सान्साको कफीपछि हामी नाम्चेतिर अगाडि बढ्यौं। सान्सामा तीन वटा बाटो जोडिएको छ। फोर्सेको रूट र गोक्यो लेक जाने बाटो, नाम्चे निस्कन खुम्जुङ हुँदै जाने बाटो पनि यहीँबाट छुटिन्छ। हामी भने इबिसी मार्गलाई समाती नाम्चेतिर अगाडि बढ्यौं।
तीन बाटोको संगम त्रिवेणी यो बजार ५/६ वटा घर, लज सहितको सुविधा सहितको राम्रो सानो बजार हो। सान्साबाट नाम्चे ५ किलोमिटर जति छ। अबको नाम्चे सम्मको बाटो भने तेर्सो भएको हुँदा हामीलाई हिँड्न सहज भयो।
हामी सहजै ६ बजे नै नाम्चेको शिरमा पाइला टेक्न पुग्यौं। हाम्रो आजको बास नमस्ते लजमा नै थियो। हामी पक्कै थाकेका थियौं। जाँदाको ३ दिनको यात्रा १ दिनमा पूरा गरेका थियौं। चियाका लागि साहुनीलाई अनुरोध गर्यौं।
हामीलाई छुट्याएको कोठामा झोला थन्काएर डाइनिङमा बसेर चिया पिउँदै थियौं। लजको मालिक आउनु भयो।
'ल भाइहरू त छिटै पो फर्कनु भएछ। बेस क्याम्प त पुगियो नि?'
'नपुगी त कहाँ फर्कने र साहुजी।'
'ल बधाई छ। आज के खानु हुन्छ त तपाईंहरू?'
'तातो तातो तुङ्मा' मातृकाजीको रोजाइ रह्यो।
चिसो नाम्चे, बाहिर पानी पर्न थालिसकेको थियो। मेरो मनको कुरा पनि त्यही थियो। साहुजीले एक थर्मस तातो पानी र दुई वटा तुङ्मा अगाडि राखिदिनु भयो। बफ सुकुटी पनि मातृकाजीले अर्डर गर्नुभयो।
साहुजीसँग मीठा कुराकानी भयो। उनी इन्जिनियर रहेछन्। नाम्चेमा तार नदेखिएको बारेमा कुरा चल्यो। उनी यूएनडिपीमा काम गर्दा ३५ वर्ष अगाडि उनले नै तार बिनाको नाम्चेको प्रस्ताव गरेका रहेछन्। उनको संघर्षको कथा हामीले रोचकतापूर्वक सुन्यौं।
उनले कुरा गर्दा उनमा गौरव महसुस भएको प्रष्ट देखिन्थ्यो।
'यति वर्षदेखि ताररहित सहर बनाउन सकिने उदाहरण हुँदाहुँदै पनि किन हामीले देशका अन्य कुनै सहरले सुरू नगरेका होलान्?' मैले लामो प्रश्न उभ्याइदिएँ।
'गैरजिम्मेवार छन् हाम्रा प्रशासकहरू सर।'
'मैले त बुझिनँ नि दाजु के भन्न खोज्नु भएको?'
'देशप्रतिको माया हाम्रो देशका राष्ट्र सेवकहरूको छैन नि दाजु।' उनको यो कुराले म अवाक भएँ। यी शब्दहरू मलाई अति नै गहिरो लाग्यो।
'रत्तिभरी माया नै छैन होला र?'
