हाम्रो पदयात्राको आठौं दिन अन्तिम गन्तव्यलाई चुमेर फर्कंदै थियौं। म छक्क पर्दै थिएँ मातृकाजीको हिँडाइ देखेर। उहाँमा कुनै पनि त्यस्तो लेक लागेको जस्तो महसुस भने मैले फर्कंदा गरिनँ।
‘हैन तपाईंले छिटो फर्कनको लागि पो लेक लागेको बहाना गर्नु भएको त होइन मातृकाजी?,’ जिस्काउँदै भनें।
‘होइन हो साथी। बिहान मलाई अलि गाह्रो नै भएको हो। सायद यो ४ घन्टाको आराम र उचाइ पनि घट्दै गएकोले होला। मलाई हिजो बेलुका र आज बिहानभन्दा धेरै सहज भएको छ।’
फर्कंदा भने फोटो खिच्न नपर्ने, खिच्न त्यति जाँगर पनि नआउने रहेछ। त्यही भएर होला अलमल कम हुने। बाटो अलि बढी नै सर्ने। हामी सहजका साथ ४ बजे नै लोबुचेमा पुग्न सफल भयौं। ३ घन्टाको यो बाटो फर्कंदा भने हामीले २ घन्टामै पार लाउन सफल भयौं।
हामीले पन्जा फिर्ता गर्ने बाचा गरेका थियौं लोबुचेमा। लजमा छिर्नेबित्तिकै ‘ल भाइहरू स्वागत छ। छिट्टै पो फर्कनु भएछ। आज यतै बस्ने कि तल झर्ने हो भाइहरू?,’ मीठो हाँसोसहित स्वागत गर्नुभयो दिदीले।
उहाँले हामीलाई चिनेकोमा खुसी लाग्यो। त्यत्रा मानिसहरू आउने जाने त्यो दोबाटोको लजमा बसेर हामीलाई चिन्नु र माया दिनु हाम्रोलाई खुसीको क्षण थियो।
‘दिदी हामी त फिरिचे पुग्ने योजनामा छौं। तपाईंको मीठो मुस्कान हेर्न पसेको अनि तपाईंको मायाको नासो पनि थियो नि।’
‘हो र भाइ, धन्यवाद,’ लामो मुस्कान सहितको उत्तरले मलाई झन आनन्दित बनायो।
म दिदी भएतिर काउन्टरमा गएँ। चिया अर्डर गरें र पन्जा दिएँ। पन्जा समाउनुभयो र अलि बढी नै हाँस्नु भयो।
‘किन दिदी अलि भिन्दै हाँसो दिनुभयो त ?’
‘मैले धेरैलाई पन्जा दिएको छु तर तपाईंहरू दोस्रो व्यक्ति पर्नु भयो फिर्ता गर्ने। त्यसकारण हाँसेको।’
‘हो र दिदी?’
उहाँले फेरि मुस्कुउरानु भयो। उहाँ जुस बनाउन व्यस्त हुनु हुन्थ्यो।
‘दिदी यो जुस त फ्रेस जस्तो छ। केको जुस हो?’
‘यही फलेको फल हो। अर्गानिक हो नि भाइ । शरीरलाई धेरै राम्रो हुन्छ यो जुस।’
‘हो र दिदी ल मलाई चखाउनु न त,’ उनलाई मेरो मुस्कान पस्किएँ।
उहाँले हाँस्दै मुन्टो हल्लाउनु भयो र टेबलमा बस्न आग्रह गर्नुभयो। म मातृका जीसँगै गएर बसें। मातृकाजीलाई पनि सोधें जुस चाख्न मन छ कि भनेर उहाँले चाख्दिनँ भन्नुभयो।
‘खानु न यार,’ मैले अनुरोध गरें।
‘अलि महँगो छ, हेर्नु त एक क्लासको पाँच सय।’
‘मैले त चाख्नको लागि मागेको हो यार। यो जुसको हामीले तिरे पनि पैसा लिनु हुँदैन यो दिदीले।’
‘होस म चियामात्र लिन्छु,’ मातृकाजी नपिउने हुनुभयो।
मैले दिदीलाई एक ग्लासमात्र दिन भनें। उहाँले २ ग्लास चिया र १ ग्लास जुस दिनुभयो।
‘भाइ जुस कस्तो छ भन्नु है,’ उहाँको आग्रह थियो।
मैले ‘हुन्छ दिदी’ भनें।
जुस पिएँ। मीठो जुसको लागि उहाँलाई धन्यवाद दिएँ। सदाझैं उहाँको त्यही मुस्कानले उहाँले धन्यवाद दिनुभयो। रातो रातो देखिने त्यो जुस भने केको थियो सोध्न बिर्सेछु।
बिल तिर्दा भने साहुनीले पन्जाको लागि राखेको २००० बाट चियाको मात्र पैसा कटाएर बाँकी पैसा फिर्ता गर्नुभयो।
‘दिदी जुसको नि काट्नु न,’ मैले आग्रह गरें।
‘तपाईंलाई दिदीको तर्फबाट उपहार भयो भाइ,’ उहाँको त्यो शब्द पछिको मुस्कानले मलाई भने आकर्षण गरिरहेको थियो।
‘दिदी तपाईंभन्दा त म नै जेठो होला,’ मेरो कुरा सुनेर उहाँ मुस्कुराउँदै लाजले पछाडि फर्कनुभयो।
‘तपाईंहरू मेरो गाउँ जानु भएनछ नि?’
‘कुन गाउँ बहिनी?’
‘खुमजुङ’ हो नि। पक्कै पनि एक दिन डुल्न आउनु होला है। अति राम्रो गाउँ हो नि। सोलुखुम्बुको मनमोहक र सुन्दर उपत्यकाको रूपमा प्रख्यात छ नि भाइ ‘खुमजङ’ गाउँ। एक चोटि पुग्नै पर्छ।’
उहाँको छोरा छोरीहरू भने स्विट्जरल्याण्डमा बस्दा रहेछन्। उहाँको श्रीमानको व्यवसाय पनि त्यतै रहेछ। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘अहिले त म एक्लै हो। सिजन सकिएपछि स्विट्जरल्याण्ड जान्छु। हाम्रो बालुवाटारमा पनि घर छ।’
थाहा छैन किन हो हामीमा के देख्नुभयो। उहाँ अति नजिकको व्यक्ति जस्तो व्यवहार गरिरहनु भएको थियो।
पाँच छ सय घरपरिवार रहेको खुमजुङ गाउँपालिकामा जम्माजम्मी दुई हजार बाइस सय जनसंख्या छ। यो गाउँपालिकाको मुख्य गाउँमध्ये एक हो खुमजुङ। जहाँ धेरै पुरानो र प्रख्यात गुम्बा पनि रहेको छ। यहाँको म्युजियममा यतीको खोपटा पनि हेर्न पाइन्छ भनिन्छ।
उहाँको त्यो मुस्कान, त्यो अतिथ्यता र मायाले जीवनभरीलाई ऋणी बनाएको महसुस भएको थियो।
पक्कै एक दिन आउने बाचा गर्दै हामी दिदीसँग विदा माग्दै आफ्नो गन्तव्य तिर अघि बढेऔं।
हामीले गोक्यो जाने योजना फोर्सेको बसाइमा बनाएका थियौं। तर यो बीचमा मातृकाजीले पूर्णत हाम्रो योजनालाई त्यागी सक्नु भएको थियो। तर मैले भने कोसिस गरिरहेको थिएँ। लोबुचेबाट फिर्ता भएको तीस मिनेटपछि गोक्यो र फिरीचे छुट्टिने बाटो आयो।
मातृकाजीलाई फकाउने कोसिस थालें। गोक्योको बाटो देखाउँदै ‘कृपया गोक्यो जाऔं हाम्रो अर्को दुई दिन बढी लाग्ने न हो। फेरि आउनु पर्दा १० दिन लाग्छ।’
म गोक्योतिरको बाटो लागें। उहाँले मलाई हेर्नु भयो उहाँ फिरीचेतिर अघि बढ्नु भयो।
मैले फेरि भनें, ‘तपाईंले सहमति गरेको थियो मितज्यू। यसरी बीच बाटोमा बाचा तोड्न कहाँ पाइन्छ!’
उहाँले मेरो कुरा सुन्दै नसुनेको जस्तो गरी अझ बढी स्पिडको साथ फिरीचेतर्फ अघि बढ्नु भयो। म पनि गोक्योतर्फ लागें तर उहाँले एक झलक पनि फर्केर मलाई हेर्नु भएन। म भने उहाँले हेर्नुहुन्छ कि भन्दै उहाँलाई हेर्दै गोक्योतिर लागिरहें।
‘मातृकाजी एता हेर्नु त’ म कराएँ, चिच्याएँ उहाँ सुने नसुनै अघि बढ्नु भयो। मैले हारें र उहाँतर्फ नै फर्कें। नजिकै पुगें।
‘ओ मित्र फर्केर हेर्न पनि नहुने?’
‘नजाने बाटो किन हेर्नु त?’
‘पहिला त सहमति थियो त गोक्यो जाने।’
‘यो कुरा छोड्नु यार।’
‘छोडेर त तपाईंको पछि लागेको त। म पनि तपाईंजस्तै त्यतै लागेको लागै भएको भएँ। के गर्नु हुन्थ्यो तपाईं?’
‘म एक्लै जान्थें।’
‘तर म भने तपाईंसँगै जाने हो। त्यही भएर आए मित्र।’
‘ल हजुर धेरै धन्यवाद।’
उहाँको यो वाक्यसँगै मैले पनि ‘हस, स्वागत छ’ को जवाफ दिएँ। दुबै मज्जाले हाँस्दै फिरीचेको यात्रातिर अघि बढ्यौं।
यो यात्रामा मेरो गोक्यो लेक जाने धोको भने अधुरो नै रह्यो। समयभन्दा ठूलो के नै हुने रहेछ र जीवनको यात्रामा। समयले पठायो भने गोक्यो लेक पक्कै भ्रमण गर्नेछु।
तेस्रो र ओरालो बाटो हामीलाई असहज रहेन। हामी सात बजेअघि नै फिरीचे पुग्न सफल भयौं। फिरीचेमा भने हामीलाई मित्र टासीजीको कुनै होटल तथा लजको सिफारिस थिएन। किनकि फिरीचेलाई हामीले बास बस्ने स्थानको रूपमा राखेका थिएनौं।
फिरीचे बजारमा हिँडिरहेका एक जना भाइले हामीलाई उनी बसेको लजको सिफारिस गरे। त्यही बस्नु राम्रो छ भन्नुभयो। उनी पनि गाइड रहेछन्। उनीहरू गोरकशेपबाट बिहान हिँडेका रहेछन्।
त्यही लजमा कोठा लियौं। झोलाहरू कोठामा राखेर। कफी खानको लागि हामी हिमालयन जाभामा पुग्यौं। साँझ भए पनि हामीले कफी पियौं र खाना पनि यही खाने भयौं। चिकेन चाउमिनको सुप अर्डर गर्यौं।
४ जना जति स्वीडिसहरू पनि यही डिनरको लागि बसेका थिए। आगोको वरिपरि बसेर हामी सुपको मज्जा लिँदै थियौं।
आठ दश वर्षको होटल साउनीको छोरी यताउता कुदेको देखें। मैले उनलाई बोलाएँ, नाम सोधें। तिनी लजाएर कुदेर आमाकहाँ गइन्। आमाले उनको नाम त भनिनन् तर राम्रो नाच्छ भन्नुभयो।
हामीले नाच हेर्ने भनेपछि त्यो नानीले उफरमा गीत बजाएर स्पेशल तामाङ सेलोमा मज्जाको नाच देखाइन्। हामीले चक्लेट किनिदियौं। स्वीडिसहरूले पनि पैसा दिए। उनी झन् उत्साहित भएर थप नाचहरू देखाइन्।
