नेपालको चारघाम मध्येको एक धाम मानिने रिडी क्षेत्रमा श्राद्ध गर्ने तथा केही धार्मिक स्थानहरूको दर्शन गर्ने उद्देश्यले दशैंकाे त्रयोदशीका दिन गत कार्तिक १ गतेका दिन बिहान ९ जनाकाे टाेलीको कार्यक्रम थियो। तर भ्रमणकाे केही घण्टा अघिमात्रै भ्रमण टाेलीका केही सदस्यहरूलाई छेकथुन परेको कारण अन्तिम समयमा आएर हाम्रो भ्रमण कार्यक्रम अकस्मात् स्थगित गर्नुपर्ने अवस्था आयो।
जाने सबै तैयारी भइसकेपछि अन्तिम समयमा जान नमिल्दा ज्यादै खल्लो महसुस भयाे। हामीलाई यात्रामा लैजान भाेलिपल्ट बिहान ५ बजे आउने तय भएको गाडीलाई फाेन गरेर भ्रमण राेकिएकाे जानकारी गरायौं। राति राम्ररी निन्द्रा लागेन। साँझदेखि गडबडीएकाे माैसमका कारण रातिबाट हुरी बतास र चट्याङसहित मुसलधारे पानी पर्न थाल्याे। बिहानसम्म पनि पानी पर्न राेकिएकाे थिएन। साे बेमौसमी वर्षाका कारण देशभर बाढी पहिरो आउँदा व्यापक मात्रामा जनधनको क्षति भएकाे, सडक अवरूद्ध भएर सयाैं सवारीसाधन र यात्रुहरू बिचल्लीमा परेका खबरहरू सार्वजनिक भए। अनि लाग्याे, शायद यस्तै विपत्तिबाट हामीलाई बचाउन नै भगवानले हाम्रो पूर्वनिर्धारित भ्रमण कार्यक्रम स्थगित गरिदिनु भएकाे पाे हाे कि!
भ्रमणको सबै तैयारी भइसकेकाले मन्दिर जाने भाकल पूरा गर्न पुन: अर्को समय तालिका निर्धारण गयौं। कार्तिक २४ गतेको कार्यक्रम तय भयाे। हामी भ्रमणमा जाने कार्यक्रम थाहा पाउनुभएका आफन्त, इष्टमित्र र छरछिमेकीहरूले आफूहरू पनि जानका लागि इच्छुक भएको बताउनुभयो त्यसपछि नामावली संकलन गर्दै जाँदा ठूलै गाडी भरिने अवस्था देखियो। यसपछि, हामीलाई पटकपटक तीर्थयात्रामा लैजानु भएका श्री हरिशरणम् तीर्थयात्रा समितिका प्राेप्राइटर माेहनप्रसाद अधिकारीसँग बसेर छलफल गरि प्रसिद्ध तीर्थस्थलहरु रिडी (रूरू क्षेत्र), स्वर्गद्वारी, सुपादेउराली, छाब्दी बाराही र शाश्वत धाम लगायतका स्थानहरूमा ठूलै बस लिएर जाने प्याकेज तयारी गर्यौं। प्याकेजमा बिहान बेलुकीकाे खाना, रातिको बास र बसभाडा समावेश थियाे।
भ्रमणकाे दिन नजिकिँदै गर्दा जान इच्छुकहरू बसकाे सिट क्षमताभन्दा बढी हुन पुग्यो। कतिपयलाई विनम्रतापूर्वक अस्वीकार गर्नेुपर्ने अवस्था आयाे। जान नपाएको भनेर काेही काेही त रिसाउनु पनि भयाे। अन्ततः २९ जनाकाे टाेलीमा कार्तिक २४ गते बुधबार बिहानै कुमारीगालबाट यात्राका लागि बस प्रस्थान गर्ने पक्का भयाे।
छठ पर्वका दिन अर्थात कार्तिक २४ गते एकाबिहानै गाडी लिएर माेहनदाइ आउनुभयो। हामी ८ जना चढेपछि मैतीदेवी, अनामनगर, तीनकुने, ग्वार्काे, सातदोबाटो, थसिखेल, एकान्तकुना, बागडाेल, कलंकी र थानकोटबाट निर्धारित तीर्थयात्री टिप्दै गाडी अघि बढ्याे। केही स्थानमा यात्री समयमै ननिस्केर कुर्नुपर्दा यात्राको सुरूवातमा थाेरै विलम्ब भयाे।
