यात्राको सातौं दिन काला पत्थर र सगरमाथा बेस क्याम्पको पदयात्राको लागि हामी दुबै उत्साहित थियौं।
जब-जब विदेशी साथीहरूसँग गौरवकासाथ सगरमाथाको देश भनेर नेपालको व्याख्या गरिन्थ्यो, उनीहरू उत्साहित हुन्थे र सगरमाथा बेस क्याम्प पुग्ने इच्छा व्यक्त गर्थे।
उनीहरूको पहिलो प्रश्न नै ‘तिमी त धेरै चोटि पुगेको होला।’ भन्ने हुन्थ्यो।
यी प्रश्नले मलाई गिजाइरहेको हुन्थ्यो।
सगरमाथाको देशमा जन्मेको हामी पृथ्वीको अग्लो चुचुरोको फेदमा पाइला राख्नु उनीहरूको लागि सामान्य लाग्दो हो तर मेरो जीवनको महत्वपूर्ण लक्ष्य थियो।
सातौं दिन आजसम्मकै लामो यात्राको योजना बनाएका थियौं। विशेषगरी मातृकाजीलाई लेकले अलि कमजोर बनाएको थियो। तर पनि उहाँले कालापत्थर उक्लने निर्णय गर्नुभयो। मलाई डर थियो कतै लेकले उहाँलाई झन् दु:ख दिने हो कि भनेर। लेकबाट उहाँलाई जोगाउन पनि हामी जति सक्दो चाँडो कम्तीमा ५ हजार फिटभन्दा तल झर्नु राम्रो हुने थियो।
गोरकशेपबाट कालापत्थर पुग्न र फर्किन झण्डै ४ किलोमिटर छ। साधारणतय सजिलो तेस्रो बाटो हुँदो हो त यो १/२ घन्टाको पदयात्रा हो। तर काला ढुंगा छिचोल्दै हिँड्नु पर्ने र पूरै ठाडो उकालो बाटो अनि उचाइ पनि बढ्दै जाने हुँदा सहज थिएन। सामान्यतय लगभग ४ देखि ५ घन्टामा पदयात्रीहरू कालापत्थर पुगेर फर्कने रहेछन्।
गोरकशेपबाट सगरमाथा बेस क्याम्पको दूरी पुग्न र फर्किन ७ किलोमिटरभन्दा बढी थियो। तर बेस क्याम्पको बाटो भने केही उकालो भए पनि तेर्सो तेर्सो थियो। बाटोमा ढुङ्गे बगर धेरै कम र ग्लासियर बढी थियो। त्यसकारण पनि हिँड्न सहज थियो। यो यात्रा पनि लगभग सबै पदयात्रीहरूको लागि ४ देखि ५ घन्टाको हुने रहेछ।
यही दिन हामी ५ हजारभन्दा कम उचाइमा फर्कने हो भने गोरकशेपलाई छोड्नु पर्दथ्यो र हामी कम्तीमा लोबुचे फर्कनु आवश्यक थियो।
गोरकशेपबाट लोबुचे फर्कन हामीलाई साढे ४ किलोमिटर लाग्ने थियो। बाटो पूरै ढुंगे बगर र उकालो समेत भएको हुँदा कम्तीमा ३ देखि ४ घन्टा आवश्यक थियो। लोबुचेदेखि गोरकशेपको बाटो सबभन्दा कठिन हामीले महसुस गरेका थियौं।
यसरी हामीले कालापत्थर, बेस क्याम्प अनि लोबुचे गर्दा १५ किलोमिटरभन्दा बढी हिँड्नु पर्ने थियो। यो भनेको झण्डै १४/१५ घन्टाको यात्रा थियो। त्यसमा पनि मातृकाजीलाई लेकले अलि गलाएको थियो।
बेलुकाको सल्लाह अनुसार हाम्रो ३ बजे घन्टीको अर्लामसँगै उठ्ने र जति सक्दो चाँडो हिँड्ने योजना थियो। तर मातृकाजीले भने जानीजानी ४ बजेको अलार्म सेट गर्नु भएछ। गाइडहरूले हामीलाई दिएको सुझावलाई उहाँले बेवास्ता गर्नु भएको रहेछ तर मलाई भने ३ बजेको नै राखेको भन्नु भएको थियो।
बिहानपख ढोका बजेको, मानिसहरु हिँडेको आवाज सुनिएको थियो तर मैले त्यसको बेवास्ता गरेको थिएँ। निद्राले त्यति सताएको पनि होइन। कालापत्थरबाट सूर्योदयको त्यो अद्भूत दृश्य हेर्न हतार थिएँ म। म कुरिरहें घन्टीको अलार्म।
