धर्मशालाबाट गाडी ओरालो झर्दै थियो। केहीबेर डल झिलको अवलोकन गर्ने निर्णय भयो।
प्रकृतिको काखमा पौडिरहेको डल झिलसँग केहीबेर आत्मीयता गाँसेपछि हामी नन्दी भ्युपोइन्टमा पुगेर साँच्चै पर्यटक भएका थियौं। रंगीविरंगी कपाल लगाएर फोटो खिच्ने व्यवस्था रहेछ हामी पनि के कम,खिचायौं।
कयौं पर्यटक आउने त्यो हरियालीले सुशोभित डरलाग्दा भीमकाया पहाडहरूमा कतै मानव निर्मित भ्यूटावर देखिन बडो आकर्षक प्राकृतिक भ्यूटावरबाट अवलोकन गर्दै यो गीत गुनगुनाउन पो पुगेछु - पहाडको माथि घुम्दै हिँडेर, आकाशको चारैतिर फैलिएर बादल जस्तै उडी हिँड्ने बादल हो त्यो बादल हो :::।
मलाई पनि घरीघरी बादल बनेर पो नाच्न मन लाग्यो। उमेरको पर्खाल नाघेर सबै जना पूर्णरूपमा स्वच्छन्द भएर उडेका थियौं।
विभिन्न रङका कपाल लगाएर एकअर्कालाई हेर्दै मरिमरी हाँस्दै गर्दा यात्रा त बन्धन फुकाउने कसी पनि पो रहेछ भन्ने भान भयो।
यात्राका क्रममा जोगी भएर गृह त्याग गर्दै छिमेकीको आँगनमा बरालिएको पनि हप्ता दिन नाघिसकेको थियो।
फिरन्ते हुनुको मज्जा नै बेग्लै।
चिन्ता, तनाव, भागदौड र जिम्मेवारीको साङ्ग्लो फुकाएर विमोक्ष भएका थियौं। हिमाञ्चलको यात्रालाई बिट मार्न पटक्कै मन थिएन। मनले त भन्थ्यो हजुरबुवा जस्तै हिमाञ्चलकै कुनै पवित्र भूमिमा समाधी लगाएर संसार छाडिदिऊँ!
तर के गर्नु, इन्द्रियहरू मेरा नियन्त्रणमा थिएनन् म पो इन्द्रियको गुलाम थिएँ त! तर पनि हिमाञ्चलको रोमाञ्चित पार्ने पर्यावरणले निर्मोक्षको अनुभव गर्दै थिएँ।
सबैको मुहारमा त्यो निर्दोष, निश्चल र निर्मल खुसी ओतप्रोत भएर बालापन पुनः फर्किएको आफैंभित्र पाएँ अनि मैले पनि हतारहतार मोबाइललाई ऎना बनाएर आफैंलाई नियालेर हेरें। अद्भुत दृश्य! बालापन फर्किएको आभाष मेरो मुहारमा पनि देखियो। कतै सुनेको थिएँ-
‘आफूभित्रको त्यो बालकलाई मर्न नदिनु’ प्रौढ छालामा जब बालापन हाँस्यो ऊ साँच्चै जीवन्त बाँच्यो!
जिम्मेवारीको जुवा बोक्दाबोक्दै अरमठ्ठ परेका छालामा आनन्द र प्रसन्नता खुल्दै गयो।
ओहो! कति सुहाएको। सबैलाई हेरेर म दङ्गदास परें।
भारी मन पार्दै हिमाञ्चललाई बाईबाई गर्दै आँखा बन्द गरें। आँखा खोल्दा पन्जाबको पठानकोटमा चेन्नाई एक्सप्रेस अगाडि आफूलाई पाएँ। खाली पेटले मिस कल दिएर फेरि उत्पातै थियो।
निमु पानीको साथमा इड्ल्ली वडाले अलि राहत महसुस गरायो। तीन दिनदेखि हाम्रो सेवामा रहेको ड्राइभर भाइ अब हामी माझबाट ओझेल परे।
रेल आउने प्रतिक्षामा केहीबेर स्टेसनमा स्थिर भयौं।
अबको गन्तव्य अमृतसरको गोल्डेन टेम्पल थियो। रेलको झ्यालबाट देखिने पन्जाबको भूगोललाई आनन्दले रिठ्ठो नबिराई हेर्दै गएँ।
साँझ ७:४० मा अमृतसरको अमृतमय भूमिमा ओर्लियौं। रेल्वे स्टेसनमै सामानको उचित व्यवस्थापन गरेर स्वर्ण मन्दिरको सौन्दर्य हेर्न सुरियौं।
अहा! स्वर्ण मन्दिर परिसर नै अद्भुत रहेछ।
करिब १० मिनेट त्यो अनुपम संरचना,सडक र सभ्यता दृश्यपान गर्दै थिएँ खुट्टाहरू त गुरूद्वारको गेटमा चालै नपाइ पुगिसकेछन्।
अद्वितीय र अवर्णनीय निकै आकर्षक मन्दिर।
हेरिरहूँ जस्तो मानवीय कारिगरी।
सेवामा दत्तचित्त भएर लागेका सेवारत प्रेमीहरू। हृदय गदगद् भयो। मानवीय मूल्य मान्यतालाई अग्र स्थानमा राखिएको थियो।
त्यहाँ न हाम्रो जात नै सोधियो, न धर्म, न देश हामी केवल मानवमात्र भएर गएका थियौं।
आखिर धर्म के हो?संस्कार के हो? मूल्य मान्यता के हो? मैले मलाई नै प्रश्न गर्न थालें।
मलाई म को हुँ भन्ने कुराले ज्यादै घोच्दै थियो। मानव आखिर के चाहन्छ?
शान्ति ! शान्ति !! शान्ति !!
प्रेम, दया, माया , सेवा र परोपकार
केहीबेर मन्दिर भित्रको व्यवस्थापन हेर्दै थिएँ।
जुत्ता चप्पल राख्ने ठाउँदेखि पानी पिलाउने ठाउँसम्म सेवामा खटिनु भएका उमेरले पाका आमाबुवाको प्रेम र सेवाभाव देखेर उहाँहरूप्रति नतमस्तक हुँदै श्रद्धाले शिर निहुँर्याएँ। कस्तो राम्रो प्रबन्ध! नुहाउने स्थानदेखि कपडा फेर्ने ठाउँसम्मको सुरक्षित र उचित व्यवस्थापन अहो! तारिफ गर्न योग्य थियो।
गुरूद्वारको त्यो सुन्दर संरचना, शान्ति, संस्कार, उत्कृष्ट सेवा र सद्भाव देखेर पाषण हृदय भएका ढोङ्गी मनहरूलाई समेत नतमस्तक पार्ने माहोल पाएँ।
हिमान्चलमा प्रकृतिको बेजोड सौर्न्दर्य देखेर यो मन आल्लादित भएको थियो भने मानव निर्मित स्वर्ण मन्दिरको कलाकारिताको उत्कृष्टता देखेर यो मस्तिष्क स्तब्ध भयो।
जब स्वर्ण मन्दिरको प्राङ्गणमा पुग्यौं हल्का वर्षाले स्वागत गर्न थाल्यो। स्वर्ण मन्दिरको चमकले प्रत्येक पानीका थोपाहरूलाई पहेंला सुनका स्वर्णिम दानामा रूपान्तरित गरिदियो।
आकाशबाट मानौं हाम्रै स्वागतमा स्वर्ण वर्षा हुँदैछ। तलाउको बीचमा मन्दिर भएकाले तलाउको पानी पनि स्वर्णिम थियो।
चारैतिर झलमल्ल बत्ती बल्दा पुराणमा वर्णीत इन्द्रको स्वर्गजस्तै देखिएको थियो स्वर्ण मन्दिर।
अझ तलाउमा सम्पूर्ण संरचना प्रतिविम्बित हुँदा स्वर्ण मन्दिरको सुन्दरतामा चारचाँद लागेको थियो। के सधैं यसरी नै स्वर्ण मन्दिरमा सुन कै वर्षा हुन्छ?