कार्तिक नसकिएको भएतापनि उपत्यकामा माैसम निकै चिसाे महसुुस भयाे। गाडीमा बजेकाे सुमधुर भजन सुन्दै हामी अघि बढ्यौं। खानीखाेला पुगेर चियापानका लागि बस राेकियाे। त्यहाँ चियापान र शाैचादी कार्य सकेर, पाल्पाको रिडी (रूरू क्षेत्र) मा रात्रि बसाइँका लागि पुग्ने लक्ष्यका साथ हामी चढेको गाडी अगाडि हुँइकियाे।
चितवनको नारायणगढ पुगेपछि बसमा २ जना यात्रु थपिनुभयाे। अब हाम्रो टाेली २९ जना तीर्थयात्री र ५ जना चालक तथा व्यवस्थापक दल गरि ३४ सदस्यीय भयाे। गाडीको रफ्तारसँगै बिहान ११ बजे हामी सिजी भवन अर्थात् शाश्वत धाम अघि पुगेर राेकियाैं। व्यवस्थापक टाेली सिजी भवनसँगैकाे चाैरमा खाने पकाउने तरखरमा जुट्याे भने हामी शाश्वत धाम अवलोकन गर्न गयाैं।
नवलपरासीको मुख्य आकर्षणकाे रूपमा रहेकाे शाश्वत धाम देवचुली र वरचुली पहाडको काखमा ७ विगाहा क्षेत्रफलमा फैलिएको छ। यस धामको मध्य भागमा दक्षिण भारतीय शैलीमा अत्यन्तै मनमोहक बुट्टेदार मन्दिर ‘अम्केश्वर शिव मन्दिर‘ को स्थापना गरि मन्दिरलाई चारैतिरबाट सर्वतिर्थ सरोबर तालले घेरिएको छ। मन्दिरभित्र विभिन्न देवीदेवताको आकर्षक मुर्तिहरू राखिएका छन्। मन्दिरको तल धार्मिक संग्रहालय छ। मन्दिरसँगै जोडिएको तालको चारै कुनामा पानीको फोहोरा र विभिन्न रंगका बत्ती जोडिएका छन्। धाम परिसरमा विभिन्न धार्मिक र सांस्कृतिक झाँकीहरू पनि बनाइएको छ, जसले पर्यटकहरूलाई लोभ्याउने गरेको छ।
करिब एकघण्टा शाश्वत धाम घुमेर फर्कदा खाना तयार भइसकेको थियो। खाना खाएर १ बजे हाम्रो गाडी पुन: त्यहाँबाट आफ्नो गन्तव्यतर्फ अघि बढ्यो। दाउन्ने पुग्दा नपुग्दै हाम्रो सवारी जाममा पर्यो। धुलाम्मे बाटाे त्यसमाथि उखरमाउलाे गर्मी, बेलाबेलामा पञ्चमीकाे पाइला सारे जसरी गाडी अघि बढ्थ्याे। त्रिवेणी जाने क्रममा एकवर्ष अघि यता आउँदा भाेगेकाे लामो जाम अहिलेपनि उस्तै देख्दा, व्यस्त सडकमा वर्षाैं देखि भइरहेको समस्या समाधान गर्नमा उदासिन सरकारी संयन्त्र र देशमा विकासको लहर आएको भाषण ठाेक्ने नेतृत्वकर्ताहरू सम्झेर दिक्क लाग्याे।
यहाँकाे पट्यारलाग्दाे जाममा करिब ४-५ घण्टा बितायाैं। यसै जामकाे कारण त्यसदिनकाे लक्ष्य रिडी क्षेत्र पुग्न नसकि हामीले बुटवलमै रात बिताउनु पर्यो। त्यहाँको सनराइज हाेटेलमा रातिको खाना खाइवरी सुत्दा १० बजिसकेकाे थियो। भाेलिपल्ट बिहान करिब ६ बजे हामी रिडीका लागि प्रस्थान गर्यौं। माैसम चिसाे थियो। बाटोका हरियाली, नजिकै छर्लङ्ग देखिएका हिमश्रृङ्खलाहरु र बाक्लो कुहिराेले ढाकेकाे बस्तीका मनमाेहक दृश्यले मन आनन्दीत बनायाे। प्रकृतिको सुन्दरतामा रमाउँदै बिहान ८ बजेतिर रिडी पुग्यौं।
रूरू क्षेत्र जसलाई रिडीको नामले चिन्ने गरिन्छ, याे अर्घाखाँचीबाट आएको रिडी नदी र मुक्तिनाथबाट आएको कालीगण्डकी नदीको संगममा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो। यो स्थानको बारेमा विभिन्न हिन्दु पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लासँग जाेडिएको छ।