अलार्म त आयो तर ४ बजिसकेको थियो। हामी हतारहतार तयार भयौं टर्चलाइटको सहारामा निस्कियौं। होटलका कर्मचारीहरूले ‘तपाईंहरू किन ढिला, अरू पदयात्रीहरूले त आधा बाटो हिँडिसक्नु भयो होला’ भन्नुभयो।
मेरो कुनै आवाज निस्केन बरू मातृकाजी र म हेराहेर गर्यौं अनि उहाँ मुस्काउनु भयो म पनि मुस्कुराएँ र अगाडि बढ्यौं। होटल बाहिरबाट कालापत्थरको बाटो हेर्दा मोबाइल र टर्चलाइट बालेका राके भूतजस्ता उकालोमा लाइनमा हिँडिरहेका दृश्य आँखा र क्यामरामा कैद गर्यौं। सायद हामी ढिला नभएको भए यो दृश्य भने देख्न सकिँदैन थियो होला।
मैले अलि पाइला लामो गरें र मातृकाजीलाई भनें ‘मातृकाजी सूर्योदयमा त कालापत्थरको चुचुरो टेक्नै पर्छ है।’
उहाँले आत्मसाथ गर्नुभयो र भन्नुभयो ‘यसरी मानिसहरू ३ बजे नै हिँड्छन् जस्तो त लागेको थिएन यार, सरी है।’
‘मातृकाजी सरीको मूल्य चुकाउने हो भने पाइला लामो गर्नु होला’ मैले उहाँलाई अनुरोध गरें।
उहाँ केही समय त मसँग हिँड्नु भयो। मलाई थाहा थियो उहाँलाई लेकले अलि गारो थियो। झण्डै आधा घन्टाको हिँडाइपछि ‘मितज्यू तपाईं हिँड्न सक्नु हुन्छ अगाडि बढ्नु होला। म सके आउँछु नत्र होटल फर्कन्छु। तपाईंले सूर्योदय देख्नुभयो भने मैले देखेजस्तै हो। फोटोहरू खिच्नु होला। हेर्दा नि मज्जा आउँछ’ उहाँको अनुरोध रह्यो।
हामी दुबैले मुखामुख गर्यौं। उहाँको कुरा मलाई ठिक लाग्यो।
‘हुन्छ त, विस्तारै आउनुहोला। अलि कठिन नै भयो भने होटल फर्कनु होला अथवा त्यही कुर्नुहोला म फर्केपछि सँगै फर्कंउला। कुनै हालतमा जर्वजस्ती नगर्नु होला।’
उहाँको ‘हुन्छ।’ भन्ने आवाजलाई पछ्याउदै म अघि बढें।
६ बजे जसरी पनि पुग्ने योजनाका साथ लम्कें। लगभग ४५ मिनेटको यात्रामै सबभन्दा पछाडि लम्किरहेको मैले आधाभन्दा धेरै पदयात्रीहरूलाई पछाडि पार्न सफल भएँ।
पछाडि फर्केर ओरालोतिर हेर्दा मलाई लाग्यो सूर्योदय देख्न पाउनेछु। मातृकाजी पनि विस्तारै मलाई पछ्याउँदै हुनुहुन्थ्यो। मलाई पूरै विश्वास जागिरहेको थियो उहाँले अवश्य पनि कालापत्थरको यात्रा पूरा गर्नु हुनेछ।
ठूलाठूला ढुङ्गाहरू पार गर्दै उकालो चढ्नु पर्दा होसियार भने हुनु जरूरी थियो। खुट्टाहरू चिप्लने, खुट्टा बाङ्गिएर ढुङ्गाको कापमा खुट्टा खसेर मर्कने अति सम्भावना थियो। गोरकशेपबाट कालापत्थरसम्म पुग्दा झण्डै ५०० फिट उचाइ बढ्ने हुँदा पनि अक्सिजनको मात्र शरीरमा पचास प्रतिशतले कम हुने रहेछ।
कालापत्थरको यो पदयात्रा वास्तवमै कठिन थियो नै। केही पदयात्रीहरूले सूर्योदयलाई गिभ अप गरिसकेका थिए। तर म निरन्तर अगाडि बढिरहेको थिएँ। म कछुवाको गतिमा थिएँ। मैले पानी पिउनबाहेक कहीँकतै रोकिनँ। सूर्योदयको दृश्य नदेखी कालापत्थरबाट फर्कनु भनेको मेरा लागि कालापत्थर नपुगे सरह हुने थियो।
अति सुस्त हिँडे पनि नरोकि, थकाई नमारी हिँडेर होला झण्डै पौने ६ बजे म कालापत्थरको ती कालो ढुङ्गाहरूमा पाइला टेकें।
मभन्दा अगाडि ४/५ जना पदयात्रीमात्र पुग्नु भएको थियो। मसँगै भने जापनिज समूह थियो। सूर्योदयको संकेत भर्खर सुरू भएको थियो। आकाश पूरै खुलेको।
पूरै हिमालले घेरिएको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने कालापत्थरको त्यो चुचुरोसँग पुमोरी हिमाल जोडिएको भान हुन्थ्यो। कालापत्थर नामजस्तै कालो चट्टानहरूले भरिएको ५६४४ फिट अग्लो चट्टाने भिर। सगरमाथा बेस क्याम्पको पदयात्राको सबभन्दा महत्वपूर्ण स्थान पनि हो।
सगरमाथा बेस क्याम्पको वास्तविक दृश्य पनि यही चुचुरोबाट राम्रो देखिने, सगरमाथाको दृश्य पनि यहीबाट मात्र देख्न सकिने। बेस क्याम्पमा पुग्दा सगरमाथाको पाउमा टेक्न, छुन त सकिन्छ तर सगरमाथाको शिर देखिँदैन। यसकारण पनि यो चुचुरोको यात्रा अति नै महत्वपूर्ण छ नै। वास्तवमा ल्होत्से हिमालको पर्खालले सगरमाथालाई छेकेको छ।
बिहानको ६ बजे १०० जनाभन्दा बढीको भिडमा त्यो कालापत्थरमा उभिन पाउँदा आफूलाई आनन्द महसुस भएको थियो। झण्डै मैले एक घन्टा आधामा गोरकशेपबाट कालापत्थरको उकालो पार गर्न सकेको थिएँ। मैले मातृकाजीलाई हात हल्लाएर कालापत्थरको चुचुरोमा पुगेको संकेत दिएँ। उहाँले पनि हात हल्लाउनु भयो। उहाँ गन्तव्यको नजिकै प्रयासरत हुनुहुन्थ्यो।
कालापत्थरको चुच्चे पत्थरको शिरमा एक पदयात्री उभिएका थिए। अन्य ४/५ जना पदयात्रीहरू त्यो चुच्चोमा उक्लन सकेका थिएनन्। मैले झोला बिसाएँ र चुच्चोमा उक्लिएको भाइको सहयोगमा माथि चढें।
हामीले फोटो खिच्यौं, उनी गाइड रहेछन् र फोर्से गाउँका रहेछन् जहाँ हामीले पानीको परियोजना हस्तान्तरण गरेर आएका थियौं। म उक्लेको देखेर होला एक विदेशी पर्यटकले उक्लिनको लागि सहयोग मागिन्। उनले हात दिइन् मैले उनलाई तानें। हामी तीनै जनाले सेल्फी लियौं।
उनीसँग सानो भलाकुसरी भयो। उनी जापानिज रहिछन्। भर्खर २१ वर्ष नाघेकी नाम थियो इचिका। हामीले टेलिफोन साटासाट गर्यौं र काठमाडौंमा भेट्ने बाचा गर्यौं। उनी हिजो नै बेस क्याम्प पुगेर फर्कि सकेकी रहिछिन्। उनी र उनको समूहको कालापत्थरबाट फर्केर गोरकशेपमा खाना पश्चात काठमाडौं फर्कने योजना रहेछ । उनको १६ जनाको समूह रहेछ।
विस्तारै सुर्यले सगरमाथाको छेऊबाट आफ्ना प्रकाशहरु फईलाउदै चियाउन थालेको थियो। हामी सबै पदयात्रीहरू सूर्यको अनुहार कैद गर्न तल्लीन थियौं। सबैका हातहातमा मोबाइल क्यामेराहरू तेस्रिएका थिए। अति सुन्दर।
सबै हिमालहरू चाँदीबाट सुनमा बदलिएका थिए। जहाँ जहाँ सूर्यले किरण फैलाउँथ्यो त्यहाँ-त्यहाँ सेता हिउँहरू सुनौलो बन्दै थिए। कतै सेता, कतै सुनौला ती प्रकाशको छायाले मनोरम देखिने हिमालले सबै पदयात्रीहरूको त्यो उकालो हिँडाइको थकाइ महसुस नै हुन नदिने।
विस्तारै सूर्यको किरणले हामीलाई स्पर्श गर्न थाल्यो। जाडोले काँपिरहेका सबै पदयात्रीहरूले कपडाको माथिल्लो पत्र खोल्न थालिसकेका थिए। सूर्योदयसँगै मातृकाजी लगायतको ठूलो समूह पनि कालापत्थरमा उक्लियो थियो। ५/७ जनाबाहेक यो दिनको सबै पदयात्रीहरूले कालापत्थर चुम्नु भयो।
कालापत्थरबाट देखिने अद्भूत दृश्य भने सगरमाथा वेश क्याम्पको थियो। सगरमाथा वेश क्याम्प विभिन्न रंगीविरंगी टेन्टले भरिएको थियो। पूर्णत खुलेको औंसीको रातमा जसरी आकाशमा ताराहरू देखिन्छन् हो त्यही अवस्थामा देखिएको थियो वेश क्याम्प।
सगरमाथा आरोहीहरूको समूहहरूको पहिलो बासस्थान थियो त्यो बेस क्याम्प। झण्डै झण्डै भरिएको थियो सगरमाथाको त्यो फेद। मैले कालापत्थरमा कुरा गरेको भाइसँग उनको अनुभवबारे कुरा गरें।
उनी चिन्तित देखिन्थे। यो वर्ष बेस क्याम्पमा पहिलाको जस्तो हिउँ नै थिएन। उनी पहिलो दिनमात्र बेस क्याम्प पुगेका रहेछन्। हिउँ अति नै कम भएको र ग्यासियरहरू सर्दै गएको उनको अनुभव थियो। यही अवस्था हुने हो भने सगरमाथा आरोहणको पहिलो बेस क्याम्प कुनै दिन आजको दोस्रो बेस क्याम्पतिर पो सर्ने हो कि भन्ने थियो।
यो सबै मौसम परिवर्तनको नकारात्मक असर थियो। ग्यासियरहरू बीच कालापत्थरको मुनि एक ठूलो ताल बनेको थियो। प्राय: धेरै ती क्षेत्रहरू ग्ल्यासियरहरू बन्दै गर्दा मुनि भने हिउँ पग्लेको तालहरू हुँदा रहेछन्। त्यस्ता तालहरू पनि हिजोआज ती भाइका अनुसार कम छन् रे।
पृथ्वी माथिको हामी मानिसले गरेको प्रदूषणको फल थियो यो अवस्था। हुनत अन्तत: यो प्रदूषणको मार हामीले भन्दा सयौं गुणा बढी हाम्रो सन्ततीहरूले पाउने देखिन्छ। पृथ्वीमा देखिएको अतिवृष्टि, मौसममाथि हुने अकल्पनीय परिवर्तनले पृथ्वीलाई मानिस बस्न नसक्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन।
झण्डै २ घन्टा आधामा मातृकाजीले कालापत्थरमा टेक्नुभयो। उहाँ आइपुग्दा धेरैजसो पदयात्रीहरू फर्कने तयारीमा थिए भने केही पदयात्रीहरू फर्किसकेका थिए। मैले उहाँलाई स्वागत गरे। घामले घमाइलो त्यो कालापत्थरमा हामी दुईले विभिन्न पोजमा फोटोहरू लियौं। उहाँले कालापत्थरबाट देखिएको त्यो अद्भूत र सुन्दर दृश्यहरू उहाँको मोबाइलमा कैद गर्नुभयो। उहाँ अति खुसी हुनुहुन्थ्यो।
कालापत्थरबाट मुख्यत माउन्ट पुमोरी, माउन्ट ल्होत्से, माउन्ट नुप्तसे, आमाडब्लम, चाङ्त्से (तिब्बती हिमाल), लिङ्ट्रेन, लोबुचे पूर्ब चोलात्से हिमालको अवलोकन गर्न सकिन्छ।
विश्वकै सबभन्दा अग्लो चुचुरो सगरमाथालाई सबभन्दा नजिकबाट हेर्न सकिने सायद एकमात्र ठाउँ पनि यही कालापत्थर नै हो।
विश्वकै १४ सबभन्दा अग्लो हिमालमध्ये नेपालमै ८ हिमाल पर्छन् ती ८ हिमालमा पनि ४ हिमाल भने यही खुम्बु क्षेत्र अथवा सगरमाथा राष्ट्रिय निकुन्जभित्र पर्दछ। त्यही भएर पनि यी चार हिमाल कालापत्थरबाट पदयात्रीहरूले सबभन्दा बढी खोजी गर्ने गरेका रहेछन्। ती चार हिमालमा पहिलो त सगरमाथा नै भयो र अन्यमा ल्होत्से, मकालु र माउन्ट चो ओयु हुन्।
हामी ८ बजेतिर मातृकाजीको थकाइ कम भएपश्चात ओरालो लाग्यौं। ढुङ्गेबाटो त्यसमा पनि ओरालो भएकोले झर्न शरीरलाई सहज भए पनि झन् अप्ठयारो थियो। लगभग हामी अन्तिम पदयात्रीको रूपमा कालापत्थरबाट गोरकशेप ओर्लियौं।
क्रमश: