राज विद्या केन्द्रलाई केन्द्रमा राखेर करिब १० बजे द्वारका मोडबाट मेट्रो चढेर जनकपुरी पश्चिम ओर्लियौं। त्यहाँबाट हौजखास स्टेसनसम्मका लागि अर्को मेट्रो चढ्नु पर्दो रहेछ। मेट्रोको यात्रा बडो आनन्ददायी लाग्दै थियो।
सामुन्ने टीकाराम भिनाजुको शालीन काया मुस्कुराई रहेको थियो। उहाँको साथ र सहयोग नभएको भए यो यात्रा सायद असम्भव हुन्थ्यो।
हाम्रो यात्रा यति सहज पारिदिनु भएकोमा टीकाराम भिनाजुप्रति हृदयबाट नै कृतज्ञता प्रकट गर्दै उच्च सम्मानका साथ हेरिरहेका आँखाहरू अनायास झ्यालतिर मोडिए।
तीव्र गतिमा गुडिरहेको मेट्रोबाट दिल्ली सहर नियाल्दा वरिपरिका दृश्यहरू खुसीले नाच्दै मलाई नै पो पछ्याउँदै रहेछन्। साँच्चै दिल्ली दिलवालों कै सहर रहेछ। यहाँको जीवन पनि त मेट्रोजस्तै तीव्र गतिमा दौडिरहेको हुन्छ होला नि!
मलाई जिस्क्याउँदै स्वाट्ट स्वाट्ट भागिरहेका भूगोल हेर्दै म सोचमग्न भएँ। साँझ जम्मु जाने ट्रेन चढ्नु थियो। कतै नेपालको जस्तै जाम भयो भने ? हाम्रो पैसा त पानी मै डुब्छ।
तत्काल अर्को मनले भन्यो- ‘मेट्रोको रफ्तार हेर् त किन सुर्ता गर्छेस्! समयमा अवश्य फर्किन सकिन्छ’ अनि भित्रैबाट विश्वास जागेर आयो।
वास्तवमा हामी नेपालीलाई आफूले भनेको समयमा गन्तव्यमा पुगेर पुनः फर्किन सक्नु निकै ठूलो चुनौती हुने गर्छ।
विभिन्न स्टेसन पार गर्दै, हामी हौंजखास स्टेसन ओर्लियौं। आँखा खुलेको खुलै भए जमिनभन्दा करिब ७०/ ८० फिट तल अन्डरग्राउन्ड मेट्रो स्टेसन भौतिक सुविधाले सुसज्जित निकै ठूलो, भव्य, सफा र टलल टल्केको थियो। हौजखास स्टेसनको आकर्षण हेर्दाहेर्दै छत्तरपुर जाने मेट्रो आयो।
हामी पुनः अर्को मेट्रो चढ्यौं।
मेट्रोबाट देखिने दिल्लीको भूगोललाई आँखाको क्यामरामा कैद गर्न पुनः झ्याल बाहिर आँखाहरूलाई स्वतन्त्र छोडिदिएको थिएँ।
कुतुब मीनारले पो मलाई हेरेर हाँसिरहेको थियो।
म पनि मख्ख परेर कुतुब मीनारलाई हेर्दै प्रफुल्ल हुँदै थिएँ, आमिर खान पो काँधमा मफ्लर भिरेर काजोलको अगाडि ‘चाँद सिफारिस कर्ता हे हमको... भन्ने गीतमा झुमिरहेको पो देखेँ।
फना फिल्ममा नै मैले कुतुब मीनारको लोभलाग्दो दृश्यहरू देखेको थिएँ। त्यसैले होला मस्तिष्कमा आमिर खान, काजोल र कुतुब मीनार नाचिरहेका थिए। छत्तरपुर आएको सूचना मेट्रोले पनि दियो।
मेट्रोको चिसो वातावरणबाट एकैचोटि तातो घाममा झर्दा एकछिन निस्सासिएँ। कहिले घाम, कहिले पानी जीवन पनि ॠतुहरूको चक्र नै त हो भन्दै आफैंलाई सान्त्वना दिएँ। दु:खसुख त मनको अवस्था पो रहेछ। सोचाइमा परिवर्तन आउनासाथ प्रचण्ड गर्मीले पनि केही गर्न सकेन हाम्रा पाइलाहरू अगाडि बढिरहे।
१०-१५ मिनेटको पैदल यात्रापछि हामी नागपाल बाबाको पहलमा निर्मित निकै आकर्षक कात्यायनी मन्दिर, लक्ष्मी विनायक मन्दिरको दर्शन गर्दै थियौं।
चुम्बकले फलामलाई तानेझैं मलाई पनि मन्दिरको भव्य संरचना र कारिगरीले तान्दै थियो।
म सोच्न बाध्य भएँ यस्तो कलात्मक संरचना बनाउन कति समय, श्रम र सम्पत्ति लाग्यो होला? त्यो भव्य संरचना हेर्दा हेर्दा अचानक मेरा आँखामा निर्माण पूर्वका ती कहालीलाग्दा समय चक्र फनन घुम्यो। अनि ती कला कुद्ने हातहरूलाई हृदयदेखि नै शिर झुकाएर नमन गरेँ।
लक्ष्मी विनायक मन्दिर परिसरभित्र दर्शन गर्ने क्रममा मैले भारु १० को नोट चढाएर पण्डितबाट टीका र पवित्र रक्षा सूत्र नाडीमा बाँध्नलाई हात अगाडि बढाउँदै थिएँ, काकीले भन्नुभयो, ‘तिमीले दस रुपैयाँ दिएको भएर डोरो बाँधिदियो मसँग खुजुरा पैसा छैन के गर्नु?’
पण्डितले नेपालीमै उत्तर दिए- होइन सबैलाई बाँधी दिन्छु आउनुस् न!
फुर्केर मेरो होसै थिएन क्यार हिन्दीमा पो बोल्न पुगेछु- हम लोग नेपालसे आए हैं, हमारे पास छुट्टा नही है।
पण्डितले फेरि नेपाली मै उत्तर दिए- नेपाल कति टाढा छ र!
‘अबुई! तपाईंलाई त नेपाली बोल्न आउँदो रहेछ त!’
‘म नेपाली हुँ।’
हेर्दा पशुपतिनाथका महन्त जस्ता देखिने शालीन मुहार मुसुक्क हाँस्यो। नाम चाहिँ बिर्सिएँ तर भट्ट थर थियो। हामी सबै खुसी भयौं यो राष्ट्रियता पनि खोई के रहेछ बुझ्नै सकिनँ!
दुई दिन भएको छैन नेपाल छोडेको नेपाली भाषीलाई देख्ने बित्तिकै कताकता अनौठो संवेदना जाग्दो रहेछ। यस्ता अमीट सम्झनाहरू मस्तिष्कको फाइलमा ताल्चा लगाएर अगाडि बढ्यौँ।
टेम्पोबाट राज विद्या केन्द्रमा पुग्यौँ। निकै ठूलो क्षेत्रफलमा निर्मित रहेछ, राज विद्या केन्द्र।
त्यहाँको कुना-कुनाबाट शान्तिको मधुरताले तान्दै थियो। मलाई आँखा चिम्म गरेर त्यो आनन्दको अनुभव गर्ने इच्छा तत्काल जागृत भयो र सासमा ध्यान केन्द्रित गर्न थालें। अव्यक्त आनन्द र शान्तिको अनुभूति हुँदै थियो।
पहिलो पटक पाइला टेके पनि नौलो कतै थिएन। पिताको आँगनमा छुनुमुनु गर्ने बच्चाजस्तै सुरक्षित थिएँ म।
केन्द्रको परिसरमा मयुरहरू पनि शान्त भएर नाचिरहेका थिए। केन्द्रको भान्सामा नेपाली दिदी हुनुहुँदो रहेछ। एक प्रेमीसँग अर्को प्रेमीको मिलन भएजस्तै हाम्रो पनि मिलन भयो।
दिदीले सबैलाई खाना खाने प्रस्ताव राख्नुभयो तर राइता खाएर केही तस्बिरको कोसेली बोकेर पुनः छत्तरपुर स्टेसन हुँदै उहीँ रूटबाट द्वारकामोड आयौँ।
शोभा दिदीको घर पुग्दा घरै गम्किने गरी चनाको तरकारी बास्ना आयो साथमा लच्छादार पराठा र दही।
टीकाराम भिनाजुको आतिथ्य सत्कार साँच्चै अनुकरणीय थियो। नेपालका नेतादेखि अभिनेतासम्मलाई पटक/पटक हरेक पटक उस्तै सत्कार गर्न सक्ने प्रशान्त पुरूष।
नारीहरूलाई वास्तविक रूपमा मान, सम्मान र सहयोग गर्ने उदाहरणीय व्यक्तिको हातबाट तयार गरिएको मिठो मिल्क सेक खाँदा उहाँप्रतिको सम्मान अझ उच्च भयो।
सबै जनाले खाजा खाएपछि राति रेलमा खान भनेर रोटी, पराठा, परवर, चनाको तरकारी र आँपको खट्टीमिठी पोको पार्दै जम्मु जानको लागि द्वारकामोडबाट मेट्रो चढेर करोलबाघ स्टेसन झर्यौँ। त्यहाँबाट सरायरोहिल्ला स्टेसन जाँदै गर्दा बाटो मै अमित बाबुहरूसँग भेट भयो। हामी सबै सराएरोहिल्ला स्टेसनमा रेल कुर्दै फोटो खिचायौँ। अमीत बाबुले झोलाभरि फ्यान्टा र लिम्का ल्याएर प्याक-प्याक भएको मुखलाई रसिलो बनाइदिएपछि पुनः एकले अर्कोलाई उछिन्दै बोल्न थाल्यौं।
करिब १०:१० मा हाम्रो ट्रेन जम्मुको लागि प्रस्थान गर्यो। भिमानबाट जनकपुर आउँदा दस बजे प्वाँंप्वाँ गर्दै रेल कराउँथ्यो अनि म कुद्दै छतमा गएर हेर्थेँ।
भिमानबाट जनकपुर आउँंदा खुसी हुने एउटा कारण रेल देख्न पाइन्छ भन्ने पनि थियो। त्यो रेल चढेर न त कहिले बिजलपुरा पुगेँ न त जयनगर नै।
रेल चढेको आनन्द लिन कहिलेकाहीँ पापमोचनी पोखरीसम्म रेलको धुवाँ सुँघ्दै मुखले छुकछुक गर्दै कुद्थेँ। बाल्यकालको त्यो सपना पूरा भएको दिन थियो अनि मेरो खुसी छताछुल्ल भएर पोखिँदैन त ?
ट्रेन भित्रको व्यवस्थापन मिलेपछि सबै जनाले घरबाट ल्याएको स्वादिष्ट भोजन ग्रहण गयौँ।
राति ११: ३० तिर आ-आफ्नो सिटमा लमतन्न भयौँ। शरीर जति नै थाकेको भए पनि मन भने राति १२ बजेसम्म नै ऊर्जाशील थियो। राति ट्रेनको आवाज सुन्दा बाहिरी घनघोर पानी परेको छ जस्तै लाग्थ्यो अझ छेउबाट अर्को ट्रेन स्वाट्ट आउँदा त सिताङ्गै हुन्थें।
कहिले रेलको डरलाग्यो आवाजहरूले त कहिले आफ्नै मनको चञ्चलता र उत्साहले मलाई निदाउन पटक्कै दिएनन्।
बिहान ६: ४० मा जब मेरा आँखा खुले हतार हतार वासरूमतिर गएँ अनि आफूलाई फ्रेस गर्दै आफ्नो कम्पार्टमेन्टमा आएर झ्यालबाट बाहिर हेरेको त जम्मु विजयपुरले हार्दिकताका साथ स्वागत गर्न प्रभातको लाली छरिसकेको रहेछ। जम्मुको भूगोललाई हेर्दाहेर्दै बिहान ७:३० बजे त हामी जम्मु स्टेसन ओर्लियौं। स्टेसनबाट बाहिर निस्किएपछि सबैले चिया पिएर ताजा भर्यौं।
यसपछिको यात्रा वैष्णदेवीसम्मको …
यो पनि: जब हाम्रो गाडीलाई भारतमा भिआइपी सवारीलाई झैं स्वागत गरियो