असार मासको बर्खे झरी, टाढा घुम्न के जानु! प्राय: शनिबार एउटा न एउटा ठाउँमा घुम्ने बानी परेकालाई घरमै बसी रहन पनि पट्यारलाग्दो!
नजिकै नपुगेको ठाउँ कता होला, यसो विचार गरें। दिमागमा आयो नेपालकै पहिलो फर्पिङ जल विद्युत केन्द्र।
फर्पिङमा आफ्नै बहिनीको घर। त्यता पटक पटक आउजाउ गर्दा विद्युत पावर हाउस पुग्ने ध्यानै नपुगेको। हुस्सु बनेकोमा आफैंले आफैंलाई लोप्पा ख्वाएँ।
पावर हाउसको ड्याम अर्थात् ठूलो पोखरीमा भने दुई चार पटकै पुगेको थिएँ। श्री ३ चन्द्र शमशेरले आजभन्दा ११२ वर्षअघि बेलायत यात्रापछि बिजुलीको सपना मात्र देखेनन्, त्यो सपना साकार पारेको ऐतिहासिक ठाउँ हेर्न ढिलै भैसकेको ठानी परिवारसहित त्यतै जाने निश्चय गरियो।
विद्युत उत्पादन गर्नका लागि चाहिने पानी फर्पिङको शिखानारायण मन्दिर र फर्पिङकै सातमूलको पानी पाइप लाइनबाट ल्याइ हालको दक्षिणकाली नगरपालिको वडा नं. ३ स्थित सोखेलको ठूलो पोखरीमा जम्मा गरिएको छ। त्यो ऐतिहासिक स्थल हेर्न आउने मानिसहरू सधैंजसो भेटिन्छन्।
बिदाका दिन त धेरै नै आइपुग्छन्। टौदह, दक्षिणकाली मन्दिर, पावरस पोखरी, टावर र विद्युत उत्पादन केन्द्रसम्मको ट्रिप बनाएर पनि मानिसहरू आउँछन्।
आफ्नो साधन लिएर पोखरी (ड्याम) र विद्युत उत्पादन केन्द्रसम्मै पुग्न सकिन्छ।
पोखरीबाट काठमाडौं खाल्डोको तीनै सहर झलमल र अति मनमोहक देखिन्छ।
विद्युत उत्पादन हुने स्थल पुग्न चाल्नाखेलबाट ओर्लेर सिधै ‘चन्द्रज्योति जल विद्युत उत्पादन केन्द्र’ पुग्न सकिन्छ।
असार ११ गते आइतबार परिवारिक टिमसहित त्यता गयौं। आफनो साधन नहुनेका लागि अहिले पठाओ, एन ड्राइभको सुविधा लिन सकिने भएकाले हामीले पनि घरबाटै त्यही सुविधा लिएर पोखरी (ड्याम) पुग्यौं।
असारको समय रोपाइँका लागि पानी छोडिएको हुँदा पोखरीमा सातमूलेको पानी खसेको थिएन। उता शिखानारायणबाट ल्याएको पानी चाहिँ थोरै खसेको थियो।
पोखरीमा भरिभराउ पानी भएको समयमा पनि म पुगेको छु, त्यतिबेला दुईतिरबाट खसेका पानी भुल्का र त्यहाँ कञ्चन निलो पानीमा खेलिरहेका माछाले सबैको म नै हेर्थें।
असार महिना जता पुगे पनि बादलु संसार देखिने हो। यहाँबाट पनि तीनै सहरका आकाशमाथि सेता बादल पहाड बनेर बसिरहेका देखिन्थे।
पोखरीबाट देखिने सबैजसो ठाउँमा कहीँ तरकारी खेती कतै मकै खेती, कतै धान रोपाइँ, कतै रोपो सरेर हरिया भएका हरियाली दृश्यहरूले मन आनन्द पार्दथ्यो।
रूखपात बोट बिरूवा त सबै मस्त मस्त देखिन्थे। उखरमाउलो गर्मीमा पनि मनै आनन्द हुने गरी शितलता छाएको थियो।
धेरै पहिलादेखि मैले पनि देखेको पोखरीको ठ्याक्कै पश्चिमपट्टिको पाखामा दुई वटा भवन थिए।
