जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा संलग्न भन्दै प्रहरीले अहिलेसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ।
भदौ २३ गते गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट सरकारी तथा व्यावसायिक भवनहरूमा आगजनी र तोडफोड गर्नुका साथै प्रहरीको हत्या गरेका थिए।
काठमाडौं उपत्यकासहित देशभरि भएका तोडफोड, लुटपाट र आगजनीका घटनामा २४५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै १२ जनालाई पक्राउ गरेको छ।
भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।
त्यसै दिन प्रदर्शनकारीहरूले संसद भवनदेखि सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालय भवनहरू तोडफोड र आगजनी गरेका थिए। केही प्रमुख राजनीतिक नेताहरूका निजी घरदेखि पार्टी कार्यालय, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल र हायात होटलमा पनि आगजनी गरिएको थियो।
यी घटनामा पनि सिसिटिभी फुटेज र भिडिओका आधारमा करिब १०० जनालाई पक्राउ गरेर आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। त्यसबाहेक अन्य केही व्यक्तिलाई हातहतियार लुटेको आरोपमा पक्राउ गरिएको छ।
परिसरका सूचना अधिकारी तथा एसपी पवन भट्टराईका अनुसार मंगलबारसम्म काठमाडौंमा मात्र ११० जना पक्राउ परेका छन्। तीमध्ये ६ जना पुर्पक्षका लागि कारागारमा छन् भने ३२ जना अनुसन्धानका लागि हिरासतमा छन्। ७२ जनालाई हाजिर जमानीमा छाडिएको छ।
ललितपुरमा पनि थुप्रै भवनमा आगजनी र तोडफोड भएका थिए। त्यहाँ आपराधिक उपद्रव कसुरमा १३ जना, चोरी तथा संगठित अपराधमा ७ जना, हातहतियार तथा संगठित अपराधमा एक जना र डाँका–चोरीसमेतमा ४ जना पक्राउ परेका छन्।
भक्तपुरमा अभद्र व्यवहार गर्ने ४ जना, आपराधिक उपद्रव गर्ने ९ जना, चोरी गर्ने ३ जना र लागुऔषध मुद्दामा ४ जनालाई पक्राउ गरिएको छ।
धनुषामा आपराधिक उपद्रवमा ८ जना, पर्सामा ७ जना र बारामा ७ जना पक्राउ परेका छन्।
चितवनमा पनि १६ जना आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ। तीमध्ये आपराधिक उपद्रवमा १० जना, सिजी ल्यान्डमार्कबाट क्यामरा चोरेको आरोपमा एक जना र अभद्र व्यवहार गरेको आरोपमा ५ जना पक्राउ परेका हुन्।
त्यस्तै नवलपरासीमा आपराधिक उपद्रव कसुरमा १४ जना, बर्दियामा ४ जना, रूपन्देहीमा ८ जना र बझाङमा ४ जना पक्राउ परेका छन्।
यसबाहेक धादिङ, काभ्रे, पर्वत, म्याग्दी र बाँकेबाट पनि पक्राउ गरिएको छ। बाँकेमा मेयरको गाडी जलाएको भन्दै ७ जनालाई पक्राउ गरिएको छ।