म धेरै पटक नाजवाफ भएको छु, जब विदेशी साथीहरूले ‘तिमी त पक्कै सगरमाथा बेस क्याम्प पुगेको होला है’ भनेर प्रश्न गर्दा।
मेरो उत्तर हुन्थ्यो ‘छिट्टै बेस क्याम्प यात्राको योजना छ’।
उनीहरूको पनि उस्तै उत्तर हुन्थ्यो ‘आई ह्याब अल्सो बिग ड्रिम टु ट्रेक बेस क्याम्प अफ सगरमाथा’।
जब रोटरी क्लब भादगाउँको सोलुखुम्बुको फोर्चे गाँउमा खानेपानीको ग्लोबल ग्रान्ड स्वीकृति भएको क्लबका पूर्व अध्यक्ष तुलबहादुर कँडेलले सुनाउनुभयो, मेरो चाहना पूरा हुने आशाको किरण झुल्केको थियो।
२०७९ को नयाँ वर्षसँगै वैशाख १२ गते फोर्चेको परियोजना हस्तान्तरण कार्यक्रम तय भएको र कार्यक्रममा सहभागी हुन चाहने साथीहरूले नाम टिपाउन क्बलको सामाजिक सूचना पाटीमा सूचना आयो। खुम्बु क्षेत्रको त्यो मनोरम दृश्यहरू मेरो मनमस्तिष्कमा कैद गर्न उत्साहित हुँदै नाम टिपाएँ।
यात्रा तय भयो। यात्राको पहिलो कठिनाइ लुक्लाको हवाईजहाजको टिकट रहेछ। ट्रेकिङको सिजन भएको र नेपालीहरूको भाडा भारतीयभन्दा झण्डै एक गुना र अन्य विदेशीभन्दा २ गुना कम भएकोले नेपालीले टिकट पाउनु ठूलै युद्ध जितेजस्तो रहेछ।
क्लबबाट मसहित ४ जना साथीहरू परियोजना समुदायलाई हस्तान्तरण गर्नको लागि जाने तय भयो।
त्यही अनुसार ४ वटा टिकटको लागि पूर्व अध्यक्ष तुलबहादुर कँडेल लाग्नुभयो। उहाँले झण्डै हप्ता दिनको प्रयासपछि भारतीय नागरिकको मूल्यमा मात्र टिकट पाउन सकिएको जानकारी दिनुभयो।
हामीलाई भने यो मूल्य महङ्गो भयो। जान र फर्कन ५ दिन हिँड्नु पर्ने, जान र फर्कन चाहिने सबै खर्चहरू आफैंले व्यहोर्नु पर्ने यो परियोजनामा सहभागी हुन सहज थिएन। यही असहजताको कारण यो कार्यक्रममा रोटरियन साथीहरूको सहभागिता कम भयो।
अन्तमा म र मात्रिका गौतम मात्र जाने निश्चित भयो।
‘सोर्स’ लगाएर हामी दुईले नेपालीकै भाडा दरमा टिकट लिन सफल भयौं।
परियोजनास्थल ३८०० मिटरको उचाइमा थियो। हाम्रो सरगमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्य र पूरा तयारीको साथ बिहान ७ बजेर ३० मिनेटमा सीता एयरलाइन्सको चेकिङ काउन्टरमा पुग्यौं। काउन्टर बन्द थियो। ८ बजेको उडान, ३० मिनेट पनि समय छैन, डर लाग्यो कतै उड्नै पो पाउने होइन कि! भनेर।
म टिकट किन्नको लागि सहयोग गर्ने साथीलाई फोन गर्न लागेँ भने मातृका अर्को पनि काउन्टर छ कि भनेर खोज्न लाग्नुभयो।
सीता एअरलाइन्सको काउन्टर त्यही मात्र भन्ने जवाफ सबैतिरबाट आयो। अन्तत: केही समयपश्चात एक जना व्यक्ति देखिनुभयो।
हामीले ‘काउन्टर किन बन्द भाइ’ भनेर सोध्यौं।
‘हामीले तपाईंहरूलाई ७ बजे नै खोजेका थियौं, तपाईंहरू ढिला गर्नुभयो, पर्खनुस् म काउन्टरको मानिसलाई बोलाई दिन्छु’ भन्दै उहाँ निस्कनुभयो।
जहाज उड्ने समय भैसक्यो तर उहाँहरू आउनु भएन।
फेरि मैले टिकटको लागि सहयोग गर्ने व्यक्तिलाई फोन गरेँ र बेलिविस्तार लगाएँ। बल्ल १० मिनेटपछि काउन्टरमा कोही आउनु भयो र हामीलाई उडान समय बिनाको बोर्डिङ पास थमाउँदै जानुभयो। हामी भने लुरूलुरू पर्दै प्रतीक्षा कक्षतिर लाग्यौं।
कलंकीको माइक्रोबसमा जो अगाडि पुग्यो उसले सिट पाएको थाहा थियो। पहिला नै निश्चित भैसकेको टिकट लिएर समयमा पुग्दा बीचमा अर्को मान्छे घुसाएको देखेर अचम्म लाग्यो।
हामीलाई टिकटको लागि सहयोग गर्ने साथीले नि ‘यस्तै हो अब कुर्नु होला’ भन्नु भयो।
हामीले बोर्डिङ पास लिएको २ घन्टा हुँदासम्म उडानको बारेमा जानकारी लिने प्रयास गर्दा कहीँकतै कोही एयरलाइन्सको प्रतिनिधि भेटाउन सकेनौं।
हामीले समिट एयरको प्रतिनिधिबाट केही जानकारी लिने प्रयास गर्यौं।
उहाँले ‘साना र थोरै विमान हुने एयरलाइन्सहरूको अवस्था यस्तै हो। त्यसमा पनि लुक्लाको त उडान हुने भयो भने डाक्न आउँछन् नत्र अत्तोपत्तो हुदैन’ भन्नुभयो।
उहाँको अर्को नमज्जाको कमेन्ट थियो ‘हेर्नुहोस् त तपाईंले यहाँ नेपाल एयरलाइन्सको कुनै प्रतिनिधि तथा काउन्टर देख्नुहुन्छ? लापरबाहीको अर्को नमूना नेपाल एयलाइन्स पनि हो।’
यो सुनेर छाती चरक्क भयो, देशको नामको राष्ट्रिय एयरलाइन्स बारेमा नराम्रो कमेन्ट सुन्दा।
मलाई आज पनि याद छ ती दिनहरू नेपाल आउने विदेशी पाहुनाहरूको समेत पहिलो रोजाइ‘रोयल नेपाल एयरलाइन्स’ हुन्थ्यो।
आज बरू अन्य एयरलाइन्सको लागि हप्ता कुर्न तयार हुन्छन् तर ‘नेपाल एयरलाइन्सको यात्रा रूचाउँदैनन्। दुर्भाग्य भनौं कि अहोभाग्य खाडीमा जाने त्यही नेपालीहरू छन् र त जसोतसो कर्मचारीहरूलाई पालेको छ!
मात्रिकाले जीले जोक हान्नुभयो, ‘पहिला त रोयल नेपाल एयरलाइन्स थियो र पो साथी, अहिले त नेपाल एयरलाइन्स हो नि।’ नचाहँदा नचाहँदै पनि दुबै एकछिन हास्यौं।
झण्डै तीन घन्टाको कुनै सूचना बिनाको कुराइबाट हामी आत्तिसकेका थियौं। भोक लागेको थियो। हामीले ३०० तिरेर फ्राइ राइस लियौं। अन्तत: हामी सीता एयरलाइन्सको टिकट काउन्टरमा नै प्रहरीलाई विशेष अनुरोध गरेर पुग्यौं र उडानबारे सोधपुछ गर्यौं।
उहाँहरूले ‘लुक्लाको उडान मौसमको कारण निश्चित हुँदैन। लुक्लाबाट नै बिहान गएको जहाज आउन सकेको छैन’ भन्ने जवाफ दिनुभयो।
हाम्रो टिकटमा अरूलाई उडाएकोमा दु:ख लाग्यो अनि रिस पनि उठ्यो। तर बोल्न कुनै पनि शब्द आएन।
‘उडान हुन्छ तपाईंहरू प्रतीक्षा कक्षमा बस्नुस्’ ।
कुर्नुको कुनै विकल्प थिएन।
२० मिनेटपछि एक जना भाइ मेरो छेउमा आएर ‘तपाईं लुक्ला जान कुर्नु भएको होइन?’ भनेर सोधे।
मैले ‘हो’ भने।
‘ल आउनुहोस् उडान होला जस्तो छ।’ लुक्ला पुग्ने अतिकति आशाको किरण भेटियो। हामी हतार हतार गेट नं. ३ मा पुग्यौं।
लुक्ला खुलेछ र काठमाडौंको उडान भएछ। तर काठमाडौं एयरपोर्टको एयर ट्राफिकको कारण लुक्लाबाट आएको जहाज अवतरण गर्न सकेको रहेनछ।
कुनै पनि बेला लुक्लाको मौसम बिग्रन सक्ने भएकोले एयरलाइन्सले हामीलाई जहाज अवतरण गर्न पूर्व नै ग्राउन्डमा लिएर गयो। जहाज अवतरण हुनासाथ उडान गर्ने योजनाका साथ।
ग्राउन्डमा बसभित्र झण्डै ३० मिनेट कुरेपछि जहाज त आयो तर फेरि लुक्ला विमानस्थलमा मौसम बिग्रेको जानकारी भयो।
कोही उडान हुन्छ, कोही १० बजेपछि लुक्लाको मौसम सजिलै खुल्दैन भन्न थाल्नु भयो।
हामी बसमा कुरिरहेका थियौं। भोकले खरिएका पाइलटहरू जहाजको पखेंटाको ओतमा बसेर खाना खाइरहेका थिए।
विचरा पाइलटहरू पनि लुक्लाको मौसम खुला र उडौंला भन्नेमा हुनुहुन्थ्यो।
विमानमा धेरै समय सामान लोड गरेर राख्न नपाउने नियमले सामानहरू पनि लोड भएन। बसमै केही समय कुर्ने निर्णंय भयो।
१० मिनेटमा अर्को सूचना आयो ‘आज उडान हुन नसक्ने बलियो सम्भावना भएको कारण, प्रतीक्षा कक्षमा नै फर्काउने’।
हामीलाई फिर्ता लिएर प्रतीक्षा कक्षमा छोडिदिए। हामी लगभग घर फर्कने मनस्थितिमा पुग्यौं।
त्यो दिनको सीता एयरबाट लुक्ला जान बाँकी ५ जनामात्र रहेछौं। ५ जनामा २ जना विदेशी हुनुुुहुन्थ्यो भने ३ जना नेपाली। ३ जना साथीहरूको पहिलो उडान रहेछ र उहाँहरू ६ बजे नै पुग्नु भएको रहेछ। तर पनि उहाँहरूलाई पछाडिको उडानमा सारेर चिनजान (सायद बढी पैसा लिएर ?) को मानिसलाई उडाएको रहेछ।
गाइड भाइ हामीसँग अति दु:ख मनाउ गर्दै थिए ‘यस्तो व्यवहारले नेपालको विदेशमा राम्रो समचार जाँदैन’। उनी २ जना विदेशीको गाइड रहेछन्।
हामीलाई पनि त्यसैगरी थप पैसा पाएपछि ७ बजे नपुगेको बहानामा नाम हटाएर अर्को उडानमा राखिदिएका होलान् भन्ने शंका लाग्यो।
लुक्ला, फाप्लु, हुम्ला क्षेत्रहरूमा पहिलो र दोश्रो उडान प्राय: निश्चितजस्तै हुँदो रहेछ। त्यसकारण विमानस्थलमा नै आएर तेश्रो तथा चौथौ उडानमा टिकट लिएकाहरूले पैसाको चलखेल गर्दा रहेछन्।
‘यो त भन्सार नै रहेछ नि’ साथी मातृका बोल्नुभयो।
लुक्ला, फाप्लुजस्ता क्षेत्रहरूको उडानमा थप पैसाको लागि हुने यस्ता गतिविधि कस्ले छानबिन तथा नियन्त्रण गर्ने को हो? मसँग जवाफ थिएन।
दैनिक थुप्रै नेपालीहरू विमानस्थलमा घन्टौ कुरेर फर्कने गाइड भाइको भनाइ थियो।
जहाँ जस्ले जसरी पनि पैसा कमाउने धून हामी नेपालीमा छ। रातारात धनी हुनु पर्ने, इमानदारिता भन्ने चिज नै नभेटिने र भ्रष्टाचार हिजो आज आम नेपालीको संस्कार भएको देखिन्छ।
उनले स्पष्ट भने ‘कलंकीको माइक्रोबसमा बरू अनुशासन छ। काटेको टिकटको समयमा जान पाइन्छ तर टुरिस्ट क्षेत्रहरूमा उड्ने विमानहरूको कलंकीको माइक्रोबस जति पनि इमानदारिता छैन।’
२ जना विदेशीले बढी पैसा तिरेर भए पनि लुक्ला उड्ने अडान लिएका र त्यो भाइले हेलीसँग सम्पर्क गरेको कुरा साथी मात्रिकाले जानकारी पाउनुभएछ। मैले मातृकालाई उनीहरूलाई पिछा गर्न भनेँ। अन्तत: विदेशी हेलीमा जाने निश्चित भयो। हामीले पनि यही मौकालाई छोपेर डाइनेस्टी एयरमा बार्गेनिङ गर्न थाल्यौं।
सीता एयरलाइन्सका कर्मचारी, लोडर समेत हाम्रा पछि लागेर १०/१२ हजारमा मिलाई दिने कुरा गर्न थाले। यहाँ पनि दलाली सुरू भयो।
हामीलाई टिकटको लागि सहयोग गर्नेलाई समेत यो अवस्थाको जानकारी गरायौं र जसरी पनि हेलीमा थप पैसा नदिई उडाउन सहयोग गर्न अनुरोध गर्यौं।
केही दलालहरूले दस हजारभन्दा कम नहुने सुनाए, केहीले बढी मागिरहेका थिए तर हामी जहाजको टिकटभन्दा बढी नदिने अडानमा थियौं। अन्तत: सबैतिरको सहयोग र थोरै भए पनि थप पैसा आउने भएकोले होला जहाजकै टिकट मूल्यमा हामीलाई उडाउन डाइनेस्टी एयर राजी भयो।
बिहान साढे सातदेखिको लडाइँपश्चात दिउँसो १ बजे डाइनास्टिक एयरले हामीलाई बोर्डिङ पास दियो र गेट नं. ३ मा जान अनुरोध गर्यौं। हामी गेट नं ३ बाट बसमा चढेर हेलिप्याडतिर अगाडि बढ्यौं।
क्रमश: