तीनधाम यात्रा सकेको करिब डेढ महिना पनि नपुग्दै हामी चारधाम यात्रामा सरिक भयौं। २०८० साल वैशाख ११ गते घरबाट निस्केको तेस्रो दिन अर्थात् वैशाख १३ गते साँझ उत्तराखण्डको गुरूद्वार श्री नानकमत्ता साहिबको भव्य मन्दिर परिसरको गुरू हरगोविन्द साहिबको निवास लेखिएको भवनमा बास बस्यौं।
ठूलो क्षेत्रफल ओगटेर बनेको सुविधा सम्पन्न धर्मशालामा बस्न पहिला हामीले काउण्टरमा भारु ५०० तिरेर तीन जना सुत्न सक्ने कोठाको साँचो लियौँ। एसी नभएको सामान्य कोठा लिने हो भने १ सय भारुमै पाइने रहेछ।
कोठा राम्रो थियो, बाथरूम सफा थियो। ओछ्यान सफा थिए। एकैपटक दुई चार हजार मानिस सुत्न बस्न सक्ने गरी बनाइएको रहेछ यो धर्मशाला। नेपालबाट चारधाम तीर्थ यात्रामा जानेहरू जाँदा-आउँदा प्राय: यहीँ बस्दा रहेछन्।
सिखहरूको पवित्र तीर्थस्थलमा म पहिलो पटक पुगेको थिएँ। सिंगमरमरबाट बनेको भव्य गुरूद्वार श्री नानकमत्ता साहेब बत्तीको उज्यालोले चम्किरहेको थियो। तरबार भिरेका, संगीन उठाएर बसेका द्वारपालेहरू ठाउँ/ठाउँमा आ-आफ्ना कर्तव्य निभाइरहेका थिए।
शान्त वातावरण, हरियाली स्थान रहेछ। सुत्ने व्यवस्था मिलेपछि मन्दिर पुगौं र खाना खान भनेर निस्क्यौं। तर बेलुका करिब ९ बजिसकेकाले मन्दिर बन्द भैसकेको रहेछ। यो कामलाई भोलि बिहानका लागि छोडेर नि:शुल्क लंगर अथवा प्रसाद भरपेट खान पाइने गुरूद्वारतर्फ लाग्यौं। भित्तो भुइँ जताततै सिंगमरमरले सजिएको लंगरभित्र पस्दा अचम्म लाग्यो।
प्रवेशद्वारबाट पस्ने ठाउँमा हात धुनका लागि धाराहरू व्यवस्था गरिएको रहेछ। हलभित्र प्रवेश गर्न महिलाले आफ्नो सारी वा
सलले टाउको छोप्नु पर्ने रहेछ भने पुरूषले त्यहीँ बाकसमा राखिएको कपडाले टाउकोमा नातो बाँधेझैं बाँध्नुपर्ने रहेछ। आफूले लगाएको टोपी, क्याप त्यही छोड्नु पर्ने रहेछ, हामीले त्यसै गर्यौं।
महिलाहरूको टाउकोबाट सल खस्दा पटक पटक स्वयंम सेवकहरू टाउको छोप्न इशारा गरिरहन्थे। त्यसपछि ठूलाठूला क्रेटमा स्टिलका चम्चा, खण्डे थाल र कचौरा झिक्ने र राख्नेको आवाजले सबैको ध्यान त्यतै तानिएको थियो।
हामी भन्दा अगुवाको सिको गर्दै हामीले पनि चम्चा, खण्डे थाल र कचौरा लिएर लंगर पस्यौं।
हजारौं मानिस अट्न सक्ने हलमा १४ लाइन थिए। एउटैमा सय जना बस्न सक्ने गरी दरी ओछ्याइएको थियो। काठमाडौंका नेवारहरूको 'सुकु भ्वय' को सम्झना आउने गरी।
कोही खाइरहेका थिए, कोही खाइसकेर उठिरहेका थिए। कोही खानका लागि बस्दै थिए। लाइनमा बस्न पाएको छैन सुरूमा एक जनाले दाल एक जनाले कडी राख्दै गए। अर्को आएर केही चावल ( भात) खण्डेथालको ठूलो खण्डमा राखिदिए। थाल नजिकै रहेको कचौरामा गुडाउँदै आएको ठेलावालाले स्वचालित मेसिनबाट पानी भरिदिए। भात खाँदै थियौं अर्काले सुक्खा रोटी लिएर आए। रोटी भने थालमा वा एउटा हातले समात्न थाप्न नपाइने रहेछ। दुई हात जोडेर थाप्न पर्ने रहेछ। खान फाल्न नपाइने तर चाहिए जति खान पाइने रहेछ।
१६ दिनको चारधाम तीर्थयात्राका क्रममा फर्कंदा २३ गते पुनः श्री गुरू नानकमत्ता आइपुग्दा पनि हजारौं मुसाफिरहरूले त्यस्तै आतिथ्य पाइरहेका थिए। ‘साँच्चै यहाँ वरपर घर हुनेहरूले त बिहान बेलुकाको भान्छाको जोहो पनि गर्न पर्दैन होला’ तीर्थयात्री बद्रीगुरूले भन्नुभयो।
एक जना संगीनधारी सरदारलाई मैले सोधें, 'कति बजेदेखि कति बजेसम्म खुल्छ यो लंगर?'
उनले भने, '२४ सै घन्टा कुनै पनि बेला बन्द हुँदैन। जुनसुकै बेला आउनुहोस् खान पाइन्छ। त्यो विशाल हलमा खाइसकेपछि भुइँ सफा भैरहेकै छ। उता खाएका जुठाभाँडा हामीलाई सफा गर्नु भने पनि त हुने नि, उनीहरूकै स्वयं सेवक निरन्तर जुठा भाँडा माज्न लामबद्ध रहेका देखिन्छन्। आफैं मोल्न खोज्दा पनि उनीहरू हात हातमै भाँडा लिन आउथे।
सबै कुरा स्वयं सेवकबाट चलेको कुरा थाहा पाउँदा अचम्म लाग्यो। कसरी चलेको होला कस्तो व्यवस्थापन अचम्मै लाग्ने।
हामी टनकपुर बराजबाट भारत प्रवेश गरेका थियौं। महाकाली नदीको पानी उतैउतै सोरिएर हाम्रोतिर कुलोमात्र बगेको देख्दा सबैको मन कटक्क काटिएको थियो। सीमामा चेकजाँज सकेर खटिमा सहर प्रवेश गरेको थोरै समयपछि नै श्री नानकमत्ता गुरूद्वार पुगेका थियौं।
यो नानकमत्ता गुरूद्वार सिखहरूको मुख्य गुरूद्वार रहेछ। यो पवित्र भूमिलाई निकै बेजोड किसिमले सिंगमरमरबाट सिंगारिएको अलौकिक लाग्ने थियो। भित्री साजसज्जा पनि अति सुन्दरलाग्ने थियो। सिखहरूको पहिलो गुरूको नाम हो नानकदेव।
उनी सन् १५१५ तिर कैलाश पर्वतको यात्रा सकेर यस ठाउँमा बास बसेका थिए रे। गुरूद्वारको प्रांगणमा रहेको पिपलको रूखमुनि उनले आसन गरेका थिए रे। त्यहाँ रहेको पिपलको रूखको छुटृै किम्बदन्ती रहेको कुरा एक जना सिखले बताएका थिए।
उतिबेला धर्तीबाट नानकमत्ता, नानकमत्ता, नानकमत्ता भनेर तीनपटक आवाज आएकोले यस ठाउँको नाम ‘नानकमत्ता’ रहेको भनिँदो रहेछ।
त्यस्तै छैठौ गुरू श्री हरगोविन्द पनि यस नानकमत्ता गुरूद्वारमा आएका कारण पनि यस पावन भूमिको ऐतिहासिक महत्त्व रहेकोले सिख धर्मवालम्बीहरूले यसलाई पावन भूमि मान्दा रहेछन्।
मन्दिरसँगै पछाडिपट्टि तलाउ रहेछ। यसलाई नानक सागर भनिँदो रहेछ। हामी झिसमिसेमै त्यहाँ पुगेकाले बिहानीको चिसो हावा मन्दमन्द गतिमा बगिरहेकले वातावरण आनन्ददायक थियो। तलाउमा रंगीविरंगी माछा रहेछन्। अन्यत्र जस्तो यहाँ माछालाई कुनै कुरा खुवाउन नपाइने रहेछ। तलाउमा जान पनि बर्जित रहेछ।
मन्दिर प्रवेश गर्ने द्वार अगाडि पानी जमाइएको थियो। जुत्ता चप्पल फुकालेर प्रवेशद्वार अगाडि जमेको पानीमा आफ्ना नाङ्गा खुट्टाले टेकेर गोडा सफा पारेर भित्र प्रवेश गर्यौं। गुरूद्वार प्रवेश गर्दा पनि प्रवेशद्वार नजिकै रहेको बाकसबाट कपडा लिएर टाउको छोप्नुपर्ने रहेछ। गुरूद्वारको बाहिरी भागजस्तै भित्री भाग पनि अति मनमोहक सान्त, शितलताले भरिपूर्ण थियो। भित्र एक जनाले गुरूद्वारको बीचबीच आसनमा बसेर पाठ गरिरहेका थिए।
भुइँमा सुन्दर लचकदार सुन्दर कार्पेट ओछ्याइएको थियो। गोडाले टेक्दा पनि मयल लाग्ला जस्तो। त्यहाँ मानिसहरू कोही पुस्तक हेरेर पाठ गरिरहेका थिए। कोही ध्यानपूर्वक पाठ सुनिरहेका थिए। हर समय प्रसादका रूपमा तातो तातो हलुवा वितरण हुने रहेछ। हिन्दुहरू तीनधाम, चारधाम पुगेझैं सिखहरू पनि यसलाई पवित्र भूमि मानी हजारौंका संख्यामा आउने रहेछन्।
चारधाम तीर्थयात्रामा जाँदा पहिलो धामको रूपमा गुरू नानकमत्ता गुरूद्वार पुगेर लंगरको अनुभूति र व्यवस्थित धर्मशालाको अनुभव बटुलियो।
तपाईं पनि उत्तराखण्डको बाटो आवतजावत गर्दा सुविधा सम्पन्न गुरूद्वारमा विश्राम गरेर लंगरको अनुभूति गर्नुहोला है।