काठमाडौं उपत्यकासहित देशका अधिकांश भागको आकाश बादल लागेर धुम्म भएको छ। यसले जाडो ह्वात्तै बढाएको छ। कतिपय ठाउँमा सिमसिम पानी पर्न थालिसकेको छ भने हिमाली भेगमा सोमबार रातिदेखि नै हिमपात बढेर जनजीवन कष्टकर बन्दै गएको छ।
यो नेपाल भित्रिएको एउटा मौसमी प्रणालीको असर हो। यस्तै अर्को मौसमी प्रणाली अहिले नेपाल भित्रिने क्रममा छ।
दुवै प्रणाली मिसिएपछि त्यसले थप प्रतिकूल असर पार्ने मौसमविदहरू बताउँछन्।
के हुन् दुई मौसमी प्रणाली?
सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसपालि त्यस्तै भयो।
अहिले अरब सागर र बंगालको खाडीबाट पानी पार्ने दुई छुट्टाछुट्टै प्रणाली नेपाल प्रवेश गर्दैछ। सोमबार रातिबाट देखिन थालेको प्रभाव अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको प्रणालीले ल्याएको हो। बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात नेपाल छिर्न बाँकी नै छ।
नेपाल भित्रिसकेको अरब सागरको प्रणालीले हिमाली क्षेत्र प्रभावित तुल्याएको छ। मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, धादिङ, रसुवा लगायत जिल्लाको हिमाली भेगमा बाक्लो हिमपात भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो बागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात र वर्षा हुनेछ।
मंगलबार राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात वर्षाको सम्भावना छ।
यो प्रणालीको प्रभाव मंगलबार साँझबाट घट्ने अनुमान छ। काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा हुँदैन। केही बेर घाम लाग्नाले न्यानो अनुभूति हुनेछ। बिहीबार बिहान पनि मौसम उघ्रनेछ।
कहिलेदेखि सुरू हुन्छ अर्को प्रणालीको असर?
मौसमविद विनोद पोखरेलले बंगालको खाडीमा विकास भइरहेको अर्को प्रणाली मोन्था चक्रवात बिहीबारसम्म नेपाल आइपुग्ने बताए।
उनका अनुसार यसले बिहीबारदेखि बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अतिभारी वर्षा गराउन सक्छ। गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ। यसबीच धानबाली काट्ने, पराल थन्क्याउने लगायत क्रियाकलाप नगर्न उनले सुझाएका छन्।
विज्ञहरूका अनुसार मोन्था चक्रवात १४ किलोमिटर प्रतिघन्टाको गतिमा नेपालतर्फ बढिरहेको छ। मंगलबार बिहान साढे ५ बजेसम्म बंगालको दक्षिण-पश्चिम र मध्य-पश्चिम भागमा केन्द्रित रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
अहिले यो मछलीपट्नमबाट करिब १९० किलोमिटर दक्षिण–दक्षिणपूर्व, काकिनाडाबाट २७० किलोमिटर दक्षिण–दक्षिणपूर्व, विशाखापट्नमबाट ३४० किलोमिटर दक्षिण–दक्षिणपश्चिम र उडिसाको गोपालपुरबाट ५५० किलोमिटर दक्षिण–दक्षिणपश्चिममा छ।
यसले १००–११० किलोमिटर प्रतिघन्टाको आँधी ल्याउन सक्ने आकलन गरिएको छ। यसले भारतको आन्ध्रप्रदेश, उडिसा, तमिलनाडु र पश्चिम बंगालमा अत्यधिक वर्षा गराइरहेको छ। चेन्नई, तिरूवल्लुर जस्ता क्षेत्रमा पनि सोमबार रातभरि वर्षा भयो।
मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्याय पनि भारतका कर्नाटका र उडिसामा सक्रिय मोन्था चक्रवात बिहीबार साँझसम्म पर्सा, बारा, रौतहट, सर्लाही हुँदै नेपाल प्रवेश गर्ने बताउँछन्। यसले तराईका केही जिल्लासहित बाग्मतीमा पनि धेरै वर्षा गराउने उनको अनुमान छ।
'गण्डकीमा समेत मध्यमदेखि भारी वर्षा हुनेछ। पर्सादेखि सुनसरीसम्मको तराई क्षेत्र र ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुने देखिन्छ,' उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्, 'रोल्वालिङ, सगरमाथा, मकालु–वरूण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुनेछ।'
बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा उच्च जोखिममा रहेको उनले बताएका छन्। यसबीच बिपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं-हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्न पनि उनले सुझाएका छन्।
'शनिबारदेखि भने मौसम फेरि घमाइलो र रमाइलो हुने देखिन्छ,' उनले भने।
मुस्ताङमा कात्तिकमै हिमपात
मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरला नाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा मंगलबार बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरला नाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ।
त्यस्तै, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए।
'मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको छ। अहिले पाँच–छ इन्च हिउँ जमेको अवस्था छ,' उनले भने, 'यही रफ्तारमा हिउँ पर्ने क्रम जारी रहे दुई फिटसम्म जम्न सक्छ।'
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार त्यहाँ पनि उच्च लेकमा हिमपात भइरहेको र बस्ती नजिक वर्षासँगै आंशिक हिमपात भएको छ।
'यस वर्ष कात्तिकमै हिउँ पर्यो, यहाँ दुई–तीनवर्षसम्म हिउँ पर्न सकिरहेको थिएन,' अध्यक्ष विष्टले भने, 'हिउँ पर्नु किसानका लागि निकै राम्रो पक्ष हो, यसले किसानले लगाएका अन्नबाली उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउँछ।'
वारागुङ मुक्तिक्षेत्रको खिंगा, झोङ, छेंगुर, फल्याक लगायत उच्च स्थानका गाउँमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्म यात्रा नगर्न अनुरोध गरेको छ। उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो।
जोमसोम–मुक्तिनाथ सडक खण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन लिएर मुक्तिनाथ यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिउ।
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो
हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङ भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन्। गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ।
हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरूङले जानकारी दिए।
'सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदल यात्रा गर्न सक्ने अवस्था छैन,' उनले भने, 'जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन्। ननिस्कन आग्रह समेत गरेका छौं।'
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेश विन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरूङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए।
'अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए,' उनले भने, 'वर्षा र हिमपातले आजको पदयात्रा स्थगित गरेर बसेका छन्।'
मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन्।
हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए। उक्त वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्। त्यस्तै सामागाउँ, साम्दो, स्याला, ल्हो लगायतका गाउँ पनि हिउँले ढाकिएका छन्।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन्।
(राससको सहयोगमा)