यस स्थानलाई नेपालको बनारस भनेर पनि चिन्ने गरिन्छ। याे हिन्दुहरूको लागि पवित्र घाट हो। माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा 'रिडी मेला' आयोजना गरिन्छ। रूरू क्षेत्रमा ऋषिकेश भगवानकाे मन्दिर छ। यस ऋषिकेश परिसरलाई युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ। भगवान विष्णुकाे प्रतीकको रूपमा मानिने शालिग्राम, यस क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको तटीय क्षेत्रमा पाउने गरिन्छ। यस क्षेत्रलाई नेपालको चारधाम (पशुपति क्षेत्र, मुक्ति क्षेत्र, बराह क्षेत्र र रूरू क्षेत्र) मध्येको एक धाम मानिन्छ।
हामीले यहाँ स्नान, दान र श्राद्द गर्यौं। केहीले पितृका नाममा सिदा दान गर्नुभयो। पारिलाे घामका कारण गर्मिकाे महसुस भइरहेकाे थियो। यसपछि त्यहाँ अवस्थित हृषिकेश भगवानकाे मन्दिरमा पूजाअर्चना र दर्शन गरेर खानपिन सकि हामी १२ बजे स्वर्गद्वारी जानका लागि प्यूठानतर्फ लाग्यौं। दिन ढल्कनै लाग्दा दाङको भालुवाङ पुगेर चिया नास्ता गर्ने काम भयाे। राति ८ बजेतिर हामी स्वर्गद्वारी पुग्न १४ किलोमिटर वरै पर्ने भिङ्ग्री भन्ने स्थानमा पुग्यौं। यहाँको स्वर्गद्वारी हाेटेलमा हाम्रो बसाइकाे व्यवस्था भयाे। खाना पकाएर खाएर सुत्दा रातको १० बजेको थियोे।
भाेलिपल्ट बिहान नित्यकर्म सकेर स्वर्गद्वारी जाने तरखरमा लागियाे। २-३ दिनअघि गएको पहिरोले केही बाटाे छेकिएकाे र केही चर्किएकोले हाेटेल सञ्चालक भाइले हामीलाई बसमा नगई जिपमा जाने सल्लाह दिए। माेहन दाइले २ वटा जिप मगाउनु भयाे। बिहान ६ बजे हामी जिपमा स्वर्गद्वारी तर्फ उकालो चढ्याैं। बाटाेकाे अवस्था देख्दा बसमा नआएर राम्रो गरेछाैं भन्ने लाग्यो। पहिलो जिप अलि अगाडि थियोे। पहिरो गएकाे बाटोमा पर्ने एउटा उकालोकाे घुमाउरो माेडमा हामी चढेको जिप केही चिप्लिएर पछाडि सर्न थाल्यो। तल ठाडो भिर थियाे। चालकले २-३ पटकको प्रयासमा जिपलाई बिस्तारै सकुशल अघि बढाए। सम्भावित दुर्घटनाको आशंकाले त्रसित भई मनमनै आत्तिएका हामीले ढुक्ककाे श्वास फेर्याैं।
करिबकरिब एकघण्टाकाे जिप यात्रा पछि स्वर्गद्वारी आश्रमको प्रवेशद्वार पुगियाे। त्यहाँबाट एक किलोमिटरभन्दा बढी सिँढीहरू उक्लनु पर्ने रहेछ। हिँड्न नसक्नेलाई घाेडाकाे पनि व्यवस्था थियो। ढुंगा छापेका सिँढी निकै सुविधाजनक थिए। झण्डै आधा घण्टामा हामी स्वर्गद्वारी आश्रम पुग्यौं। अग्लो टुप्पोमा पारिलाे घाम, वरिपरि छर्लङ्गै देखिएका हिमश्रृङ्खला, हरियाली, वटुकहरूले वाचन गरेका वेद मन्त्रका ध्वनी र मनमाेहक वातावरण देख्दा स्वर्गमै पुगेको अनुभूती भयाे।