उनले ठाडै अस्वीकार गर्दै भने- 'रत्तिभर छैन सर।'
यी कुराहरूले मलाई अलि भावुक बनायो। मेरो मानसपटलमा रहेका केही सरकारी कर्मचारीहरू जो सहसचिवदेखि सचिवसम्म बनेर मन्त्रालय हाँकेकाहरूको अनुहार झल्झल्ती आयो।
म आफू महिला मन्त्रालयमा बालबालिकाको क्षेत्रमा काम गरिरहँदाको ती दिनका, ती बढे कर्मचारीहरूले गर्ने हरेक निर्णयहरू गैरसरकारी संस्थाको स्वार्थसँग मिल्ने हुने। पहिला दातृ निकाय भनिनेको कार्यालयमा निर्णय हुन्थ्यो अनि मन्त्रालयमा।
नयाँ कर्मचारीहरू सरूवा हुनेबित्तिकै उनीहरूलाई अध्ययन भ्रमणको नाममा निमन्त्रणा, डलरमा भत्ता, अझ यहाँ सम्मकी डिस्कोदेखि सबैको व्यवस्थासहित विदेश भ्रमण।
अनि तिनले सुरू गर्थे उनका निर्णयहरू लागु गर्न। अन्तमा ती मन्त्रालयका सहसचिवहरू आइएनजिओहरूको कन्सल्टेन्टमा रिटार्य भएको एक हप्ता नपुग्दै नियुक्त हुने।
अहिले ती अनुहार सम्झँदा देशको सूचना बाहिर ल्याउनको लागि त कन्सल्टेन्ट नियुक्त भएका हुन कि जस्तो लाग्यो।
'तपाईंलाई किन त्यस्तो लाग्छ दाजु?'
'उनीहरू कामप्रति सिरियस नै नहुने। जागिरे मानसिकता। जागिर खानुछ। ध्यान भने केही कतै थप पैसा पाउँछ कि भन्नेतिर मात्र। एक राष्ट्र सेवक भएर राष्ट्रको लागि दिगो हुने व्यवस्थित काम गर्ने भन्ने त मुड नै नहुने। अति गैरजिम्मेवार।'
उनले किन हो धेरै तितो पोख्दै थिए। उनले पटकपटक धेरै नेता, कर्मचारीहरूलाई यस बारेमा कुरा गरेका रहेछन्। तर 'आहा राम्रा कुरा भन्यो बास। अनि मन मस्तिष्क भने रक्सी सुकुटीतिर।'
'जिम्मेवार राष्ट्रसेवक नहुँदासम्म देशले काँचुली फेर्न सक्दैन दाजु। बोल्यो भने नेगेटिभ कुरा गर्ने भनेर उल्टै आरोप लगाउँछन्।'
'आज यही रक्सी र तुङ्मा मात्र कि खाना पनि खाने सरहरू?'
'खाने नि खसीको मासुसँग दालभात खान पाइन्छ?'
'खसीको मासु त छैन होला भाइ। हामीसँग त बफ र चिकेन मात्र होला।'
'खसीको बजार छैन कि कसो हो साहुजी?'
'तपाईंहरूलाई थाहा छ कि छैन खुम्बु क्षेत्र त पशुबध निषेध क्षेत्र हो नि।'
'बध नै नगरी कसरी यो सुकुटीहरू बने त साहुजी? मासु त जहाँ पनि भेटियो फेरि।'
साहुजीले सटासट स्पष्टीकरण दिए 'यो क्षेत्रमा काट्न भने पाइँदैन। मरेको मासु खान पाइन्छ अनि काटेर ल्याएको मासु पनि बेच्न पाउँछ।'
लुक्लाबाट पहिलो दिनको यात्रामा राँगाको मासु डोकामा बोकेर हिँडेको देखेको थिएँ। यसरी बोकेर हिँडेको मासु रेष्ट्ररेन्ट चलाउने अनि बटुवाहरूले एक दुइ किलो किनेको देखेको थिएँ।मलाई उत्सुकता भएको थियो यसरी डोकामा बोकेर मासु बेचेको कुराले। मातृकाजी र मैले कुरा समेत गरेका थियौं।
