के जाडो, के गर्मी, के बर्खा, समय मिलाएर बेलाबेलामा हाइकिङ गर्नु निकै लाभदायक हुन्छ।
यसले एकातिर हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ भने अर्कातिर आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ। त्यसैले सबैले सके हप्तैपिच्छे नसके महिनामा एक पटक भए पनि आफ्नै वरपरका गाउँठाउँमा हाइकिङ गर्ने बानी बसाल्नुपर्छ।
त्यतिले मात्र पुग्दैन, स्वास्थ्य्य रहन हरेक व्यक्तिले दैनिक कम्तिमा ४५ मिनेटदेखि १ घण्टा बिहान स्वच्छ हावामा पसिना निस्कने गरी हिँड्ने गर्नुपर्छ।
‘आस्वा आहा, उआविवि अभियान’ अन्तर्गत स्वस्थ्य, निरोग र आनन्दित रहने व्यवहारिक ज्ञान बाँड्दै आएको ‘प्रकृतिप्रेमी समूह’ ले नेपालमा हाइकिङ जागरण ल्याएको छ।
समूहले हरेक महिनाको दुई पटक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यवर्द्धक हाइकिङ गराउँदै आएको छ। यसै अभियान अन्तगर्त पुस ९ गते शनिबार काठमाडौंको भीमढुंगा क्षेत्रमा हाइकिङ भएको थियो।
भीमढुंगा
काठमाडौंबाट बाहिर जाने पुरानो नाका हो भीमढुंगा। उहिलेउहिले सडक नहुँदा हिँडेर जानु पर्थ्यो। अचेल सडक सञ्जाल जोडिएको छ। सहरीकरण बढेको छ। भीमढुंगामा घुमन्तेहरूका लागि होटल तथा रेष्टुराँ खुलेका छन्।
भीमढुंगा काठमाडौंको नार्गाजुन नगरपालिका–८ मा पर्दछ। साविकका इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगा र स्युचाटार गाविसलाई मिलाएर भीमढुंगा बनाइएको हो।
भीमढुंगाको सेरोफेरोमा घुम्नलायक धेरै सम्पदा छन्। भीमसेन मन्दिर, थाप्ले होमस्टे, महेशनारायण मन्दिर, सेतो गुम्बा, आदेश्वर महादेव, कालुपाण्डे स्मारक, स्विट्जरल्याण्ड पार्क आदि।
भीमढुंगाको पुरानो नाम भीमडुंगा हो। स्थानीय पर्यटनकर्मी श्याम कुँवरकाअनुसार उहिल्यै काठमाडौ उपत्यका तलाउ भएका बेला भीमसेन घुमफिरमा निस्केछन्। उनी तलाउ बाहिर पुग्दा उनको भेट सुप्रभा नगरका दानवराजकी छोरी प्रभावतीसँग भएछ। उनीहरूबीच प्रेम बसेछ।
उनीहरू डुंगामा चढेर प्रेमालाप गर्न थालेछन्। एक दिन उनीहरूको डुंगा त्यहाँ अड्कियो। भीमसेनले बल लगाउँदा पनि निकाल्न सकेनछन्। भीमको डुंगा अड्किएकाले भीमडुंगा भन्दाभन्दै अप्रभंस भएर भीमढुंगा भन्न थालियो।
सुन्दर छ भीमढुंगा। यहाँ वर्षैभरि घुम्न सकिन्छ। सीतापाइला चोकबाट मात्र ५ किलोमिटर दूरीमा पर्दछ भीमढुंगा। यसलाई केन्द्रमा राखेर धेरैतिर हाइकिङ गर्न सकिन्छ।
पुस ९ गते हाम्रो दोस्रो शनिबारको पदयात्रा पनि यही सुन्दर वस्ती वरपर भएको थियो। हामी निरोगधामबाट गाडीमा सीतापाइला हुँदै आदेश्वर मन्दिरसम्म पुग्यौं।
आदेश्वर दर्शनपछि पदमार्गको गन्तव्य र केही नियम पदयात्रीलाई जानकारी गराएपछि हाम्रो पदयात्रा सुरु भयो। हामीलाई सहयोग गर्न स्थानीय पर्यटनकर्मी श्याम कुँवर पनि सँगै थिए।
हाम्रो पदयात्रा गन्तव्य थियो आदेश्वर महादेवबाट सेतो गुम्बा डाडाँगाउँ, कल्लाबारी, घट्टेखोला, थाप्ले होमस्टे, बाहुनेपाटी, महेशनारायण मन्दिर, भीमसेन मन्दिर हुँदै भीमढुंगा बसपार्कसम्म।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र घन्काउँदै पदयात्रा सुरु भयो।
हामी आदेश्वरबाट सडकैसडक उकालो लागेर सेतो गुम्बामा पुग्यौं। तर वि.सं. २०७२ को विनासकारी भुकम्प पछि गुम्बाभित्र प्रवेश नपाइने भएकाले बाहिरबाटै दर्शन गर्यौं।
बिहानैको घमाइलो वातावरणमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएर हिँड्यौं। डाँडागाउँ पुगेपछि फलफूल ब्रेक गर्यौं। हामी पदयात्रामा ठाउँठाउँमा पानी र फलफूल ब्रेक गर्दै यात्रा गर्छौं।
डाँडागाउँबाट जंगलको ओरालो बाटो झर्दा रोमाञ्चित अनुभव भयो। सल्लैसल्लाको जंगलको ठाडै ओरालो झरेर फेरि हामी थाप्ले गाउँका लागि उकालो चढ्यौं। सबै हाइकर्स अनुशासित थिए। हामी जंगलको प्राकृतिक चिरबिर आवाज सुन्दै उकालो चढ्यौं।
यस क्षेत्रका गाउँहरू फूल र तरकारी खेतीका लागि प्रख्यात छन्। बाटैभरि ढकमक्क फूलहरु फुलेकाले बाटै रंगिन देखियो। सबैले फूलबारीलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचे।
हामी करिब १२ बजे थाप्ले गाउँको काजी तामाङको होमस्टेमा पुग्यौं। त्यहाँ हाम्रो लागि स्वास्थ्यवर्द्धक खाना गाउँकै अर्गानिक मकैको ढिँडो, साग र काउलीको तरकारी, दाल र गुन्द्रुकको अचार तयार थियो। सबैले मिठो मानेर खाए।
हामी सबैलाई स्वास्थ्यवर्द्धक ‘तीन बराबर आहार’ सेवनमा जोड दिन्छौं। एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलादको बाराबर मिश्रण। यसरी खाँदा शरीरलाई चाहिने फाइबर पुग्छ, कब्जियत हुँदैन। शरीर स्वस्थ्य रहन्छ।
होमस्टे परिवारलाई खाना बनाउन सहयोग पुर्याउन दाइहरू तेजराम महर्जन, न्हुछे महर्जन बिहानै त्यहाँ पुगिसकेका थिए। सबै हाइकर्सले होमस्टेको खानाको तारिफ गरे।
खाना पछि होमस्टे आँगनमा केही बेर अन्तरक्रिया गर्यौं। अनि स्वास्थ्य गीतमा नाचगान गरेर हामी ऐनडाँडा, बाहुनडाँडा, महेशनारायण मन्दिर हुँदै भीमढुंगा फर्कियौं। ऐन डाँडा मुन्तिरको सल्लाको जंगलको यात्रा पनि निकै यादगार बन्यो।
हामी भीमढुंगा बसपार्कमा आइपुग्दा अपरान्ह ४ बजेको थियो। सबैका झोलामा थाप्ले गाउँको होमस्टेमा किनिएको रायो साग, गुन्द्रुकलगायत तरकारी थियो।
यसरी उकालीओराली हिँड्दा शरीर तथा खुट्टाहरुको कसरत भई शरीर बलियो हुन्छ। स्वच्छ वातावरणमा स्वच्छ हावामा मुटु तथा फोक्सो रमाउँछ। हिँड्दा पसिना निस्कन्छ। पसिनामार्फत विकार बाहिर निस्कन्छ।
त्यसैगरी नयाँ साथीहरु बनाउन सकिन्छ। नयाँ ठाउँ पुग्दा शरीर तथा मनमा ऊर्जा बढ्छ। प्रकृति र संस्कृति बुझ्न सकिन्छ। अर्को महत्वपूर्ण कुरा हिँड्दा जहाँ पुगिन्छ त्यहाँ खाजा तथा खाना खाइन्छ र त्यस ठाउँमा उपलब्ध तरकारी तथा सरसामाग्री कोशेली किनिन्छ जसले गर्दा त्यस ठाउँको उद्यमशीलता विकासमा सहयोग पुग्छ। एक ठाउँबाट अर्को ठाउँमा हिँड्दा आन्तरिक पर्यटनको विकास हुन्छ। र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो।
पदयात्राले प्रकृतिको नजिक पुर्याउँछ। जति प्रकृतिको नजिक त्यति स्वस्थ्य, जति प्रकृतिबाट टाढा त्यति अस्वस्थ्य। तसर्थ सबैले आफ्नो ठाउँ वरपर रहेका स्थानमा पदयात्रा गर्ने बानी बसालौं। शहरका व्यक्ति गाउँ घुमौं, एक ठाउँको व्यक्ति अर्को ठाउँमा पुगौ, आफ्नो देश, आफ्नो गाउँठाउँमा पहिला आफै घुमौं। ‘आफ्नो देश, आफ्नो गाउँ आफै बनाऔं अभियानमा’ हामी सबै मिलेर लागौ। स्वस्थ्य आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याऔं।
आफ्नो स्वास्थ्य्य आफ्नै हातमा
देशको भाग्य सबैको हातमा।
अहिले मौसम खुलेको बेलामा थाप्लेबाट उत्तरतिर मुसुक्क मुस्कुराइरहेका सेताम्मे हिमालका लस्कर देखिन्छ। हामी तः पुग्यौ भीमढुंगा, तपाईं पनि हिमालको अवलोकन गर्दै उकालीओराली हिँड्न जाने होइन त भीमढुंगा?
यहाँ यस क्षेत्रका सम्पदाको चर्चा गरिएको छ।
आदेश्वर महादेवः
नार्गाजुन नगरपालिका–५ मा आदेश्वर महादेवको कलात्मक मन्दिर छ। सडक माथि थुम्कोमा अवस्थित मन्दिरभित्र महादेवको विशाल शिवलिंग राखिएको छ। मन्दिर हातामा पनि विभिन्न देवदेवीका मूर्ति छन्।
श्री स्वस्थानी व्रतकथाअनुसार सतीदेवीको आदि शरीर पतन भएको ठाउँमा महादेव उत्पन्न भएकाले तिनैलाई आदेश्वरका रूपमा पूजापाठ गरिएको हो। यो मन्दिरमा सोमबार, शिवरात्री, बाला चर्तुदशीलगायतका दिनमा तिर्थालुको भिड लाग्छ।
आदेश्वरको २२ रोपनी क्षेत्रफलमा आदेश्वरपार्क पनि छ। त्यसैले यहाँ वनभोज खानेहरूको पनि राम्रै जमघट हुन्छ।
आदेश्वर मन्दिर क्षेत्रमा थुप्रै खाजाघरहरू छन्।
सेतो गुम्बाः
स्वयम्भुनाथको पछाडि डाँडामा ‘ड्रुक अमिताव माउन्टेन गुम्बा’ छ। आदेश्वरबाट करिब २ किलोमिटर दूरीमा रहेको गुम्बाको भवनमा सेतो रङ लगाइएकाले जन बोलीमा यसलाई ‘सेतो गुम्बा’ भनिन्छ। बौद्ध दर्शनका विद्धान ग्याल्बाङ डुक्पा गुम्बाका प्रमुख छन्।
यो आनी गुम्बा हो। यहाँ आनीहरूलाई शिक्षा दिइन्छ। उनीहरू गुम्बामा बसेर योग, ध्यान तथा अध्ययन गर्छन्। उनीहरूलाई आत्मसुरक्षाका लागि कम्फु खेल पनि सिकाइन्छ। साइक्लिङ पनि गराइन्छ।
गुम्बामा बुद्ध र बोधिसत्वका ठूलाठूला मूर्ति छन्। विगतमा सेतो गुम्बा सर्बसाधारणका लागि हप्तामा एक दिन खुल्थ्यो। अचेल गुम्बा भित्र प्रवेश पाइँदैन। गुम्बा वरपर खाजाघर र होटल सुविधा छ ।
थाप्ले सामुदायिक होमस्टेः
