२०७९ साल पुस २ गते शनिबारका दिन बिहान आफ्ना सहचालकसहित माइक्रो लिएर प्रकाश अधिकारी भाइ समयमै आइपुगे। हामी तयारी अवस्थामा नै बसेका थियौं। बस्ने-खाने सामान गाडीमा राखी १७ यात्रु र दुई चालक गरी १९ जनाको टाेली बिहान ७ बजे नै एकदिने धार्मिक भ्रमणमा लागि निस्कियौं।
हाम्रो गन्तव्य-काठमाडौं महानगरपालिकाको सिमाना रहेको तारकेश्वर नगरपालिका क्षेत्रका तीन धार्मिकस्थल थिए। ती तारकेश्वर महादेव, भुवनेश्वरी मन्दिर र शान्ति धाम (बद्रीनाथ) थियो।
मिनपचासकाे समय, त्यसमाथि हुस्सु र बादलले धुम्मिएकाे माैसम भएकाले चिसोकाे पाराे राम्रै चढिसकेकाे महशुस भयाे। गाैरीघाट, चावहिल, माछा पाेखरी, रानीवन, ओशाे आश्रमकाे बाटो हुँदै हाम्रो यात्रा तारकेश्वरतर्फ अघि बढ्दै गयाे। बाटोकाे अवस्था अधिकांश ठिकै थियो। तर केही ठाउँमा भने निकै बिग्रिएकाे देखियोे।
हामी बिहान साढे आठ बजे पाँचमाने भञ्ज्याङ पुग्याैं।
पाँचमाने पुग्दा टण्टलापुर घाम लागिरहेको थियाे। माथि उक्लदै गर्दा खासै बस्ती देखिएन, फाट्टफुट्ट घरहरु मात्रै थिए। एउटामात्र सामान्य पसल देखियाे। सवारीबाट झरेर हामी मन्दिर जान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरकाे जंगलभित्रको बाटो गर्यौं। हल्का सिरेटाे चलिरहेकाले वातावरण चिसाे थियोे। घाम नछिर्ने घना जंगलको बीचकाे बाटाेका ठाउँ ठाउँमा बस्ने मेच सहितका विश्राम स्थल थिए। स्थानीयका अनुसार यहाँ राती जंगली जनावरहरु आउने रहेछ।
वरिपरि भएका रमणीय दृश्य हेर्दै झण्डै ३५ मिनेट सिँढी भएको ठाडाे उकालो र प मिनेट समथल ओरालो बाटो हिंडेपछि हाम्रो टाेली बिहान सवा नौ बजे मन्दिरकाे तल्लो गेटमा पुग्यो। भित्र पस्नासाथ बाटाेकाे दायाँतर्फ, बीचमा नागकाे अग्लो स्तम्भ सहितकाे पानीको ठूलो जलाशय, कलकल बग्ने धाराहरू र देवी देवताका मूर्ती देखिए। त्यहाँबाट ढुंगा छापिएको ठाडाे सिँढी चढ्दै महादेवकाे प्राचिन प्रस्तर मूर्ति भएको स्थानमा पुग्यौं।
अलिकति माथि बाबाको आश्रम र धुनी रहेछ। त्योभन्दा माथि सानाे गुफा जहाँ गणेश, शिव र नन्दीकाे मूर्ती स्थापना गरिएको थियो। त्यहीँ नजिक अप्ठ्यारो ठाडो पहराेमा फलामको भर्याङ उक्लेर तारकेश्वर महादेवकाे पूजा र दर्शन गर्नुपर्ने रहेछ। हामीले मन्दिरमा पूजा अर्चना गरी दर्शन गर्यौं।
त्यहाँबाट तल ओर्लने क्रममा तलकाे शिवमूर्ती नजिकै मन्दिर परिसरकाे संरक्षण र नित्य पूजा गर्दै आउनुभएका तारकेश्वर नगरपालिकाका कर्मचारी रामकुमार धिताल भेटिनुभयाे। उहाँले भनेअनुसार उनको तेह्राैं अघिको पुस्तादेखि नै यहाँ नित्य पूजाआजा हुँदै आएकाे रहेछ। परापूर्वकालमा यहाँ विवाह-व्रतबन्ध गर्न आउनेका लागि गाग्री, खड्कुलाे यही उत्पन्न हुने रहेछ। त्यसैगरी पकाउनका लागि भाँडाकुँडा पनि यहीँ उत्पन्न हुने गरेकाे रहेछ। पछि कुनै व्यक्तिमा लाेभ पैदा भई पन्यू नबुझाएपछि भाँडाकुँडा उत्पन्न हुन छाडेको किम्बदन्ती पनि उहाँले सुनाउनुभयो।
कसैको पुत्र नभए, बालककाे बाेली नफुटे, घरमा अशान्ति भए तीमध्ये एउटा मात्र आकांक्षा राखेर यहाँ लाखबत्ती बालेमा मनाेकांक्षा समेत पूरा हुने जनविश्वास रहेछ।
