आठ वटा बुलेट मोटरसाइकलमा हामी १६ जना राइडर थियौं। जुम्लाको खालीचौर पुगेपछि केही समय विश्राम गर्ने सेड्युल नै थियो।
मोटरसाइकल रोकेर सबैले आ–आफ्नो मोबाइल गोजीबाट निकाले। मैले भने रमेश दाइले बोक्न दिएको क्यामेरा निकालेँ।
राइडरहरू कसैलाई तत्कालै फोन गर्नु थिएन। मैले क्यामरा निकाल्नुको र अरू राइडरहरूले मोबाइल निकाल्नुको उद्देश्य एउटै थियो। हामीलाई मनमोहक चौर, आसपासका दृष्य र तिनैलाई पृष्ठभूमि बनाएर आ–आफ्ना तस्बिर खिच्नु थियो।
मोबाइलमा दुई–चार वटा फोटो खिचिसकेपछि राइडर हिक्मत शाही मेरो छेउमा पुगे।
उनले खालीचौरलाई स्वर्गसँग दाँजे, नेतालाई दोष दिए र भने– ‘स्वर्ग जस्तो नेपाल त नेताहरूले नै बिगारेका हुन् है!’
सायद हिक्मतको कल्पनामा त्यो सुन्दर चौरको छेउमा वा बीचमा कालोपत्र भएको चिल्लो बाटो थियो, तर त्यहाँ पाइएन।
उनले विकसित देशका खालीचौर जस्तै पर्यटकीय क्षेत्रमा कल्पना गरेजस्तो बाटोबाट पुगेर वा पुगेको देखेर पनि त्यसो भनेका हुन सक्छन्।
मैले पनि तस्बिर र भिडिओहरूमा खालीचौर जस्ता सुन्दर पर्यटकीय क्षेत्रमा चिल्ला सडक, पार्किङ क्षेत्र, आवास देखेको छु। ती ठाउँमा प्रकृतिलाई क्षति नहुने गरी पर्यटकीय आकर्षणका अरू संरचना पनि बनाइएका हुन्छन्। हिक्मतले पनि देखेका होलान्। जे होस् हिक्मतले भनेको कुरालाई मैले अन्यथा मान्नुपर्ने भने थिएन। मैले उनको कुरामा एउटा अत्यन्तै छोटो वाक्यमा समर्थन जनाएँ– ‘त्यही त है!’
खालीचौर जुम्लाको पातारासी गाउँपालिकामा पर्छ। हामी डेढ दिनमा खालीचौर पुगेका थियौं। हाम्रो यात्रा सुर्खेतबाट राराका लागि तय भएको थियो।
हाम्रो तत्कालै रारा जाने कुनै तयारी थिएन। सुर्खेतको त्रिवेणी एडभेन्चर प्रालिले ‘राइड टु रारा’ मोटरसाइकल राइडिङ आयोजना गरेको रहेछ। पर्यटन प्रवर्द्धनका लागि भनेर गरिएको यो अभियानमा सहभागी हुन बुलेट मोटरसाइकल अनिवार्य थियो।
रमेश दाइसँग बुलेट मोटरसाइकल थियो। उहाँले रारा जानका लागि मसँग गएको तिहार यता बेलाबेला आग्रह गर्नुभएको थियो। त्यो यात्राका लागि म उहाँको भरपर्दो साथी ठानिएको थिएँ सायद।
वैशाख १० गते राइडमा निस्कनु थियो। रमेश दाइले मलाई ९ गते यो सबै कुरा भन्नुभयो र जानका लागि तयार हुन पनि भन्नुभयो।
राइडमा पनि सहभागी भइने, त्यही मौकामा रारा घुमेर आउन पनि हुने भएपछि म पनि जान तयार भएँ।
दाजु र मैले मोटरसाइकल पालैपालो चलाउने सहमति भयो। बिहान ६ बजे यात्रा तया गर्न भनेर तयार भएका हामी आयोजकको तयारी नपुगेकाले ९ बजेसम्म सुर्खेतमै बस्यौं। ढिलो भएर हामीलाई थोरै फाइदा पनि भएको थियो। हतारमा गरेको तयारी पुगेको थिएन, छुटेका लत्ताकपडा थप्ने मौका पायौं।
