जिम्मेवारीले फुलेका ती तिम्रा केश
जवानभन्दा कम थिएन तिम्रा रेस।
घामले डढेको त्यो तिम्रा छाला
चाउरे परेका ती तिम्रा गाला।
साँझ बिहानको छाक टार्न छ होला गाह्रो
नभने पनि तिमीलाई देखिन्थ्यो भएको छ कति साह्रो।
थकाइ त्यो ज्यानलाई कति लाग्दो हो
दुःख तिमीलाई देखेर भाग्दो हो।
मनको दुखाइलाई एक्लै कसरी सहन्छौँ
पीडा भोगी हाँसी हाँसी कसरी रहन्छौँ!
नेपालगन्जका चोक-चोकमा रिक्सावाला ग्राहकका प्रतीक्षामा देखिन्थे। एक जना मेरो बुवाको उमेरको मान्छे पनि त्यही भिडमा देखिए। सायद गर्मीले होला अनुहार डढेको थियो। दौरा सुरुवाल र फित्तावाला चप्पलमा थिए।
म पत्रकारिता तालिमको लागि नेपालगन्ज गएको थिएँ। २०८१ सालको कुरा हो। तालिम भोलि सकिँदै थ्यो। आज साँझ हामी सामान किन्नको लागि रुपैडिया जाने मेरो दिदी र मेरो सल्लाह भयो।
असोज महिना थियो। तर पनि नेपालगन्जको गर्मी भनी साध्य थिएन। फेरि पहिलो पटक गएको भएर त्यहाँको बारेमा केही पनि थाहा थिएन। हिँड्न सक्ने अवस्था थिएन। किनकि समय पनि थिएन। बसपार्कमा गयौँ। एउटा रिक्सावाला अंकललाई भनेर हामी भारततिर लाग्यौँ। तर भारत भने पसेनौँ।
नेपाल भारतको सिमानामा हामी ओर्लियौँ। रिक्सावाला अंकल उमेरले ५० कटेको जस्तो देखिनु हुन्थ्यो। रिक्सामा पनि कति गर्मी। रिक्सावाला अंकल पसिनाले रुझिसक्नु भएको थियो। पसिना पुछ्दै हामीलाई गन्तव्यमा छोड्दै हुनुहुन्थ्यो।
रिक्साबाट दिदी र म ओर्लियौँ। उहाँलाई दिन १० रुपैयाँ अपुग भयो। मसँग पाँच सयको नोट थियो। अनि दिदीसँग हजारको रहेछ। रिक्सावाला अंकलसँग पनि खुला पैसा रहेनछ। रिक्सावाला अंकलले आफूले लिने भाडाभन्दा माथि पनि नलिने र थोरै पनि नलिने बानी नै रहेछ। आफूले गरेको मेहनत नलिई नछोड्ने बानी उहाँको गजब लाग्यो।
हामीले यताउता पसलमा नोट साट्न खोज्यौँ। कसैले पनि साट्न मानेनन्। नेपालगन्जतिर त केही सामान खरिद नगरेसम्म पैसा साट्न पनि गाह्रो रहेछ। रिक्सावाला अंकल हाम्रो पछि-पछि हिँड्नुभयो। हामीले पाँच, छ ठाउँका पसलेसँग आग्रह गर्यौँ तर कसैले दिएनन्।
रिक्सावाला अंकल १० रुपैयाँको लागि हामी पिछा गरिरहनु भयो। १० रुपैयाँले उहाँका लागि केही आउँदैनथ्यो होला। तर केही चिज खरिद गर्दा सायद त्यो दशले उहाँलाई सहयोग पक्कै गर्ने भएर होला। हाम्रो पछिपछि हिँडिराख्नु भयो।
अन्तिममा हामीले केही सामान किन्ने निर्णय गर्यौँ। लगभग ५ मिनेटभन्दा बढी हाम्रो पछि हिँडिराख्नु भयो। उहाँको लागि त्यो पाँच मिनेट निकै महत्त्व थियो र पनि १० रुपैयाँको लागि पसिना पुछ्दै हिँडिराख्नु भयो।
हामी कपडा किन्न गएका थियौँ। अरू सामान आवश्यक थिएन। तर के गर्ने सामान लिनै पर्ने भयो। हामी भए त पचास, सय पनि ठिकै छ भनेर हिँड्थ्यौ होला। तर त्यो अंकलले हामीले रित्तो पठाउनु थिएन।
एउटा पसलमा गएर खाने कुरा किन्यौँ र रिक्सावाला अंकललाई दियौँ। जीवनमा पढेर मात्र पाठ सिकिन्छ भन्नु गलत हो। यहाँ परेर सिकेका र जीवनमा सही बाटोमा हिँडेका पनि कयौँ छन्। जुन चिजको अभावमा बाँचेको छ मान्छे त्यसको महत्त्व सायद उहाँ रिक्सावाला अंकल हुनुहुन्थ्यो।
अरूलाई ढाँटेर वा ठगेर खान हुँदैन। तर आफूले मेहनत गरेको कामको एक रुपैयाँ पनि खेर फाल्न हुन्न भन्ने सिक सिकियो। अभाव के हो भन्ने कुरा त्यति मैले भोगिनँ होला। तर केहीको अभाव त हरेकको जीवनमा हुन्छ।
मैले मेरो बालाई सम्झिएँ। सबै बाहरूलाई सम्झिएँ। आफ्ना परिवार र सन्ततिको लागि बाहिर हरेक कुराको अभावमा बस्ने र भित्र पूर्ण देखाउने बाहरूलाई सम्झिएँ। सानोमा घरमा पैसा माग्दा नदिए, पैसा दिन नसक्नेले किन जन्माएका होलान् भनेर डाइलग हानेको याद आयो।
यहाँ कर्म गर्नेहरूलाई १० हैन १ रुपैयाँ कमाउन के-के गर्नुपर्दछ। के-के सहनुपर्दछ। उनी पनि सायद ती बा थिए। जसले घरमा अभाव खट्किन नदिनका लागि दिनरात घाम पानी नभनेर लागिपरेका थिए। बाहरू रुँदैनन्। बाहरू हाँस्दैनन्। बाहरू सुन्दैनन्। बाहरू सुनाउँदैनन्। तर बाहरू पत्थर होइनन्।
जसको आँसु नहोस्। हाँसो नहोस्। कुरा नहोस्। बाहरू यति बलिया देखिनु पर्दछ। सबै देखाएमा उनलाई यो समाजले पनि कुरा काट्न थाल्छ। फलानो यस्तो, फलानो उस्तो। अनि बाहिर कमजोर देखियो भने घर कसरी बलियो बन्छ भन्ने डर सबै बाहरूलाई हुन्छ।
आफ्नाका लागि बाहरू के गर्दैनन्। मात्र दुःख कहिले देखाउँदैनन्। बाहरू यसै आँटिला भनिएको कहाँ हो र जो कहिले रुन पनि अरूको सामु पाउँदैनन्। बाहरूले केही देखाउन पनि जानेका हुँदैनन्। यस कारण बाहरूलाई घरको त्यसै जग भनिएको पक्कै होइन।
बा! तपाईंहरूको बारेमा कम बोलिन्छ, कम लेखिन्छ। तर बाहरू शक्तिशाली हुन्छन्। जसको हातमा परिवारको रिमोट हुन्छ। कहिले कस्तो समयमा थिच्दा राम्रो हुन्छ, त्यो तपाईंहरूकै काँधमा हुन्छ।