खुम्बु बाहिर काटमार गरेर ल्याएको मासुहरू यो क्षेत्रमा बेचबिखन हुने रहेछ। यसकारण पनि यो यात्रामा भेज नै बढी मानिसहरूले खाएको देखियो। गुरू रिङपोछेले शान्तिको लागि बौद्ध धर्म प्रसार गरेको यो ट्रेलमा पशुबध निषेध भएको सुन्दा हामीलाई खुसी लाग्यो।
अन्तमा हामीले मासु बिनाको दालभात नाम्चेबजारमा ७ दिन पछि मज्जाले खायौं। तुङ्माको झुम्याइसँगै सायद हामीले यो यात्राको क्रममा आज नै धेरै दालभात खाएका थियौं। उचाइले गर्दा खाना नरूच्ने हुँदा दालभातको आज भिन्दै आनन्द आएको थियो।
हामी आज भने छिट्टै सुत्ने तर्खरमा थियौं। आजको यात्रा हाम्रो लामो नै थियो। हामी सकेसम्म भोलिपल्ट नै काडमाडौं उतर्ने प्रयासमा थियौं। भोलिको ब्रेकफास्ट हामी टोकटोकमा 'माया बसेको दिदी' कहाँ नै खाने योजना बनाएका थियौं।
'ब्रेकफास्ट त नसकिएला पक्कै हामी त्यही दिदीकोमा नै खाना खानुपर्छ।' मातृकाजीलाई भेट्न हतार नै भएको थियो। यस्तै गन्थनकै बीच हामी दस बजे नै निदाइसकेका थियौं।
थाकेका थियौं र होला हामी सात बजेभन्दा अगाडि व्युझन सकेनौं। बिहानको नित्यकर्मपछि हामी आठ बजेमात्र तयारी हुन सक्यौं। अलि ढिला भइसकेको थियो। केही खाएर मात्र हिँड्ने भयौं। हाम्रो बिहानको खाजा नाम्चेमा र दिउँसोको खाना टोकटोकमा हुने निश्चित भयो।
हामी झण्डै नौ बजे टोकटोकतिर ओरालो भर्यौं। बाटो ओरालो त्यसमा पनि हामीमा पहिलाभन्दा जोस थियो।
बाटोमा मातृकाजीले टोकटोकमा खानको लागि पहिल्यै अर्डर गर्ने कासिस गर्दै हुनुहुन्थ्यो। उहाँले पटकपटक फोन सम्पर्क गरी रहनुभएको थियो अन्तत उहाँले खानाको अर्डर गर्न सफल भएको मलाई सुनाउँदै हुनुहुन्थ्यो। उहाँमा त्यो दिदीले पकाएको खानको स्वाद अझै ताजा थियो।
'हामी टोकटोक १ घन्टामै पुग्छौं मितज्यू।' मातृकामा झन बढी जोस थियो।
मातृकाजीले भने जस्तै हामी एक घन्टामै टोकटोक पुग्न सफल भयौं।
'ल भाइहरू त फर्कनु भएछ।' मगर्नी दिदीको मुस्कान सहितको आवाजले मातृकाजी मक्ख हुनुहुन्थ्यो। भित्र छिर्नु भयो। तातो पानी अनि अस्ति पिएको लोकल र साधेको सुकुटी अर्डर गर्नु भयो।
'भाइहरू खाना पनि तयार छ है।'
'भोक त लागेको छैन। तर दिदीको हातको स्वाद चाखेर जाने हो।' मातृकाजी गफिँदै हुनुहुन्थ्यो।
'हात त म दिँदैन है भाइ, खाना भने मजाले चाखेर जानु होला।' हाँस्दै जिस्काउन थालिन् दिदीले पनि।
'हात त भिनाजूले चाट्ने होला नि दिदी।' मातृकाजीको पनि के कम जवाफ फर्काइ हाल्नुभयो। खित्का छोडर दिदी हाँस्न थालिन्। साथमा रहेकी बहिनीले पनि मुख छोपिन्। मातृका घुड्डी लगाउँदै मुस्कुराउँदै थिए।
'दिदी खाना पस्कनु। हामी सके आजै पुग्ने योजना छ काठमाडौं। बस्न त मन थियो एक दुई दिन।'
