यसपालि दसैंमा दुई 'जीवित' देवी–देवताले चर्चा पाए — काठमाडौंकी 'जीवित देवी' कुमारी र भक्तपुरका 'जीवित देवता' श्वेत भैरव।
दसैंको अष्टमीका दिन साढे दुई वर्षकी आर्यतारा शाक्यलाई राजकीय कुमारीमा स्थापना गरिएको थियो। त्यसैको दुई दिनपछि विजया दशमीका दिन साढे तीन वर्षका ऋषभ वनमाला भक्तपुरको नवदुर्गा देवगणका श्वेत भैरव बने।
यी दुवै जीवित देवता सामाजिक सञ्जालमा भाइरल छन्। उनीहरूको अबोधपनाको धेरैले तारिफ गरिरहेका छन्। श्वेत भैरवलाई त धेरैले भनिरहेका छन्, 'आहा, क्या क्यूट भगवान!'
हामीले यसअघि कुमारी आर्यतारा को हुन् भनेर लेखेका थियौं। यो स्टोरीमा श्वेत भैरव ऋषभ को हुन् र उनको स्वभाव कस्तो छ भनेर चर्चा गर्दैछौं।
ऋषभको घर भक्तपुरको नवदुर्गा मन्दिर नजिकै छ। उनी आमा सत्यलक्ष्मी, बुबा रविन्द्र, हजुरआमा र दुई दिदीसँग बस्छन्।
काठमाडौंकी आर्यतारा कुमारी बनेपछि परिवारबाट अलग बसेजस्तो श्वेत भैरवले परिवारबाट अलग्गिनु पर्दैन। उनी भगवान बन्ने समयमा मात्र बाहिर निस्कन्छन्। अरू बेला सामान्य बालकको जीवन बाँच्छन्। उनी अहिले प्रि–नर्सरीमा पढिरहेका छन्।
विजया दशमीको दिन भगवान बनेपछि ऋषभ यो शनिबार दत्तात्रय मन्दिर परिसरमा श्वेत भैरवका रूपमा देखिएका थिए। उनी नवदुर्गा मन्दिरबाट सेतो वस्त्र र गरगहना लगाएर भगवानका रूपमा बाहिर निस्किए। हिँड्दै, दौडिँदै, कहिले आफन्तको बुइँ चढ्दै उनी दत्तात्रयस्थित वाने लायकू प्रवेश गरे। त्यहाँ तान्त्रिक पूजाविधि र नाच भयो।

अन्य नवदुर्गा गण र देवताहरूमध्ये सबैको चासोको विषय श्वेत भैरव नै थिए। उनकै वरिपरि धेरै जना झुम्मिएका थिए। भक्तजनहरू कसैले उनलाई चक्लेट दिँदै थिए त कसैले आइसक्रिम। कतिपयले उनीसँग आशीर्वाद लिएर पैसा पनि चढाए।
नवदुर्गा देवगण बन्न वनमाला समुदायका मानिसले मात्र पाउँछन्। यो कुनै बेला फूल बेचेर जीविकोपार्जन गर्ने समुदाय हो।
नवदुर्गा देवगणमा सिंह दुम्ह, बालकुमारी र भैरवको भूमिका निर्वाह गरेका कलाकार तथा फोटोग्राफर बालकृष्ण वनमालाका अनुसार उनीहरू पहिले वनबाट फूल टिपेर घर–घर, मन्दिर–मन्दिर पुर्याउने काम गर्थे।
'पछि सरकारले वनमालाहरूलाई फूल रोपेर कमाइ गर्न जग्गा दियो। उनीहरूले त्यही जग्गामा फूल रोप्न थाले,' उनले भने।
यसरी फूल पुर्याउने कामसँगै एकदिन उनीहरूलाई भगवान बन्ने जिम्मेवारी पनि आयो।
'फूल पुर्याउन गएका बेला जोशी (पूजारी समुदायका मानिस) हरूले खर्पनमा देवताको मुकुट दिएर देवता बन्न लगाएको भनाइ छ,' नवदुर्गाबारे अध्ययन–अनुसन्धान गरिरहेका बालकृष्णले भने, 'अहिले सामान बोक्न डालो र विभिन्न सामग्री आइसके। तैपनि खर्पनमा भगवानको मुकुटहरू बोकेर ल्याउने चलन कायम छ।'
चित्रकार समुदायले बनाउने देवगणका मुकुट नवमीको दिन बोकेर ल्याइन्छ। दशमीको दिन ब्रह्मायणीमा प्रदर्शन गरेपछि वनमाला समुदायमा पालो परेका व्यक्ति मुकुट लगाएर भगवान बन्छन्। नवदुर्गा देवगणमा नौवटा अष्टमात्रिकाका साथमा सिंह दुम्ह, भैरव, चण्डी लगायत गरेर १९ जना भगवान हुन्छन्।
देवगण बन्न वनमाला समुदायमा पालो आउँदा यस पटक ऋषभलाई श्वेत भैरव बन्ने अवसर आएको थियो।
'हरेक वर्ष पालो आइरहेको हुन्छ। आफूलाई इच्छा भयो भने भगवान बन्न पाइन्छ,' ऋषभका बुबा रविन्द्रले छोरातर्फ संकेत गर्दै भने, 'हामीलाई पनि उहाँ एक पटक भगवान भएको हेर्ने मन थियो। उहाँले पनि इच्छा देखाउनुभयो।'
भर्खर साढे तीन वर्षका ऋषभले कसरी आफ्नो इच्छा देखाए होलान्?
हाम्रो यो जिज्ञासामा आमा सत्यलक्ष्मीले भनिन्, 'मोबाइलमा बाबु खाली भगवानको भिडिओ हेर्नुहुन्छ। बाजाको ताल सुन्नेबित्तिकै नाच्न थाल्नुहुन्छ। अनि यस पटक भगवान बन्ने भनेर सोध्दा उहाँले इच्छा देखाउनुभएको थियो।'
हामीले ऋषभलाई भेट्दा पनि उनी आफ्नै भगवान बन्दाको भिडिओ हेरिरहेका थिए। कहिले आफ्नो स्वरूप देखेर दंग थिए त कहिले रूँदै थिए।
'अहिले आफैलाई हेरेर बाबु–बाबु भन्नुहुन्छ,' रविन्द्रले भने।

भगवान बन्न आफ्नो र परिवारको इच्छा त छँदैछ, नवदुर्गा भवानीको पनि इच्छा हुनुपर्ने बालकृष्ण वनमाला बताउँछन्।
'नभए त भगवानको मुकुट देखेर कति जना बच्चा डराउँछन्, तर उहाँ डराउनुभएन,' उनले भने, 'यसले पनि वनमाला जातिको गुण हुनु र नहुनुमा फरक पर्छ भन्ने प्रमाणित गर्छ।'
अर्को गुण भनेको उनीहरूले ब्रतबन्ध नगरेको हुनुपर्छ र नवदुर्गाको विशेष प्रकारको मोहनी टीका नलगाएको हुनुपर्छ। यो वर्ष ऋषभझैं सिंह दुम्ह र बालकुमारी साना उमेरका केटाहरू भएका छन्। उनीहरू करिब ९–१० वर्षका छन्।
बालकृष्णका अनुसार श्वेत भैरव भनेको चन्चले स्वभावका देवगण हुन्। उनी सेतो गहुँगोरो वर्णका हुन्छन् र उनको मुस्कानले सबै केटी मख्ख पर्छन्।
'ऋषवमा यी सबै गुण भेटिन्छ,' बालकृष्णले भने।
अर्को गुण भनेको वनमालाहरू अष्टमात्रिकाले घेरिएको भक्तपुर इलाकाभित्रकै हुनुपर्छ। बालकृष्णले अनुसन्धान गर्दा ५२५ घरधुरी वनमालाको तथ्यांक संकलन गरेका थिए।
'कसैको घर भक्तपुरमा छैन भने यहाँ डेरा बसेको वा कुनै आफन्तकहाँ बसेको भए पनि मिल्छ,' उनले भने।

नवदुर्गा नाचलाई लिच्छविकालीन मानिन्छ। लिच्छवि राजाहरूले नेपाल मण्डल (भक्तपुर) का चारै दिशामा अष्टमात्रिका स्थापना गरी नगर रक्षा गर्न यो नाच सुरू गरेको भनाइ छ।
हरेक वर्ष नवदुर्गा नौ महिनासम्म जीवित रहन्छन्। भलभल अष्टमीका दिन उनीहरूको मृत्यु हुने मान्यता छ। त्यो मान्यताले मानिसको शव जसरी नै उनीहरूको मुकुटलाई ब्रह्मायणीमा जलाइन्छ। यसले संसारमा भगवानसहित सबै कुराको अन्त्य हुने संकेत गर्छ।
ऋषभ भगवान बनेर देखा पर्ने पनि अब भलभल अष्टमीकै दिन मात्र हो। त्यसबीच र त्यसपछि उनको दैनिकी सामान्य बालकको हुन्छ।
'एक पटक पालो बसेपछि अर्को पटक नबस्दा पनि हुन्छ। फेरि बस्न मन भए बस्न पाइन्छ,' बुबा रविन्द्रले भने, 'पछि अरू देवगण बन्छु भन्दा पनि पाइन्छ।'
रविन्द्र आफै पनि सानोमा नवदुर्गा देवगणमा सिंह दुम्ह बनेका थिए। ८–९ वर्ष उमेरमा देवगण भएका उनले एक वर्ष मात्र त्यो भूमिका निर्वाह गरे। उनका बुबा पनि एक पटक गणेश भएका थिए।
'वनमाला जातिमा देवगण नबन्ने विरलै हुन्छन्,' उनले भने, 'तर नियम गाह्रो हुने र आफ्नै पैसा खर्च हुने स्थिति भएकाले कतिपयले इच्छा हुँदाहुँदै बन्दैनन्।'
उनका अनुसार भगवान बन्दा पहिले रातभर मन्दिर वा पाटीमा पराल ओछ्याएर सुत्नुपर्थ्यो। भगवान बनेर हिँड्दा र नाच्दा जुत्ता लगाउन पाइन्न। खाना खान पनि हुन्न। १०–१२ किलोको मुकुट टाउकोमा बोकेर हिँड्नुपर्छ। घामपानी, बाढीपहिरो कुनै कुराको मतलब नगरी भगवान बनेर हिँड्नुपर्छ। नियममा बस्नुपर्छ। सबभन्दा त आर्थिक भार नै बढी हुन्छ।
'हामी यति दुःख गरेर भगवान बन्छौं। तर सरकारबाट राम्रो पहिचान र आर्थिक प्रोत्साहन छैन,' बालकृष्णले पनि यो कुरामा सहमति जनाउँदै भने, 'देवगण बनेपछि भोज खुवाउनुपर्छ। त्यसमै धेरै खर्च हुन्छ। कतिपय त ऋण नै गरेर पनि देवता बनेका छन्।'
यिनै दुःखका कारण देवगणहरूले एक पटक पालो बसेपछि खासै त्यसमा चासो नदेखाउने गरेको उनीहरू बताउँछन्।
'अब त हामी चाहेर पनि देवगण बन्दैनौं होला,' रविन्द्रले भने, 'मानिसलाई देवगण बन्दा सजिलै होला जस्तो लाग्ला तर एकदम धेरै दुःख हुन्छ। फेरि सधैं भगवान बनेर पनि भएन, आफ्नो काम पनि गर्नुपर्यो।'
साना बच्चाहरूलाई भने त्यति धेरै सास्ती नहुने उनीहरू बताउँछन्। शनिबार तान्त्रिक विधिबाट पूजाआजापछि नवदुर्गा देवगणहरूले भक्तपुर र अन्य ठाउँका विभिन्न टोलमा गएर प्रदर्शन गर्नुपर्छ। त्यो प्रदर्शनका लागि साना देवगणहरू जाँदैनन्।
श्वेत भैरव बनेर विभिन्न ठाउँमा प्रदर्शन गर्ने जिम्मेवारी ऋषभबाट शनिबार विशाल वनमालाले पाएका छन्। उनी करिब २२–२३ वर्षका छन्।
'बाबुको भिडिओ सामाजिक सञ्जालमा देख्नेहरूले यति सानो बच्चालाई किन यति ठूलो जिम्मेवारी दिएको भनेर प्रतिक्रिया जनाइरहनुभएको छ। तर उसका लागि यो अवसर हो,' आमा सत्यलक्ष्मीले भनिन्, 'यो अवसर जो–कोहीले पाउँदैनन्।'
***