अनुभवी राइडरहरूसामु हाम्रो तयारी र राइडिङ एकदमै कमजोर थियो। उनीहरू बुलेट मोटरसाइकलमा थुप्रै सडकहरूमा राइडिङ गरिसकेका प्रोफेसनल राइडर थिए। हामीलाई अरू १४ जना राइडरसँग एकै गतिमा यात्रा गर्न सक्ने कुरामा शंका पनि थियो।
सबै तयारी पूरा भएपछि हामी बिहान ९ बजे वीरेन्द्रनगरको घण्टाघर चोकलाई तीन फन्को मारेर जिल्ला प्रहरी कार्यालय, कालिञ्चोक, शंकर, कपासे हुँदै उपत्यका छोडेर उकालो लाग्यौं।
मोटरसाइकल सुरूमा मैले चलाएको थिएँ। हामी दुवै जना बुलेट मोटरसाइकलमा नयाँ थियौं। उपत्यकाको ओल्लोपल्लो चोक पुग्न कुदाए पनि त्यति लामो दूरीमा बुलेट मोटरसाइकल हामीले कुदाएकै थिएनौं।
रारा पुग्नुपर्ने दूरी र औपचारिकतामा मात्र पक्की बनेको बाटो सम्झिँदा समूहमै राइडिङ गर्न सकिनेमा शंका लागेको थियो। उपत्यका नसकिँदै हामीलाई छोडेर गएका ७ वटा मोटरसाइकललाई मैले १४ किलोमिटरसम्म पनि भेट्न सकिनँ।
मैले अरू राइडरहरूलाई भेटाउनेगरी मोटरसाइकल कुदाउने जिम्मा रमेश दाइलाई सुम्पिएँ। उहाँले मेरो भन्दा केही गति त बढाउनुभयो, तर उनीहरूलाई नरोकिँदासम्म भेटाउन भने सकेका थिएनौं।
दैले सियाकोट (कर्णाली राजमार्गको शून्य विन्दू) बाट अगाडि बढेपछि लगभग ४ किलोमिटरमा खेलानजिकै सानो पसल भेटियो। पसलको अगाडि एउटा ठूलो भाँडामा टन्नै सुकेका माछा देखेपछि हामीले अरू राइडरलाई भेटाउने गति ठप्पै रोक्यौं। त्यहाँ भएकी साहुनीलाई एक प्लेट मात्र माछा बनाइदिन भन्यौं। ४ किलोमिटर अगाडि तल्लो डुंगेश्वरमा पुगेपछि हामीले बिहानको खाना खानु नै थियो। राइडरहरूले पहिलो गन्तव्यमा पुगेर खाना खान सुरू गरेपछि आयोजकको फोन आयो। रित्याउनै लागेको प्लेटमा भएका माछाका बाँकी दुइटा टुक्रा दुई जनाले एकेक वटा खायौं र पैसा तिरेर अघि बढ्यौं।
आयोजक र अरू सबै राइडरले खाना खाइसकेका थिए। हामीले बल्ल खान सुरू गर्यौं। हामीले खाउञ्जेल राइडरहरूले हामीलाई पनि पर्खिए। हामीलाई पहिलो दिन जुम्ला पुग्नैपर्ने थियो। भोलिपल्ट कर्णाली स्पोट्र्स क्लबले आयोजना गर्ने जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन थियो। हामी पनि उद्घाटन कार्यक्रममा सहभागी हुने तालिका थियो। त्यसअघि दैलेखकै राकम र कालीकोटको सदरमुकाम मान्ममा विश्राम लिएर खाजा खाने तालिका पनि थियो।
डुङ्गेश्वरबाट अगाडि बढ्नुअघि अरू १४ जना राइडरले हामीलाई सबैभन्दा अघि जान भने। पल्लो मोडमा पुगेपछि उनीहरूले नै उछिने। आयोजक चढेको गाडी भने पछिपछि थियो। हामीलाई अगाडि लगाएर आफैंले उछिनेका ती सात वटा मोटरसाइकल हामीले देख्न सक्ने घुम्ती र डाँडाभन्दा अगाडिको बाटोमा कतै देखेनौं। अघिल्लो दशैंका बेला लगातार पाँच दिनसम्म भएको वर्षाले बिगारेको कर्णाली राजगमार्गको डुंगेश्वर–राकम खण्ड त्यसयता भर्खरै खनेको सडकजस्तो भइसकेको रहेछ।
मोटरसाइकल र आफू जोखिममा देखेपछि अरू राइडरहरूलाई भेटाउने कोसिस छोडिदियौं, आफ्नै गतिमा अगाडि बढ्यौं। सुर्खेत–रारा राइडिङमा हामीले सबैभन्दा धेरै धुलो खेप्नुपरेको खण्ड नै त्यही थियो। त्यस्तो जोखिम सडकमा अरू राइडरको गति सम्झेर भने हामी चकितै परेका थियौं।
टुनीबगर पुग्नै लाग्दा पछाडि भएको आयोजकको गाडीले पनि हामीलाई उछिन्यो। डुङ्गेश्वरबाट हिँडेको झण्डै डेढ घण्टामा हामी राकम पुग्यौं। साविक कर्णालीका चार जिल्ला जोड्ने मुख्य सडक खण्डमा पर्ने राकम मध्यपहाडी राजमार्गमा बन्ने दश वटा नयाँ सहरमध्येको एउटा हो।
व्यक्तिगत संरचना विस्तारै बढ्दैछन्। म २०७५ यता ३ पटक राकम बजार पुगेको थिएँ। पहिलेको तुलनामा व्यापार र व्यक्तिगत संरचना निर्माणमा लगानी बढेको छ। नगरपालिकाको केन्द्र पनि भएपछि राकम बजार लगभग स्थापित भइसकेको छ।
राकममा हामीलाई नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भेटे।
हामीले एकआपसमा परिचय गर्यौं। सुर्खेत–रारा राइडिङको उद्देश्यबारे सुनायौं। प्रमुख प्रशासकीय अधिकृतले हामीलाई इनर्जी ड्रिङ्स खुवाए। अरू पनि खाजा खाने कुरा थियो। म र रमेश दाइ भने अर्को होटलमा आएर फेरि माछा नै खायौं। राकमबाट त्यो दिनको हाम्रो अर्को गन्तव्य कालीकोटको मान्म थियो। अरू राइडर र आयोजक अगाडि लागे। रमेश दाइले मलाई मोटरसाइकल चलाउन दिनुभयो। मैले साँघुरो सडकमा सकेको गति हाँकें।
२०७५ असारमा त्यही बाटो गाडीमा जुम्ला जाँदा मैले भिरतर्फ हेर्नै सकेको थिइनँ। साँघुरो सडकमा आफू चढेको गाडी बाटोभरि फैलिएको जस्तो लाग्थ्यो, तलतिर भिर देखिन्थेन। बरू कर्णाली नदी प्रस्टै देखिन्थ्यो।
पानी परेको समय भएकाले दैलेख र कालीकोटको सीमाना दही खोलाबाट गाडी फर्काएर हामी कालीकोटको हुल्म बजारसम्म हिँडेरै गएका थियौं।
अहिले सुख्खा समय थियो। हामी मोटरसाइकलमै भएकाले तल्लो भागमा भिर देखिएर डर लागे सडकको माथिल्लो भागबाट गुडाउने विकल्प छँदै थियो।
आफैंले मोटरसाइकल चलाएकोले होला यो पटक पहिलेको जस्तो डर भने लागेन।
२०७५ मा हिँडेर पुगेको हुल्म बजार पुग्नै लाग्दा आएको हावाहुरीले भने शरीरमा भन्दा मनमा बढी चिसो पसेको थियो। एउटा मात्र गाडी बल्लतल्ल गुड्न सक्ने सडकमा हावाले हाम्रो मोटरसाइकलले असन्तुलित बनाइदिएपछि म डराएको थिएँ।
केही समयअघि सम्म पछाडि बसेर मोबाइलबाट भिडिओ बनाइरहनुभएको रमेश दाइले त्यसपछि छोड्नुभयो। सायद हावाले मोबाइल उडाउन सक्थ्यो।
‘दाइ यसपछि अब हुल्म बजार आउँछ।’ मैले रमेश दाइलाई निसास्सिने भिर कट्नै लाग्दा आउने बजारको जानकारी गराएँ।
निसास्सिने भिरमाथिको सडकमा गुडिरहँदा चलेको हावाहुरीले अत्तालिएको भए दाइलाई हौसला मिलोस् भन्ने मेरो उद्देश्य थियो।
‘उम थाहा छ।’ दाइ यसअघि कर्णाली राजमार्ग कच्ची हुँदै कालीकोटको सदरमुकाम मान्मसम्म पुगिसक्नुभएको रहेछ। हुल्म बजारबाट मान्म पनि नजिकै पर्छ।
हामी हुल्म कटेर छोडेर मोडमा पुग्यौं। मान्म र हुल्म बजारको तल पर्ने तिला कर्णालीमा नयाँ पुल बनिसकेको रहेछ। तिला कर्णाली पार गर्नेबित्तिकै हावाहुरी पनि रोकियो। हावाको वेगलाई छल्दै तिला कर्णालीसम्म सुस्त चलिरहेको मोटरसाइकलको गति मान्मको उकालो लाग्दा अलि बढाएँ।
उकालोका चार वटा मोड काटिसकेपछि मान्म बजार पुग्यौं। छेवैको रोनी होटलमा अरू राइडर र आयोजकले खाजा खाइसकेका थिए। हामी पनि होटलभित्र छिर्यौं।
खाजाको मेनुमा मासु र चिउरा थियो। खाजा खाइरहेका एक जना राइडरको नजिकै पुग्दा उनले खाजा स्वादिलो नभएको बताए। उनले मासुको झोल मात्र खाएर चोक्टा त्यतिकै छोडेका थिए। राइडरले भनेपछि मैले मौन रूपमा खाजा खान अस्वीकार गरेँ।
रमेश दाइलाई त्यही कुरा सुनाएँ। दाइले पनि त्यसो भए नखाउँ भनेर निस्कनुभयो।
माथिपट्टि ‘मष्टामाण्डु पेट्रोल पम्प’ देखियो। आधुनिक मेसिनसहितको होइन, जगले भरेर दिने पेट्रोलको विक्रेता पसल।
हामीले सुर्खेतबाटै भरेको ट्यांकी खाली भएजति फेरि पेट्रोल थप्ने निधो गर्यौं। साहुजीले पाँच लिटरको जगमा भरेर दिए। त्यसैले ट्याङ्की भरियो।
खाजा खाइसकेपछि राइडरहरूको फोटो सेसन चलिरहेको थियो। हामी सहभागी भएनौं। बरू मैले फेसबुकमा कुराकानी भइरहने मित्रलाई सम्झिएर फोन गरेँ।
फेसबुक अकाउन्टमा ‘मल्ल सरकार’ लेखेका उनको नाम हिक्मतजंग मल्ल हो। म भने मल्ल सरकार भनेरै सम्झन्छु। मैले फोन गरेको केही मिनेटमै उनी हामी भएको ठाउँमा आइपुगे। लामो कुरा हुन पाएन। उनले यात्राको बारेमा सोधे। मैले सबै जानकारी गराएँ। कर्णाली राजमार्गबाट मान्मको मुख्य बजारतर्फ जाने र जुम्ला जान छुट्टिने तीनकुने चोकसम्म सँगै गयौं। फर्किंदा कफी खाएर छुट्टिने शर्तसहित मित्र हिक्मत छुट्टिए। हामी जुम्लातर्फ हुइँकियौं।
मान्मदेखि जुम्ला जाँदा मैले मोटरसाइकलको गति अझ धेरै बढाएको रहेछु।
सडकमा अरू १४ जना राइडर र आयोजक पनि हामीसँगै गुडिरहेका थिए। कतिकति बेला भने थोरै अघिपछि हुन्थ्यौं।
दुई घण्टामा कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजार पुग्यौं। बजारका बत्ती बलिसकेका थिए।
हामीले नाग्मको पुगेली होटलमा छिरेर माछा पोलेर खायौं। अरू राइडर र आयोजक अगाडि बढे।
नाग्मसम्म जाडोको खासै वास्ता नगरेका हामीलाई नाग्म पुग्नै लाग्दा भने मुटु काप्नेगरी जाडो महसुस भएको थियो। सायद अरू राइडरलाई पनि त्यस्तै भएको थियो होला। नाग्ममा चुलो नजिकै बस्दा फेरि जाडो हराएको महसुस भयो। जब नाग्मबाट जुम्लाको लागि अघि बढ्यौं, फेरि अघिकै जस्तो चिसोले सताउन थाल्यो।
अब भने चिसोको प्रवाह नगरी अघि बढ्नुपर्ने थियो। किनभने आयोजक र राइडर हामीलाई छोडेर गएको धेरै भइसकेको थियो।
हामीले सुर्खेतदेखि जुम्लासम्मको २६१ किलोमिटर दूरी १२ घण्टामा पारे गरेका थियौं। हामी जुम्ला पुग्दा रातिको साढे ९ बजिसकेको थियो। हामी बस्ने तय भएको होटल पत्ता लगाउनै गाह्रो भयो। स्थानीयलाई सोध्दै दुई–तीन पटक ओहोरदोहोर गरेपछि एउटा यातायात प्रालिको सानो काउण्टरबाट भित्र छिर्ने बाटो पहिल्यायौं। होटलमा पुग्दा भने १० बजिसकेको थियो।
बास बस्ने ठाउँमा नाचगान गरेर थकाइ मार्ने मनस्थिति बनाएका हामी राइडरहरू यात्राको बारेमा अनुभव आदानप्रदान गर्नै नपाइ खाना खाएर सुत्यौं। दिनभरि मोटरसाइकलमा यात्रा गरेको थकानले ओछ्यानमा पल्टिएदेखि बिहान घाम झुल्किएपछि मात्र ब्युँझियौं।
हामी उठ्दासम्म बिहानको ७ बजिसकेको थियो। नित्यकर्म गर्दा र खाजा खाँदा साढे ८ बजिसकेको थियो।
आयोजक जुम्ला–रारा अल्ट्रा म्याराथनको उद्घाटनमा सहभागी हुन पुगिसकेका थिए। उद्घाटनमा कर्णालीका मुख्यमन्त्री प्रमुख अतिथि थिए। उनी पनि अघिल्लो दिन नै जहाज चढेर जुम्ला आइपुगेका थिए।
आयोजक अघिल्लो दिनको राइडिङ र आगामी तालिकाको बारेमा छलफल गर्न होटलमै बसे।
हामीले जुम्लाको प्रसिद्ध गुम्बा पुग्ने निधो गर्यौं। गुम्बामा डेढ घण्टा जति बितायौं। मैले गुम्बाट त्यहाँ भएको टोलीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान देखाएँ।
कर्णाली प्राविधिक शिक्षालय भएको ठाउँतिर जाने बाटो पनि देखाएँ। जुम्ला बजारका तस्बिरहरू खिचेँ।
गुम्बाबाट निस्कनै लागेपछि हाम्रा सहकर्मी राइडर सुजनले ड्रोन उडाएर मोटरसाइकल कुदाएको भिडिओ बनाए। गुम्बाबाट निस्किएपछि अरू राइडरहरूले मोटरसाइकलमा पेट्रोल थपे। हामीले त कालीकोटमै थपिसकेका थियौं।
अब हामीलाई जुम्ला सदरमुकामदेखि रारासम्म पूरै कच्ची सडकमा मोटरसाइकल हाँक्नु थियो। बुलेट मोटरसाइकल अफरोडमा चलाउनुपर्ने भएपछि म पहिल्यै डराइसकेको थिएँ। धन्न मैले चलाउनुपरेन। हामी नाग्मबाटै रारा जान पनि सक्थ्यौं। त्यो सडक मुगु सदरमुकाम जोड्ने पुरानो मार्ग भएकाले त्यसमा भने मलाई मोटरसाइकल चलाउन सकिँदैन जस्तो लागेको थिएन। महत्वपूर्ण कार्यक्रम भेटाउनुपर्ने भएकाले हामीलाई आयोजकले जुम्लाबाटै लिएका थिए।