नेपालका प्राचिन धार्मिक स्थलमध्येकाे एक स्वर्गद्वारी आश्रम प्युठान जिल्लामा अवस्थित प्रमुख धार्मिक पर्यटकीय स्थल हो। पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले यस स्थानलाई स्वर्गकाे द्वार अर्थात् स्वर्गद्वारी भनिएको हाे भन्ने जनविश्वास छ। याे ऋषिहरूकाे तपाेभूमी हाे र भगवान ब्रह्मा स्वयंले समेत यहाँ तपस्या गरेकाे जनश्रुती छ।
यस आश्रमकाे अग्निकुण्डमा बालतपस्वी १०८ महाप्रभुले वेदका मन्त्रद्वारा प्रज्वलित गर्नुभएको पवित्र अग्नि हालसम्म पनि अखण्डरूपमा बलिरहेकाे छ। बेद मन्त्रद्वारा हवन पूजा गरिने उक्त हवनकुण्डको विभूतीलाई यहाँको प्रसादको रूपमा ग्रहण गरिन्छ। उक्त विभूती ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास छ। स्वर्गद्वारी महाप्रभुको दर्शन गर्नाले पुण्यार्जन र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। प्रत्येक वर्ष वैशाख पूर्णिमा/बुद्ध जयन्ती र उधाैली/उभाैलीको अवसरमा यहाँ मेला लाग्ने गर्छ।
हामीले स्वर्गद्वारी महाप्रभुकाे समाधिस्थलमा पूजाअर्चना, दर्शन र दीप प्रज्वलन गर्यौं। हवन सामाग्री र गाईका लागि पीठाे, नून, चामल आदि हस्तान्तरण गरियाे। गाेवर्धन पर्वत, स्नान कुण्ड, वेदाश्रम, हवन कुण्ड, गुफा, गाैशाला, खेती, हेलिप्याड आदिकाे अवलोकन भयाे। हामीले करिव ३ घण्टा समय बितायाैं। वातावरण यस्तो थियोे कि, मनले फर्कन मानिरहेकाे थिएन। तर बाध्यता थियाे, हामी ओर्लियाैं। पहिलेकै जिपबाट राति बसेकाे हाेटेल पुग्दा खाना तयार थियाे। प्रफुल्लित मनले खाना खायौं। हाम्रो अबको लक्ष्य अर्घाखाँचीकाे सुपादेउराली मन्दिर पुग्नु थियो। दिनकाे १ बजे हामीले त्यहाँबाट प्रस्थान गर्यौं।
अर्घाखाँची तर्फकाे बाटो त्यति राम्रो थिएन। ५ घण्टाकाे निरन्तर यात्रा पछि बेलुकी ६ बजे सुपादेउराली पुग्यौं। साँझकाे आरती सकेर मन्दिर बन्द भइसकेकाे रहेछ। बत्ती गएकाले मन्दिरक्षेत्र अन्धकार थियाे। हामीले बाहिरबाट दर्शन गर्यौं। मन्दिरभन्दा ५-७ मिनेट परको हाेटेलमा हाम्राे बसाइँ भयाे। यहाँ चाँडै खानपिन सकियाे। ८ बजेतिर हामी आआफ्नो काेठामा पुगेर सुत्याैं। थकाइले हाेला मस्त निन्द्रा लाग्याे। भाेलि बिहान हाेटेलमै नुवाइधुवाइ गरि ४ बजे मन्दिर गयाैं। ८-१० जना दर्शनार्थीहरू लाइनमा बसिसकेका थिए। हामी पनि लामबद्ध भयाैं। ५ बजे मन्दिर खुलेर नित्यपूजा सकेपछि हामीले पूजाआजा र दर्शन गर्यौं। शनिबारकाे दिन भएकाले बलि चढाउनेहरू पनि देखिन्थे।
अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित सुपा देउराली नेपालको प्रसिद्ध देवीस्थलमध्येको एक हो। सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतिक मानिन्छ। याे मन्दिर नरपानी र फलामे दुई अग्ला महाभारतबीच अधिक उचाइँको भञ्ज्याङमा अवस्थित छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। सुपा देउराली मन्दिर प्यागाेडा शैलीमा बनेको छ। यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ। साँच्चै नै हाम्रो देश मन्दिरै मन्दिरको शहर हाे भनेर त्यसै प्रख्यात भएको हाेइन रहेछ। हामी जहाँ जान्छौं त्यहाँ कुनै न कुनै महत्व बोकेका धार्मिक स्थल र मठ मन्दिरहरू भेट्न सक्छौं।