कि हाम्रो अहोभाग्य थियो त्यो लाजवाव दृश्य हेर्न पाउनु? त्यो अद्भुत स्वर्णिम वर्षामा आफूलाई भिजाउन पाएकोमा म हर्षित मात्र होइन मदहोस भएको थिएँ।
खुसीले भिज्दै टकटकी बाँधेर निर्निमेश तलाउ, मन्दिर र खुला आकाशमा हेर्दै हराउँदै थिएँ।
आहा! शब्दमा बयान गरेर गर्न नसकिने अवर्णनीय अनुभूति थियो। बरर वर्षिएका स्वर्णिम पानीका थोपाहरूलाई स्वागत गर्दैछ स्वर्ण मन्दिर परिसरको तलाउ।
तलाउले सम्पूर्ण स्वर्ण मन्दिरलाई आफ्नो छातीमा चपक्क च्यापेर सन्तुष्ट भएको प्रतीत हुँदै थियो। स्वर्ण मन्दिरको सुनौलो छाया जब तलाउमा छमछम नाच्दै तैरिरहेको थियो म सम्मोहित हुँदैथिएँ।
अझ आकाशबाट झरेका सुनपानी तलाउमा पुग्दा छुट्टै आनन्दले म मन्दमन्द मुस्कुराउँदै थिएँ।
हेर्दाहेर्दै मलाई साँच्चै स्वर्ण मन्दिरको सौन्दर्यको नशा चढ्दै थियो। मेरा गालाहरू राता र ताता हुँदैथिए। जतिजति त्यो अनुपम दृष्यहरू हेर्दै गएँ मलाई नाचौं कि, चिच्याऊँ कि, उफ्रिऊँ कि भनेको जसरी मेरा अनियन्त्रित संवेगहरू छताछुल्ल हुँदैथिए।
जुन दृश्यलाई शब्दमा व्यक्त गर्न म अहिले सकिरहेको छैन यति भन्छु अनुपम, अद्भूत, अलौकिक, अतुलनीय र अद्वितीय समय थियो त्यो।
स्वर्ण मन्दिरभित्र दर्शन गर्न जाँदा लगाउन भनेर छुट्टै लुगा बोकेका थियौँ। मन्दिर परिसरभित्रै कपडा बदल्ने कोठाहरूको सुविधा भएकाले सहज भयो।
एकैछिनमा सबैले कुर्ता लगाएर चिटिक्क परेर लामबद्ध भयौं। हाम्रो मन पवित्रमात्र हैन मुक्त पनि भएको अनुभूति हुँदैथियो। त्यहाँ आउने सबै भक्तजनहरूले आ-आफ्नो कपाल कपडाले छोपेका थिए।
हामीहरूले पनि जुत्ता राख्ने ठाउँ नजिकैबाट पहेंलो कपडा बोकिसकेका थियौँ। आधा घण्टाजति लाइनमा बसेपछि सहज रूपले दर्शन गरेर बाहिर निस्किँदा प्रसाद भन्दै बाँडेको हलुवा अमृततुल्य थियो।
त्यस्तो हलुवा आजसम्म खाइएकै रहेनछ। जिब्रोमा हाल्दा फुसुक्कै बिलाउँने। कचौराभरि खाने इच्छा जागेको थियो जब हलुवा मुखैमा बिलायो। गुरूद्वारको लंगरको चर्चा त मैले सुनेको थिएँ तर लंगरमा बस्ने सौभाग्य स्वर्ण मन्दिरमै प्राप्त भयो।
यात्रा मन पर्ने हुनाले युट्युबको सहयोगमा स्वर्णमन्दिर परिसरको लंगरको भिडिओ हेरेको थिएँ। त्यसैले जब मेरा पाइला त्यो भव्य भवनतिर सोझिए मेरा पाँचै इन्द्रीयहरू चनाखा भए।
बढो आश्चर्यजनक दृष्यहरू देखिँदै थिएँ। हजारौं मानव सागरलाई पेट्भरि खाना खुवाउन सेवारत प्रेमीहरूलाई देखेर गर्वले छाती ढक्क फुल्यो। मानवता मरेको संसारमा बसेर पो आत्तिएको रहेछु।
धन,सम्पत्ति, पद, प्रतिष्ठा र मानसम्मानलाई पन्छाएर केवल मानव सेवाका लागि कटिबद्ध हातहरू ईश्वरका हातहरूजस्तै लाग्दै थिए।
रोटी पकाउने मेसिन, आँटा मुछ्ने मेसिन, जुठा भाँडा मोल्ने त्यो प्रक्रिया, हे प्रभु! म यो कस्तो प्रेमको संसारमा आएँ यो यथार्थ या सपना के हो? मैले आफैंलाई विस्तारै चिमोटें।
मास्क लगाएका, सरदारहरू भान्सामा खटिएका छन्। फोहोर व्यवस्थापन उस्तै राम्रो छ। त्यो जुठा भाँडाको डंगुरमा पनि कति उत्कृष्ट सेवाभाव! सेवा र कामको तुलना नै गर्न सकिँदैन।
हजारौं मानव सागरको भिडमा हामी पनि पलेंटी मारेर थचक्क बस्यौँ। एकजनाले टक्क टक्क थाली, कचौरा, गिलास ल्याएर राखिदिँदै।
‘वाहे गुरु जी’ सम्बोधन गरे।
हामीले पनि वाहे गुरु जी भन्दै सम्बोधन फर्कायौँ।
नान, सब्जी , दाल र रायता हाम्रो थालीमा क्रमश: आउन थाले। हरेक सेवामा खटिएका प्रेमीहरूको एउटै बोली थियो ‘वाहे गुरु जी’ ।
यति स्वादिष्ट भोजन थियो कि म व्यक्त गर्न नै सक्दिनँ।
कसरी त्यत्रो व्यवस्थापन गरेको होला? मान्छे कति सभ्य र शालीन। अहंकारलाई त्यागेर साँचो अर्थमा मुक्त आत्मनहरू सेवाको भावले भरिएका थिए चारैतिर। अर्थ, श्रम र समयको अलौकिक समायोजन थियो। एकता, सभ्यता र धर्यताको पाठ सिक्न त गुरुद्वार कम्तीमा एकपटक जानै पर्ने रहेछ।
साथै व्यवस्थापनको गृहकार्य गर्न एकचोटि लंगरको भ्रमण गर्नैपर्ने रहेछ। प्रेमपूर्वक त्यहाँको लंगर पनि ग्रहण गर्यौं। पवित्र लंगरले हाम्रो पेट तृप्त भयो तर स्वर्ण मन्दिरको अलौकिक सौर्न्दर्यको रसपान गर्न मेरा आँखाहरू अघाएका थिएनन्।
अतृप्त मन लिएर ,पुनः स्वर्ण मन्दिरमा एक रात बसेर ,आँखा नअघाउनजेलसम्म आनन्दसँग स्वर्ण मन्दिरको प्राङ्गणमा एक रात बस्ने इच्छा बोकेर मैले अमृतसर छोड्ने निर्णयमा पुगें।
आमाको काखबाट छुटिनु पर्दा जस्तो पीडा हुन्छ मलाई स्वर्ण मन्दिरबाट हिँड्दा उस्तै पीडा भएको थियो। स्वर्ण मन्दिरलाई पछाडि फर्कीफर्की हेर्दै हामी रेल्वे स्टेसनको बाटो ततायौं। १२ बजेको रात्रीकालीन ट्रेनबाट हामीलाई दिल्ली जो फर्किनु थियो।
रेलमा सामानका साथै आ-आफ्नो व्यवस्थापन गरेर आरामदायी सिटमा लम्पसार पर्न पुगें। थकाइले होला म त झुलामा झुलेको जस्तै भएर भुसुक्क निदाएछु। बिहान उठ्दा त एकैचोटि सब्जिमन्डी स्टेसन दिल्ली पो आएछ। क्रमश: