लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका साथ फर्किरहेका भेटिन्थे।
म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें।
मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे।
नमस्ते भन्न जानेका कोही कोही त मैले भन्नु अगावै नमस्ते भन्थे। मरेपछि पाइने स्वर्ग कस्तो छ थाहा छैन तर यो यात्रामा मैले भूस्वर्गै भेट्टाएँ।
दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु।
लाङटाङ खोलाको मोहित पार्ने संगीतमय धून कहाँ सुन्न पाउनू! पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो। तपाईं ट्रेकिङ मन पराउनु हुन्छ भने लाङटाङ यात्रा चाहिँ नछुटाउनुस् है।
यो ट्रेकिङको लत पनि गजबै हुन्छ बा!
मानिस प्रकृतिको रसस्वादनमा लठ्ठिएपछि कसले छेक्ने! पैसा खर्च गरेर, अनेक दुःख हण्डर खाएर काठमाडौंका हामी कुवाका भ्यागुताहरू बिनोद, बिशान्त, विनित र म समेत चार जना अझ भनौं तीन पुस्ते २०८० साल जेठ ७ गते बिहाने त्यता लाग्यौं। आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न।
पहिले पहिले रसुवा पुग्न ककनीकै बाटो भएर जानुपर्थ्यो। धेरै पहिला गोसाइँकुण्ड पुग्न यही बाटो भएर धुन्चे पुगेको थिएँ।
आजकल प्राय: सबै गाडी धादिङको गल्छी भएर जाने रहेछन्। सवा आठ बजे गल्छी छिरेर बट्टरा पुग्यौं। बट्टारले जुनी फेरे छ। आफू धेरै पहिला जाँदा बट्टारको टार पानी नपाएर प्याकप्याक परेझैं देखिन्थ्यो। अहिले घरैघरको खेती भएछ।
बेत्रावतीतिर बाटो राम्रै थियो। बेतिनी, धारापानीको उकालोमा गाडी ठस्सठस्सी कन्दै उक्लियो। धैबुङ हुँदै कालिकास्थानको घुम्ती बजारमा सवा एघार बजेतिर खाना खायौं। बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की। तन मन सिरिङ्ग हुने बाटो। कति ठाउँमा छेउपट्टि ढलान गरिएको तर भित्तापटृीको भाग गहिरो छाडिएकाले गाडी हिँड्न निक्कै सकस हुन्थ्यो। छेउपटृीमात्र ढलान भएका ठाउँका मोडमोडमा भित्तापटिृ ढलान नहुँदासम्म ग्राभेलले पुरिदिए बाटो सहज हुने गुरूजीको ठहर थियो।
काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं। २०४३ सालतिर देखेको धुन्चे र अहिलेको धुन्चेमा आकाश जमिनकै फरक भनिदिँदा हुन्छ। दशहराको बेला भएकाले गोसाइँकुण्ड जानेहरू यतै ओर्लिए। हामीलाई भने यसपटक प्रकृतिसँग रमाउन लाङटाङ, क्यानजिनले बोलाइरहेकोले उतै लाग्यौँ। धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं।
बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं। लुङ्ताले छपक्कै छोपिएका भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं।
उर्लेर सुसाएको दूधे लाङटाङ खोलाले रनवन थर्काएको थियो। लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो (पैरो) भन्ने ठाउँमा पुग्यौं।
यो पहिरोमा एकाध होटल रहेछन्। जाँदा-आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया चमेना गर्ने ठाउँ रहेछ।
हामी जाँदाजाँदैको सुरूकै नमस्ते होटलमा सुस्तायौं।
हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं।
बाँस जातिकै निगालोको घारी जताततै भएकाले यस ठाउँलाई निगालोघारी नभनी अंग्रेजी नाम ब्याम्बोले प्रसिद्धी पाएको रहेछ।
यही निगालो भएका कारण यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ। यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामी मुखैको शेर्पामा र बितायौ यही होटलमा खाना खाँदा भेट भयो न्युजिल्याण्डका ८१ वर्षीय पदयात्री।
उनका गाइडले भन्थे, यी वर्षको दुईपटक यताको यात्रामा आउँछन्। अचम्मै लाग्यो कसरी तानेको छ मानिसलाई हाम्रो प्रकृतिले। तर यिनले खोजे अनुसारको सर सुविधा राज्यले पुर्याउन सकेको देखिँदैन।
अरू त अरू बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ। स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन। टावरै देखाउँदैन, डाटा चल्दैन। मोबाइल चार्ज गर्न कठिन छ। तै वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारको छट्पटिएको मनलाई सान्त पार्न पायौं भन्थे।
राज्यले अरू धेरै कुरा नगरिदिए पनि पर्यटकीय क्षेत्रहरूका आधारभूत कुरा बिजुली, टेलिफोन, वाइफाइ त हुनै पर्यो नि हैन?
राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकिए। फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो। लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ।
यही ठाउँमा उनको फोटो र उनले प्रयोग गरेको नक्साबाटै छेउको ढुङ्गोमा राखिएको थियो। उनकाबारे लेखिएको कुरा पढेर हामी भावुक भयौं। वनफूल चढाएर उनीप्रति श्रद्धाञ्जली दियौं।
लाङटाङ पुग्ने सबैजसो बाटो होटलका आँगन भएरै हिँड्नु पर्छ। ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौं। दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ होटलका भाइले देखाइदिए, फोटो खिचेर रमायौं।
लामा होटल (२४१०मि) पुग्यौं। यहाँ ८/१० वटा होटल रहेछन्। पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ। १२ बजेतिर शान्त भएर बगेको लाङटाङ खोलासँग जम्काभेट भयो। यसलाई रिभर साइड (२७६९ मि.) भनिँदो रहेछ।
एउटामात्र होटल रहेछ, खाना यतै खायौं। करिब एक बजेको हुनुपर्छ हामी अघाएको पेट बोकेर हिँड्दा। दिउँसोको साढे तीन बजे घोडा तवेला पुग्यौं। विश्रामस्थलमा एकछिन थकाइ मार्यौं।
ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो। उकालो चढ्दा मेरो मन साह्रै रिसायो, पख फर्कंदा ओरालो बन्छ अनि देखाइदिउँला भनेर मनलाई चित्त बुझाएँ।
उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौं। यहाँ २/३ वटा होटल रहेछन्। लाङटाङमा होटल भएका एक जना तामाङ (शेर्पा) को यहाँ पनि घर रहेछ। आमा छोरा यता बस्दा रहेछन्।
१५ वटा जति चौंरी पालेका रहेछन्, दूध दुहेर डेरीमा छोड्न यता आइपुगेका उनले हामीलाई बाटामा भेटे र आफ्नै लाङटाङको ल्हासा होटलमा बस्न अनुरोध गरे, ‘एटेच बाथरूम छ। मेरो मै बस्ने है सर’ भन्दै कार्ड थमाए।
घाम मलिन भैसकेको थियो। हुर्हुर्ति उडेका बादल, हेर्दाहेर्दै अग्ला डाँडा छोप्न थाले, अनि चिसो सिरेटो चल्न सुरू गर्यो। लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, नथाक्नु पनि किन, म त परें नि ‘सिक्टिनाइन’।
चिसोले समातेको रहेछ। डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए। मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ। क्याप फुकालेर माकल टोपी लगाएपछि अलि सन्चो भयो।
‘इनर्जी जुस खानुस्।’ उनकी बुढीले ‘सी बकथ्रोन’ मनतातो जुस खुवाइन्। एक गिलास जुसको २ सय रुपैँयाका दरले तिरेर धन्यवाद नै दियौँ।
लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको देख्यौं। यता पनि २०७२ को भूकम्पले नरसंहारै गरेको रहेछ।
भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी पारेको, होटल साहु टेसिङ पासाङले बताए।
करिब १२ घन्टा हिँडेर ७ बजेतिर लाङटाङ भिलेज (३४७५ मि ) आइपुग्यौं।
घोडाले २ वटा ग्यास सिलिण्डर झार्यो स्याफ्रुबाट ल्याएको। कति लिन्छन् नि ज्याला मैले सोधेँ, दुई वटाको ६ हजार। सिलिण्डर २ को ४८०० रे। काठमाडौंमा १८ सयमा पाइने सिलिण्डरलाई यत्ति तिर्नु परेपछि, चियाकै डेढ दुई सय, सिंगल अमलेटको दुई सय, खानाको छ, सातसय, प्यान केकको चार सय, चाउमिन पाँच सय, तिर्दा के महँगो भन्नु! आखिर सबै कुरा त्यो पनि खच्चर, घोडा र मानिसले बोकेर ल्याउनु पर्ने ठाउँमा।
विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं। तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको।
लामा होटल यता लागेपछि यस ठाउँमा कुनै काटमार हुँदो रहेनछ। प्राय: सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने।
‘हामी त बुद्ध धर्म मान्ने भएकाले काटमार चल्दैन। उही मरेका याक चौंरीको मासु खाने हो। ताजा मासु खान मनलागे स्याफ्रुबेंसीबाटै मासु मगाउँछौँ’ होटलवाला भन्थे।
बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन्। सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे।
बिहानीको नास्ता खाएर ८ बजेतिर क्यानजिन गुम्पा (३८५० मि.) तिर लाग्यौं। बाटामा दुई नेपाली दिदीभाइसँगै पछि लागेकी फिलिपिनी केटी भेटिइन्। कत्रो साहस एक्लै बिनागाइड सात समुद्रपारबाट नेपाल घुम्न आएकी। मंगोलियन वर्णकी, राम्री, हँसिली मुहारकी र फरासिली। कुरा गरेपिच्छे हाँस्दै हातका औंलाले मुख छोपिरहने उसको बानी औधी मनपर्यो।
ऊ चारैतिर हिमाल देखेपछि आफ्ना दुबै हात उचालेर ‘सो ब्युटिफुल,, सो ब्युटिफुल’ भन्दै कराई। यति रमाइएकी हामी त छक्क पर्यौँ।
बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देखेपछि उसले भनि, ‘म यताबाट पोखरा, घान्द्रुक घुमेपछि बुद्ध जन्मेको देश भारत घुमेर घर फर्कन्छु नि!’,
‘होइन! होइन! बुद्ध त नेपालमै जन्मेका हुन्’, विनोदजीले भन्नुभयो।
उसँग लामै कुरा गरेपछि मात्र ए हो र भनी। अनि उसलाई सल्लाह दियौँ, एकपटक लुम्बिनी पुग्नुस्।
हामी तीनपुस्ते आएको देखेर ऊ झन् छक्क मानी, सँगै बसेर फोटो लिई। त्यसपछि ऊ बाटोभरिकी साथी बनी। म सिक्स्टी नाइनलाई देखेर ऊ झन् दङ्ग परी र मलाई छोएर भनि ‘मलाई ट्रेकिङ असाध्यै मन पर्छ, यो उमेरसम्म घुम्न पाउँ’।
यहीबेला क्यानजिनबाट होटलका लागि अतिथि खोज्दै आएकी अधबैंसे दिदीले हाम्रो ग्रुपलाई भेटेर भनिन्, ‘आज मेरोमा बस्ने सर’।
उनी हाम्रो अघिपछि लागेको लाग्यै गरिन्। अफ सिजन भएकाले हामीले कुनै होटल बुक पनि गरेका थिएनौं, त्यसैले उनकै अघिपछि लाग्यौं।
लाङटाङबाट जति यता आयो उति रमाइलो भूबनोट। चारैतिर सेताम्मे हिमाल, ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका निला फूलहरूले हाम्रो मन दङ्गदास परिरहेको थियो।
मन मात्रै हैन मुटु र फोक्सो पनि हाँसिरहेका थिए। लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए। हामी एभरेष्ट होटल आइपुग्दा करिब १२ बजेको थियो।
यता पिलरवाला ढलान घर बन्दै रहेछन्। घर बनाउने कर्मीहरू भने ओखलढुङ्गाका रहेछन्। होटल साहु सिलिङ तामाङलाई मैले ‘मेमे’ ( तामाङ भाषामा बाजे) भनें। उनी खुसी भए। ‘मेमे, आलु भात मात्र मिठो लागने आज सागपात खाऊँ न?’ उनले बोराभरीको सुकेको वनसाग देखाए ?
‘हैन, हरियो’ मैले भनें।
मेमेले टिपेर ल्याएको साग देखाए। बेथेको साग रहेछ। यता बेथेलाई ‘ल्यू ’भनिँदो रहेछ । त्यही ल्यूमा थोरै आलु हालेर भात खायौँ, फिलिपिनी कट्रिनाले थुक्पा।
मेमे भन्थे ‘हाम्रा बाउ बाजेका पालामा कहाँ पाउनु भात! चामल हुँदैनथ्यो, करू ( गहुँजस्तै तर गहुँको सेतो पिठो हुन्छ, करूको थोरै कालो) र आलु खाने हो। जौ खेती हुन्थ्यो तर पाक्नै ९ महिना लाग्थ्यो। स्याफ्रुबाट सामान ल्याउन किलोको ८० रुपैयाँ ज्याला तिरेपछि सबै पाइन्छ। अहिले त भात खान पाइएको छ।’
भोलिपल्ट ५ बजे नै उठेर फिलिपिनी केटी पनि क्यानजिन रि (४३५०) चढ्न हामीसँगै पछि लागिन्। तर ऊ आधाआधी पुगेपछि लेक लागेजस्तो भयो भनेर तलै बसी। अरू तीन जना युवाहरू पनि माथि नजाने भनेर त्यहीँ बसे। विनोद जी अघि, म नातिका पछिपछि लागें। हरेस नखाइकन, सास फुल्न नदी, सुस्तरी सुस्तरी पाइला चाल्दै लुङताले छपक्कै ढाकिएको त्यो ‘क्यानजिन रि’ को टुप्पो टेकी छाडें।
पहिला पुग्नेहरू फोटो खिच्दै रहेछन्।
आहा! कस्तो सौन्दर्य, चारैतिर कपासका थुप्राजस्ता हिमाल। टुप्पोको सानो थाप्लोमा, ढुङ्गैढुङ्गामाथि बसेर मैले पनि खुसीमा थुप्रै फोटो खिचें अनि आनन्दको सास फेरेँ। अलिपर देखिने क्यानजिन रि दोस्रो (४७७३ मि.) मा पनि जानेकी नातिहरूले भने, तर समयाभावले हामीले उसलाई हेरेरै मात्र चित्त बुझायौँ। त्यसभन्दा माथि पूर्वतर्फ रहेको सेर्गे रि (५२०० मि ) हामीसँगै रहेका केही युवाहरू जाने भनेर कुरा गर्दै थिए।
तल हामीलाई नै कुरेर बसेकी कटरिनाले ‘बधाई’ भन्दै खुसी साटी। हामी नेपाली पो पुग्यो फर्कियो। उसको त दुई दिन यहीँ बस्ने योजना रहेछ। वाइफाइ नभएका कारण
ऊ अर्को होटलमा सर्न हामीसँग बिदा लिएर हिँडी। हामी सम्झनाका लागि होटलका मिजासिला बुढाबुढीसँग फोटो खिच्यौँ र बिदा लियौँ।
तेस्रो बासमा आइपुगेको क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रु पुग्न सक्दैन्थ्यौं। बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो। हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गाँस्दै। मुन्दुममा आएर ११ बजे खाना खायौं, र झमक्कै रात पर्दा लामा होटलको ‘होटल जङ्गल भ्यू’मा बास बस्यौँ।
लामा होटलबाट ७ बजे हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै करिब ४ बजेतिर स्याफ्रुबेंसी आइपुग्यौँ।
बास ‘याला पिक गेष्ट हाउस’मा भयो। झ्याङ्गिँदै गरेको स्याफ्रु बजार घुम्यौँ। याकको नौनी प्रतिकिलो १२००।, चौंरीको घिउ १९००।, छुर्पी २०००। र चीजको १८००। रहेछ। चिज र छुर्पी चाख्यौँ। कहिल्यै बिर्सन नसकिने अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर त्रिशूली, ढिकुरे, छहरे, शिवपुरी र टोखा हुँदै धूलोको कुइरीमण्डल, गाडीको भिडभाड, टाँटाँ र टुँटुँको नयाँ बजार ओर्लंदा एकछिन त हामी निस्सासियौँ नै।