मन्दिर दर्शनपछि हामी हाेटेल फर्कियाैं। चिया र हल्का नास्ता गरेर बिहान ७ बजे हाम्रो अबकाे अन्तिम गन्तव्य तनहुँकाे छाब्दीबाराही मन्दिरतर्फ लाग्यौं। बाटाे राम्रो थिएन। हामी बढ्दै गयाैं। दाउन्नेमा पुन: २ घण्टा जति जाममा परियाे। पटकपटक राेकिँदै यात्रा अघि बढ्दै थियाे। धुलाम्मे बाटाे र उखरमाउलाे गर्मीले बसभित्रकाे बसाइँलाई पट्यारलाग्दाे पारेपनि आफू-आफूले लगेका खानेकुराहरू साटासाट गरेर खानुले यात्रालाई जीवन्त बनाएको थियाे। हाम्राे आजै फर्कने कार्यक्रम भएको र गन्तव्य निकै टाढा भएकाले बस रफ्तारमा थियो। छाब्दीबाराही पुगेर फर्कन नमिल्ने भएकाले आउँदा नारायणगढबाट हामीसँग मिसिनु भएका दुईजना तीर्थयात्री नारायणगढमै ओर्लिनुभयाे।
समय घर्किंदै थियो। साँझ ६ बजे हामी छाब्दीबाराही मन्दिर पुग्यौं। मन्दिर बन्द भइसकेकाे थियाे। यति टाढाबाट धाएर आउँदा पनि दर्शन नपाएकोमा खिन्न मानेका थियौं। तर त्यतिबेला नै पुजारी मन्दिरमा छुटेको सामान लिन आइपुग्नुभयो। अनि मन्दिरकाे ढाेका खुल्याे। केही साथीहरू त फर्किसक्नु भएकाे थियाे । बाँकी हामीले देवीकाे पूजाअर्चना, दर्शन र कुण्डकाे अवलोकन गर्यौं। दुई वर्ष अघि यहाँ आउन लाग्दा बाटाे बिग्रेकाले मन्दिर दर्शन गर्न नपाएको धाेकाे यसपटक पूरा भएकोमा मन सन्तोक भयो।
नेपालका विभिन्न शक्ति पीठहरू र धार्मिक तिर्थस्थलमध्ये तनहुँ जिल्लामा अवस्थित छाब्दी बाराही मन्दिर पनि एक हो। माछाको पूजा गरिने नेपालकै संभवत एकमात्र यस मन्दिरमा मगर समुदायका पुजारी रहन्छन्। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने जनविश्वास रहिआएको छ।
औंसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। उक्त समयमा देवी गुफा बस्न जाने मान्यता रहेको पाइन्छ। मन्दिरमा रहेकी देवीलाई अठार पुराणका रचयिता भगवान वेदव्यासको माताको रूपमा पुजा गर्ने गरिन्छ।
रात परेकाले माैसम चिसाे थियाे। खाना खाएर रातको ८ बजे त्यहाँबाट काठमाडौंतर्फ हुँइकियाैं। यसपटकको यात्रामा जाने आधाजति तीर्थयात्रीसँग पहिलोपटक चिनजान भएकाे थियो। अधिकाशं सहृदयी हुनुहुन्थ्यो। बसकाे गतिसँगै मध्यरात पाैने १ बजे थानकोट पुग्यौं। बिहान चढेकै ठाउँमा यात्रीहरुलाई ओराल्दै घर (कुमारीगाल) पुग्दा बिहानकाे २ बज्नै लागेकाे थियाे।
यसरी चारदिने हाम्रो तीर्थयात्राले भगवत्कृपाबाट पाँचौ दिन छाेएर पूर्णता पायाे। हामी आफू पुगेका देवी देवताकाे स्मरण र कुशल व्यवस्थापनका लागि चालकदल र यात्रा व्यवस्थापकहरूप्रति आभारी हुँदै घर फर्कियाैं।