परेको थाहा पाएपछि मलाई फोन आयो पर्यटन तथा होटल व्यवसायी हरि ओलीको। उहाँले प्राय: मलाई फोटोको लागि सम्झिने गर्नुहुन्छ। मलाई पनि हिउँ पर्दाको कालिञ्चोक औधी मन पर्छ। हिउँले छपक्कै ढाकेको बेला कालिञ्चोक हो कि होइन भन्ने दोधारमा पर्ने गर्छु। नेपालमा पनि यस्ता ठाउँ छ र भन्ने सोध्ने गर्छन् प्राय:।
हिउँ पर्दा कालिञ्चोकले धेरैको मन लोभ्याउने भएकाले यहाँ आउने पर्यटकहरूमा कमी छैन। हिउँमा रम्नकै लागि हप्तौंसम्म कुरेका पर्यटक पनि भेटेको छु।
हिउँ पहिलो पटक छुन पाएर स्वर्गीय अनुभूति लिएका पर्यटक पनि भेटेको छु। म प्राय: वर्षैपिछे हिउँ खेलेको हुन्छु। तर पनि कहिले अघाएको जस्तो लाग्दैन। वर्षौंपिछे नयाँ लाग्छ। यस वर्ष ढिला हिउँ परेकाले अझ फरक महसुस गर्ने अवसर पाएँ।
हेर्नुस् तस्बिरहरू: