सुर्खेत–रारा राइडिङ डायरी: २
हामीलाई खालीचौरबाट भुलभुले पुगेर खाजा खानु थियो। भुलभुले पुग्न उकालो ओरालो पनि निकै गर्नु थियो। जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिकाको बीचमा पर्ने खालीचौरबाट ओरालो लागेपछि भने सडक केही रूपमा जटिल लाग्यो।
आयोजक चढेको गाडीले हामीलाई भेटाएकै थिएन। अघिको उकालोमा तान्न नसकेका हाम्रा मोटरसाइकल अब ओरालोमा ब्रेक लगाउँदा पनि चिप्लिने वाला थिए।
खालीचौर अगाडिको मोडैमा हामीलाई आपत आइलाग्यो। ओरालो सडकमा विस्तारै गुडिरहेको हाम्रो मोटरसाइकलको फुटब्रेक भाँच्चियो।
यस्तै समस्या यसअघि कालीकोटको पिली कटेपछिको मोडमा अर्को राइडरलाई आइलागेको थियो। उनको मोटरसाइकलको पनि ढुंगामै लागेर फुटब्रेक भाँच्चिएको थियो। बुलेट मोटरसाइकल अफरोडमा चलाउँदा आइलाग्ने प्रमुख समस्यामध्येको एक यो रहेछ।
राइडिङको आयोजना गरेका आयोजकले सँगै प्राविधिक पनि लिएका थिए। बुलेट शो–रूमका मुख्य प्राविधिक अरमान बाटोमा यस्ता समस्या आइहाले समाधान गर्ने र राइडिङमा सहभागी हुनेगरी नै हामी सँगसँगै थिए। हँसिलो अनुहार गरेका कलिला अरमानले पनि सोचेका थिएनन् होला बाटोमा त्यति धेरै समस्या आउला भनेर। बाटोभरि हाम्रा आठमध्ये सात वटा मोटरसाइकलका ब्रेक यसैगरी गएका थिए। अरमान कतै नरिसाएर फटाफट चलाउन मिल्नेगरी जुगाड गरिदिन्थे।
हाम्रो मोटरसाइकल नजिकैको थारमारे चौरसम्म ह्याण्डब्रेककै भरमा रमेश दाइले लिनुभयो। अरमानले ब्रेक बनाइदिए। त्यतिबेलासम्म सिमसिमे पानीले हामीलाई भेटाइसकेको थियो। अब झन् बाटो चिप्लो भएको थियो।
अलि अगाडिको ओरालोमा तीन वटा मोटरसाइकल चिप्लिए। राइडरहरूले धौधौ सम्हाले। एउटा मोटरसाइकल त पल्टियो नै। पहिलोपटक त्यो सडक हिँड्दा अनकन्टार जंगल र पहाडको बीचको महासागरमा फसेजस्तो लागेको थियो मलाई।
अरू राइडरहरू हामीलाई छोडेर अगाडि लागिसकेका थिए। हामीले उनीहरूलाई पानीले चिप्लो बनाएको बाटोमा मात्र भेट्थ्यौं। रमेश दाइले सम्हालेर मोटरसाइकल चलाउनुभएको थियो। चिप्लो बाटोमा म झरेर मोटरसाइकल ढल्यो भने सम्हाल्नेगरि पछिपछि लाग्थें। मोटरसाइकलको गति एकदमै सुस्त थियो।
ओरालोमा केही दूरी पार गरेपछि जुम्लाको सिंजा उपत्यका भएर बग्ने हिमा नदी माथिल्लो भाग पुग्यौं। नदीमाथि सवारी वारपार गर्न काठको पुल रहेछ। नदी असाध्यै सफा थियो। सायद छेउछाउमा धेरै बस्ती नभएकाले पनि फोहोर हुन पाएको थिएन। ठूलो बस्ती भइदिएको भए बाग्मतीजस्तो त पक्कै देखिन्थ्यो।
नदीमाथिको काठको पुल तरेपछि केही घरहरू भेटिए। तिनै घरको आँगनबाट जुम्ला–भुलभुले जोड्ने साँघुरो बाटो बनेको थियो। सडकको माथि भीरमा अर्को सडक बन्दै थियो। सडक खनिरहेका एक्साभेटर अपरेटरले हामीलाई देखेपछि काम रोके। सडक खन्दा तल झरेका ससाना ढुंगामाथि चढाएर हामीले मोटरसाइकल उतार्यौं।
अब फेरि उकालो सुरू भयो। उकालो सुरू हुनेबित्तिकै आएको एउटा मोडमा मोटरसाइकल चढ्न सकेनन्। हामीले सात वटा मोटरसाइकल धकेलेर अघि बढायौं। हामीसँगका राइडर विश्व गुरूङले भने ‘इजी इजी’ भन्दै आफ्नो मोटरसाइकल सहजै कटाए। उनी अफरोड रायडिङमा अनुभवी थिए। मोटरसाइकल पनि आफूलाई कम्फर्ट हुनेगरी एसेम्बल गरेका रहेछन्।
म र रमेश दाइ भुलभुले बजार कतिबेला आउला भनेर आत्तिएका थियौं। जति बाटो काट्दै गयो उति भुलभुले टाढा भएको जस्तो लाग्थ्यो। बाटोमा ठाउँ/ठाउँमा सिमसिमे पानी पथ्र्यो। हामी बाटो बिग्रिने डरले कतै नरोकी अगाडि बढिरह्यौं। अगाडि भएका राइडरहरूलाई पनि छोड्न मिल्ने थिएन। नत्र बाटोमा कतै फस्यौं भने आपत आइलाग्ने डर थियो। यसरी हिँड्दा बाटोमा तस्वीरमा कैद गर्नैपर्ने ठाउँ छुटे। मौलिक घर, भिरमा झुण्डिएका गाउँ, सातो जाने भिरको सडक लगायतका थुप्रै ठाउँ मैले तस्वीरमा कैद गर्न सकिनँ। फेरि फोटो खिच्न हुन्थ्यो, तर हामी त्यो बाटो फर्किनेवाला थिएनौं।
कनकासुन्दरीको एउटा गाउँ छेवैमा पुग्दा पानी पर्यो। हामी ओत लाग्न बाटो छेउमा मोटरसाइकल रोक्यौं। छेवैमा एउटा घर थियो। घरका सुरक्षा गार्ड जस्ता दुइटा भोटे कुकुरले हामीलाई घरलाई छुनै दिएनन्। नजिकै दाउरा राख्न बनाएको गोठमा हामी कोच्चिएर ओत लाग्यौं।
आयोजक भएको गाडीले पनि अब हामीलाई भेटायो। हामीले गाडीमा मोटरसाइकलमा तत्काल नचाहिने र बोक्न असहज हुने सामान राखेका थियौं। गाडी आएपछि ज्याकेटहरू निकाल्यौं, पानीले भिजेपछि बिग्रिने सामान गाडीमा राख्यौं। त्यसपछि गाडी अघि लाग्यो, हामी पछिपछि।
कनकासुन्दरी गाउँपालिकामा पर्ने चौथा बजार पुग्नै लाग्दा उही अघि हिमा नदी वारिको जस्तो सडक चिप्लो थियो। त्यो क्षेत्रमा जुम्ला–भुलभुले सडक स्तरोन्नतिको काम सुरू भएको रहेछ।
बाटो चौडा बनाउन पुनः खनेको माटो पानीले हिलाम्य बनाएको थियो। रमेश दाइलाई चिसोले मोटरसाइकल चलाउनै गाह्रो भएको थियो। चौथा बजार पुग्नै लागेपछि दाइले मलाई मोटरसाइकल चलाउन दिनुभयो। बजारको छेवैमा ताल परेको पानी तर्काउन खोज्दा ढुंगामा लागेर फेरि फुटब्रेक गयो, जसरी खालीचौर नजिकै गएको थियो।
‘मैले अहिलेसम्म बचाएर ल्याएको ब्रेक तिमीले फाल्यौं,’ दाइ रिसाउनुभयो।
फेरि हँसिला प्राविधिक अरमानलाई हिलोमा घुँडा टेकेर ब्रेक बनाउनु नै थियो। केही समय चौथा बजारमै आराम गर्ने निधो गरेर आयोजक र राइडरहरू अलमलियौं। चौथा बजार पुगेपछि पनि लगातार पानी परिरह्यो। बजारमा राइडरहरू फरक/फरक चिया पसलमा बस्यौं। आयोजक, रमेश दाइ र मसहित केही राइडरहरू जगदिश भण्डारीको चिया पसलमा बस्यौं।
चौथा बजार नजिकै भएको खोलाले गत वर्ष दसैंका बेला भएको लगातारको वर्षाले क्षति पुर्याएको रहेछ। बजारका अधिकांश घरहरूका शौचालय थिएनन्। खोलाको नजिकै बनाएका शौचालय बाढीले बगाइदिएको रहेछ। जगदिश भण्डारीको परिवारको पनि शौचालय थिएन।
‘अब यहीँ नजिकै ट्वाइलेट बनाउने हो,’ उनले भने। त्यही बेला आएको बाढीले खोला नजिकै खलियो बनाएर राखेको उनको ८४ भारी दाउरा बगाइदिएछ।
अब त्यो खोलामा मोटरेवल पुल बनाउन सर्भे डिजाइन भएको रहेछ।
सडक स्तरोन्नति र पुल सँगसँगै हुने भएपछि जगदिश खुसी सुनिन्थे।
उनले भने, ‘अब यो बाटो (जुम्ला–भुलभुले सडक) तीन वर्षभित्र बन्छ, पुल पनि यहाँ नजिकै बन्न लागेको छ।’
सायद सडक कालोपत्र भएपछि र पुल बनेपछि चौथा बजार पनि फेरिने उनको अपेक्षा थियो। तीन वर्षभित्र जुम्ला–भुलभुले ३९ किलोमिटर स्तरोन्नति गर्ने गरी ठेक्का भएको रहेछ।
चौथामा हामीले स्थानीय हिमाली जडीबुटीबाट बन्ने चिया खायौं। त्यो चिया मैले पहिले पनि जुम्लामा खाइसकेको थिएँ। हामीसँग भएका राष्ट्रिय खेलुकद परिषदका इञ्जिनियर माधव पौडेलले पहिलोपटक खानुभएको रहेछ। उहाँले चियाको निकै बखान गरे। थपेर पनि खानुभयो। साहुजी जगदिशले चियामा हिमाली क्षेत्रका ३२ प्रकारका जडीबुटीको मिश्रन हुने भएकाले बजारमा खाएको सामान्य चियापत्तिवाला चियाभन्दा मिठो स्वाद हुने बताए।
करिब डेढ घण्टा चौथा बजारमा बिताइसकेपछि पानी पर्न छोड्यो। मैले अरमानलाई मोटरसाइकल हेर्न लगाएँ। मोटरसाइकलको ब्रेक तत्काल बनाउन नमिल्नेगरी भाँचिएको रहेछ। अब मोटरसाइकल अर्को राइडरले अगाडिको ह्याण्डब्रेकका भरमा चलाउने भए। रमेश दाइ गाडीमा चढ्नुपर्ने भयो म अर्को राइडरको मोटरसाइकलको पछाडि।
हामी मोटरसाइकलमा चढ्नेहरूमध्ये धेरैजनासँग रेनकोट थिएन। अगाडि पानी परे पनि मोटरसाइकल चलाउनु थियो। जगदिश भण्डारीको पसलमा आएर प्लाष्टिक काटेर शरीरमा लगाउन मिल्ने बनायौं र उकालो लाग्यौं।
करिब एक किलोमिटर अगाडि पुगेपछि हामी भुलभुलेका तल्लो भागमा पुगेका थियौं। त्यहाँबाट भुलभुले पुग्न एउटा मात्र छोटो मोड कट्नुपर्ने थियो। मोड नपुग्दै राइडरहरू हिलोमा फसे। त्यसपछिको बाँकी एक किलोमिटर जति पूरै हिलो थियो। स्तरोन्नतिका लागि खनेको माटो पानीले त्यहाँ पनि हिलो बनेको थियो।
हामी फसेको देखेपछि अलि अगाडि पुगेको आयोजकको गाडी रोकियो। अहिलेसम्म हाम्रा लागि गाडीबाट नओर्लिएका आयोजक अब हामीलाई सहायता दिन झरे। अगाडिका उकालोमा इजी भन्दै एक्लै मोटरसाइकल पास गरेका विश्व पनि अब फसेका थिए। सबै राइडरहरूले एकपछि अर्को बाइकमा सहायता दिँदै अघि बढायौं। कतिपय ठाउँमा त उठाएर पर सार्यौं।हिलोमा फसेका मोटरसाइकल तीन/चार जना लागेर पछाडिबाट धकेलेपछि एक मिटरजति मात्र अगाडि जान्थे।