जुम्लाबाट रारातर्फ सोझिएपछि पौने घण्टामा उर्थु बजार आइपुग्यो। जुम्लाको पातारासी गाउँपालिका–४ मा पर्ने यो बजारलाई उर्थु चौतारा पनि भनिन्छ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनुगमनमा जाँदा मैले २०७५ मा पनि म त्यहाँ एकपटक पुग्ने मौका पाएको थिएँ। त्यहीबेला मैले खाना खाएको होटलमा अहिले पनि खाना खाने मौका जुर्यो। मैले होटल सञ्चालकलाई भने ठम्याउन सकिनँ। जुम्ली सिमीको दाल, जुम्लाकै आलुको तरकारी, अचारको स्वाद भने पुरानै जस्ता लाग्यो। अघिल्लो पटक मैले मार्सीको भात खाएको थिएँ। यसपटक भने चामल फेरिएको थियो।
उर्थु बजारबाट हिँडेपछि सोचेजस्तो अप्ठ्यारो सडक भने लागेन। दुई–तीन ठाउँको उकालोमा पछाडि बसेको मानिस झरेर धकेल्नुचाहिँ पर्यो। उर्थुबाट मलाई रमेश दाइले मोटरसाइकल चलाउ भन्दा मैले मानेको थिइनँ। चलाए पनि हुन्थ्यो जस्तो लाग्यो। पातारासी खोलाको किनारैकिनार बनेको केही किलोमिटर सडक कच्ची भए पनि सुन्दर थियो। पटमारा गाउँको छेउ पुगेपछि उकालो सुरू भयो।
आयोजकले हाई अल्टिच्युडको समस्या हुन सक्छ भनेका थिए। राइडरहरू सबैले पानी बोको थियौं। पटमारा गाउँ कटेपछिको उकालोमा सास फेर्न गाह्रो भएजस्तो महसुस भयो। मोटरसाइकलले एक गेयरमा भन्दा माथि चल्न मानेकै थिएन।
‘हाइ अल्टिच्युडमा मोटरसाइकललाई पनि तान्न गाह्रो हुन्छ रे,’ सँगैका एक जना राइडरले भने।
एउटा मोडमा सबै रोकिएर पानी पियौं। एक जना राइडरले नाकबाट स्वासप्रश्वास लिन सल्लाह दिए। मैले धुलो मुखमा जानबाट बचाउन लगाएको सर्जिकल मास्क मोडमै फालिदिएँ।
त्यो मोड कटेपछि हामी बल्ल खालीचौर पुग्यौं। चौर नजिकैको जुम्ला–भुलभुले जोड्ने सडक स्तरोन्नतिको काम भईरहेको रहेछ। कामदारहरू काम गर्दै थिए।
खालीचौर त सम्म टापुजस्तो, मनमोहक, बर्खामा पुगेको भए अझ सुन्दर देखिने थियो। दक्षिणतर्फको डाँडामा हिउँ परेको थियो। वल्लोपल्लो डाँडामा भेडा चरिरहेका थिए। मौसम खासै सफा नभएकाले क्यामराबाट पनि जुम गरेर स्पष्ट फोटो लिन सकिएन।
खालीचौर पुगेपछि हिक्मत, दिवेश र मैले जस्तै अरू राइडरहरूले पनि दु:ख बिर्सिएका थिए। तल्लो मोडमा नाकबाट सास लिन सल्लाह दिने राइडर दिवेशले त साँच्चै दु:ख बिर्सिएकै रहेछन्।
उनले भने, ‘अहिलेसम्म जति दु:ख पाए पनि यहाँ आएपछि त आनन्द लाग्यो यार!’
चौरमा हामी सबैले तस्विर खिच्यौं। तस्बिर कति खिचियो गन्ती भएन। सबैले १०–१० वटा मात्र खिचेको भए पनि १६० वटा तस्बिर त पुगे होलान्।
त्यस दिन हामीलाई जसरी पनि रारा पुग्नु थियो। नेपाल टेलिकमको रिपिटर टावर भएको दायाँतर्फको अग्लो डाँडामा परिरहेको हिउँ तल झर्दै थियो। त्यहाँबाट भुलभुले पुगेर खाजा खाने सेड्युल थियो। हामीलाई हेभी मोटरसाइकलमा उकालोओरालो पनि निकै गर्नु थियो। बाटोमा पानी परे दु:ख पाइने निश्चित थियो। तत्काल हामी सबै राइडर मोटरसाइकलको एक्सिलेटर बाटोअनुसार कम्फर्ट हुनेजति बटार्दै खालीचौरबाट ओरालो लाग्यौं।
क्रमश: