पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।
शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका २३ जना र अफगानिस्तानका ९ जना सैनिक मारिएका छन्। यो तथ्यांक दुवै पक्षको सेनाका अधिकारीहरूले जानकारी दिएको भनेर रोयटर्सले लेखेको छ।
यद्यपि दुवै पक्षले त्यो भन्दा बढी सेना मारिएको दाबी गरेका छन्।
पाकिस्तानले २ सय जना अफगानी सेना मारिएको दाबी गर्दा अफगानिस्तानले ५९ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।
तर यसको स्वतन्त्र पुष्टि नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।
पाकिस्तान र अफगानिस्तानको सीमानामा दुई देशका सेनाबीच शनिबार भएको गोलिबारीको घटना अफगानिस्तानमा तालिबान आएयताकै ठूलो भनिएको छ। सन् २०२१ देखि तालिबान अफगानिस्तानको सत्तामा छ।
अफगानिस्तानले गत बिहीबार काबुलमा पाकिस्तानले हवाई हमला गरेको आरोप लगाउँदै सीमानामा उनीहरूको सेनामाथि हमला गरेको बताएको छ।
अफगानी रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले गत साता पाकिस्तानले हवाई क्षेत्र उल्लंघन गरेको र काबुलमा हमला गरेकाले त्यसको जबाफ दिएको बताएका छन्।
'यदि पाकिस्तानले पुनः अफगान आकाश क्षेत्र उल्लंघन गर्यो भने हाम्रो सेनाले बलियो जवाफ दिनेछ,' उनले भने।
प्रवक्ता इनायतुल्लाहले भिडन्त राति १२ बजेतिर अन्त्य भएको पनि रोयटर्ससँग बताएका छन्।
तालिबानले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानी अधिकारीहरूले पनि कैयौं अफगानी चौकी नष्ट पारिएको बताएका छन्।
यो भिडन्त यसअघि पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेर पाकिस्तानी तालिबान (टीटीपी) समूहका नेतामाथि लक्षित आक्रमण गरेपछि सुरु भएको हो।
ती नेता सवारीसाधनमा यात्रा गरिरहेका बेला हमला भएको थियो। उनी मारिएका वा बाँचेका बारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
इस्लामाबादले अफगान तालिबान प्रशासनलाई पाकिस्तानी तालिबान 'आतंककारी'लाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। पाकिस्तानको दाबी अनुसार ती समूहहरू भारतको समर्थनमा पाकिस्तानभित्र आक्रमण गरिरहेका छन्।
भारतले भने यस आरोपलाई अस्वीकार गरेको छ।
अफगानिस्तान र पाकिस्तानबीच सीमानामा लडाइँ भएपछि कतार र साउदी अरबले संवादमार्फत समाधान खोज्न आग्रह गरेको थियो। त्यसकारण सीमानाको गोलीबारी रोकेको काबुलले जनाएको छ।
भिडन्तपछि पाकिस्तान र अफगानिस्तानले सीमा नाका बन्द गरेका छन्। दुई देशले २ हजार ६ सय किलोमिटर सीमाना साझा गर्छन्। तोर्खम र चमनको मुख्य नाका र खरलाची, अंगुर अड्डा र घुलम खानजस्ता साना नाकाहरू पनि बन्द गरिएको अधिकारीहरूले जनाएका छन् ।