प्राविधिक अरमानलाई त्यहाँ फेरि अर्को काम आइलाग्यो। मोटरसाइकलको अगाडिको मड्गार्डमा जमेको हिलोले टायर गुड्न दिएको थिएन। सबै मोटरसाइकलका ती मड्गार्ड खोल्नुपर्ने थियो। उनले अधिकांश मोटरसाइकलका मड्गार्ड खोले। त्यसले अलि सहज बनायो। हिलोमै धेरै घुमेपछि एउटा मोटरसाइकलको टायर पनि पञ्चर भएको थियो।
हामीले चौथा बजारमा भेटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकलाई सम्झियौं। प्रहरी चौकी चौथाका प्रमुख उनी गस्ती गएर भुलभुलेबाटै पैदल आएका रहेछन्। उनले हामीलाई ‘त्यहाँको हिलोमा तपाईंहरू जान सक्नुहुन्न, अर्को बाटो जानुस्’ भनेका थिए।
अर्को बाटो भनेको चौथा बजारबाट तेर्सो लागेर सिंजा–मुगु जोड्ने बाटोमा मिसिनु थियो। त्यो सडकको नयाँ ट्र्याक भएकाले बाटोमा ढुंगा भएको पनि उनैले बताएका थिए। बाटोमा फेरि ढुंगा लागे हाम्रो मोटरसाइकलको ब्रेक जाने डरले हामीले उनले भनेको मानेनौं।
सवा ५ बजे भुलभुलेको मोडमा पुगेका हामी त्यो मोड पार गरेर भुलभुले पुग्न साढे दुई घण्टा लाग्यो। ७ः५६ मिनेटमा हामी भुलभुले पुग्यौं।
भुलभुले पुगेपछि अरमानले पञ्चर भएको मोटरसाइकलको टायरमा ट्युब हालेर कामचलाउ बनाउन लागे। हामी त्यहाँको चिया पसलमा पस्यौं। पसलका चन्द्रमणि भण्डारी र नन्दा भण्डारीले चुलो छोडिदिए। हामी चुलोको वरिपरि बस्यौं। एक पेटी वाईवाई चाउचाउ सक्यौं। अरमानले टायर बनाएर सकेपछि एउटा चाउचाउ तातोपानीमा भिँजाएर खाए।
आयोजक र हामी सँगसँगै अघि बढ्यौं। अलिकति अघि बढेपछि त्यही भुलभुलेको अर्को सानो बजार आउँछ। रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले रातिमा गाडी आवतजावत गर्न दिँदैनथ्यो। हामीले भुलभुले पुग्नेबित्तिकै समन्वय गर्न भनेर दुई जना राइडरलाई पठाएका थियौं। उनीहरूको कुरा सेनाले नमानेपछि फर्किएर पल्लो भुलभुले बजारमा आइपुगेका रहेछन्।
सेनासँग कुरा गरेर आएका राइडरका कुरा सुनेपछि अरू राइडर रोकिएर होटलमा पसे। केही राइडरले आफूलाई खाना पनि पकाउन लगाइसकेका थिए। आयोजकले सुर्खेत–रारा राइडिङको कुरा गरेपछि सेनाले जान दिने भएछ। आयोजकले जान कर गरेपछि अघि खाना पकाउन लगाएका राइडरले नखाएरै पैसा तिरेर हिँडे।
हाम्रो ब्रेक भाँच्चिएको मोटरसाइकल राइडर सुजनले चलाएका थिए। भुलभुलेबाट राति वरपरको दृष्य देख्न नपाएर रारातर्फ लाग्यौं। त्यहाँबाट सवा घण्टामा राराको वल्लो छेउ सल्लेरी पुग्यौं। हामी सल्लेरी पुग्दा रातको साढे ११ बजिसकेको थियो। हामी भोलि रारा ताल हुँदै मुर्माटप जाने कुरा थियो। मुर्माटपवाला गन्तव्य भने निश्चित थिएन।
सबैले हात धोएर फलामे चुलोको वरिपरि बसेर खाना खायौं। एकछिनमा हामीलाई कोच्चिएर सुत्नु थियो। त्यसअघि केही समय आगो तापेर बस्यौं।
यो पनि: