गाउँ छाडेर काठमाडौं आएपछि हामी दम्पतीको आर्थिक जीवन निकै कष्टकर बनेको थियो। ललितपुरको लगनखेलमा भाडामा बस्थ्यौं। हाम्रो भान्सा, डाइनिङ, लिभिङ रूम र बेडरूम भन्नु एउटै कोठा थियो।
म ललितपुर मावि, महेन्द्र आदर्श विद्याश्रम र मच्छिन्द्र क्याम्पसमा पढाउँथेँ तर तलब थोरै थियो। मेरी पत्नी सपना घरै बस्थिन्, घरधन्दा गर्थिन्। चाहिने सरसामान जोहो गर्थिन्। स्कुल–कलेज सबैतिरबाट जति पैसा आउँथ्यो, म उनैका हातमा राखिदिन्थेँ।
त्यो पैसाले लगभग महिनादिन पुग्थ्यो। दुई-चार जना पाहुनापाछा आए भने, उपचारमा खर्च गर्नुपर्यो भने महिनाभरिको हिसाब गोलमाल हुन्थ्यो। महिनाको अन्तिमतिर अड्कलेर खान्थ्यौं। एकदिन त दुवै जना भोकै सुत्नुपर्ने अवस्था पनि भयो। घरमा अन्नको गेडो थिएन, पैसाका नाममा एक कौडी पनि थिएन।
कतिपय मानिस भन्छन् – छोरो भाग्यले जन्मिन्छ, छोरी सौभाग्यले!
हाम्री छोरीको जन्म पनि यस्तै भयो। छोरी जन्मेपछि घरमा साक्षात् लक्ष्मीको प्रवेश भयो।
छोरी जन्मिएको केही दिनपछि सपना महेन्द्र आदर्श विद्याश्रममा पढाउन थालिन्। अर्को महिनादेखि एक जनाको कमाइले महिनाभरिको खर्च टर्यो, एक जनाको बचत भयो। साताको एकपटक आमिष परिकार पनि पाक्न थाल्यो। छोरीलाई सेरेलेक, लिटो र दूधको जोरजाम सहज भयो। डेराकोठा दुईवटा भए; एउटा कोठा भान्सा र भण्डार, अर्को बेडरूम।
छोरी जन्मेपछि म माध्यमिक तहमा बढुवा भएँ। आयस्ता बढ्यो। हामीले एउटा स्टिल दराज र सोफा सेट पनि किन्यौं।
त्यसको केही महिनामा गोरखापत्र दैनिकमा उप-सम्पादक पदका लागि आवेदन खुल्यो। मनमा उत्साह लिएर आवेदन गरेँ, परीक्षा दिएँ। मेरो प्रयास सफल भयो, उत्तीर्ण भएँ।
मेरो दिनचर्या फेरियो। बिहान मच्छिन्द्र क्याम्पसमा पढाउने, दिउँसो महेन्द्र आदर्श विद्याश्रममा र राति गोरखापत्रमा सम्पादनको काम गर्ने। म बिहानैदेखि राति अबेरसम्म व्यस्त भएँ।
कमाइ राम्रै हुन थाल्यो। आर्थिक संकट टरेर सहज भयो। डेरामा एउटा कोठाबाट दुइटा भएकै थियो, चारवटा कोठाको फ्ल्याट लिएर अलिक सजिलो गरी बस्न थाल्यौं।
डेराभाडा र आफ्नो खर्च चलाएर कान्छाभाइलाई अलिअलि पढाइखर्च दिन र आमाले नियमित खानुपर्ने औषधि पठाइदिन पनि पुग्न थाल्यो। दुई-चार जना पाहुना आउँदा डराउनुपर्ने भएन।
बचत रकम बैंकमा जम्मा गर्न थालेका थियौं। आजभोलि भन्दै समय बित्दै थियो। एक दिन सपनाले भनिन्, 'हामीसित भएको पैसामा अलिअलि रिन गरेर भए पनि एक टुक्रो घडेरी पो किन्नुपर्छ कि! अब त्यता सोच्ने हो कि!'
हाम्रो कुरा मिल्यो। घडेरी खोज्न थाल्यौं। शनिबार घरमा बास हुन छाड्यो। काठमाडौंमा अहिलेको अनामनगरको दक्षिणतिर आलुबारी थियो। एक दिन त्यता घुम्दै गर्दा एक जना किसान आलु खन्दै गरेका देखिए।
मैले ती किसानलाई घडेरीको कुरा गरेँ। तिनले तल्सिङले यो जग्गा बेच्ने भनेको छ भनेर सुनाए। मैले दाम कति भन्छन् भनेर सोधेँ। उनले रोपनीको ८० हजार भन्छ तर ६०–७० मा दिन्छ होला भने।
सिंहदरबारको पर्खाल नजिकैबाट साँघुरो गोरेटो थियो। त्यसको दुवैतिर सिस्नो थियो। सिंहदरबारको हातो बढाएर त्यो पर्खाल धोबीखोला किनारसम्म पुर्याउने हल्ला पनि चलेको थियो। हामीले त्यहाँ घडेरी किन्ने विचार त्यागिदियौं।
केही समयपछि मेरो डेरामा नेपाली विषयको ट्युसन पढ्न विद्यार्थीहरूको ताँती लाग्न थाल्यो। सेन्ट जेभियर्स, सेन्ट मेरिज, मदन स्मारक, मच्छिन्द्र, सिद्धार्थ वनस्थली र विश्व निकेतनका एसएलसी परीक्षा दिने विद्यार्थी नेपाली पढ्न मलाई खोज्दै आउन थाले।
अलग्गै एउटा कोठा लिएर पढाउन थालेँ। जाडो बिदाको समयमा एकै दिन आठ वटासम्म समूहलाई पढाएँ।
त्यसैबीच 'काठमाडौं भ्याली क्याम्पस' खुल्यो। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डी ब्लक भाडामा लिएर पढाइ सुरू भयो। त्यस क्याम्पसमा आइएस्सी (विज्ञान विषयमा हालको ११ र १२ कक्षा) पढाइ हुन्थ्यो।
डा. सुरेशराज शर्माले क्याम्पसमा विश्वविद्यालयका नाम चलेका प्राध्यापकहरू खोजेर राख्नुभएको थियो। नेपाली विषय पढाउनुहुन्थ्यो प्राडा वासुदेव त्रिपाठी। भर्खर एसएलसी पास गरेर आएका विद्यार्थीलाई त्रिपाठी सरको शिक्षण फलामको चिउरा भएछ!
आइएस्सीको नेपाली विषय पार लगाउन ट्युसन पढ्ने उद्देश्यले त्यहाँका केही विद्यार्थी मकहाँ आइपुगे। ती विद्यार्थी मेरो शिक्षण शैलीबाट प्रभावित भएछन्।
उनीहरू त्रिपाठी सरको आलोचना गर्थे, पढाएको केही बुझिँदैन भन्थे। मेरो मनमा लाग्थ्यो – त्यस्ता विख्यात विद्वानसँग त मैले पो पढ्नुपर्ने, उहाँसँग पढ्न पाए कति उम्दा हुन्थेँ होला!
ती विद्यार्थीको कुरा सुनेर मेरो मनमा अर्को कुरा पनि आएथ्यो – लठ्ठी काट्न तरबार चाहिँदैन, एउटा कर्दले पनि काम चल्छ। त्रिपाठी सर तरबार हुनुहुन्थ्यो, म थिएँ मामुली कर्द। उहाँ महासागर हुनुहुन्थ्यो, म थिएँ तुरतुरे धारो।
ती विद्यार्थीका दृष्टिमा म नै उम्दा ठहरिएँ, कस्तो अचम्म!
हाम्रो अर्को सन्तान जन्मिने तरखर हुँदै थियो। सौभाग्यले छोरी र भाग्यले छोरो भन्थे, नभन्दै छोरो जन्मियो। छोरीपछि छोरो भएकोमा हामी दंगदास भयौं।
हामी लगनखेलबाट काठमाडौंको घट्टेकुलोमा डेरा सर्यौं।
छोरी साधन महेन्द्र भवनमा चार कक्षा पुगिन्। उनका साथीहरूमध्ये एक जनाको घर हाम्रो डेरानजिकै रहेछ। ती नानी स्कुल जाने बेला हाम्रो कोठामा आउँथिन्। तिनले कक्षामा अरू साथीलाई 'साधनाको त आफ्नो घर छैन, ऊ अर्काको घरमा भाडामा बस्छे' भनिछन्।
केही साथीले घर नभएकी साधनासित नखेल्ने भनेर हाम्री छोरीलाई एक्ल्याएछन्।
सधैं खुसी भएर स्कुलबाट आउने छोरी एक दिन निराश अनुहार लिएर आइन्। आमाले सोधिन्, 'के भयो नानु? आज तिम्रो मुख किन अँध्यारो? स्कुलमा गाली गरे?'
छोरीले भनिन्, 'हामी पनि घर बनाम् न के! घर छैन भनेर साथीहरू मसित खेल्न पनि मान्दैनन्, मलाई कस्तो हेप्छन्!'
छोरीको कुराले मेरो अन्तस्करणमा च्वास्स घोचेजस्तो भयो।
आमाले सम्झाइन्, 'छोरी! घर बनाउन धेरै पैसा चाहिन्छ, हामीसित घर बनाउन पुग्ने पैसा छैन। पैसा भएपछि बनाऔंला।'
हामी बाबुआमाका हातमा सय–पचास रूपैयाँ देखेका बेला छोरी भन्थिन्, 'उः तेत्रो पैसा छ त, घर बनाम् न!'
हाम्रा हातमा पैसा देख्नासाथ उनी त्यही रटान लगाउँथिन्।
हामी छोरीको कुरा सुनेर हाँस्थ्यौं तर छोरीमा आफ्नो घर नभएकोमा अलग्गै पीडा र छटपटी थियो। हामी पनि कलिहेकाहीँ बेचैन हुन्थ्यौं। घर बनाउन कति पैसा चाहिन्छ भन्ने अबोध बालिकालाई थाहा हुने कुरा थिएन।
छोरीले रटान गर्न थालेको केही महिनामा हामीले घट्टेकुलोमा साढे दुई आना घडेरी किनेर तीनतले घर बनायौं।
आफ्नो घर बनेर सरेपछि छोरीको खुसी असीम भयो। डेरामा बसेका मान्छे, आफ्नो घर भएपछि हामी पनि खुसी भयौं।
घर त बन्यो तर चार फिटको घुमाउरो गल्लीबाट हिँड्नुपर्थ्यो। बाटो सानो भयो, यस्तो ठाउँमा सधैं बस्न सकिन्न भन्ने लाग्न थाल्यो। बिस्तारै आफूसँग पैसा जम्दै गयो। अलिकति आँट थपियो।
हामीले अलिक सस्तै मूल्यमा त्यो घर बेच्यौं अनि कुमारीगालमा अलि बढी जग्गा किनेर साढे दुई तलाको घर बनायौं। आफू बस्यौं, एक तला भाडामा दियौं।
कक्षा दस पूरा गरेपछि छोरीले विज्ञान विषय पढिन्। त्यसपछि काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक तह पूरा गरिन्।
छोरीले एउटा अमेरिकी प्रोजेक्टमा जागिर सुरू गरेकी थिइन्, अमेरिका बस्ने युवकसित बिहेको कुरो चल्यो। कुरा चलेको पन्ध्र दिनमा बिहे भयो, त्यसको पन्ध्र दिनमै छोरी अमेरिका उडिन्।
उनले अमेरिकामा युनिभर्सिटी अफ साउथ फ्लोरिडाबाट कम्प्युटर साइन्समा मास्टर्स गरिन्। हाल टेक्सस चिल्ड्रेन्स हस्पिटलमा सफ्टवेर इन्जिनियरका रूपमा कार्यरत छिन्, ज्वाइँ सिटी अफ ह्युस्टनमा सिभिल इन्जिनियर हुनुहुन्छ।
छोरीज्वाइँको जीवन बडो आनन्दले चलेको छ। यो युगमा घर, गाडी, बैंक ब्यालेन्स हुनु जीवनको ठूलो सन्तोष हुने कुरा रहेछ।
आजकाल मलाई रवीन्द्र मिश्रले लेखेको 'खान पुगोस्, दिन पुगोस्' नामको कृति सम्झना हुन्छ। छोरीज्वाइँलाई खान पुगेको छ, दिन पनि पुगेको छ। बेलामौका हामीले पनि सहयोग पाएका छौं। सौभाग्यले जन्मेकी छोरी भनेर हामी पतिपत्नी दंग छौं।
केही महिनायता हामी अमेरिकामै छौं। यसपालि छोरीको जन्मदिनमा हामी दुवै जना बिहान सबेरै उठ्यौं। नुहाइधुवाइ, योग, प्राणायाम र ध्यान पूरा गरेपछि छोरीका लागि अष्टचिरञ्जीवीको पूजाअर्चना गर्यौं। पूजामा अष्टचिरञ्जीवीको स्तोत्र 'अश्वस्थामा, बलि, व्यास, हनुमान्, विभीषण, पर्शुराम, कृपाचार्य मार्कण्डेय नमोनमः' भन्दै प्रार्थना गर्यौं।
'ब्रह्मा मुरारि त्रिपुरान्तकारी भानु, शशि, भूमिसुतो बुधश्च, गुरुश्च शुक्र शनि राहु केतव, सर्बे ग्राहा शान्ति करा भवन्तु' भन्दै नवग्रहको स्तुति पनि गर्यौं।
दीर्घायु, आरोग्य र ऐश्वर्यको कामनाका साथ हामीले छोरीलाई निधारमा रातो अक्षताको टीका लगाइदिएर आशीर्वाद दियौं। 'ॐ पूर्ण मद पूर्ण मिदं पूर्णात् पूर्ण मुदच्यते पूर्णश्य पूर्ण मादाय पूर्ण मेवा वशिष्यते' मन्त्रोच्चारण गरेर पूर्णताको पनि आशीर्वाद दियौं।
म सानो छँदा हाम्री आमा भन्नुहुन्थ्यो, 'बिहान सधैं नवग्रहको मन्त्र पाठ गरे कुनै ठाँगेले छुँदैन।'
हामी पतिपत्नीले छोरीलाई लगाइदिने टीको बनाउँदा महामृत्युञ्जय मन्त्र 'ॐ त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्द्धनम्, उर्वारुक मिव बन्दनान् मृत्योर्मुक्षिय मामृतात्' वाचन गर्दै स्तुति गर्यौं।
'ॐ हं हनुमते, रुदावताराय, सर्वशत्रु संहारणाय, सर्व रोग हराय, सर्व वशीकरणाय, रामादूताय स्वाहाः' पनि वाचन गर्यौं।
आशीर्वचन र मन्त्र सुनेर त्यसको अर्थ जान्न बाह्र वर्ष उमेरको नाति प्रशमले अंग्रेजीमा प्रश्न गर्यो। छोरीले हामी नेपालीले जन्मदिन मनाउने तरिका बताइन्, मन्त्रको अर्थ बताइदिइन्।
छोरीको जन्मदिन योग, प्राणायाम र मन्त्रोच्चारणसभा जस्तो भएर बित्यो। हामीले केक नकाटी, मैनबत्ती ननिभाई हाम्रै परम्पराअनुसार छोरीको जन्मदिन मनायौं।
प्रशमले नेपालीले जन्मदिन मनाउने तरिका देख्यो।
आजका युवायुवती र किशोरकिशोरी हाम्रा प्राचीन मन्त्र, यन्त्र र तन्त्र जान्दैनन्।
साँझपख ज्वाइँ अफिसबाट फर्केर आउनासाथ प्रस्ताव गर्नुभयो – आज साधनाको जन्मदिन, खाना खान बाहिर जाऔं।
हामी एउटा जापानी सुसी रेस्टुरेन्टमा पस्यौं। छोरी साधना, ज्वाइँ प्रकाश, नाति प्रशम, नातिनी सान्भी, म र सपना एउटा राउन्ड टेबलमा घेरा लाग्यौं।
हामी बसेको केही बेरमा एक जना सेवक आए। उनले परिकार बनाउने केही सामान ल्याएका थिए। उनले हाम्रो टेबल पुछपाछ गरेर कुनै झोल पदार्थ थोरै खन्याए। टेबलमाथि त ह्वारह्वारी आगो पो बल्न थाल्यो!
त्यो टेबलमा त ओभन मिलाइएको रहेछ!
ती सेवक कुक रहेछन्! आफ्ना केही हतियार नचाउँदै, आफू पनि छमछमी नाच्दै रमितालाग्दो गरी सबै खानेकुरा टेबलमाथि नै फ्राई गरे अनि हाम्रा थालमा राखिदिए। आफ्ना आँखैसामु बनाएका परिकार स्वाद मानेर खायौं।
वासाबी हालेको पिरो सुसी र मिठा जापानी परिकारको स्वाद लिएर हामी राति फर्कियौं।
सौभाग्यले जन्मेकी छोरीका साथमा हामी बाबुआमाले आफूलाई भाग्यमानी सफल ठान्यौं।