साउनको महिना नै हरियाली देखिने समय हो। त्यसैले हिन्दु महिलाहरू हरियो पहिरनमा सोमबारे ब्रत बस्ने गर्छन्। साउनमा प्राय: अधिकांशले शाकाहारी भोजन लिने गर्छन। यस समयमा डाँडाकाँडा, गाउँघर, खेतबारी सबैतिर हरियाली छाएको हुन्छ।
दोलखाको सदरमुकाम चरिकोटबाट गाउँमा रिपोर्टिङमा जाने योजना बन्यो केदार शिवाकोटी र लक्ष्मण थामीसँग।
दोलखाको उत्तरी क्षेत्र दुर्गम र सुन्दर बस्ती भएकाले त्यतै जाने सल्लाह भयो।
चरिकोटबाट ५० किलोमिटरजत्तिमा पुगिन्छ बिगु गाउँपालिकाको थामीचाँगु।
हामी बोलेरो गाडीमा थामीचाँगु हुइँकियौं। चरिकोटदेखि नै हामीलाई साना-साना खोलानाला, झरनाले पछ्याइरहेको अनुभूति हुन्थ्यो। रिपोर्टिङमा हिँडेकाले ठाउँ-ठाउँमा फोटो, भिडिओ कैद नगर्ने कुरै भएन। कतिपय झरनाले त घण्टौंसम्म हामीलाई लोभ्याइरहेको देखिन्थे।
साँझको बास थामीचाँगुमा भयो। बस्तीको नजिकै कालिञ्चोक मावि थियो। हामी त्यहाँ पुग्दा भर्खर स्कुल छुट्टी भएर विद्यार्थीहरू घर फर्किरहेको लस्कर देखिन्थे। ४ सय २० घरधुरी थामी समुदायको मात्र। अनि ३ सय २१ जना थामी समुदायका मात्र बालबालिका अध्ययन गर्ने स्कुल।
स्कुलनजिकै वडा अध्यक्ष हिरा (धनवीर) थामीले हामीलाई भेट्नेबित्तिकै आफ्ना वडा र स्कुलको बारेमा जानकारी दिनुभयो।
सायद एउटै समुदायको मात्र अध्ययन गर्ने स्कुलमध्ये थोरैमा पर्छ होला कालिञ्चोक मावि थामीचाँगु।
तीन दिनको बसाइ तय गरेका थियौं। भोलिपल्ट बिहानै विगु गाउँ गाउँपालिकाको विगु वडा नं. ७ मा लाग्यौं।
विगु विशेषगरी नेपालकै पहिलो आनी पढाउने गुम्बाको रूपमा परिचित छ।
दोलखाको गन्तव्यमध्ये एक महत्वपूर्ण मानिन्छ विगु।
सयौं वर्ष पुरानो र धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा पनि अग्रस्थानमा मानिन्छ विगु (टासीगच्छल) गुम्बा।
अहिले पनि ८५ जना आनीहरू अध्ययनरत छन् यहाँ। यहाँको एक रातको बसाइपछि ४,५ घण्टामा पुगिन्छ देउढुंगा।
महादेवलगायत धेरै देवी देउताको बासस्थान मानिन्छ देउढुंगा। प्राकृतिक र धार्मिक रूपमा फरक र मनमोहक छन् देउढुंगा। प्राय: गरेर भदौ पूर्णिमामा ठूलो मेला लाग्छ। विगु गुम्बा पुगेपछि एकपटक देउढुंगाको दर्शन गर्दा फलिफाप हुन्छ भन्ने जनविश्वास छ। यहाँ दोलखालगायत सिन्धुपाल्चोक, रामेछापबाट समेत भक्तजन आउने गर्छन्।
देउढुंगाबाट चरिकोट फर्किंदा आलम्पू बस्ती हुँदै फर्किन सकिन्छ। आलम्पू ढुंगाखानीले प्रसिद्ध मानिन्छ। २०१२ सालदेखि यहाँको ढुंगा काठमाडौंलगायत भारतमा समेत निर्यात हुँदै आएको छ।
नजिकै थुम्पुडाँडा छ। आलम्पूमा पनि थामी समुदायको बसोबास बढी छ।
लगभग ६५ प्रतिशत थामी समुदायको मात्र बसोबास रहेको वडा हो।