प्रेम के हो? प्रेमी को हो? साथी के हो? जीवनसाथी को हो? सम्बन्ध के हो? साथ के हो? सात जन्मको नाता के हो? सात फेरा के हो?
कबीर भन्छन्- ढाई अक्षर प्रेम कि पढे सो पण्डित होए। किताबका ठेली पढेर प्रेम प्रकट हुँदैन। मन्त्र पढेर बन्धन बलियो हुँदैन। प्रेमलाई बुझ्न साँच्चै जटिल छ। वास्तवमा प्रेम शब्दमा अभिव्यक्त गर्नै सकिँदैन। स्वार्थको लहरामा प्रेम प्रकट हुँदैन। क्षणिक हुँदैन प्रेम। आशामुखी पनि हुँदैन प्रेम। प्रेममा मात्र प्रेम हुन्छ। प्रेमीको दोष हेरिँदैन। प्रेमले राम्रो नराम्रो, उच्च, नीच, फाइदा बेफाइदा केही देख्दैन। देख्छ त केवल प्रेम नै प्रेम।
प्रेमीको लागि सदैव केही गर्न तत्पर। ऊर्जाशील। आत्मविश्वासी। सहयोगी। सद्भावी। समर्पण र शरणागतमा प्रेम अनुभूत हुन्छ। प्रेम अनुभूति हो। प्रेम आस्था हो। प्रेम आरम्भ हो। प्रेम अन्त्य हो। प्रेम स्थिरता हो। प्रेम शान्ति हो। २५ वर्ष पुग्नै लागेकी समझदार छोरीसँग यस्तै यस्तै विषयमा बहस हुँदै थियो।
छोरीले निकै उत्साही भएर भनी, ’सैयारा फिल्म हेर्न जानू है मामू! प्रेम के हो हजुरले पनि बुझ्नु हुन्छ। हजुरलाई पक्कै मन पर्छ कृशको प्रेम। सिनेमा हेरेर म त आज रोएर आएँ। आमाको भूमिकामा रहेकी कलाकारको आवाज त झन् ठ्याक्कै हजुरकै जस्तै लाग्यो। मैले थाम्नै सकिनँ आफूलाई अनि त हलभित्रै ह्वाँ ह्वाँ गरेरै रोएँ।’
मीमांसा छोरीका कुरा सुनेर हाँस्दै भनेँ, ’हो नानी मलाई पनि ऊबेला जीवन तीन घण्टे सिनेमा जस्तै लाग्थ्यो। राजेन्द्र कुमार जस्तै भद्र, ज्ञानी र शालीन हुन्छन् होलान् हरेकका प्रेमी र जीवनसाथी सोच्थेँ। कोइलाको शारूख खान सम्झिन्थेँ। युरोप, अमेरिका त झन् पानी पँधेरो नै होला प्रेमील जोडीका लागि ठान्थेँ। सिनेमामा जस्तै वास्तविक जीवनमा पनि बेलाबेलामा आफै गीत घन्केला सोच्थेँ। दुःख होस् या सुख नाच्न पनि उत्पातै आउला भन्ठान्थेँ। हरेक परिस्थितिमा प्रेम भएपछि जीवन रमाइलोसँग कट्ला कल्पिन्थेँ। निकै पछि बुझेँ लाखौँ, करोडौँ पारिश्रमिक लिएर गरिएको उत्कृष्ट अभिनय पो रहेछ सिनेमा भनेर। जीवन एकातिर, सिनेमा अर्कोतिर। लु छोड् म त जान्नँ सिनेमा हल, समयको बर्बादी। बरू किताब पढेर बस्छु घरै। आफूलाई प्रणाम सगरमाथा, हिउँको गीत, सावर्णि पढेर भ्याउनु छ।’
नानी अझ जिद्दी गर्दै भन्छे, ’ह्या मामू पढ्नु के किताब पनि तर जानून नयाँ सिनेमा कस्तो रहेछ हेर्नू अनि मलाई प्रतिक्रिया दिनु। म काटिदिन्छु टिकट। बाबा र हजुरसँगै जानू।‘
छोरीका कुरालाई अझ हाँसेर उडाउँदै भनेँ, ’आ! जान्नँ म त अस्ति सुभम् ( कान्छी छोरी ) को जिद्दीले अघाइसकेँ।’
फेरि पनि मन त हो बेलाबेला हेर्न थाल्यो सैयाराको भिडिओ क्लिपहरू। सिनेमाका प्रतिक्रियाहरू। सिनेमा हलभित्र उत्पन्न भएका रूवाबासीको अर्को रमाइलो दृश्य। सैयाराको गीत पनि सुनेँ ठीक ठीकै लाग्यो। कहाँ पाउनु मेरो पालाको जस्तो गीत।
सन् १९९०को दशकका गीतहरू कालजयी छन्। आज पनि म नित्य सुन्छु ती गीतहरू। जति सुन्दा पनि अघाउँदिनँ ९० का ती गीतहरू सुनेर। अनि सैयाराका हिरो हिरोइन हेरेँ को रहेछन् त भनेर। नवीन अनुहारमा बेग्लै आकर्षण देखेँ। सोचेँ अभिनय चाहिँ कस्तो गर्छन् थाहा छैन। पोहोर कान्छी छोरीको जिद्दीले स्थापित कलाकारहरूले अभिनय गरेको सिनेमा हेर्न हलमा गएका थियौँ मलाई तीन घण्टा लम्बिएर तीस घण्टा भएको आभास भएको थियो। त्यो डरले पनि सैयारा हेर्न जान मन लागेन।
छोरीले कर गरेको करिब एक हप्तापछि चेतना भाउजूले कल गर्नुभयो, ‘अनिता मैँया! हजुर र म सैयारा हेर्न जाऔँ है खतरा छ रे! धेरै भयो नन्दभाउजूसँगै सिनेमा हलमा गएर सिनेमा नहेरेको। बजरंगी भाइजान हेरेदेखि खोई त हामीले सँगै हेरेको! जाऊँ है पक्का नि! दाजुलाई भनेर बुधबारको टिकट काट्छु। बुधवार सस्तो पनि हुन्छ ११ तीसको शो हेरौँला सिटी सेन्टरमा। हामी दुबैलाई यो समय उपयुक्त हुनेरहेछ।‘भाउजूको कुरा सुनेपछि छोरीलाई जसरी उहाँलाई यो आत्मीय प्रेमका लागि नकार्न सकिनँ।
अनि सैयाराको अर्थ के रहेछ भनेर गुगल गर्न थालेँ। सैयाराको अर्थ हिन्दीमा तारा हुने रहेछ। ऊर्दू र अरबीमा निरन्तर घुमिरहने तारालाई सैयारा भनिँदो रहेछ।
शब्दको साहित्यिक अर्थ अझ केलाउन थालेँ वास्तवमा सैयारा प्रेममा एक्लो रहेको व्यक्तिलाई पनि प्रयोग गरिँदो रहेछ।
सिनेमाको शीर्षकले ठूलो अर्थ राख्छ। सैयाराको अर्थ बुझेपछि सिनेमा हल जान मन राजी भयो। मस्तिष्क चाहिँ निहुँ खोज्दैथियो, ‘घरमा पढ्ने किताब चाङ लागेर बसेका छन्, खुरू खुरू नपढेर, समयको सत्यानाश। न जा भो ...।’ बडो आदेश दिन्छ मस्तिष्क। अटेरी भयो मन। मनोरञ्जन रोज्यो मनले। मस्तिष्क जिल खायो।
साँच्चै पढ्नेलेख्ने, पढ्नेलेख्ने हुँदा त कहिले पनि पढाइको मेलो नसर्ने रहेछ। किताबहरूको थाक देखेर कहिले त लाग्छ ती किताबहरू सपनामा जुलुस लिएर मलाई लघार्न आए भनेँ? प्रत्येक किताब मान्छेको रूप धारण गरेर जागे भनेँ ? मलाई किन अगाडि पढिनस् भनेर कठालो समाते भनेँ?
समयको आधारमा हामी तेरो घरमा भित्रिएका थियौँ। तैँले किन नजरअन्दाज गरिस् भनेर कठघरामा तान्दै लगे भनेँ? कता कता मस्तिष्क थकित हुन्छ। अनि मनले फकाउँछ, ‘चिन्ता नगर है पढलिस् के तेरा किताबहरू! आज त जाने जाने सिनेमा हेर्न।’
मनको मतिमा लागेर म तयार हुन्छु। घरमा सहयोगको हात सहज भएपछि समयमै काम निफन्छु। आरामले गाडी चढ्छु। कमल पोखरी पुग्नु छ। कपनबाट भाउजूहरू चेतना र रेखा आउँदै हुनुहुन्छ। फसेकी छु त्रिपुरेश्वरको जाममा। केहीबेर घडी हेर्दै छटपटीमा फोक्सो फुलाउँछु। जाम स्वाट्ट खुल्छ। ११ बजेर दश मिनेटमा घडी कुदिसक्यो। धन्य समयमै पुगेँ सिटी सेन्टर। मै पो अगाडि भएछु। भाउजूहरूसँग भेट भएपछि सिनेमा हल भएको माथिल्लो तल्लातिर बिलम्ब नगरी लाग्छौँ। समय घर्किन लागिसकेको छ।
ठिक समयमा सिनेमा आरम्भ भयो। कानमा छोरीको आवाज गुञ्जियो, ‘सिनेमा नै हेरेको जसरी हेर्नू। धैरै जज्मेन्टल नहुनू। जीवनसँग तुलना नगर्नू। यो हुनै सक्दैन भनेर धेरै तर्क पनि नगर्नू। करिब तीन घण्टा हराउनु सिनेमाको दुनियाँमा।’ छोरीका कुरा आत्मसात गर्दे सिनेमाको संसारमा हराएँ।
यशराज फिल्मको ब्यानरमा निर्मित सैयारा मोहित सूरीले निर्देशन गरेका रहेछन्।
हाम्रै समाजको कथा, व्यथा, समाज, सङ्गीत, साहित्य, संवेदना, मनोविज्ञान, सम्बन्ध, साथ, सहयोग,सद्भाव, उत्प्रेरणा, धोका, रोमान्सले भरिएको सिनेमा औसत नै भए पनि बजार मज्जाले ततायो। कमाइ राम्रो गर्यो। युवा पुस्ता झुम्मिए सिनेमाको विषयबस्तुमा। मानवीय संवेदनामा। अमर प्रेमको आशमा। कृश कपुर र वाणी जस्तै प्रेमीको कल्पनामा। कलाकारको जीवन्त अभिनयमा। आ-आफ्ना जीवनका कहानीमा। अप्राप्य अमर प्रेमका मनामा। निर्दोष अनुहार भएकी सुन्दर नायिकामा। ह्यान्डसम आहान पाण्डेको अभिनयमा।
मुख्य कथा खासै केही छैन तर पनि यो सिनेमा विशेष छ। कथा यस्तो छ आफ्नो प्रेमीबाट धोका खाएकी नायिका वाणी (अनीत पड्डा) कृश कपुर (अहान पाण्डे) को समीप पुग्छे। आरम्भमा नायक क्रोधी छ। उसको मनस्थिति अशान्त छ। अपार क्षमता छ उसमा तर विचलित छ। सुमधुर गीत गाउँछ तर मन अव्यवस्थित छ। आन्दोलित छ मन। हृदयभरि उठेको छ घरव्यवहारको सुनामी। पिताको गैरजिम्मेबारपूर्ण व्यवहार। बिथोलिएको छ साङ्गीतिक हृदय। नायिकाको साथ र सहयोगले नायक शान्त हुँदै जान्छ र सफलताको सिँढी चढ्न थाल्छ तर नायिकालाई अल्जाइमर हुन्छ।
बिस्तारै उसले सबै कुरा बिर्सिने अवस्था आउँछ। वाणी आफ्नो कारणले कृशको जिन्दगी बर्बाद नहोस् भनेर अचानक हराउँछे। कृश सफल पनि हुन्छ र वाणीसँग मिलन पनि हुन्छ। कथा सुखान्तमै अन्त्य हुन्छ। के यही हो त सैयाराले देखाउन खोजेको कथा? म निकैबेर घोरिएँ। सोचेँ किन आजका युवापुस्ता यो सिनेमा हेरेर चिच्याइ चिच्याइ रोएका छन्? कुन कुन कुराले किशोर हृदयलाई यसरी छोयो त ?
मलाई यस्तो लाग्यो सर्वप्रथम त हामी सबै शाश्वत प्रेम चाहन्छौँ। हामी खोक्रा छौँ। प्यासी छौँ। अशान्त छौँ। अपूर्ण छौँ। वास्तवमा हामी आफैले आफूलाई भुलेका छौँ। आफैलाई माया गर्न जानेका छैनौँ। क्रोधी कृश जस्तै। हामी रित्तो छौँ। आफूसँग नभएको कुरा कसले कसलाई दिनसक्छ र ! हामी साँचो मायाबाट वञ्चित छौँ। वास्तविक सुख र शान्तिबाट कोसौँ टाढा छौँ। भोगविलासको संसारलाई प्रेमको नाम दिएर रमाएका छौँ। त्यसैले हामी खुशी छैनौँ तर खुशी भएको देखाउनु परेको छ संसारलाई। तर हृदयले त सदैव शाश्वत प्रेम नै खोज्ने रहेछ। त्यसैले सिनेमा हलमा डाँको छोडेर रोएका छन् युवाहरू।
कृश कपुरले आफ्नी प्रेमिकाको लागि गरेको जस्तो माया कल्पना मात्र हैन। यो हरेक दिलको कामना हो। स्पृहा हो। कस्तो दुर्भाग्य हामी भन्दै छौँ यो सिनेमा हो सिनेमामा मात्र हुन्छ यो किसिमको प्रेम। यो किसिमको साथ र सहयोग। कसले गर्छ एउटी रोगी केटीलाई त्यो हदसम्मको प्रेम। आफ्नो क्यारिएर चौपट पारेर कोही किन बर्बाद हुन्छ। यो सिनेमा यथार्थको धरातलमा बनेकै छैन। कतिको टिप्पणी यस्तो छ। असत्य पनि हैन। हामीले मानवीय मूल्यमान्यता भुलिसक्यौँ। यहाँ सबै कुरा बिक्रीमा छ। सौदा हुन्छ शरीरको। सम्बन्धको। भावनाको। हामी सबैले वास्तविक प्रेम भुलेका छौँ। अनि पर्दामा वास्तविक प्रेम देखेर हृदय कोक्किएको छ। नचाहँदा नचाहँदै पनि हामीभित्रको शाश्वत प्रेमले आफ्नो स्वरूपलाई पर्दामा देखेर रोएको छ। खोजेको छ प्रेमको यथार्थ रूप। प्रेममा धोका दिएको, धोका खाएको मन पनि पग्लिएको छ।
सिनेमामा देखाइएको छ कृश जबसम्म अशान्त छ ऊ आफ्नै सहकर्मीसँग हवस गर्न पनि चुक्दैन। वास्तवमा अशान्त हृदयले प्रेम गर्नै सक्दैन। प्रेम त शान्तिको सुन्दर फूल हो। चुरोट पिएर, साथीसँग झगडा गरेर आफूभित्रको तनाव बिसर्जन गर्न खोज्छ। शान्तिको लागि, तनाव बिसर्जनको लागि केटी साथीसँग शारीरिक सम्बन्ध पनि राख्छ तर त्यो प्रेम हैन।
वास्तवमा आजका प्रायः युवायुवतीको हृदय कृश कपुरको जस्तै छ। तनावलाई व्यवस्थापन गर्न नसक्नु। जब वाणी उसको जीवनमा आउँछे ऊ शान्त हुँदै जान्छ। समस्याहरू समाधान हुँदै जान्छन्। वास्तवमा साथ वाणीको भए पनि त्यो शान्ति कृशभित्रै थियो। त्यो किसिमको सफलताको सम्भावना कृशभित्रै थियो। वाणी त मात्र माध्यम थिई।
हरेक मान्छे साँचो साथीको खोजीमा छ। यो कुरा सिनेमाले मज्जाले देखाउँछ। जीवनमा तनाव कति हानिकारक छ। तनाव लिएर हिँडेको व्यक्ति कतै सफल हुन सक्दैन। वाणी शान्ति, सहयोग र सद्भाव लिएर आउँछे। छातीभित्र विक्षिप्तताको सुनामी लिएर हिँडेको कृश भूकम्प जस्तै छ। क्षमता त उसैभित्र छ तर स्थिरता र धीरता नहुँदा कस्तो मानसिक अवस्था सिर्जना हुन्छ देखाउँछ कथाले। सिकाउँछ युवालाई तनावको परिणाम। सम्बन्धको गहिराई कस्तो हुनुपर्छ भन्ने कथा आफ्नो जीवनमा लागू नभए पनि प्रायः युवा कृश जस्तै साथीको साथ चाहन्छन् तर ...।
कहानीमा हाम्रै परिवार छ। घटना छ। घबराहट छ। वाणीको अभिभावकहरूमा कत्रो पिरको पहाड खसेको छ। संवेदनशील सन्तान हुर्काउन कति गाह्रो छ। देखाएको छ सिनेमाले। छोरा होस् या छोरी संवेदनशील सन्तान जोगाउन कति गाह्रो।
सिनेमामा वाणीको आमा कति सचेत छ। एकचोटि प्रेममा धोका खाएर पछारिएकी छोरीलाई पुनः लडेको देख्नुपर्ला कि भनेर चिन्तित छिन् आमा । बारम्बार छोरीलाई पीडा हुन्छ कि भन्ने पिर छ।
मलाई यस्तो लाग्यो कस्तो कस्तो प्रेमको चक्करमा छ आजको पुस्ता। मान्छे चिनेर पनि नचिनेको जस्तो गर्न पुगेका छन् आजका युवायुवती। टाइम पासलाई पनि प्रेम भनेर बुझ्ने कोसिस गर्दैछन्। आफ्नो सिर्जनशीलता, क्षमता र प्रतिभालाई पनि प्रेमको झुठो आश्वासमा खतम गरिदिन्छ। आफ्नो लक्ष्य, उद्देश्य, क्यारिएर केही छैन त? वास्तवमा महेश जस्तो पात्र धेरै छन् हाम्रो समाजमा। प्रेमलाई बन्धक बनाएर सफलताको सिँढी उक्लने। फाइदा मात्र खोज्ने। व्यापारको व्यासमा बसेर प्रेमको कथा सुनाउने।
कृशको शाश्वत प्रेममा हराएकी वाणीको सुद्दी छैन। मलाई यस्तो लाग्यो प्रायः हाम्रा पुस्तालाई पनि यथार्थ केही थाहा छैन। साँचो प्रेम कुन हो छुट्याउन सकेका छैनन्। रित्तो छ। खाली छ मस्तिष्क। वाणी बेहोस छ तर महेशप्रतिको अन्धोप्रेम प्रकट हुन्छ बेलाबेला। कथाले देखाउँदै छ पहिलो प्रेम कति गहिरो हुन्छ भनेर। सम्झाउँदै छ ख्याल ख्यालमा जो कोहीसँग नजिक हुँदा के कस्तो अवस्था आउँछ देखाएको छ सिनेमाले। महेश जस्तो पात्र कसैको प्रेमी होइन। कृश हुँदा हुँदै पनि महेश जस्तो प्रेमी हावी हुन खोज्छ अहिलेको समाजमा।
गम्भीर विषयलाई यहाँ चित्रण गरेको छ कथाले। अर्कातिर कृशको पिता प्रेममा फेरि बेहोस छन्। भूतलाई समातेर बस्दा सन्तानलाई कस्तो समस्या पर्छ भन्ने सन्देश कृशका पिताबाट लिन सकिन्छ। हामी प्रायः अतीतलाई अँगाल्छौँ अनि वर्तमानलाई ध्वस्त पार्छौँ ।
सैयाराले देखाउँछ अभिभावकको गलत कदम सन्तानका लागि कति घातक छ भनेर। श्रीमतीको वियोगमा रक्सीमा डुबेर सन्तानलाई क्रोधी बनाउने पिताहरू समाजमा आज पनि हामी देख्न सक्छौँ। सैयाराले सन्देश दिन्छ अति प्रिय अतीत भए पनि वर्तमान विशेष छ। अतीतलाई समेटेर वर्तमानलाई बर्बाद पार्दा कस्तो नियति भोग्नुपर्छ त्यो कथा मार्फत बुझिन्छ।
समूह कति आवश्यक छ भन्ने कुरालाई पनि सिनेमाले देखाएको छ। साहित्यलाई कसरी पैसा र शक्तिले कुल्चिएको छ त्यो कुरालाई पनि मज्जाले बुझ्न सकिन्छ । त्यस्तै साहित्य र सङ्गीतलाई पैसाले किन्ने समय कति डरलाग्दो छ भनेर पनि यो सिनेमाले बोलेको छ।
कोही मान्छे जस्तो देखिन्छ त्यस्तो नहुन पनि सक्छ। कृशलाई आरम्भमा देख्दा वाणीकी आमा तर्सिन्छे तर कृशको हृदय कति निष्पाप रहेछ । ऊ त आफ्नो पिताको व्यवहारले मात्र अप्रिय देखिएको रहेछ। यहाँ मलाई यस्तो लाग्यो आज हामी सबैको मनमा कुनै न कुनै पीडाको पहाड छ। हामी पीडालाई बोकेर हलुको हुन खोज्छौँ जुन कुरा असम्भव छ। वाणी रूपी शान्ति जीवनमा नआएसम्म हामी आनन्दी बन्न सक्दैनौँ भन्ने कुरा पुष्टि गर्न कृश कपुरको दुई वटा छवि देखिएको छ।
सुरूमा अशान्त कृश मनमौजी छ। बेसोमती छ। झगडालु छ। तर पनि साहित्यमा लगाव छ। सङ्गीतमा लिन हुनसक्छ। आज वास्तवमा सिर्जनशील युवाहरू तनावको भारी बोकेर हिँडेका छन्। तनाव बिसर्जन नहुँदा ऊ सबैसँग अप्रिय हुँदै गएको छ। मार्गदर्शक कति आवश्यक छ जीवनमा यो कथाले देखाउँछ। वाणीको जीवनमा कृश र कृशको जीवनमा वाणी मार्गदर्शक हुन्। भनिन्छ नि संसार हेर्न आफ्नो आँखा प्रयाप्त छ तर आफूलाई हेर्ने ऐना चाहिन्छ कृश र वाणी एकअर्काका ऐना हुन्। हाम्रो युवाहरूलाई पनि आफूलाई हेर्ने वास्तविक ऐना चाहिएको छ।
घरमा शान्ति कति आवश्यक छ भन्ने अर्को सन्देश दिएको छ कथाले। पुँजीवादले कुनै पनि क्षेत्रलाई छोडेको छैन भन्ने सन्देश पनि दिएको छ। बौद्धिक चोरी कसरी हुन्छ त्यो पनि देखाएको छ। कृशको तनावका कारण पिताको अतीत मोह नै हो। वाणीको सहयोगले पिता पनि ठिक हुन्छन्। कृश र बाणीको प्रेम आत्मिक छ। अप्राप्य छ। अमूल्य छ।
तर आजका प्रायः युवाहरू प्रेमको नाममा धोका भएको चालै पाउँदैनन्। जो जब्बर छ उसले सबै कुरा पचाउँछ। जो संवेदनशील छ ऊ टुट्छ। बिरामी पर्छ। मानसिक अवस्था कम्जोर हुन्छ। सैयारा घुमिरहने तारा नै हो। यो ताराको अन्त हुँदैन। सैयारा प्रेमको प्रतीक हो।
हरेक युगमा यो घुमिरहन्छ। सैयारा हरेक घरको कथा हो। जवान छोरी कसैको टाइम पास हैन। अविश्वास बढेको छ हरेक अभिभावकको हृदयमा। कतै बिहे गर्न सबैकुरा ठिकठाक हुँदा अन्तिम समयमा केटो सम्बन्धमा व्यापार गर्छ। प्रेमको मजाक बनाउँछ। एउटा संवेदशील हृदयमा चोट पुर्याउँछ। पैसा, पावरको खातिर कसैको हृदयसँग खेलबाड गर्दै छन्। यो सिनेमाले देखाउँछ कसैको चेलीबेटीलाई जालमा पारेर उसको संवेदनासँग खेल्दा कुन किसिमको समस्या झेल्नुपर्छ त्यो परिवारले। एउटा केटाले धोका दिँदा छोरीले भोग्नु परेको त्यो हदसम्मको तनाव केवल त्यो छोरीले मात्र हैन घर परिवार नै विक्षिप्त हुन पुग्छन्।
हामी कति यान्त्रिक भइसकेका छौँ। हामी स्वार्थी छौँ। नाफा घाटाभन्दा परसम्म हाम्रो मस्तिष्क चल्दैन। माया, प्रेम जस्तो पवित्र कुरा पनि आज अविश्वसनीय भइसक्यो। यो डरलाग्दो अवस्था हो। हिजो पतिको अपमान खप्न नसकेर सतीदेवीले अग्नी कुण्डमा हामफालेको कथादेखि सतीको मृत शरीर लिएर बौलाहा झैँ विश्व भ्रमणमा हिँडेका शिवजीको कथा सुनेर हुर्किएका हाम्रा पुस्ता आज आफ्नै हातले जीवन साथीलाई लास बनाएर नीलो ड्रम र फ्रिज भित्र टुक्राटुक्रा पारेर राख्न थालेका छन्।
प्रेम दुई मुटुबीचको सम्बन्ध हो। कुनै बाहुनले मन्त्र पढेर गाँसिदैन। कानूनको ठेलीमा आजदेखि तिमीहरू पतिपत्नी भयौ है! प्रेमी प्रेमीका भयौँ भनेर कसैले भनेर सम्बन्ध बलियो हुँदैन। दिल तो पागल है भन्ने सिनेमामा जस्तै माथिबाटै सम्बन्ध बनेर आएको हुनेरहेछ। आजका पुस्ता साँच्चैभन्दा कृश कपुर चाहन्छन्। वाणी चाहन्छन्। महेश कसैले चाहँदैनन्। प्रेम सदैव सैयारा नै हो। प्रेममा जति धोका खाए पनि हृदयले शाश्वत प्रेम खोजेको हुन्छ जसमा शान्ति, आनन्द र विश्वासको खुला आकाश होस्।
प्रेममा जुन किसिमको प्यास र आकर्षण हुनुपर्ने हो त्यो अब छैन। शरीरमा छ। पैसामा छ। पदमा छ। शाश्वत प्रेम कल्पना गर्न डराउँछ आजको पुस्ता। चाहत, समर्पण, त्याग यो सिनेमामा देखाएको छ त्यो नै वास्तविक माया हो। तर कस्तो विडम्बना हामी पुँजीवादको उत्कर्षमा छौँ। मायाको परिभाषा बदलिएको छ। सम्बन्धहरू निकै सस्तो हुँदैछ। पैसाले माया खरिद बिक्री हुने समय आएको छ। हरेक मान्छे साँचो प्रेम चाहन्छ त्यैले त सिनेमा हलमा रूँदै छन्, नत्र त हाँस्ने थिए नि दिल खोलेर। प्रायः आजका पुस्ता भोगलाई नै माया हो भनेर करैले स्वीकारेका छन्। त्यसैले सैयारा हेरेर डाँको छोडेर रोएका छन्।