नयाँ दिल्लीमा अवस्थित अक्षरधाम मन्दिर घुम्न जाने सल्लाह दिनु भयो, टीकाराम भिनाजुले।
वर्षौंदेखि दिल्लीमा बस्दै आउनुभएको भिनाजुले अक्षरधामको बारेमा निकै जानकारी साझा गर्नु भयो।
‘हिन्दूहरूका लागि अक्षरधाम अनौठो, आकर्षक र अचम्मित पार्ने सांस्कृतिक एवमं पर्यटकीय तीर्थस्थल हो। स्वामीनाराणको पुन्य स्मृतिमा सन् २००० देखि निर्माण आरम्भ गरेर २००५ मा निर्माण सम्पन्न गरिएको यो मन्दिर वास्तुकलाको भव्य प्रयोगले सुशोभित छ। ४०० करोडको लगानीमा निर्माण गरिएको यस्तो कलात्मक मन्दिर दिल्ली आएका बेला पनि नहेरी जाने?’
भिनाजुको मुखबाट मन्दिरको बारेमा यति सुनेपछि म उत्साहित भैहालेँ।
अझ अक्षरधाम घुमिसक्नु भएका भ्रमण दलका अरू सदस्यहरूको मुखबाट पनि बयान सुन्दै आएकीले मलाई त कतिखेर हुरिँदै अक्षरधाम पुगिहालौं जस्तै भयो।
अमृतसरको स्वर्ण मन्दिरलाई हृदयमा बोकेर रातभरि ट्रेनको यात्राबाट आएको शरीर थाकेर लेथ्नो भए पनि अक्षरधामको अद्भुत वर्णनले मेरो शरीरमा नवीन ऊर्जा सम्प्रेषित गर्यो।
अक्षरधाम घुम्न बिहानको समयभन्दा साँझको समय अझ उपयुक्त हुन्छ भन्दै दिउँसो ३ बजेतिर हामी द्वारकामोड स्टेसनबाट मेट्रो समाउँदै अक्षरधाम स्टेसन ओर्लियौं। साथमा हुनुहुन्थ्यो टीकाराम भिनाजु र श्रीमान।
परैबाट दृष्टिगोचर भयो विशाल अक्षरधाम मन्दिर परिसर।
मेट्रो स्टेसनबाटै देखियो अक्षरधामको क्षेत्रफल, फैलावट र भव्यता। हामी हिँड्दै मन्दिरको प्राङ्गणमा पुग्यौँ। एक हुल दक्षिण भारतीयहरूसँग जम्का भेट भयो।
सारीमा सजिएर सजिलो स्पोर्ट्स जुत्ता लगाएका महिलाहरूका गोडामा मेरा आँखाहरू थाहै नपाइ टाँसिन पुगिसकेछन्। म उत्पुलक भएर सारी र जुत्ताको केमिस्ट्री हेर्दै थिएँ। पहिरन अनुसार जुत्ता लगाउनु पर्छ भनेर मेरो भुत्ते मस्तिष्कमा खोइ कसले घुसाइदिएको रहेछ, लुगामा सुहाउने तर अप्ठ्यारो जुत्ताले औंलामा फोका उठाएर उखापातै थियो, सायद त्यसैले होला बारम्बार सारी र स्पोर्ट जुत्तामा आँखाहरू लोभिएका। सजिलो जुत्तामा यात्रा कति सहज हुन्छ है! अक्षरधामको प्राङ्गणमा मैले पनि भीष्म प्रतिज्ञा गरें 'अबदेखि सजिलो जुत्ता लगाउँछु चाहे पहिरन जस्तोसुकै होस्।'
केहीबेरमा मन्दिरभित्र पस्नका लागि लामबद्व भयौं। नौका विहार गर्न खुबै मन थियो। तर यो पटक जुराएन। नौका बिहार अक्षरधाम मन्दिरको छुटाउनु नहुने एउटा पाटो रहेछ तर समयले साथ दिएन। नौका बिहार गर्दाको रमाइलो र आनन्दको बयान नन्द अनामिकाले बारम्बार भन्दा मीठो कल्पना बुनेकी थिएँ।
कुनै दिन पुनः अक्षरधाम आएँ भने नौका बिहार अवश्य गर्ने छु, मनमा अठोट गरें। मान्छेले जे गर्छु भन्यो त्यो नगर्न पनि सक्छ तर जे गर्दिनँ भन्छ त्यो कसैगरी गर्नैपर्ने रहेछ कि क्या हो?
प्रवेशद्वारमै हाम्रो मोबाइल, ब्याग लकरमा लक गरिदिए। श्रीमानले पुलुक्क मलाई हेर्दै सोच्नु भयो क्यार- चम्कीचम्की फोटो खिच्नु पर्ने मान्छे आज भने फेला परी।
मैले उहाँको हेराइ बुझेर मनमनै उत्तर दिएँ, ‘मोबाइल खोसेर के भयो त? मसँग अक्षरधाम परिसरलाई आजीवन कैद गर्न सक्ने आँखाहरू नै काफी छन्। म विश्वस्त थिएँ' आफ्नै आँखाहरूप्रति। मोबाइलको बरू ठेगान हुँदैन।
लुजा त! बरू आफ्नै आँखालाई सर्पका आँखा बनाउन कम्मर कसें ताकि चिरकालसम्म आँखा चिम्म गर्दा पनि अक्षरधामको सम्पूर्ण भूगोलको सजीव चित्र मेरो स्मृतिमा उत्रियोस्।
म हाँस्दै अगाडि बढें।
मन्दिरका द्वारले सुरूमै मोहित पार्यो।
अद्भुत! बढो कलात्मक रहेछ। मन्दिरका भित्ता, खाँबो, सिलिङ सबैतिर वास्तुकलाको अनुपम नमूनाले सम्मोहित हुँदै थिएँ। म त लाटिँदै गएँ अक्षरधाम मन्दिरको जादूमा।
अहो! टलटल टल्केका संरचनाहरू। गुलावी मार्वलमा कुँदिएका कलाकृतिले पुराणमा वर्णनातीत स्वर्गमा घुम्दै थिएँ म। अक्षरधामको सुन्दरतालाई साँच्चै शब्दमा व्याख्या गर्न मुस्किल हुँदैछ आज, यस्तो भव्य मन्दिर त देखेकै थिइनँ। सरसफाइ उस्तै उम्दा छ।
टीकाराम भिनाजु सँगसँगै हुनुहुन्छ। मन्दिरको महत्त्वपूर्ण जानकारीहरू सुन्दै मन्दिर घुम्न पाउँदा मज्जा नै अर्को छ - यो दशद्वारमा दसवटा दिशाहरूलाई प्रतीक बनाएको रहेछ। परम्परागत शैलीको भक्तिद्वारमा भक्ति र उपासनाको २०८ वटा चित्र कुँदिएको छ भने मयूरद्वारमा ८६९ वटा मयूर नाचिरहेको चित्र छ।
भिनाजुले वर्णन गरिरहनु भएको दृश्यहरू दृष्टिगोचर हुँदैछ।
ती भव्य कलाकृतिले मयूरद्वारलाई वास्तवमै अद्वितीय, अवर्णनीय र अतुलनीय बनाएको छ।
उत्कृष्ट कलाकृति अक्षरधामको कणकणमा व्याप्त भएको देख्दै छु। जो कोहीको आँखा खुलेको खुलै हुन्छ यो संरचना देखेर।
आम्मामा! सङ्गमरमरमा कसरी कुँदे होलान् यस्तो अचम्मका मूर्तिहरू। कसरी मुन्टो फर्काएर होलान् मास्तिर। कत्रो आँट कालिगढहरूको। ती लोमहर्षक चित्रहरू कसरी कुँदे होलान् म छक्क पर्दै गएँ।
ती विशाल खम्बाहरूमा कुँदिएका मूर्तिहरू कति जीवन्त। कति चित्ताकर्षक। अहो! गगनभेदी यामानका खम्बाहरूमा बढो मिहिन वास्तुकला छ।
वर्णन गर्न लायक थिए एकएक कुनाहरू। मन्दिरको मुख्य स्थानबाट वरिपरि नजर घुमाएँ म त मदहोस् हुँदै गएँ मन्दिरको मुख्य भागबाट सिलिङ्गतिर निकैबेर हेरेको त मुन्टो अरररो भयो।
बारम्बार मुखबाट यही वाक्य दोहोरिरह्यो ।
अहो! आश्चर्य ! अद्भुत !! अलौकिक !!