स्थानीय वृद्धहरूले बताए अनुसार त्यहाँ एउटा श्री ३ चन्द्र शमशेर बस्ने ३ कोठे दरबार र अर्को ठूलो भान्छाघर थियो।
अहिले त्यस दरबारको नामोनिसान जमिनमाथि मुस्किलैले मात्र देखिन्छ। यस्तो ऐतिहासिक दरबारको किन संरक्षण नगरिएको होला। जुन गौरव गर्न सकिने वस्तु थिए। यससम्बन्धी अध्ययन गर्न चाहनेहरूका लागि महत्वपूर्ण सामग्री हुन सक्थे। अर्को पर्यटकीय दृष्टिकोणले पनि यसको महत्व हुने थियो। त्यसलाई बचाएर राख्न सकेको भए, हेर्न पर्यटक पुग्थे। स्थानीय तवरमा यसले केही न केही रोजगारीको सृजना हुन्थ्यो।
पोखरीको घुमघामपछि बहिनीको घर नजिकै भएकोले खाना खाएर एकछिनको आरामपछि हामी बिजुली उत्पादन केन्द्रस्थल लाग्यौँ।
पोखरीको पानी लगेको पाइपको बाटो हुँदै तल जान पनि सकिन्छ।
यो बाटोमा अलि अघि पर्यटन विकास बोर्डले सिँढी बनाइदिएको छ। तर वर्षाको समय भएकोले हामी सिँढीको बाटो नगई ढलाने बाटो र केही ढुङ्गाका सिँढी हुँदै तल पुग्यौं।
ई सं. १९०१ मा प्रधानमन्त्री बनेको चन्द्र शमसेरले २८ वर्ष शासन गरे। श्री ३ प्रधानमन्त्री बनेको २ वर्षपछि उनले बेलायतको यात्रा गरेका थिए। बेलायतमा बिजुलीको झकिझकाउ देखेपछि नेपालमा पनि बिजुली उत्पादन गर्ने हुटहुटी उनमा चल्यो। बेलायतको सर्भे र सल्लाह अनुसार यहाँ विद्युत केन्द्र बनाउने अठोट गरे। विद्युत उत्पादन गर्न चाहिने सम्पूर्ण सामान उतिबेला बेलायतबाटै ल्याइएका हुन्।
पाइप, मेसिन आदि उतिबेला अमलेखगन्जसम्म रेल र भिमफेदीसम्म गाडीबाट आएको सामान मानिसले नै बोकेर कुलेखानी, चित्लाङ हुँदै थानकोटको बाटो भएर बोकेर ल्याए।
आज ती अजङ्गका पाइप र मेसिन देखेर, कसरी तारतम्य मिलाएर यस अनकन्टार ठाउँमा मानिसले ल्याई पुर्याए होलान् मेरा मनमा अनेक तर्कना चलिरह्यो।
नेपालको पहिलो एसियाको दोस्रो चन्द्रज्योति विद्युत केन्द्रको मूल ढोका पूर्वतर्फ फर्केको रहेछ। पावर हाउसको ठ्याक्कै पश्चिमपट्टि ठूलो पाटा मिलेको हरियो डाँडाको पाउमै विद्युत केन्द्र रहेछ।
इटा र सुर्कीले बनाएको बेलायती बान्कीको एउटा घर छ। घरको वरिपरि केही खुला स्थान छ। जहाँबाट त्यस घरलाई चारैतिरबाट घुम्न हेर्न सकिन्छ। त्यहाँ रहेका कर्मचारीले मेसिन र विद्युत उत्पादन हुने तरिकाबारे बताइ मात्र दिएनन् एकैछिन मेसिन चलाएर यसरी विद्युत उत्पादन हुन्छ भनेर देखाइ पनि दिए।
अहिले मेसिन चलायमान राख्नका लागि मात्र बेलाबेलामा चलाउने गरिँदो रहेछ। केही वर्ष अघिदेखि यस आयोजनाको सम्पूर्ण पानी खानेपानीका लागि सैंबु भैंसेपाटीको रिजर्भ ट्यांकीमा राखी वितरण गरिएको हुँदा हाल विद्युत उत्पादन हुने रहेनछ।
आज भरपर्दो बिजुली बत्ती बिना कुनै पनि देश अगाडि बढ्नै सक्दैन। सबैका लागि आज बिजुली बत्ती अपरिहार्य नै भैसकेको छ। त्यसबेला भारत र एसियाको धेरै देशमा बिजुली उत्पादन नहुँदै चन्द्र शमसेरले फर्पिङमा वि.सं. १९६८ मा विद्युत उत्पादन गरी चमत्कारिक काम गरेकै मान्नुपर्छ।
बिजुलीले तत्कालीन राणा परिवार तथा भाइभारदारहरूका घरमा मात्र उज्यालो पारेनन्, काठमाडौंलाई पनि उज्यालो पारे र आगामी दिनमा जलस्रोतको धनी नेपालले बिजुली निकाल्न सक्छ र उज्यालो पार्न सक्छ भन्ने सन्देश दिएका थिए।
वि सं १९६४ पुसबाट योजनाको काम सुरू भई वि.सं १९६८ सालमा फर्पिङबाट काठमाडौं ल्याई श्री ३ चन्द्र शम्शेरकै प्रयत्न र पालामा बलेकोले यसलाई ‘चन्दबत्ती ’पनि भन्थे।
सुरूमा नेपालकै इन्जिनियर कर्णेल कुमार नरसिंह र कर्णेल किशोर नरसिंह राणाले बिजुलीको योजना बनाएका रहेछन्। ३ महिनापछि वि.सं. १९६६ चैत्रमा बेलायतबाट इलेक्ट्रिकल इन्जिनियर मिस्टर वार्ना उप्वान्टे र लिन्जाले आएर काम सुरू गरेका रहेछन्।
सरकारले ‘चन्द्राज्योति विद्युत केन्द्र’ बनाउने कामका लागि त्यतिबेला उर्दी नै जारी भएको रहेछ।
विष्णुमती पूर्व, बाग्मती पश्चिम, बाँसबारी, बालाजु दक्षिण बाग्मती उत्तर यति सीमानाभित्र घर भएका दुनियाँहरू यस काममा जानै पर्ने उर्दी जारी गरिएको थियो।
जान नसक्नेहरूले एक जनाको दुई मोहर रुपैयाँका दरले दुई जनाको चार मोहर जम्मा गर्नु पर्ने थियो। नजानेका लागि नजिर भनि वि.सं. १८६७ मा बाग्मतीको पुल बन्नेताका पुलको काममा नजानेहरूले वि.सं. १९६० सम्म पनि ‘भार रकम’ तिरिरहेको नजिर देखाउँदै अनिवार्य रूपमा बिजुलीका लागि भीमफेदीसम्म आएको सामान बोक्न आउनु पर्ने उर्दी थियो।
उर्दी जारी पनि किन नहोस्, फर्पिङको बिजुली निकाल्ने सबै सरसामान उतिबेला लन्डनबाट झिकाइएको थियो।
लन्डनबाट कलकत्ता, कलकत्ताबाट भीमफेदी सम्म त सामान आइपुग्यो। भीमफेदीबाट नेपालसम्म ल्याउन गाडीको बाटो नभएकाले त्यहाँदेखि बोकाएरै काठमाडौंसम्म सामान ल्याउनुको विकल्प थिएन।
ती सम्पूर्ण सामान मानिसले बोकेरै निर्माणस्थल पुर्याइयो। सबै जनताको साथ सहयोग पाएर नै जम्मा १७ महिनामै काम सम्पन्न गरी २५० किलोवाट बिजुली निकालिएको थियो। हुन त त्यस बेला यो काम सम्पन्न गर्न श्री ३ चन्द्र शमशेरले जनरल पदम शमशेर जवरा, जनरल मोहन शमशेर जवरा र जनरल केशव शमशेर जवरा लगायत थुप्रै हस्तीहरूलाई यस कामको जिम्मेवारी दिएको देखिन्छ।
आज हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएका समयभन्दा डवल तेवर समय थप्दा पनि सम्पन्न हुन सकिरहेका छैनन्। तर त्यसबेला सर्वथा नौलो त्यत्रो आयोजना १७ महिनामै सकाएर बिजुली बालेको देख्दा अचम्म लाग्छ।
हिसाब किताब पनि जनजनले बुझ्ने गरी फेहरिस्त राखिएको रहेछ। कलककत्ताबाट भीमफेदीसम्म सामान ल्याउन ढुवानी खर्च ४० हजार ३११ रुपैयाँ ७९ पैसा खर्च भएको रहेछ।
त्यस्तै भीमफेदीबाट फर्पिङ आयोजना स्थलसम्म सामान ल्याउन ढुवानी ४० हाजार ३७२ रुपैयाँ ३२ पैसा लागेको रहेछ। उतिबेला लण्डनबाट के के सामान आयो र सो सामान कलकत्तासम्म ल्याउन ढुवानी, प्याकेजिङ र एजेन्ट खर्च समेत गरी २८ हजार ६९९ रुपैयाँ २६ पैसामात्र खर्च भएको रहेछ।
त्यस्तै, तलब र ज्यालामा १ लाख ३ हजार ५६५ रुपैयाँ खर्च भएको रहेछ। त्यसबेला यो आयोजना सम्पन्न हुन कूल खर्च ७ लाख १३ हजार २७३ रुपैयाँ ३२ पैसा लागेको रहेछ।
बिजुली निक्लेपछि वि.सं. १९६८ जेठ ९ गते सोमबारका दिन साँझ ६ बजे बिजुलीलाई स्वागत गर्न सबैलाई उर्दी जारी गरी टुँडिखेलमा तामझामका साथ ठूलो सभा गरिएको थियो।
बिजुली त आयो तर सामान्य जनतालाई ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ भन्ने उखान लागु हुनु स्वाभाविकै थियो।
काठमाडौंकै ठूला साहु महाजन समेतले बिजुली बाल्ने आँट नगरेको र बिजुली निस्केको डेढ दुई वर्षसम्म पनि कसैले बिजुली प्रयोग नगरेकाले वि.सं. १९६९ को माघको गोर्खापत्रमा साहु महाजनका नाममा यस्तो सूचना निक्लेको थियो।
‘बिजुलीको पावर चलेको डेढ दुई वर्ष भइसक्यो र पनि कुनै साहु महाजनले यसबाट फाइदा उठाउने काम गरेका छैनन्, फगत किसान साहुले सहरभित्र काठ चिर्ने र पीठो पिँध्ने चलाएको थाहा छ।’
नेपालमा बिजुली उत्पादन भएको १०० वर्ष पुगेको उपलक्ष्यमा शतवार्षिकी स्मारक २०६८ सालमा बनाइएको छ।
विद्युत गृहमा २०४२ सालमा पुरानो मेसिनलाई बदली दुई वटा मेसिन जडान गरी ५०० किलोवाट बिजुली उत्पादन गर्न सकिने बनाइएको रहेछ।
यी मेसिनहरू पनि बेलायत र अमेरिकाका रहेछन्। यस अलवा यहाँ ठूलो क्षेत्रफलमा उतिबेलै बनेका लामो घोडा तवेला र ५ वटा अन्य भवन ज्यादै जीर्ण अवस्थामा पुगेको देखिन्छ।
उचित संरक्षण नपाई भत्केका भवनका ‘श्री ३ चन्द्र १९६६’ लेखिएका इटाहरू छरपस्ट देखिन्छन्। यिनको उचित संरक्षण भई यस विद्युत केन्द्र र यस आसपासका संरचनालाई जीवन्त संग्रहालयका रूपमा विकास गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास हुने त छँदैछ।
नेपालकै पहिलो एसियाकै दोस्रो जलविद्युत गृहको रूपमा रहेको ‘चन्द्रज्योति विद्युत गृह’ अध्ययनकर्ता, सोधकर्ता तथा पर्यटकीय हिसाबमा यो ऐतिहासिक थलो बन्ने थियो, यस क्षेत्र घुमेपछि यस्तै लाग्यो।