पदयात्राको अन्तिम गन्तव्यमा उभिएर जीवनको यात्राहरूलाई सम्झिँदा गौरव महसुस भयो।
रामेछापको विकट गाउँमा जन्मिएर जीवनको उतार चढावसँगै विश्वकै उच्च स्थान सगरमाथाको बेस क्याम्पमा उभिँदा हर्षित थिएँ। जीवनको यो रंगमन्चमा मेरो एउटा अद्भूत यात्रा थियो।
एक्लै आफ्नो सेल्फी लिँदै, सगरमाथा आरोहीहरूले आराम गरिरहेको क्याम्पको रङ्गीविरङ्गी टेन्टको फोटो खिच्दै झण्डै १५ मिनेट सगरमाथाको काखमा समय बिताएर र आफ्नो गन्तव्यतिर फर्किएँ। बाटोमा अझै पनि कुनै पदयात्रीहरू भेटिएका थिएनन्। आज म एक्लो पदयात्रीको रूपमा बेस क्याम्प पुग्ने पहिलो थिएँ।
एक्लै लुरूलुरू हिँड्दा बाटो छिटो काटिँदो रहेछ तर साथीको जरूरत भने अवश्य महसुस हुँदो रहेछ। एक्लै हिँड्दा मनमा विभिन्न तर्कविर्तकहरू आउने रहेछन्। फर्कने क्रममा आधी बाटोमा पुगेपछि भने केही पदयात्रीहरू भेटें।
म लुरूलुरू फर्केको देखेर जर्मनबाट पदयात्राको लागि आएकी लाउडाले भने मलाई बीचमा रोकेर बेस क्याम्पको बारेमा सोधेको थिइन्। उनले मलाई बेस क्याम्पमा नै रात बिताएर आएको सम्झिएकी रहेछिन्।
उनको पहिलो प्रश्न थियो ‘तपाईं कति बजे बेस क्याम्पबाट हिँड्नु भएको थियो’ जब मैले कालापत्थर हुँदै बेस क्याम्पबाट फर्केको भन्ने जवाफ सुनेर उनी आश्चर्य चकित भएकी थिइन्। उनले मेरो मोबाइल नम्बर पनि मागिन् र काठमाडौंमा भेट्ने इच्छा व्यक्त गरिन्।
हामीले मोबाइल नम्बर साटासाट गर्यौं। उनी अहिले पनि मेरो फेसबुकमा साथीको रूपमा जोडिएकी छन्। हामी केही वर्षमा जर्मनीमा भेट्ने योजना समेत बनाएका छौं।
मातृकाजी मलाई पर्खिरहनु भएको थियो। लेकले दिएको दु:ख उहाँमा थियो नै अर्कोतिर जति सकिन्छ छिटो घर फर्कनु पर्ने दबाब पनि थियो उहाँमा।
जब म होटलको नजिक पुग्दै थिएँ उहाँ होटल बाहिर मेरो पर्खाइमा हुनुहुँदोरहेछ। मलाई फर्कंदै देखेर अन्त्यन्त खुसीको साथ स्वागत गर्नु भयो। म बेस क्याम्प पुगेर फर्केकोमा गर्व महसुस भएको उहाँको अनुहारको भावमा देखिन्थ्यो।
मातृकाजीले घडी देखाउँदै ‘मैले भनेको थिएँ नि तपाईंले तीन घन्टामा बेस क्याम्प पुगेर फर्कनु हुन्छ। ठिक तीन घन्टामै फर्कनु भयो। ल बधाई छ मितज्यूलाई।’
यात्राको यो आठौं दिन हामीलाई सहज भने थिएन। मैले गोरकशेपबाट कालापत्थर र बेस क्याम्प गरी ११ किलोमिटरको यात्रा गरिसकेको थियो।
थकाइ धेरै थियो। मेरो शरीर काँपेको थियो। स्वासप्रश्वासको लेभल बढी थियो। म सोच्दै थिएँ कसरी अब त्यो लोबुचेसम्म पुग्न सकिएला। हावा अति चलिरहेको थियो।
उहाँले खानाको समेत व्यवस्था गरी सक्नु भएको रहेछ। पाँच मिनेटको आरामपछि खानाको थाली अगाडि आयो। भोक नलागे पनि खाना खाने इच्छा जाहेर गरें।
खानासँगै हामीले फर्कने यात्राबारे छलफल गर्यौं। जसरी पनि फिरिचे पुग्ने योजना बन्यो। उहाँले लेक कम गर्ने मेडिसिन लिनु भयो र मलाई पनि लिनको लागि आग्रह गर्नु भयो। तर मैले नलिने निर्णय गरें।
गोरकशेपबाट लोबुचे हुँदै फिरिचे सम्मको यात्रा थियो लगभग नौ किलोमिटर। बस्ने र खाने राम्रो व्यवस्था भएकोले फिरिचे पुग्ने कुरामा हामी दृढ थियौं। फिरिचे पुगेर ‘अमेरिकानो’ पिउने इच्छा थियो।