वास्तुकलाको महान् सङ्ग्रहालय नै रहेछ अक्षरधाम भन्दा पक्कै फरक नपर्ला।
भिनाजु भन्दै हुनुहुन्छ- थाहा छ अनिता, यो मन्दिर परिसरको चारैतिर २०,००० वटा मूर्तिहरू कुँदिएका छन्। यो अद्भुत कलाकारितालाई ११००० कालिगढहरूले अहोरात्र खटेर तयार पारेका हुन्।
मेरा गोडा जमिनमा भए पनि म उडेको छु। संङ्गमरमरमा कालिगढहरूले साँच्चै प्राण नै फुकेका रहेछन्। जीवित माटाका मूर्तिहरूले पाषणलाई तरासेर जीवन्त पारेको दृश्यहरू आँखामा नाच्न थाले। जतिजति मन्दिरलाई हृदयका आँखाबाट हेर्दै गएँ उतिउति श्रमिकहरूका हातहरूलाई नमन गर्दै गएँं अहो! कलाकारहरूले साँच्चै आफ्नो अमूल्य श्रम र सीप खर्चेर मन्दिरलाई दर्शनीय, शोभनीय र अवलोकनीय बनाएका रहेछन्।
अरू मन्दिरभन्दा यो मन्दिर छुट्टै लाग्दै थियो। फूलपाती, प्रसादी केही थिएन। फोहोर कतै थिएन। म त आँ गरेर हेरेको हेरै भएछु।
अझ टीकाराम भिनाजु भन्दै हुनुहुन्छ - थाहा छ, अनिता! यो मन्दिर निर्माण गर्न राजस्थानबाट ६००० टन गुलाबी मार्बल ल्याइएको थियो यहाँ फलाम, स्टिल, कंक्रिटको प्रयोग रत्तिभर पनि गरिएको छैन नि! मुख्य भगवानको रूपमा स्वामीनारायण बिराजमान भएको त तिमीले देखिहाल्यौ । यो मन्दिर १०० एकड भूमिमा फैलिएको छ लौ हेर घुमीघुमी। अर्को कुरा पनि थाहा पाइराख यो मन्दिर संसारकै सबैभन्दा ठूलो हिन्दु मन्दिर हो त्यसैले २६ डिसेम्बर सन् २००७ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा यो मन्दिर समावेश भएको छ।
अब जाऔं पानीको उत्कृष्ट कलाकारितालाई अनुभूत गर्न। दर्शकहरू जम्मा भैसकेका रहेछन्। सिँढीको सोपानमा हामी पनि थचक्क बस्यौं। विज्ञानसँग हातेमालो गरेर वाटर फाउन्टेनको अकल्पनीय शो सुरू भयो।
अहो! पानीको यस्तो रूप मैले त कल्पनासम्म गरेको थिइनँ।
आँखा नझिम्क्याई हेरें विज्ञानको लीला।
पानीको सदुपयोग आधारभूत आवश्यकतामा मात्र सीमित छैन। पानी जीवन हो या जीवन नै पानी हो खुट्याउन बढो गाह्रो हुँदैथियो।
अब नृत्य गर्न थाले पानीका फोहोराहरूले।
पानीबाट आगो निक्लिन्छ भन्ने त थाहा थियो।
हेर्दाहेर्दै यहाँ त पानीले अभिनय गर्न थाल्यो, कथा भन्न थाल्यो। अचम्म पानी बोल्न थाल्यो, नाच्न थाल्यो, हाँस्न थाल्यो, हिँड्न थाल्यो।
‘पानी रे पानी तेरा रंग कैसा’, ::: भन्ने गीत पनि झट्ट याद आयो। पानीले आकार मात्र होइन भिन्नभिन्न रंग पनि फेर्दै छ। म धर्तीमा छु कि स्वर्गमा मलाई झुट्याउन गाह्रो हुँदैछ।
यस्तो पानीको लीला आजसम्म देखेकै थिइनँ। यो वाटर शोले सबैको हृदयलाई तृप्त पार्दैछ। दर्शकहरूलाई ठाउँको ठाउँ मूर्ति बनाइ राख्न सक्ने अद्भुत शक्ति छ फोहोराहरूमा। अमृतसरको स्वर्ण मन्दिरले झैं दिल्लीको अक्षरधामले मलाई एकोहोरो बनाइ रह्यो।
२४ मिनेटको केना उपनिषदको कथाहरूलाई पानीको रंगीन फोहोराबाट बढो मनमोहक तवरले प्रस्तुत गर्दा म वाल्लै परें।
कार्यक्रम सकिँदा पो झल्याँस्स भएँ।
अहो! धर्ती मै थिएँ म त!
कति महत्त्वपूर्ण सन्देश मानव जीवनका लागि।
एकपटक हेरेर र त चित्तै बुझेन। अर्को पटक दिल्ली आएँ भने पुनः यो नजारा हेर्नेछु।
राति भैसकेको पनि पत्त्तो भएन।
अक्षरधाम परिसर छोड्नै मन थिएन।
तर नछोडी सुखै भएन।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)