सेतो गुम्बाबाट ४ किलोमिटर दूरीमा रहेको नार्गाजुन नगरपालिका–८ थाप्ले (१८०० मिटर) गाउँ पारिलो छ। यहाँबाट हरिया डाँडापाखा र गाउँबेसी र उपत्यकाको सुन्दर दृश्य देखिन्छ। गाउँबाट सूर्योदय, सूर्यास्तका दृश्य मात्र होइन, काठमाडौं सहर र धुनिबेंसीको दृश्यावलोकन समेत गर्न पाइन्छ।
अर्गानिक खानाका लागि थाप्ले गाउँमा सामुदायिक होमस्टे सञ्चालित छ। नागार्जुन जंगलको ऐनडाँडा चेकपोष्ट नजिकै रहेको तामाङ बस्तीमा मिठो खाना र आत्मीय बास पाइन्छ। होमस्टेमा दालभात, गुन्द्रुक ढिँडो, हरियोपरियोलगायत स्थानीय परिकार पाक्छ।
भीमढुंगा पर्या–पर्यटन विकास समितिको पहलमा वि.सं. २०६७ फागुनदेखि होमस्टे सुरु गरिएको हो। एक रात होमस्टेमा बास बस्ने गरि यात्रा योजना बनाउनु बेस हुन्छ।
सम्पर्कः काजी तामाङ–९८६९२४६२१९, होमस्टे सञ्चालक
गुप्तेश्वर गुफा र महेशनारायण मन्दिरः
बाक्लो जंगलबीचको भीरमा ठूलो चट्टान मुनि सानो प्वाल छ। निहुरिएर कौवाको चालमा हिँड्नुपर्छ गुफा भित्र। ओसिलो गुफा। अँध्यारो भएकाले टर्चलाइट लिएर मात्र गुफामा पस्नुपर्छ।
गुफामा चमेरा बस्छन्। गुफाका कुनैकुनै भाग साँघुरा र अफ्ठेरा छन् त्यसैले शरीर मिलाएर छिर्नुपर्छ। प्रवेशद्वारबाट करिब १५ मिटरमा छन् शिव र पार्वतीका मूर्ति। ढुंगाका राताम्मे शिला, त्रिशूल अनि साना घण्ट। यहाँ हरिबोधनी एकादशीमा मेला लाग्छ।
गुफाभन्दा माथि महेशनारायण मन्दिर छ। ठूलो रूखमुनि चट्टाने ओढारमा बसेका छन् नारायण। यहाँ ठूलो एकादशीमा मेला लाग्छ।
भीमसेन मन्दिरः
भीमढुंगाको शिरमा भीमसेन मन्दिर छ। यहाँ गणेश र भीमसेनका मूर्ति राखिएका छन्। भीमढुंगासँग भीमसेनको सन्दर्भ जोडिएको छ। त्यसैले यहाँ उनको मन्दिर बनाइएको हो।
मन्दिरमा नित्य पूजा हुन्छ। त्यस्तै हरेक वर्ष भिमा एकादशीका दिन भीमसेन जात्रा हुन्छ। १२ वैशाख २०७२ को भुइँचालोले भत्किएको भीमसेन मन्दिर पुनः निर्माण गरिएको छ।
सीतापाइला–धार्के सडक खण्डको किनारमा भीमसेन मन्दिर छ। दसैंको बेलामा गोरखादेखि काठमाडौंको हनुमान ढोकासम्म ल्याउने फूलपाती धादिङको धुनिबेसी हुँदै भीमढुंगाको बाटो भएर ल्याइन्छ।
कसरी पुग्ने?
काठमाडौको सीतापाइला चोकबाट ५ किलोमिटरमा भीमढुंगा। हाइकिङ गर्दा काठमाडौंको सीतापाइला चोकबाट आदेश्वर मन्दिरसम्म गाडीमा। आदेश्वरबाट सेतो गुम्बा, डाँडागाउँ, थाप्ले, ऐनडाँडा चेकपोष्ट, बाहुनडाँडा, महेशनारायण मन्दिर हुँदै भीमसेन मन्दिरबाट भीमढुंगा बसर्पाकसम्म पदयात्रा।
आदेश्वर मन्दिर– थाप्ले होमस्टे ७ किलोमिटर (उकाली ओराली), थाप्ले– भीमसेन मन्दिर ७ कि.मि.। जम्मा पदयात्रा दूरी १४ किलोमिटर। समय ५ घन्टा।
अधिकांश पदमार्ग नागार्जुन निकुञ्जको बफर जोनमा पर्दछ। तसर्थ हिँड्दा ध्यान दिएर हिँड्ने र सैनिक इलाका नजिक चर्को स्वरले नकराउने तथा फोटो नखिच्ने।
(महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)
रामदेवीका अन्य लेख पढ्न ...