काठमाडौं छोडेको दुई दिनमै नजिकबाट हिमाल हेर्न पाइने ठाउँ मर्दी रहेछ।
यसपालि पोखरा बास नबसी सिधै माछापुच्छ्रेको काखमा रहेको मर्दीतिरै लाग्ने योजना विनोदजी र मैले बनायौं। २०७८ कात्तिक १० गते बुद्ध एअरको बिहान ७ बजे पोखरा ओर्लने गरी टिकट लियौं।
आकाशे गाडी चढेको करिब आधा घण्टा भनूँ वा मुखमा हालेको चकलेट बिलाउन नपाउँदै हामी पोखरा एअरपोर्ट ओर्लिहाल्यौं।
पोहोरसाल दुई हजारमा पोखराबाट काँडे पुर्याइदिएका थिए गुरूङ भाइले। यसपालि एरपोर्टबाट निस्कनेबित्तिकै दायाँबायाँ नहेरी काँडेतिरै चियाखाने हिसाबले ट्याक्सी समातिहाल्यौं।
ट्याक्सी भाडा यिनले पनि दुई हजारै मागे, हामीले १५ सय भन्यौं। बिहानीकै बोहनी परेछ क्यारे, बस्नुस् भनिहाले। दिन घमाइलो थियो। हिमाल छर्लङ्ग खुलेको थियो।
‘हेम्जा भएरै जाऊँ है!’, गुरुजी बोले।
पोहोर सराङकोट, नौ डाँडा हुँदै काँडे भएर धम्पुस पुगेका थियौं। यसपालि फरक ठाउँको स्वाद चाख्ने मनसायले हामी दुईकै टाउका निमेषभरमै एकसाथ हल्लिए।
हरिचोक, सिम्पानी हुँदै माछापुच्छ्रेलाई दाहिने पार्दै अगाडि बढ्यौं। सेतीपुल तरेपछि हाम्रो ट्याक्सी कुद्यो ६ लेनको हाइवेमा।
मिलन चोकतिरका पहेँलपुर धान झुल्ने खेतहरूमा। सिमेन्ट र कंक्रिटका थुप्रो ठडिँदै रहेछन्। साढे नौ बजेतिर काँडे पुग्यौं। अस्ट्रेलियन क्याम्प जाने मुखैको चिया पसलकी साहुनीको पोहोरसालको मायाले त्यतै तान्यो।
चिया नास्ता खाएर उकालो लाग्दा १०:३० बजेको हुनुपर्छ।
अस्ट्रेलियन क्याम्पको सेरोफेरो हेर्दै पोथाना (१८९० मि ) को एक्लो होटल ग्रीन भ्यू लजमा सवा ११ बजे टुसुक्क बस्न पुग्यौं।
हामी पुग्दा मर्दी जाने तीन चार जनाको टोली भात खाँदै थिए। एक जोडी भने गफिँदै कफी खाँदै थिए।
‘चिन्नुहुन्छ ?’, होटल साहुनी भण्डारी बहिनी अगाडि ठिंग उभिएर मैले सोधें, ‘कति आउँछन् कति जान्छन्, कसरी चिन्नु!’ नजिकै उभिएका उनका छोरा गणेश बोले।
पोहोरसाल धम्पुस आएकाबेला उनका घरको बार्दलीमा सेताम्मे फुलेको अर्किड फूलको फोटो मोबाइल खोलेर देखाइदिएँ। उनी छक्कै परिन्।
पोहोर सालको सम्झना गराएपछि आमा-छोरा र बाबु हाम्रै वरपर झुम्मिए, मोबाइलको फोटो हेर्न।
पोथाना भनेको के हो? कसरी यसको नाम रह्यो? त्यतिबेला मैले दोहोर्याइ तेहेर्याइ सोधेको कुरा उनले बल्ल सम्झिइन्।
पहिले त्यो थाना वा देउराली रहेछ। गुरूङ भाषामा ‘पो’ भनेको पर्खनु रहेछ। आफ्ना चेलीहरूलाई घर माइत गर्दा थानामा पर्खनु, एक्लै नआउनू, जङ्गलको बाटो छ लिन आउँला भनी गुरूङ भाषामा पोथाना भन्दा भन्दै यस ठाउँको नाम नै ‘पोथाना’ रहेको बेलीबिस्तार उनले लगाएकी थिइन्।
खाना यहीँ खायौं। पोथानासम्मको बाटो त हाम्रा लागि नौलो थिएन। अगाडिको बाटो र ठाउँका बारे जिज्ञासु हुँदै पोथानाबाट हिँडेको १ घण्टामा पितम देउराली पुग्यौं। सूर्यडाँडा पुग्दा सूर्य हाम्रो टाउको भन्दा अलि अगाडि नै थियो। घडी हेरेँ साढे २ बजेको थियो। कहिले उकाली, कहिले ओराली भने पनि धेरैजसो उकाली चढ्दै सवा चार बजेतिर डोँड खर्क पुग्यौं।
बाटामा भेटिएका पदयात्रीहरू भने फरेस्ट क्याम्पमै बास बस्न लम्के।
हामी पोथानाका गणेशको सल्लाह मानेर उनकै दाजु शिव भण्डारीले पोहोर साल खोलेको डोँड खर्क होटलमै बस्यौं। डुँड परेकोजस्तो ठाउँ डोँड खर्क, पहिले पहिले गाईवस्तुको गोठ राख्ने ठाउँ रहेछ। अहिले पदयात्री बस्ने ठाउँ। हिमालको चिसो हुनहुनाउँदो सिरेटोले रात काट्न मुस्किल पार्ला कि जस्तो लागेको थियो तर ऊ जिल्लियो।
मीठो बोल्न सिपालु भण्डारीसँग बिहानीको नास्तापछि बिदा लिएर अगाडि बढ्यौं।
एकलास जङ्गलमा मर्दीबाट फर्केका यात्रु बाटामा फाट्टफुट्ट भेट हुन्थे। साढे नौ बजेतिर लान्द्रुक जाने बाटो भेट्यौं। दुई चार जना त्यही बाटो भएर मर्दी जान उक्लिरहेका थिए। वारि लान्द्रुक पारी, घान्द्रुक बीचको मर्दी नदी तरेपछि घान्द्रुकतिर पुगिने रहेछ।
डाँडाको घमाइलो पाखामा रहेको घान्द्रुकको रमाइलो बस्ती र बाटाहरू टाढैबाट हेरेर चित्त बुझायौं। घुम्ने थलो असङ्ख्य भएको कास्की जता पुगे पनि रमाइलो, घमाइलो।
दुई जना मात्र जाने, त्यति लामो बाटोमा! घरबाट निस्कँदा परिवारको गुनासो। सामाजिक सञ्जाल युट्युब र इ-पत्रिका हेरेर बाटाभरि भेटिने साथीहरूको कल्पना गरेको थिएँ।
त्यस्तै भयो, मर्दी हिमाल जाने र आउनेको हुल देख्दा मर्दीमा ठूलै मेला लागिरहेझैं लाग्थ्यो।
युवा, युवती बुढाबूढी सबै उमेर समूहका पदयात्रीकोे लर्को देखेर छक्क परेका थियौं। लाग्थ्यो के छ यो हिमालमा जादू, म अचम्मित भएको थिएँ।
कुनैबेला विदेशी पर्यटकहरूले जङ्गलमा क्याम्प बनाएर बसेपछि फरेस्ट क्याम्प नाम रहेको यो जङ्गलको बीचमा आज टिनका नीला, राता छानाले रंगिएका थुप्रै होटलहरू छन्।
फरेस्ट क्याम्पमा रात बिताएकाहरू हामी पुग्दा उकालो लागिसकेका थिए।
पदयात्रीको चाप बढेसँगै ठाउँ-ठाउँमा खाने बस्ने सुविधा भएका नयाँ-नयाँ होटलहरू बन्दै गरेका देख्यौं।
निर्माण हुन लागेका होटलका लागि पिठ्यूँका दायाँ-बायाँ एक एक बोरा बालुवा वा सिमेन्ट बोकेर मालगाडीको काम गरिरहेका थिए घोडाले ठाउँ-ठाउँका होटलहरूमा रासन पानी पुर्याउने जिम्मा पनि यिनकै रहेछ।
यिनका हुल आउँदा हामी छेउकुना लाग्थ्यौं।
फरेस्ट क्याम्पको उकालो सकेर तेर्सो बाटो लाग्दै थियौं। यहीँनेर मेरो मर्दी हिमालको यात्रा झन्डै तुहिएको थियो। विनोदजी ‘सु’तिर लाग्नु भएछ क्यारे म अगाडि भएँ। जङ्गलको घोडेटो बाटोमुनि प्लास्टिक ओडेको छानो छाप्रो थियो। छाप्रोबाट निस्केको सेतो धुँवा आकाशतिर मडारिरहेको थियो।
बाटोमा काम गर्ने कामदार भात पकाउँदै होलान् मैले अनुमान लगाएँ।
मान्छे देखिए ठाउँ थलोबारे बुझ्नुपर्ला मनभित्र यस्तै कुरा खेलिरहेका थिए।
बाटो र छाप्राको दूरी त्यही १० मिटर जति थियो। छाप्रोबाट मान्छे होइन एक्कासि एउटा ज्याङ्गो भोटे कुकुर बेलगाम मैतिर हान्निँदै आयो। लौ यात्रा त यतै टुंगिने भयो मनमनले भन्यो।
छाप्राबाट कोही निस्केर कुकुर बोलाउलान् कि भनेर चिच्याई चिच्याई कराएँ, मेरो चिच्याहट सुनेर मानिस हैन अर्को ज्याङ्गो भोटे कुकुर निस्केर दुईवटै एक साथ ममाथि झम्टन खोजे।
ढुङ्गा टिपेर हान्छु, हातमा भएको स्टिक (ट्रेकिङ्ग लौरो) हल्लाएर जति चिच्याए पनि उनीहरू दुवै एकसाथ मलाई खाउँलाझैं गरी झम्टन खोज्दै थिए।
तै विनोदजी आइपुग्नु भएछ, दुवैले तिनको प्रतिकार गरेपछि बल्ल छाप्रातिर फर्कें।
बाटोमा कति ठाउँमा यात्रीका अघि-पछि लागेर कुकुर साथी बनेर हिँडिरहेको पनि देखिरहेका थियौं।
छाप्रोका पहरेदार तिनले हामीलाई छाप्रोमाथि आँखा नलगाउन सचेत गराएका होलान् जस्तो लाग्यो।
लगलग कामेको, पसिनाले भिजेको ज्यान लिएर अगाडि बढें। तिनले टोक्न पाएका भए यात्रा त के घर फर्कन पनि हम्मे हम्मे हुन्थ्यो होला।
पदमार्गमा पदयात्रीहरूबीच कछुवा र खरायोको दौड चल्थ्यो। हामी त कछुवा थियौं, तर खरायो जस्तै दौडने अनि सुस्ताउने युवायुवतीलाई हरेक पटक हामी भन्थ्यौं, खरायोलाई कछुवाले जित्यो है!
उनीहरू हामीलाई भन्थे- अङ्कलहरू त मजाले नथाक्ने गरी एकनासको गतिमा हिँड्नु हुँदो रहेछ।
हो, हामी एकनास हिँडिरहन्थ्यौं धेरै टोलीलाई पछि पार्दै।
सवा बाह्र बजेतिर हामी लो क्याम्प ( ३०५० मि) पुग्यौं। सबै जसो होटलमा आन्तरिक पर्यटकहरूकै जमघट देखिन्थ्यो।
हामी खाना खान पुगेको एउटा होटलमा पनि बाह्र पन्ध्र जनाको पारिवारिक ग्रुप मर्दीबाट ओर्लेर आराम गरिरहेका थिए।
‘कताबाट फर्कनुहुन्छ?’ मेरो प्रश्नको उत्तरमा नजिकैको बाटो देखाउँदै भने ‘यहीबाट ओर्लेर सिधिङ हुँदै पोखरा जाने हो।’
सिधिङ पुगेपछि पोखरा जाने जीप, गाडी पाइदो रहेछ। कोही कोही फरेस्ट क्याम्प भएर कालिमाटी झर्दा रहेछन्। कोही भने पोथाना नै भएरै फर्कंदा रहेछन्।
खाना खाएर लो क्याम्पबाट लाग्यौं उकालो।
‘मर्दी हिमाल नपुगुन्जेल अब ओरालो छैन, उक्ल्या उक्लै हो’, एकजना भाइले हाँस्दै भने।
बाटाभरि झल्याक झुलुक देखिने हिमाल र प्रकृतिसँग आँखा मार्दै उकालो लाग्यौं।
उकालोमा बिग्रिएका बाटोहरूमा एक जना मानिस ढुङ्गा भर्दै हुनुहुन्थ्यो।
उनले राखेको थालमा यात्रीहरूले आफ्ना गच्छेअनुसार सहयोग गरेका थिए।
लो क्याम्पबाट उँधमुन्टो लगाएर उक्लँदा ओर्लनेहरू ढाडस दिँदै भन्नुहुन्थ्यो, ‘अब आउनै लाग्यो, बिस्तारै जानुस्।’ पहिलो पटक नयाँ ठाउँमा जाँदाको रमाइलो भनेकै त यही हो।
कति समय लाग्ला, कस्तो बाटो होला। के होला कसो होला भन्ने सोच्दासोच्दै हामी बादल डाँडा (३२५० मि ) मुनि पुगिसकेछौं।
बादल डाँडाको दृश्य अचम्मैलाग्दो। छिनमै डाँडा देखिएजस्तो, छिनमै मान्छे देखिएजस्तो, छिनमै सबै बिलाएजस्तो, जादूगरले जादू गरेजस्तो।
बादल डाँडामा हरदम बादलले छोपिरहने र झल्याकझुलुक मात्र डाँडा देखिने भएकाले यसको नामै ‘बादल डाँडा’ बनेछ।
बादल डाँडा पुगेपछि चिया र कफीका सौखिन विनोदजीको आग्रहमा हामीले सफा, सुग्घर माछापुच्छ्रे होटलको आँगनमा बसेर तातो कफी पियौं।
मडारिँदै हामीलाई नै छोप्न आएका बादल हेरेर आनन्द लियौं।
एक्लो इटालियन केटोले हाम्रो फोटो खिचिदियो।
बादलु डाँडाबाट तेर्सो-तेर्सो उक्लिएर अगाडि बढेपछि सम्म परेको ठाउँमा दुई चार वटा होटलहरू भेटिए।
हिमाली भेगमा गाउँ भेटिनु संयोग हो, त्यसैले भेटिने त यस्तै होटल न हो।
साढे चार बजेतिर होटलहरूको झुरूप्प बस्ती भए ठाउँमा पुग्यौं। यो मर्दी हिमालको हाइक्याम्प (३५०० मि) रहेछ। बासका लागि त हामीले हिजै डोँड खर्कबाट बुक गराइसकेका थियौं। सिरानमै रहेछ हेभेन रेस्टुरेन्ट।
हिमालको चिसो सिरेटो मजाले चलेको थियो। भ्यू क्याम्पमा चिया बेचेर भाइरल भएका भाइरल काकालाई यहीँ भेट्यौं।
हिउँभन्दा सफा र चहकिला मन भएका मानिस भेटिएजस्तो लाग्यो। भोलि बिहान भ्यू क्याम्पमा चिया खाने निम्तो दिए।
हाइ क्याम्पमा भएका १४ वटा होटलमध्ये १३ वटा त चलेकै रहेछन्।
बेलैमा खाना खायौं र मुडो पल्टिएझैं पल्टियौं। भनिन्छ नि! निद्रालाई ओछ्यान चाहिन्न, प्रेम गर्नेलाई जात, हामी त्यस्तै भयौं। हाम्रो आदेशलाई मानेर बफादार सिपाहीलेझैं ठिक ३ बजे मोबाइलले हामीलाई उठाइदियो।
चिसोबाट बच्न चाहिने लुगाफाटा भिरेर हामी सवा तीन बजे उकालो लाग्यौं। कहीँ सिँढी,कहीँ ढुङ्गे बाटो, कहीँ भित्तो पहरो समात्दै स्याँ स्याँ गर्दै, डरलाई जित्दै ठाडै उकालो पार गर्दै दुई घण्टामा भ्यू क्याम्प पुग्यौं, जहाँ मानिसहरूको भिडभाड सुरू भइसकेको रहेछ।
भ्यू क्याम्प (४२०० मि.) पुगेपछि मर्दी हिमाल हाम्रै अगाडि उभिएको थियो।
त्यही नाङ्गो हिमाल हेर्न हामी काठमाडौंको खाल्डोबाट फुत्किएर यता आइपुगेका थियौं।
तल-माथि रहेका दुइटा छाप्रे चिया पसलमा मानिसको घुइँचो थियो। मिरमिरे उज्यालोमै झन्डा फहराउँदै फोटो खिचाउँदै थिए।
कोही हिमालसँगै उभ्याएर सेल्फी हानिरहेका थिए। पर रहेको अर्को थुम्कामा नेपाली झन्डा माथि-माथि उठाएर टिकटक बनाइरहेका थिए।
मर्दी हिमाललाई नमस्कार गर्यौं। चिया खायौं, तातो चियाले चिसो र थकानसँग लाप्पा खेल्यो। मन कता कता उराठियो।
हिमालका ठाउँ-ठाउँमा काला धब्बा लागेका थिए। छपक्क हिउँले मर्दी सजिएको थिएन। मर्दीमात्र हैन अरू हिमालमा पनि काला धब्बा देखिन्थे। सूर्य झुलुक्क उदाउला र त्यसको किरण हिमालमा परेपछि रातो पहेंलो भएर टल्किने स्वरूप हेर्न सबै व्यग्र थियौं। मानिसहरू घरी हिमाल हेर्थे, घरी पूर्वदिशाको लालीमा हेर्थे। त्यहाँ सबैको चर्या यही थियो।
बेस क्याम्प ( ४५०० मि.) पुग्न यहाँबाट अझै २०० मिटर उचाइमा जानु पथ्र्यो, यसका लागि झन्डै तीन घण्टा लाग्थ्यो। हामी केही परसम्म पुगेर फर्कियौं।
हिजो भेटिएको इटालियन केटो बेस क्याम्पतिर जाँदै थियो। हामीले भ्यू क्याम्पमै २ घण्टा बितायौं। सवा सात बजे हामी ओरालो लाग्यौं।
इटालियन केटाले हामीलाई बादल डाँडा नजिक भेट्यो ऊ त बेस क्याम्पै पुगेर आएछ। उसैले भन्थ्यो- ३ घण्टा लाग्यो। उसका कुरा सुनेर थकथक् लाग्यो यहाँसम्म आइसकेपछि बेस क्याम्प त पुग्नैपर्ने थियो।
बिहान १० बजे हाइ क्याम्पबाट ओर्लिएको हामी १ बजे लोक्याम्प आइपुगेर खाना खायौ|। लो क्याम्पबाट ठाडै ओरालो बाटो रूखका जरा र ढुङ्गासँग पौंठेजोरी खेल्दै साँझतिर सिधिङ पुग्यौं।
बाटामा भेटिएका सहृदयी साथीहरूले हामी दुईका लागि पनि एउटा जीपमा ठाउँ ओगटेर पर्खिरहेका रहेछन्, त्यसैमा हुइँकिएर पोखरा ओर्लियौं मन र मुटुमा मर्दी लिएर।