साउनको तेस्रो शनिबार। शनिबारे साइकल यात्राका लागि कृष्ण गोपाल श्रेष्ठ, रामभक्त श्रेष्ठ र सूर्य बहादुर तामाङसहित हामी चार जना चोभारमा जम्मा भयौं।
रामभक्त श्रेष्ठ र सूर्य बहादुर तामाङसँग मेरो पहिलो भेट। निकै रसिक दुवै दाजुहरू। ‘उमेर पचपन्न रहर भने अझै बचपन,’ ठट्टयौलीमै परिचय दिएँ। उमेर संख्या मात्र हो, रहर पुरा गर्न यसले छेक्दैन भन्ने भनाइको ज्वलन्त पात्र थिए यी दुई दाजु।
कटुवाल दह गन्तव्य तोकेर साईक्लिङ गर्ने योजना। चोभारबाट तीन शहर देखिए पनि आँखै बिझाउने गज्याङमज्याङ देखिन्छ उत्तरतर्फ। तर दक्षिणतर्फ भने हरियाली। उखान त त्यसै बनेको होइन रहेछ नि दाइ। ‘साउनमा आँखा फुटेको डिँगो सँधै हरियो देख्छ’ भन्छन्। हो रै’छ क्यारे। जताततै हरियाली।
‘बागमती पनि भेलले अलि सफा बनाएछ। घुम्न मज्जा आउने त साउन मै हो’, चियाको सुर्को तान्दै कृष्ण गोपाल फुस्फुसाए। वास्तवमा हो पनि। साउनमा जताततै हरियाली छाएको हुन्छ। साहित्य, संस्कृति, आध्यात्म, दर्शन आदि ईत्यादिमा हरियो रंगले विषेश अर्थ राख्छ। हरियालीले आसा र उमङ्ग जगाउँछ। ‘हरियो’ रंग जीवन्तता, स्वच्छता, पर्यावरण, प्रकृति, प्राकृतिक संसारको प्रतीक हो। त्यसैले हरियालीमा हराउनुको मज्जा बेग्लै छ।
त्यसै कटुवाल दह गन्तव्य छानेको होइन। त्यहीँ हरियालीमा हराउन छानेको। फेरि कटुवाल दह काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको धरोहर पनि हो।
चोभारबाट टौदह, खहरे, चाल्नाखेलहुँदै, सोखेलतर्फ अगाडि बढ्यौं। सोखेल पुगेपछि हाम्रा साइकलका पाउदान रोकिए। यहाँ नेपालकै सबै भन्दा जेठो जलविद्युत गृह छ।
पहिलो विद्युत गृह
नेपालमा बिजुली बलेको एक सय दश वर्ष पुगिसक्यो। वि.सं १९६८ जेठ ९ गते पहिलो पटक नेपालमा बिजुली बत्ती बल्यो। तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित विद्युतगृह हाल दक्षिणकाली नगरपालिका वडा नं. २ सोखेलमा पर्छ।
फर्पिङका विभिन्न मुहानबाट संकलित पानी सोखेल माथिको गोलाकार पोखरीमा जम्मा हुन्छ। पोखरीको पानी पाईपमार्फत सोखेलको पावरहाउसमा खसालेर विजुली निकालिन्थ्यो। यसको उत्पादन क्षमता पाँच सय किलो बाट थियो। हाल यहाँबाट विद्युत उत्पादन नभएको स्थानीय बताउँछन्।
हामीलाई पावरहाउमा जान त दिईएन। टाढैबाट फोटो भने खिच्यौं। यहाँबाट लगभग १०० मिटर पर राणाकालिन संरचना छ। भेटिएका स्थानीयसँग भलाकुसारी गर्यौं। संरचनाबारे स्थानीयसँग सोधेर सहयात्रीले जिज्ञासा मेटाए। भग्नावशेषमा परिणत हुँदै गरेका यी संरचना देखेर तीनै जना साईकलेले निकै दुःख मनाउ गरे।
मैले व्यंग्य गर्दै भने, ‘कत्ति न आफ्नै घर भत्के जसरी किन दुःख मनाउ।’ स्थानीयले पनि सहि थापे, ‘हो त नि चासो दिनुपर्नेले वास्ता गर्दैन हामी कति पिरोलिनू।’
आ–आफ्नो रूचिअनुसारका फोटो खिचेर निर्माणाधिन काठमाडौं-निजगढ द्रूत मार्ग पच्छ्याउँदै पाखाचोक भएर कटुवाल दह तर्फ अगाडि लाग्यौं।
कटुवाल दह
वर्षादको मौसम। कटुवाल दह पुग्दा ठूलो पानी पर्यो। छेवैको सुन्दर खाजा घरमा हामी रोकियौं। फरक शारीरिक क्षमता भएका स्थानीय सुन्दर लामा वास्तवमै सुन्दर छन्। ओत लाग्ने, खाजा पनि खान पाईने, समयको पनि सदुपयोग हुने। सुन्दरसँग हामी केहीबेर गफियौं। ह्विलचेयरमा बसेर उनले हाम्रा लागि चिया, खाजा तयार पारे। कटुवाल दहको महत्वबारे हाम्रा केही जिज्ञासा मेटाए।
उपत्यकाका महत्वपूर्ण जात्रा र कटुवालदहबीच विषेश सम्बन्ध छ। कटुवाल दहका धार्मिक, सांस्कृतिक, पुरातात्वीक महत्वका बारे उपत्यकामा बसोबास गर्नेका लागि त जान्नैपर्ने निकै रोचक प्रसंङ्ग छन्।
पहिलो, कटुवाल दह र संकटाको बाह्र वर्षे जात्राको सम्बन्ध। दोस्रो, कटुवाल दह र मछिन्द्रनाथको जात्रा सम्बन्ध। तेस्रो, कटुवाल दह र तीन बागमती तिर्थ यात्राको सम्बन्ध। हामीलाई सुन्दर भाइले संक्षेपमा यसबारे जानकारी गराए। यी तीन जात्राबारे सार संक्षेपमा थोरै चर्चा गरौं।
कटुवाल दह र संकटाको १२ वर्षे जात्रा
काठमाडौं टे-बहालमा श्री संकटाको बाह्र वर्षे मेला लाग्छ। भक्तजनको संकट निवारण गरिदिने देवता हुन् श्री संकटा। पद्मान्तक आजुको नामले पनि पुकारिन्छन् उनलाई। रातो मछिन्द्रनाथलाई उपत्यकामा ल्याउँदा संकटालाई पनि सँगै ल्याइएको भन्ने जनविश्वास छ।
जात्राका बारे जानकारी लिने हुटहुटी मच्चियो। मित्र निरञ्जन स्थापितसँग सम्पर्क गरेँ। निरञ्जनले टे-वहालका राजु शिखाकार र गिता शिखाकारसँग भेट्ने समय मिलाईदिए। राजु शिखाकार र गिता शिखाकारले आफूलाई सम्झना भए अनुसार बताइदिए। पछिल्लो १२ वर्षे मेला २०७२ साल वैशाख २५ देखि जेठ ६ गते सम्म मनाईयो। जात्राको पहिलो दिन पूर्वाङ्ग र क्षमा पूजा हुन्छ। दोस्रो दिन संकटा र वरूणको कलश लिन श्री संकटा मन्दिरका गुभाजु कटुवाल दह जान्छन्। तेस्रो र चौथो दिन कटुवाल दहमा तान्त्रिक विधिद्वारा संकटा र बरूण (योगिनी) साधना गरिएको दुइटा कलशमा देवता प्रवेश गराई टौदहहुँदै, न्हुसिकाप, चोभारमा लगि संकटाका पूजारीद्वारा पुरश्चरण तान्त्रिक रहस्य पूजा गरिन्छ।
कटुवालदहको ढुङ्गामा अंकित हत्केलालाई पाःल्हा द्यः भनिन्छ। तान्त्रिक पूजा गरिएको कलश सानेपा चोकको विश्रामस्थल मण्डलमा ल्याएर बिसाइन्छ। उक्त कलश साँझपख सानेपाबाट बाजागाजासाथ शोभा यात्रा गर्दै टेबहालमा भित्राईन्छ।
थकालीले स्वागत पूजा गरी दुवै कलशलाई मन्दिर प्रवेश गराइन्छ। बलि नचढाईने तर मासु, अन्डा, मदिरासहितको समयबजी चाहीँ चढाईन्छ।
कटुवाल दह र मछिन्द्रनाथको जात्रा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकाका संरक्षक तथा प्राणी जगतका पालनकर्ता हुन्। बौद्ध र हिन्दू धर्मावलम्वीको साझा देवता रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाका सबैभन्दा लामो जात्रा हो।
उपत्यकामा लामो समयसम्म खडेरी परेपछि भक्तपुरका लिच्छवी राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वन्धुदत्त बज्राचार्य र ललितपुरका ललित किसानले रातो मच्छिन्द्रनाथलाई कामाक्ष कामारूपबाट उपत्यका भित्राई जनता जनार्दन तथा प्राणीको उद्धार गरेको मानिन्छ।
कामाक्ष कामारूपबाट उपत्यका भित्राउँदा कटुवालदहमा विश्राम गरेको जनश्रूति छ। त्यस समयदेखि कटुवाल दहमा देवता लिन जाने परम्परा हालसम्म कायमै छ।
देवता लिन जाँदा विशेष पूजा हुन्छ। श्रद्धालु भक्तजनको घुइँचो लाग्छ। देवता लिन साँझ पूजारीसहितको टोली कटुवालदह पुग्छन्। तान्त्रिक विधिबाट देवता कलशमा प्रवेश गराई बुङ्मती पुर्याइन्छ। कलशमा राखेर ल्याइएको देवतालाई साँझपख रथारोहण गराइन्छ। वैशाख शुक्ल प्रतिपदा (आमाको मुख हेर्ने औसी) देखि जात्रा शुरू हुन्छ। रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न क्षेत्र घुमाउँदै जावलाखेल चोक पुर्याएपछि भोटो देखाइन्छ र जात्रा सकिन्छ।
कटुवाल दह र बागमती तिर्थ जात्रा
वागमती तीर्थयात्रा नेमुनिको पालादेखि शुरू भएको विश्वास छ। वागमती यात्रा २०३४ सालसम्म चल्यो। नदि फोहर हुन थालेपछि बागमती तिर्थयात्रा स्थगित भयो।
वैशाख कृष्णपक्षको चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिनसम्म वागमती तिर्थ यात्रा चल्थ्यो। वागमती तिर्थयात्रा पशुपति परिसरमा पञ्चामृत पूजा र रूद्रीपाठ गरेर शुरु भइ तान्त्रिक पूजा र हवन गरेर समापन हुन्छ।
पशुपतिनाथ मन्दिरबाट शुरू भई कटुवाल दह पुगेर त्यहाँबाट वागमतीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा करिब दुई साता लगाएर गरिन्छ।
लगभग यी सबै कुरा सार संक्षेपमा गर्दा हामीले चिया, खाजा पनि खाई सकेका थियौं। पानी पनि रहँदै गयो। त्यसपछि हामी बागमती किनारको श्री संकटाको पूजा गर्ने ठाँउमा गयौं। त्यहाँ ढुङ्गाको हत्केला देखिन्छ। उपत्यकाको एक मात्र निकास कटुवाल दहबाट धमिलो पानी निरन्तर बाहिरिँदै थियो। हामी एक तमास बागमती नदि हेरिरह्यौं।
४५ वर्ष पहिलाको बागमती, सयौं वर्ष अघिको बागमती र कटुवाल दह कस्तो थियो होला भन्ने कल्पनामा केहि बेर हरायौं। मैले केहि अनुभव बताएँ।
कटुवाल दहबाट हाम्रो अर्को गन्तव्य फर्पिङ थियो। वागमती नदीले हाल गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाको सिमानाको काम गर्छ। पूर्वतर्फ गोदावरी, पश्चिम तर्फ दक्षिणकाली नगरपालिका। दक्षिणकाली नगरपालिकामा ध्याम्पादेवीको सानो मन्दिर छ। यो ध्याम्पो निकै प्राचीन देखिन्छ। यसलाई संरक्षणको खाँचो छ।
मेरो काम चाहिँ बाटो देखाउने अगुवा। तीन जना सहयात्री यी विभिन्न पौराणीक कथा सुनेर थकाई विर्सदै थिए। यात्रामा उकालोको चुनौती थपियो। कटुवालदहबाट करिब पाँच कि.मी को दूरीमा फर्पिङ पुगिन्छ। युँटिकीहुँदै फर्पिङ पुग्दा उकालो मात्र चार कि.मी हाराहारी थियो। ठट्टा गर्दै साइकल चलाउँदा उकालो कटेको पत्तै भएन। फर्पिङमा खुवा, सिजन अनुसार नास्पाती, खुर्पानी, काँक्रोलगायत हरिया सागसब्जी पाईन्छ।
काठमाडौं उपत्यकाको धर्म, संस्कृति, सभ्यतासँग यस्तो अन्योन्याश्रीत सम्बन्ध भएको ठाँउमा घुम्न पाउँदा निक्कै खुसी थिए सहयात्री साथी। आफूले थाहा पाएको ठाँउबारे जानकारी दिन पाउँदा वास्तवमा म पनि खुसी थिएँ ।
अन्त्यमा,
नदीप्रति हाम्रो व्यवहार अति निर्दयी छ। नदीलाई नाला बनायौं। वागमती संरक्षण गर्न उपत्यकाका अधिकांश मानिस यहाँ जानैपर्छ। खाद्य चक्रमा पर्ने प्रभाव कम गर्न, भूमीगत जल भण्डार स्वच्छ पुनर्भरणका लागि, जलचरहरुको बासस्थान सुरक्षित राख्न, स्वच्छ पिउने पानी संरक्षण, तल्लो तटीय जनसमुदायको जनजीविका आदि धेरै संरक्षणका मुद्दा सम्बोधन गर्न सबैले वागमती नदीको महत्व बुझ्न जरूरी छ।
संरक्षणबारे पाठ्य पुस्तकमा ठूला कुरा लेखिएका छन्। व्यवहारिक रुपमा प्रत्यक्ष देखाउन पनि स्थानीयस्तरमा यस्ता यात्रा महत्वपूर्ण हुन्छ। जल बीना जीवन कठिन छ। जल र जीवनको महत्वकोबारे आधुनिक भनिने जन समुदायलाई पढाउन र आचरण परिवर्तन गराउन यस्ता जात्राको महत्व छ।
पहिले कटुवाल दहबाट शुरू हुने जात्रामा रमाइलो्मा चुर्लम्म डुबेर आनन्द लिन्थे। दुःख पीडा विर्सन्थे। अहिले उपत्यकामा बस्ने हामीले नदीलाई नाला बनाएपछि कटुवाल दह दह भएन। फोहर पोखरी भयो। हामीले उपत्यकाको सदियौं पुरानो संस्कृति, सभ्यता त्यहीँ फोहरमा चुर्लम्म डुवायौं।