यही नाचसँग हामी पनि रमाउँदै सुपको डिनरपश्चात् लजमा १० बजे नै ओछ्यानमा पल्टियौं। आजको यो यात्रा आजसम्मकै लामो थियो। ओरालो बढी भएकोले मस्सल खादिएर दुखिरहेको थियो।
त्यही भएर पनि हामीले तातो पानीले नुहाएका थियौं। तातोपानीले नुहाएको यहाँ ३०० रुपैयाँ थियो। मस्सल खादिएमा नुन तातोपानीले कम हुने गर्दछ। नुन नहुँदा पनि तातोपानीले पनि धेरै नै राम्रो र सहज हुने गर्दछ।
थकित हामी ओछ्यानमा पल्टेको एकै झिमिसमा निद्रादेवीको प्यारा भैसकेका थियौं।
बिहान एकैचोटि हामी ६ बजेको अलार्मसँगै व्युँझियौं। जाडो थियो। बिहान चियासँगै हामीले होटलको बिल माग्यौं।
होटलको बिल थियो पाँच हजारको।
मातृकाजीले मलाई हेर्नु भयो।
‘हिजो त एक जनाको एक हजार भनेको थियो होइन र भाइ?’
‘तपाईंहरूले हिजो रातिको खाना हामीकहाँ नै खाएको भए मात्र हो एक हजार। नत्र एक जनाको पच्चिस सय हो।’
‘भाइ तपाईंले हिजो त त्यस्तो केही भन्नु भएको थिएन। नत्र हामी यही खाने थियौं। यसरी डबलभन्दा बढी कसरी लिन मिल्छ।’
‘यहाँको नियम नै यही हो। अरू कुरा थाहा छैन। पाँच हजार दिनैपर्छ।’
‘भाइ हामीले हिजो खाना खाएको जम्मा जम्मी १५ सय भएको थिएन। एक हजारमा कुरा गरेर एक्कासि भन्दै नभनी यसरी कहाँ हुन्छ। हामी दिँदैनौं।’
हाम्रो कुरा सुनेर उहाँ एक्कासि रिसाउनु भयो। ठूलो ठूलो स्वरमा ‘ल हेरौं त कसरी पाँच हजार नतिरी जानु हुँदो रहेछ।’
‘जहाँ सुतेको त्यही खाने हो। यो हाम्रो नियम हो’ उहाँ झन् बढी कराउन थाल्नुभयो।
बेलुका हामीलाई त्यो होटल सिफारिस गर्ने भाइ पनि त्यहीँ थिए। हामीले उनलाई पनि योबारेमा भन्यौं। उनी पनि हिजो तपाईंहरूले यहीँ खानुपर्ने थियो भन्दै पन्छिनु भयो।
हामी मौन धारणा गर्दै पाँच हजार थमाएर होटलबाट निस्कियौं। हामो यात्राको यो अति नमिठो अनुभव थियो।
कोही सगरमाथा बेस क्याम्पको यात्रामा जाँदै हुनुहुन्छ भने पहिले नै यो विषयमा कुरा गर्नु होला। टाँसीजीले सिफारिस गरेको प्रत्येक होटलले अदभुत स्वागत गरेका हामीलाई यात्रा सकिने बेलाको यो घटनाले भने मन दुखायो।
फिरीचे आफैंमा अति सुन्दर गाउँ। यात्रा न हो। यस्तै तीता मीठा अनुभवहरूले नै यात्रालाई बिर्सन नसकिने अनुभूति दिन्छ।
पदयात्राको आज नवौं दिन नाम्चे पुग्ने अठोटका साथ अगाडि बढ्यौं।
क्रमश:
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)