'तपाईं काठमाडौं आउँदा भने पक्कै हामीलाई कल गर्नु होला है' हामीले फोन साटासाट गर्यौं।
उहाँ खान पस्कुन थाल्नुभयो। देख्दै खाना स्वादिलो थियो। हुन पनि खाना पहिला आँखाले खान्छ रे जिब्रोले त अन्तिममा भन्छन्।
त्यसैले महँगा होटलहरूमा खानाहरू अति नै सजाएर पस्केका हुन्छन्। आँखा रमाएको खाना स्वादमा नराम्रो नै भए पनि जिब्रोले आनन्द दिन्छ। हामी झण्डै एक घन्टाको यो बसाइ पछि लुक्लातिर उकालो लाग्यौं। झण्डै एक घन्टा आधामा लुक्ला पुग्न सफल भयौं। अब हाम्रो पूरा ध्यान हवाईजहाजतिर थियो।
होटलमा पुग्यौं। टासीले चिनेको होटल साहु। पक्कै हामीलाई राम्रो व्यवहार गर्न थाले। पानी पर्ला जस्तो थियो। हामीले कोठामा झोला थन्काउनु अघि तातोतातो चिया खायौं।
आधा घन्टाको आराम अनि तातो चियापछि कोठातिर लाग्यौं। पानी पर्न सुरू भयो। लुक्ला त्यतिकै जाडो त्यसमा पनि पानीले च्यालेन्ज गरेपछि हामीले रम र हनीले मौसमलाई धक्का दिने सुर गर्यौं।
बेलुकालाई ढिडोको अर्डर गर्यौं। हुन त अहिले जम्मा जम्मी २ मात्र बजेको थियो। हामीले पटक पटक टासीजीसँग र काठमडौंबाट हामीलाई सहयोग गरिरहनु भएको तुलजीसँग सम्पर्क भइरहेको थियो।
प्राय १ बजेपछि हावा चल्न थाल्ने, मौसम बिग्रने र पानी पनि पर्ने हुँदा उडान बन्द हुने रहेछ। तर पनि हवाई जहाज र यात्रीहरू भने दिनको ४ बजेसम्म तयारी अवस्थामा रहिरहनु पर्ने। मौसम खुल्नासाथ उडिहाल्नु पर्ने।
आज हाम्रो उडान नहुने पक्का भएको जानकारी आयो। तुलजीले भोलिको पहिलो उडानमा हाम्रो नाम रहेको जानकारी दिनुभयो। हाम्रो टिकट भने बनिसकेको थियो। यहाँ टिकटभन्दा पनि सिट महत्वपूर्ण रहेछ।
बसपार्कमा बसभन्दा पनि डरलाग्दो। बसको त सिट तोकिएको टिकट हुने। यहाँ त टिकट छ। न त प्लेनको नं न सिटको नं। मिति र एयरलाइन्सको नाम छ। मौसमको कारणले उडान धेरै हुन सकेन तपाईंको पालो आएन। अर्को दिनलाई भने पछि कस्ले बोल्ने?
पक्कै पनि हाम्रो प्याक भने बढ्ने भयो। केही प्याकपछि फापरको ढिडो र कुखुराको झोलले तातिएर झण्डै ८ बजे नै सुत्ने तयारी गर्यौं। भोलि हामी ५ बजेबाट स्ट्यान्डबाई हुनुपर्ने थियो काठमाडौंतिर उड्नको लागि।
यो १० दिनको लामो पदयात्रालाई रिवाइन्ड गर्दै हेर्दै थियौं। हामी दुई मितको यो यात्रा जुराई दिने रोटरी र त्यसको लागि सहजकर्ता पूर्वअध्यक्ष तुलजी पनि हाम्रो यो सम्झाइको मानसपटलमा घुम्दै हुनुहुन्थ्यो। हामीले निदाएको पत्तो पाएनौं।
भोलिपल्ट ४ बजे नजिकै पालिराखेको चर्को भालेको डाकोले उठायो। मेरो त्यो रात एक कोल्टेमै बितेछ। हामी अल्छि गरीगरी पाँच बजे तयार थियौं काठमाडौं उड्नको लागि। होटलको साहुले जिम्मा लिनु भएको थियो काडमाडौं उडाउने। उनको निर्देशनमा हामी ब्रेकफास्ट लिएर तयारी रह्यौं।
७ बजेतिर पहिलो प्लाइट आयो। हाम्रो उडान भने यती एयरमा थियो त्यो पनि पहिलो फ्लाइटमै तर प्लेन आयो गयो हामी हेरेको हेर्यै भयौं। हामीलाई सान्त्वना आयो 'अर्को फ्लाइटमा हुन्छ है सर।'
एक घन्टापछि हामी तारा एयरमा उड्ने भयौं। तारा एयर पनि यति एयरकै हो रे। फेरि पनि तारा एयर आयो, उड्यो। हामी हेरी रह्यौं। विस्तारै मौसम रून थाल्यो। बादलहरू छटपट्टिँदै कुदै थियो लाग्थ्यो त्यो हवाई जहाज नजिक आएर पानी खसाल्न मौका हेरिरहेकोछ।
'मातृका जी मौसमले च्यालेन्ज गर्लाजास्तो हो। भगवानसँग प्रार्थना गर्नु है।' उहाँ मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो।
हावा यस्तरी चल्न थाल्यो कि हावाको झोंकाले अटेर गरी गुटमुटिएर बसेको बादललाई जबरदस्त हलचल गरायो। हावाको झोंकासँगै लटपटिएर बादलहरू कता पुगे कुनि मौसम घमाइलो भयो। विस्तारै सूर्य आफ्नो किरण फिजाउनतिर लागे।
'मनोज जी मौसम त खुल्यो। खै हाम्रो पालो पो आउने हो कि होइन है?' उनमा अलिकति निराशा देखियो।
'भाइ ल ल छिटो आउनुहोस्। काडमाडौंबाट प्लेन उड्यो रे। यो फ्लाइटमा जसरी नि उडाउने हो तपाईंहरूलाई।' हतारमा हामीलाई कुदाउनु भयो होटलको साहुले।
हामी पनि उनीसँगै कुद्यौं। उनले नै हामीलाई डोराएर लानुभयो उनको टिकट नभए पनि भित्र छिर्न पाउने 'शक्तिशाली' थिए उनी। हाम्रो झोलाहरूको सबै तौल गराउनु भयो र हातमा बोर्डिङ पास थमाउनु भयो।
'अब आउने तारा एयरमा तपाईंहरूको पालो। वाई वाई है त।' यति भनेर उनी आफ्नो कामतिर लागे। हामी फ्लाइटको प्रतीक्षामा रह्यौं।
खुम्बु उपत्यका क्षेत्रफलको हिसाबले नेपालकै ठूलो उपत्यकाभित्र पर्दछ। यस उपत्यकाको मुख्य गाउँहरू डिङ्बोचे, कुण्डे, खुम्जुङ, लोबुचे, लुक्ला, नाम्चे बजार, तेङ्गबोचे, फोर्टसे, थामे, थामो, पाङ्बोचे, फाकदिङ, मोन्जो ,ढुङ्गडे, नाङ्बुग, चुमाओ आदि हुन्।
मुख्य तालहरूमा कोन्दे ताल जुन ४९५० मिटरमा अवस्थित छ। त्यस्तै अर्को ताल नोजुम्पात्से हो जुन ४९९० मिटरमा अवस्थित छ। अन्य तालहरूमा गोक्यो (४७९० मि), चोलेत्से ४५९० मिटर, ईम्जात्से ४७७२ मिटर, डोनाङ्त्से ४८७९ मिटर, डुओत्से ४७५२ मिटर, नोक्योत्से ४९५० मिटर छन्।
मुख्य हिमालहरू सगरमाथा ९८८४९ मिर२९,०३२ फीट०, ल्होत्से ८५१६, मकालु ८४८५, चो ओयु ८१८८, ग्याचुङ काङ ७९५२, नगोजुम्बा काङ ७९१६, नप्तसे ७८६४, चोमो लोन्जो ७७९०, न्गोजुम्बा काङ क्ष्क्ष् ७७४३, न्गोजुम्बा काङ क्ष्क्ष्क्ष् ७६८१ आदि पर्दछन । सानासाना पिकहरु यस क्षेत्रमा धेरै रहेका छन्।
सबभन्दा प्रख्यात खुम्बु भ्यालीको ट्रे्किङ रूट तथा हाइकिङहरूमा सगरमाथा आधार शिविरमा प्रख्यात, लामो र गाह्रो मार्ग हो। अन्य मार्गहरूमा गोक्यो ताल चोलापास, आइसल्याण्ड पिक ट्रेक, लुबुचे इस्ट, फरचामो ट्रेक, पोकल्डे, जस्ता पर्दछ।
यस क्षेत्रमा धेरै प्रजातिका रंगीविरङ्गी गुराँसहरूले मनमोहक बनाएको हुन्छ। मुख्यत निम्न प्रजातिका गुराँसहरू प्रख्यात छन्।
ठूला चम्किलो गाढा रातो धेरै अग्ला रूखहरूमा फुल्ने गुराँस जसलाई औषधिको रूपमा पनि पूजा गर्दछन्। यो नै लालीगुराँस हुनुपर्ने हो।
अर्को जाति ३००० मिटरमाथि मात्र फुल्छ तर रातो कम भएको जसबाट भने मह समेत निकालिन्छ यसबाट निकालिएको मह रक्सीभन्दा कडा लाग्ने हुन्छन्।
त्यस्तै अर्को प्रजातिको गुराँसको फूलहरू सुरूमा गाढा बैजनीबाट फुल्न सुरू हुँदै विस्तार सेतो हुँदै जाने। प्रत्येक दिन रूप परिवर्तित हुने हुँदा प्रत्येक दिन नयाँजस्तो महसुस हुने यो गुराँस रंङ्गीन देखिन्छ।
जस्तो सुकै चट्टान, ग्लेसियरहरू र मोरेनहरूमा पनि उम्रने फुल्ने अर्को गुराँस पनि यहाँ पाइन्छ। यसका फूलहरू गुलाबीदेखि हल्का बैजनी रङ्गका हुन्छन् र जुलाईमा फूल्छन्।
यहाँ अर्को घुमाउरो चम्किलो पहेंलो गुराँस पनि देख्न सक्नु हुनेछ। यो जातिको गुराँस भने पूरै पहेंलो हुन्छ। अर्कोथरी गुराँस रातो नभएर पूर्णत सेतो वाला पनि पाइन्छ। त्यस्तै अर्को गुराँसभन्दा फरक रूपमा देखिने अर्को गुरास सेतो र बैजनी मिक्स हुन्छ।
गुराँस तथा अन्य भुइँमा फुल्ने फूलहरू यो क्षेत्रमा मनग्य भेटिन्छ जसले पदयात्रामा झन् रोमान्चता थपेको हुन्छ। फूल प्रेमीहरू यो पदयात्रामा रमाउँछन्।
एयरपोर्टभरी राखिएको यस क्षेत्रको विवरणहरू पढ्दै म नोट गर्दै बसेँ। मातृका भने मौसम बुझ्दै बस्नु हुन्थ्यो। कतै आज पनि यही बस्नु नपरोस्। मैले केही एयरपोर्टको पर्खाइमा यस क्षेत्रमा पाइने गुराँसहरूको फोटोहरू पनि भित्ताहरूबाट खिचेँ।
न भन्दै हामीलाई बोलावट आयो। बोर्डिङ भयो। विस्तारै लुक्ला हवाई जहाजको कुदाइ र आवाजसँगै खुम्बुलाई बिदा गर्यौं। जति हामी लुक्लामा हेलिप्याडबाट झर्दा खुसी थियौं त्यति नै हवाई जहाजबाट फर्कंदा भएका थियौं।
दुबैले यस अविस्मरणीय यात्रामा साथ दिने मित्रहरू, भेटिएका नयाँ भित्रहरू सबैको स्मरण गर्दै सगरमाथा बेस क्याम्पको यात्रा सफल भएकोमा भगवानलाई समेत धन्यवाद दियौं।
हाम्रो १० दिनको यात्राको स्मरणले होला यो फ्लाइट सुरूमा बाहेक सहजताका साथ काठमाडौं अवतरण गर्यौं।
जीवनमा एकपटक सबै नेपालीहरूले हिँड्नु नै पर्ने यो पदयात्रा पूरा गरेकोमा आफूलाई समेत धन्यवाद दिएँ। सबैलाई एकपटक यो पदयात्राको रोमाञ्चकता लिन हार्दिक अनुरोध गर्दछु।
समाप्त!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)