पहिला म धनी थिएँ। मसँग सम्पत्ति, पैसाको थुप्रो वा सुनचाँदी थिएन। तर मसँग जीवनको वास्तविक सम्पत्ति थियो— माया, साथ, आत्मीयता र सन्तोष। मेरो बाल्यकाल अनि किशोरावस्था, जसमा मैले सानो कुरा पनि ठुलो सुखको रूपमा अनुभूति गरेँ, त्यो नै मेरो सम्पत्ति थियो।
मेरा बा हरेक क्षण मेरो साथमा हुन्थे। मैले जति गल्ती गरे पनि, मेरो रहर पूरा गर्न उनी तत्पर रहन्थेँ। म बिरामी पर्दा रातभर जाग्राम बस्ने, औषधि खुवाउने र फेरि भोलिपल्ट बिहानै काममा जाने—त्यो नि गुनासो बिना।
मेरी आमा, जसको माया कहिल्यै घटेन, मैले जति सताए पनि कहिल्यै रिसाइनन्। मैले धुलाम्य भएर राति ढिलो घर फर्कँदा गाली गर्नुको सट्टा, ‘आऊ, खाजा खा’ भन्थिन्। त्यो असीम माया नै मेरो असली सम्पत्ति थियो।
छिमेकीहरूसँग सम्बन्ध आत्मीय थियो। कहिले झगडा पनि हुन्थ्यो तर मिल्न धेरै समय लाग्दैनथ्यो। साथीहरू थिए— जससँग हाँसोको लहर, रमाइलो अनि रहरका अनगिन्ती कथा बाँडिन्थे। गाडी थियो, त्यसैले सयरमा जान सकिन्थ्यो। कहिलेकाहीँ बासी भए पनि घरको भात, तरकारी अनि अचारको स्वाद अकल्पनीय मिठो हुन्थ्यो।
गाउँमा गाउँको स्वाद थियो— चिसो मूलको पानी, साँझपख गाउँघरका बुढा बाजुहरूको गफ, खेतको सुगन्ध अनि रेडियोमा बज्ने गीतहरू। स्कुलमा शिक्षकहरूको माया थियो, जसले पढाइ मात्र होइन, जीवनको बाटो देखाउँथे। त्यति बेला पैसाको कमी थिएन— किनकि पैसाले मापन गर्न नसकिने सम्पत्ति मसँग प्रशस्त थियो।
तर जब पैसा कमाउने यात्रामा निस्किएँ, त्यति बेला नै पैसाको कमी सुरु भयो। बिदेसिने निर्णय गर्दा लाग्यो— यो मात्र बाटो हो जसले भविष्य उज्यालो बनाउँछ। तर सहरले मलाई पैसाको धनी र सम्बन्धको गरिब बनाइदियो।
आज मसँग पैसा छ तर त्यो पैसाले आमा–बाबुको हातको स्पर्श फिर्ता ल्याउन सक्दैन।
आज मसँग घर छ तर त्यो घरमा माया गर्ने मान्छे छैनन्।
आज मसँग रहरका लागि सामान किन्न सक्ने शक्ति छ तर ती कुरा बाँड्ने प्रिय मान्छे छैनन्।
विदेशमा आएर मैले बुझेँ— असली अभाव भनेको पैसाको होइन, आत्मीयताको हो।
मसँग अहिले न त बा–आमा छन्, न त जीवन सुम्पेकी श्रीमती। छिमेकीसँगको सम्बन्ध पनि दूरीमा हरायो। साथीहरू जसले रिसाइदिँदा पनि फेरि अँगालो मार्थेँ, उनीहरू टाढा भए। जन्मभूमिको स्वाद, चिसो पानी, खेतको गन्ध अनि गाउँको सादगी— सबै हराए।
अहिले मेरो जीवनमा समय छैन, निद्रा छैन, मनको शान्ति छैन। बिहानदेखि बेलुकीसम्म पसिनाको मूल्य मात्र तिर्ने दौड छ। सहरको कोलाहलले आत्माको शान्ति खोस्छ। यहाँ घडीको सुई जसरी जिन्दगी दौडिरहेको छ— र थोरै पनि थाम्ने समय छैन।
पैसाको साटोमा के गुमायौँ?
विदेशमा पसिना बेच्दा हामीले केवल पैसाको मूल्य मात्र बुझ्यौँ। तर सम्बन्ध, संस्कार अनि सन्तोषको मूल्य गुमायौँ। हाम्रो जवानी प्रदेशमै बित्यो— बा-आमाको छेउमा वृद्धावस्था बिताउन पाउने सपना टुट्यो।
सहरमा आवश्यकता त छ तर आत्मीयता हराइसकेको छ। यहाँ पसिनाको मूल्य छ तर अनुहारको हाँसोको छैन। यहाँ भविष्यको सपना छ तर वर्तमानको मिठास छैन।
मध्यरातमा कानै चिराउने गरी बज्ने अलार्मको आवाजले म झस्किन्छु। निद्राले झलमलिएको आँखा तन्काएर फेरि काममा जान्छु। मनमनै सोध्छु— ‘के यो नै जीवन हो? पैसासँग सारा जीवन साट्नु पर्ने बाध्यता किन?’ उत्तर सायद कतै छैन।
हाम्रो चाहना के हो?
यो केवल मेरो कथा मात्र होइन— यो लाखौँ परदेशी युवाको कथा हो। हामी पैसा कमाउन यहाँ आएका छौँ, तर हाम्रो असली चाहना सरल छ— हाम्रो श्रमको उचित मूल्य हाम्रो आफ्नै देशमै पाइयोस्। हामी आफ्नै परिवारको साथमा बसेर गुजारा चलाउन पाऊँ। हामीले जन्मभूमिको माटोमा पसिना बगाएर गर्व गर्न पाऊँ।
देशले यस्तो वातावरण बनाओस् जहाँ युवा विदेश जान बाध्य नहुन्। आमाबाबा, श्रीमती–सन्तानको साथमा बाँच्ने अवसर सबैलाई मिलोस्। हामीले हाम्रो सीप, पसिना र समय आफ्नो मातृभूमिका लागि खर्च गर्न पाऊँ।
अन्त्यमा, म फेरि भन्छु— पहिला म धनी थिएँ किनकि मसँग माया, सन्तोष र आत्मीयता थियो।
अहिले म गरिब छु किनकि पैसाले किनेर ल्याउन नसकिने ती कुरा हराइसके। पैसा कमाउन थालेदेखि नै पैसाको कमी भयो अनि जीवनको धनीपन गुमायो।