लोबुचेसम्मको बाटो कठिन र उकालो थियो भने लोबुचेबाट भने यात्रा ओरालो र बाटो पनि सहज थियो। त्यही भएर पनि हामीले यो साहस गरेका थियौं।
मातृकाजी बिल तिर्न लाग्नु भयो। यात्राको सबै हिसाब किताब राख्ने खजान्ची उहाँ हुनु भएको थियो। हुन त त्यस्तो के नै हिसाब किताब हुन्थ्यो र तै पनि उहाँको जिम्मा थियो। मित्र टासीजीको साथीको यो लज भएकोले हामीले होटल मालिकलाई भेट्ने प्रयास गर्यौं।
उनले पनि हामीलाई भेट्न चाहना राख्नु भएको कुरा टासीजीले भन्नु भएको थियो। फोर्सेको खानेपानीको योजनाको कारण धेरै मानिसहरू हामीसँग मित्रता गाँस्न चाहन्थे। हामीलाई धन्यवाद दिने उनको इच्छा रहेछ।
होटल साहुसँग भेट भयो। परिचय गर्यौं। उहाँले पनि आफ्नो परिचय दिनुभयो। उहाँ सगरमाथा आरोही हुनुुहुँदो रहेछ। सगरमाथा आरोहणको त्यो सुनौलो क्षणको फोटोहरू हामीसँग शेयर गर्नुभयो।
उहाँले गोरकशेपमा खानेपानीको अत्यन्त समस्या रहेको कुरा बताउनु भयो। झण्डै ३ किलोमिटर माथि हिउँ पग्लिएर बनेको तालबाट पानी ल्याइएको रहेछ। चिसोले गर्दा पानी जम्ने हुँदा पानीको अति नै अभाव गोरकशेपमा रहेछ। उहाँले हामीलाई फोर्से जस्तै खानेपानीको योजनाहरू संचालन गर्न सकिन्छ भने सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले गोरकशेपको नजिकैको गाउँबाट पानी लिफ्ट गरेर ल्याउन सकिने र त्यसरी पानी ल्याउँदा भने पानी जम्ने समस्या नहुने कुरा गर्नुभयो। यो खानेपानी योजनाको लागि गाउँपालिकासँग पनि धेरै पटक कुरा भएको, केही नेताहरूसँग पनि कुरा भएको तर सफल हुन नसकेको दुखेसो सुनाउनु भयो।
नेपालको एक महत्वपूर्ण ट्रेकिङ गन्तव्यमा राज्यको पहुँच नहुनु वास्तवमै दुखद् कुरो थियो।
हामी र हाम्रो सरकार २० लाख पर्यटक ल्याउन भनेर नेपाल भ्रमण वर्ष बनाउनको लागि करोडौं खर्च गरी रहेको हुन्छ तर पर्यटक गन्तव्य विकास गर्ने, भएका गन्तव्यहरूमा सेवा सुविधाहरू विस्तार गर्ने काम भने गर्दैन।
पर्यटक बढाउनको लागि गर्नुपर्ने महत्वपूर्ण पक्ष भनेको गन्तव्यहरूको विकास हो। निजी रूपमा काम गरिरहेका व्यवसायीहरूलाई समेत परिचालन गर्दै उनीहरूको साथ र सहयोगमा सेवा सुविधाहरूको विस्तार अनि प्रचार प्रसार गर्न सकिन्थ्यो।
पर्यटन गन्तव्यहरू विकास गर्न लगानी गर्न र पर्यटन क्षेत्रहरूमा सुविधाहरू विस्तार गर्नको लागि लगानीको वातावरण दिने हो भने पक्कै पर्यटन विकासमा ठूलो भूमिका रहनेछ।
पुरानो सुविधाविहीन गन्तव्यको बीच हुने कुनै पनि भ्रमण वर्षहरू अर्थहीन र फजुल खर्च मात्र हुन पनि सक्छ। प्रत्येक वर्ष कम्तीमा एकमात्र लोकप्रिय गन्तव्यहरू विकास गर्न सकियो भने पक्कै नयाँ पर्यटकको पनि आकर्षण हुने र पुराना पर्यटकहरू जो नेपाललाई माया गर्दछन् पुन: आउने पक्कै थिए।
हामीले उहाँहरूको ती गुनासोहरू सुन्नेबाहेक के गर्न सक्थ्यौं। हामी उहाँको विचारसँग सहमत थियौं। उहाँको आग्रह थियो रोटरी क्लबले खानेपानीमा सहयोग गर्न प्रयास गरोस्।
‘मित्र हामी कोसिस गरौंला तर तपाईंले भने खानेपानीको पूर्ण विवरण, गाउँपालिकाको समेत स्वीकृति र सहयोगको पत्रसहित हामीलाई आवश्यक कागजात दिनु होला,’ मैले रोटरीको परियोजना प्रक्रियाबारे भनें।
अन्तमा हामीले मोबाइल नम्बर साटासाट गर्यौं। छिटोभन्दा छिटो काठमाडौंमा भेट्ने र यसबारेमा विस्तृत कुरा गर्ने सहमति भयो।
‘मातृकाजी बिल तिर्नु जानु अब ढिला हुँदैछ हामीलाई । फिरिचे पो पुग्ने हो त हामी।’
मेरो कुरा सुनेर उहाँ छक्क पर्नु भयो, ‘साँच्चै तपाईंहरू फिरिचे पुग्ने? गाह्रो होला है। मलाई लाग्दैन फिरिचे पुग्नु होलाजस्तो।’
‘हाम्रो लक्ष्य हो गाह्रो भयो जहाँ पनि रोकिन सक्छौं,’ मेरो जवाफ थियो।
‘ल माने तपाईंहरूलाई। अल द बेस्ट,’ उहाँको शुभकामना थियो हामीहरूलाई।
मातृकाजी बिल तिर्दै हुनुहुन्थ्यो। तर उहाँ हतारमा जानुभयो र भन्नुभयो तपाईंहरूले यो बसाइको पैसा तिर्नु पर्दैन सर।’
हामी आश्चर्यमा पर्यौं। झण्डै ७ हजारको बिल काउन्टरको बैनीले थमाउनु भएको थियो।
‘होइन हो सर यो तपाईंको व्यापार हो। सबैलाई यसैगरी नि:शुल्क गर्दै जानु भयो भने डुब्छ त व्यापार,’ मेरो आग्रह थियो।
‘सर जीवनमा व्यापारमात्र कहाँ सबथोक हुन्छ। तपाईंहरू आफैं यत्रो खर्च गरेर खानेपानीले तड्पिएकाहरूलाई पानी खुवाउँदै हिँड्नु भएको छ। मैले तपाईंहरूलाई एकछाक खान र एक रात सुताउनु पनि समाज सेवा हो। तपाईंहरूले अन्यथा नलिनु होला।’
हामीले एकले अर्कालाई आश्चर्य चकित हुँदै मुखामुख गर्नु बाहेक के गर्न सक्थ्यौं। हामी दुबैको आँखाको डिलसम्म आँसु निस्किएका थिए। तर त्यो खुसीको क्षणमा ति आँसुलाई आँखाको डिलबाट झर्न भने दिएनौं।
मेरो छाती भने फुल्यो। जिउमा काँडा उम्रियो। त्यस्तो त लाग्दैन एक अनजान ठाउँमा पहिलो पटक भेटेको मानिसले यसरी पूर्णत नि:शुल्क आतिथ्यता दिनु पर्ने काम गरेका थियौं। तर पनि हामीले त्यो मायालाई सहर्ष स्वीकार गर्यौं। हृदयदेखि मुरी मुरी धन्यवाद दियौं।
हामीले उहाँसँग सेल्फी लियौं। छिटोभन्दा छिटो काठमाडौंमा भेट्ने र उनको यो गुण तिर्ने वाचा गर्दै २ बजे हामी सगरमाथाको काखको मिठो सम्झनाहरू, मायाको पलहरू मुटु र मस्तिष्कमा कैद गर्दै अंकमाल गर्दै बाटो लाग्यौं।
तर आज यो यात्रा विवरण लेखिरहँदा समेत हामीले उहाँलाई आजसम्म भेट्न नसकेकामा भने दुखी छौं। आज यो सम्झनाको अक्षर कोरिरहँदा उनको त्यो मायाले शरीरमा काँडा पलाउँछ।
मैले झण्डै काठमाडौं फर्केको २ महिनामा उहाँलाई फोन गरेको थिए। उनले छिट्टै आउने र भेट्ने भन्नु भएको थियो। फेरि दोस्रो पटक पनि मैले ६ महिनापछि फोन गरें तर फोन सम्पर्क हुन सकेन।
मैले ‘मित्र हामी तपाईंलाई भेट्न कुरिरहेका छौं, खबर पाऊँ’ भनेर म्यासेज समेत पठाएको थिएँ। तर उहाँले किन हो सम्पर्क गर्नु भएको छैन। पक्कै उहाँसँग टासीमार्फत् भेट्ने छौं।
मैले टाँसीजीलाई पनि मेरो खबर पुर्याउन भनेको थिएँ। हामी दुबै र हाम्रो क्बल आज पनि उहाँको पर्खाइमा रहेका छौं। गोरकशेपमा केही गर्न सकिन्छ कि पर्खाइमा छौं।
क्रमश:
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)