नित्य पूजाकर्ता धितालका अनुसार दरबारसँग पहुँच भएका कालिबाबाले २०३८ सालबाट माथि पहराेमा (हालकाे माथिल्लो महादेव स्थानमा) तपस्या स्थल बनाएर बस्न थालेको, गाउँलेहरूले `बाबा, देवता भन्दा ठूलाे तपाईं हो हामी काेही पनि हैनाैं। हामी र अरु मानिस तपाईलाई भेट्न माथि आउँदा तलकाे महादेवकाे मूर्ति नाघिन्छ, यसबाट मन्दिर अपवित्र भयाे, महादेव रिसाए भने अनिष्ट हुनसक्छ त्यसैले यहाँबाट तपस्यास्थल हटाउनु पर्यो´ भनेपछि, बाबाले `जे भयाे भयाे, अब म याे स्थानमा मूर्ती स्थापना गरिदिन्छु´ भनी आफ्नो तपस्यास्थल पहराेमा महादेव स्थापना गरेकाे तर त्यहाँ ढाेका समेत बनाएर आफू पूजा गर्न जाँदा मात्रै खाेल्ने र अरुबेला बन्द गर्ने गरेकोमा, २०५६ माघमा कालिबाबाको मृत्यु भएपछी ढाेका हटाएर पूजाआजा खुल्ला गरिएको रहेछ।
सायद थाहा नपाएर हाेला, अहिले दर्शनार्थीहरुले वास्तविक प्राचीन मूर्तिलाई भन्दापनि पछि स्थापित मूर्तिमा पूजाआजा गर्ने गरेकाे देखिन्छ।
स्कन्द पुराणकाे केदार खण्ड अन्तर्गतको स्वस्थानी व्रतकथाका अनुसार महेन्द्र भन्ने स्थानमा सतीदेवीको दाहिने तिघ्रा पतन भएको हाे। त्यहाँ इन्द्राणी देवी तथा तारकेश्वर महादेवकाे उत्पत्ति भएको थियोे। यस पुस्तकलाई आधार मान्ने हाे भने सतीदेवीकाे दाहिने तिघ्रा पतन भएको मानिने यस पाँचमाने डाँडाकाे प्राचिन नाम महेन्द्र थियो।
यसैगरी स्वस्थानीमा सतीदेवीकाे हरेक अंग पतनस्थलमा देवीको पीठका साथै महादेवकाे समेत उत्पत्ती भएको उल्लेख भए पनि तारकेश्वर महादेवमा कुनै देवीपीठ देखिएन। यसबारेमा स्थानीय र पुजारीलाई पनि केही थाहा छैन। याे कुरा भने अलिक अमिल्दाे छ। हुन त, तारकेश्वर महादेवभन्दा एकघण्टाकाे पैदल दुरीमा भुवनेश्वरी मन्दिर पनि छ। तर त्यस्काे स्थापना भएको करिब १८ वर्षमात्रै भएकाले त्यसलाई सतीदेवीकालिन देवीपीठ मान्न नसकिने स्थानीयकाे मत छ।
इतिहास जे जस्तो नै किन नहाेस्, वर्तमानमा तारकेश्वर महादेव मन्दिर काठमाडौं उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको महत्वपूर्ण तीर्थस्थलका रुपमा परिचित छ। ऐतिहासिक पाँचमाने भञ्ज्याङ र जितपुरफेदीबाट समेत हुँदै पुग्न सकिने यस मन्दिरमा शिवरात्री, जनै पूर्णिमा र नयाँ वर्षको दिन मेला लाग्छ। प्राकृतिक सौन्दर्यको खानी मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न टाढाटाढाबाट समेत भक्तजनहरु आउने गर्छन्।
मन्दिरमा पूजाआजा गर्दै वरिपरी अवलोकन गरि स्थानीयका कुरा सुनी जानकारी बटुल्दै करीब डेढघण्टा मन्दिरमा बिताएर त्यहाँबाट हामी हिँड्यौं। माइक्रोबस राेकेकाे स्थानमा पुगी साढे ११ बजे चिया, बिस्कुट खायौं।
चियापान गर्दै गर्दा, त्यहाँ बारीमा काम गरिहनुभएको स्थानीय युवा पुरुषाेत्तम धितालसँग केही कुराकानी भयाे। उहाँले त्यस ठाउँको थप जानकारी दिनुभयो। तत्कालीन समयमा काठमाडौंबाट नुवाकोट, गाेरखा लगायत स्थानमा जाने प्रमुख मार्गका रुपमा रहेकाे याे एतिहासिक पाँचमाने भञ्ज्याङ, पूरानाे पूर्वपश्चिम राजमार्ग भनेर समेत परिचित रहेछ। याे बाटोकाे प्रख्यात नाका पनि रहेछ। कुनै समय चिनियाँ सैनिकले काठमाडौंमा आक्रमण गर्न याे बाटो भई आउँदा जनताले उनीहरूलाई यसै नाकामा राेकेका थिए अरे! यही बाटो आएर पृथ्वीनारायण शाहले काठमाडौं जितेका हुन् रे!
आफू सानो छँदा, बुबा-हजुरबुबाले खडेरी परेकाे बेला पानी देऊ महादेव भनेर तारकेश्वरमा रुद्री लगाउँदा त्यसैदिन साँझ पानी पर्ने गरेको घटनाको स्मरण गर्दै, साविकको केही भाग पहिराेले भत्किएकोले पाँचमाने भञ्याङमा पाँचवटा ठूला माने सहितको पार्क निर्माणाधीन रहेको पनि बताउनुभयो। यस्तै जानकारी सङ्गाल्दै हामी त्यहाँबाट अर्को गन्तव्य भुवनेश्वरी मन्दिरतर्फ लाग्यौं।
१५ मिनेट दुरीकाे कच्ची धुलो बाटो पार गरेर भुवनेश्वरी मन्दिर पुग्यौ। मन्दिर परिसर निर्माणाधीन अवस्थामा थियो। चारैतिरबाट मन्दिरभित्र प्रवेश गर्न मिल्नेगरी अग्लो उचाइमा बनाइएकाे मन्दिर संरचना भव्य देखिन्थ्यो। मन्दिरमा मानिसको चहलपहल थियो। मन्दिरको दक्षिणी भागबाट पानीको सानाे खाेल्सामा खुट्टा डुबाएर ठाडो लामो सिँढीहरू चढ्दै देवीको दर्शन गर्न मन्दिरभित्र पस्नु पर्ने व्यवस्था रहेछ। भित्र पसेपछि बीच भागमा देवीको सुन्दर मूर्ती देखिन्छ। मूर्ती अगाडिको भागमा श्रीयन्त्र छाेपेर राखिएको जानकारी पाइयाे। देवीको दर्शन टाढैबाट गर्नुपर्छ।
सुरुमा ठूलाठूला काठका दलिनबाट बनेको याे मन्दिर निर्माण भएकाे करिव १० वर्षमै २०७२ काे महाभूकम्पले पूर्णरूपमा भत्काएपछि हालकाे संरचना रहेको मन्दिरभित्र प्रसाद लगाइदिन बसेका धर्मराज अर्यालले बताउनुभयाे। ब्रह्मचारी श्याम बाबाको सक्रियतामा नगन्य सरकारी लगानीमा बन्दै गरेको मन्दिरकाे अगाडिको भागमा आश्रममा श्यामबाबा बस्ने पनि उहाँले जानकारी दिनुभयो।
त्यहाँ भेटिनुभएका मन्दिरसँग सम्बन्धित व्यक्ति बलराम जमकटेलसँगकाे कुराकानीमा, मन्दिर परिसर सामुदायिक वनकाे साँढेपाँच हेक्टर जग्गामा अवस्थित भएको कुरा थाहा भयाे। उहाँका अनुसार मन्दिरकाे इतिहास करिव १८ वर्ष मात्रै पुरानो रहेछ। मन्दिर परिसरकाे सम्पूर्ण निर्माणकार्य सकिन करिब ५-७ वर्ष लाग्ने र त्यसपछि याे स्थान गजबको पर्यटकीय स्थल हुने पनि उहाँको धारणा थियो। हाम्रो अनुमान पनि त्यस्तै रह्यो।
हामीले मन्दिरको अवलोकन गर्यौं। तस्बिर खिच्याैं। अनि मन्दिरभन्दा अलिकति माथितिर डाँडाकाे खुला चाैरमा बसेर घरबाटै लगेको खानेकुरा खायाैं। हाम्रो टाेलीका केहीले त्यहाँको बारीमा फलेको तरकारी साग, मुला र बकुल्ला समेत किन्न भ्याए।
त्यसपछि गाडीमा चढेर पाँचमाने भञ्ज्याङबाट जितपुर फेदी हुँदै दिनकाे दुई बजे उक्त दिनको अन्तिम र तेस्रो गन्तव्य काभ्रे स्थित बद्रीनाथ मन्दिर अर्थात् शान्तिधाम गर्यौं।
हामी शान्तिधाम पुग्दा मन्दिर बन्द रहेछ। तीन बजे मात्रै खुल्ने जानकारी पायौं। यस बीच मन्दिरकाे अवलोकन गर्दै तस्बिर खिच्ने काम गर्यौं। एक वर्षअघि पहिलोपटक यहाँ आउँदा निर्माणाधीन रहेको बाटो कालाेपत्रे भइसकेछ। मन्दिरमा पनि केही संरचना थप भएछ। मन्दिर परिसर सुन्दर त छँदै थियाे।
मन्दिरमा आइरहने स्थानीय रमेश शर्माकाे भनाइमा, यस शान्तिधाममा पछिल्लो समयमा आन्तरिक पर्यटकहरूकाे चहलपहल बढेको रहेछ। बिदाको दिनमा दर्शन गर्न आउने, नजिकै पिकनिक मनाउन आउने र हाइकिङ गर्न आउनेकाे संख्या निकै रहेछ। मन्दिर स्थापना भएपछि यहाँ जग्गाको भाउ पनि आकाशिएकाे उहाँको अनुभव थियो।
यसैक्रममा तीन बजे मन्दिर खुल्याे। सबैले दर्शन गर्याैं। हाम्रो टाेलीका केही सदस्यले भजन-किर्तन समेत गरे। हाम्रो आजको कार्यक्रम पनि त्यति नै थियो। त्यसैले पौने चार बजे घर फर्कने तरखरमा लाग्यौं। माइक्रो चढ्याैं। साँझ साढे चार बजे एकदिने भ्रमणलाई समापन गर्यौं।
भ्रमणमा खट्किएका दुई कुरा:
पहिलो - कतिपय पर्यटकीय स्थानहरूमा तस्बिर खिच्न दिइन्न। मलाई लाग्छ, पर्यटन प्रवर्द्धनका लागि यसाे गर्नु ठिक हाेइन! सुरक्षाको दृष्टिले अति संवेदनशील प्राचीन पुरातात्त्विक सम्पदा बाहेकका नवनिर्मित पर्यटकीय स्थानमा फाेटाे खिच्नमा प्रतिबन्ध लगाउनु हुँदैन। व्यवस्थित तरिकाले तस्बिर खिच्न दिँदा साे स्थानको उचित प्रचारप्रसार हुने र यसबाट पर्यटककाे संख्यामा वृद्धि भई पर्यटन प्रवर्द्धनमा टेवा मिल्न जाने मेराे व्यक्तिगत धारणा छ।
दाेश्राे - यतिधेरै पर्यटकको चहलपहल हुने यी तीनवटै धार्मिक क्षेत्रका आसपासमा एकछिन बसेर चिया र नास्तापानी गर्न मिल्ने पसल व्यवसाय नहुँदा यात्रुहरूलाई निकै असुविधा भएको देखिन्छ। सम्बन्धित क्षेत्रका व्यवस्थापन पक्षले यसतर्फ ध्यान दिनु जरूरी छ।
अन्त्यमा, भन्नै पर्ने कुरा - पहिलेजस्तै यसपटक पनि आफू भ्रमणमा जाने नजाने भन्ने टुंगो समयमै नदिएकाले केही व्यक्तिलाई सवारीमा स्थान अभावले भ्रमणमा समेट्न सकिएन। यसले अलि खिन्नता महशुस भयाे। तर जे हाेस्, समग्रमा भ्रमण भने रमाइलो र उपलब्धिमूलक नै रह्यो।