दक्षिणकालीको जंगल। पाउरोटी, जाम, अण्डा– ब्रेकफस्ट, मासु, पुलाउ, लन्च, बीचबीचमा दारू। त्यसपछिको अल्छे गफगाफ।
कुरा धर्मकर्मको। म सोसियोलोजी पढाउने टिचर, उहाँ फिजिक्स पढाउने टिचर। अन्दाजी पाँच फिट, पुटुक्क पेट निस्केको, तालु चिल्लो, नास्तिकताबारे मेरो लेक्चरबाट उहाँ हल्का चिढिनुभएको छ।
छेउमा उभिएका पाँच–छ जना अरू टिचरहरू अल्छे वादविवादका साक्षी। अलि पर फाट्टफुट्ट बाँदरहरू पिकनिक वालाले लुकाउन बिर्सेका फलफूल र चिप्सका प्याकेटमा कुन बेला झम्टिन सकिएला भनेर अल्याङटल्याङ गर्दैछन्।
'हेर्दै जाऊँ।'
त्यो साल पड्केला भनेको एटम बम पड्केन। हामी वाइटुके बाँच्यौं।
अंग्रेजी, बायोलोजी, इकोनोमिक्स...टिचरहरू अहिले कता कता पुगिसके। बाँदर नि?
तिनीहरूले फिजिक्स सरको कुरा लेखेर राखे होलान् त?
मकाकेको सरदर आयु हुन्छ २७ वर्ष।
हाम्रो कुराकानीका साक्षी बाँदरहरू मरी पनि सके। बाँचेकै भए पनि तिनले हाम्रा कुरा बुझे होलान्?
बुझेका हुन सक्छन् — बाँदरले मानिसका कुरा बुझ्न सक्छन् कि सक्दैनन् भनेर हामी बुझ्न सक्दैनौं। आज तिनै बाँदरका छोराछोरी, नातिनातिना दक्षिणकालीको जंगलमा घुमिरहेका होलान्। तीमध्ये केहीलाई मदारीले घाँटीमा डोरीले बाँधेर काठमाडौं वा तराईका सहरमा पुर्याए होलान्। ती जामा लगाएर मदारीका लठ्ठी वरिपरि नाचिरहेका होलान्।
राम कसरी वनबास गए?
ढाडपछाडि दुई हातका बीचमा लठ्ठी घुसाएर — लख्रक, लख्रक। राक्षस मदारी! जनावरलाई कचौरा दिएर माग्न सिकाउने क्रुरता मानिसमा मात्र छ। मर्न नसकेकाहरू।
शनिबारको बिहान। चैत महिनाको मण्डिखाटारको। आधा शीतल, आधा गर्मी। घरको पूजाकोठा। रामराम लेखेको गेरू गम्छा ढाडमा बेरेर एक हातमा घण्टी र अर्को हातमा अगरबत्ती बोकेर काठको पिर्कामा बसिरहेको छु। अगरबत्तीको धुवाँले पूजा कोठा भरिएको छ।
ओम जय जगदिश हरे...! छेउमा प्रमी, खुसी, उद्यम आँखा चिम्लेर मेरो भजन सुनिरहेका छन्। उनीहरू दुवै हात जोडेर मेरो भजनको लयमा ताली बजाइरहेका छन्। पेटमा भोक लाग्न सुरू भएको छ।
'क्यान आइ टेक योर अर्डर, पो?' झसंग! हत्! धन्न।
कति मिठो गरी 'पो' जोड्छन् फिलिपिनोहरू तगालोगमा।
'हेलो पो, ओके पो, सलामत पो।'
गुलियो बोली।
हामी 'हेलो हजुर, ओके हजुर, धन्यवाद हजुर' भन्दैनौं। कि दाँत ङिच्च, कि हात उठायो। भावभंगीले काम चल्छ। नभने पनि हुन्छ। सबै कुरा भन्न पर्छ भन्ने छैन।
पोडियम मलमा उस्तो हुल छैन। शुक्रबार मानिसहरू धेरै आउँछन्। आज आइतबार। मनिलाका मानिस मल किन रूचाउँछन्? मलाई मालुम छैन।
म'नि मलमा छु। म मनिलामा मलभित्र। मलबाट सिर्जित जीवन, मल बनाउने प्रक्रियामा म। मटेरिअलिजम?
ब्रेड किन्न मल। लुगा किन्न मल। साथी भेट्न मल। डिनर खान मल। अल्छी लाग्यो, मल। खुसी लाग्यो, मल। कुकुरसँग मल। साथीसँग मल। छोराछोरी लिएर मल। मलमा जीवन बिताउने। बाँकी रहेको समय अलमलमा बिताउने।
'शुक्रबार साँझ त फुटपाथमा उभिए मात्र पुग्छ – मानिसहरूले धकेल्दै, धकेल्दै कुनै न कुनै मल पुर्याइदिन्छन्,' सन्तोषले भनेको।
अर्डर गर्न बिर्सेछु। पट्याइसकेको मेनु फेरि पल्टाएँ। ऊ मेरो नजिकै आएर निहुरियो।
औंलाले मेरो च्वाइस देखाएँ – मिडियम रेअर प्लिज।
उसले नोट गर्यो।
'प्लिज गिभ मी सतेड भेजिटेबल्स इन्स्टेड अफ म्यास्ड पोटेटो, एन्ड अ कोक जेरो!
'स्युर, पो।'
ऊ गयो।
सप्ताहन्तमा इन्बक्स त के खोल्नु! ठोसा बोक्न बिर्सेँ। यु गेट सम रेस्ट स्पटिफाइ!
फाइभ रिजन्स चिकेन लिभर इज ब्याड फर यू। क्यान यू सर्भाइभ इन भिनस? ट्रम्प मिटिङ जेलेन्स्की, गजा, तुल्सी गब्बार्ड एक्स्पोज्ड, सेतोपाटी, विद्या भण्डारीले केपी ओलीलाई भेटिन्, अनलाइन खबर, भारत लगेर मिर्गौला निकालियो, रवि, स्टोरीमा नयाँ ट्विस्ट, हजारबाट सुरू गरेको व्यापार दैनिक करोडको कारोबार गर्दै।
'हाउ वाज द फुड, पो?'
'भेरि गुड!'
'कुड यू फिल आउट दिस फिडब्याक फर्म, पो?'
'सरी। आइ ह्याभ नो टाइम टुडे। क्यान यु ब्रिङ माइ बिल प्लिज?'
उसले मलाई 'फिड' गर्यो। मैले उसलाई 'ब्याक' केही दिनुपर्छ। पैसा होइन, अरू केही। त्यसैले ऊ 'फिडब्याक' माग्दैछ।
होइन, होइन। फिडब्याकको अर्थ त्यो होइन नि। यसको अर्थ हो बदलामा केही सुझाव, सल्लाह, दिनु। सुझाव, सल्लाहले कसैलाई 'फिड' गर्नु। दिनेको फुडको कुरा होइन, लिनेको फुडको कुरा। मैले उसलाई कस्टमर सर्भे फर्ममा यस्तो खाले फुड दिने हो, खान नमिल्ने।
आखिर कुरा त फुडमै गएर जोडियो।
हत्तेरी!
इनइलक्टेबल मोडालिटी अफ त भिजिबल – हाम्रा अनुभवहरू ठोस अनुभूतिमा टेकिएका हुन्छन्। त्यसो भएन भने फसाद पर्छ। ठिक भन्यौ डेडलस।
'नो प्रोब्लम, पो।'
टिकटिकटिकटिकटिक, योर ट्रान्ज्याक्सन इज अप्रुभ्ड, स्वाँ, चर्र।
'रिसिट पो!'
मैले नभरेको फिडब्याक फर्म अनि नचलाएको कलम एक हातमा र अर्को हातमा कार्ड स्वाइपिङ मेसिन बोकेर ऊ हिँड्यो। येकब। हुनसक्छ हुआँ। एलन?
'कस्तो रूड कस्टमर!'
नो नो, कस्टमरलाई फिडब्याक फर्म भरिदेऊ न भन्दै हात पसार्नु चाहिँ रूड। मैले फर्म नभरेर गल्ती गरेको होइन। मेरो ठाउँमा स्टिभन डेडलस भएको भए?
उसले त्यो वेटरको बाह्र बजाउने थियो। सेक्सपियरको छोरालाई सेक्सपियर आफै हो भनेर प्रमाणित गरेको छ उसले। ह्याम्लेटको कहानीमा। तर्क गर्नमा कसैले नभेट्ने। तिम्रो फिडब्याक फर्मले कस्टमर एक्सपियरेन्सलाई कसरी खराब बनाएको छ भनेर वेटरलाई मज्जाले दनक दिने थियो। डेडलसको मनमा डर छैन।
डेडलस नास्तिक नभएर पनि नास्तिक थियो। विज्ञानले कलाको गला निमोठ्छ। धर्मले त्यसै गर्छ। विज्ञान र धर्मले मानिस केका लागि बाँचेको हुन्छ भन्ने प्रश्नको जबाफ उल्टोपाल्टो बनाइदिन्छन्। मानिस मार्समा पुग्न, बुलेट रेल चढ्न बाँच्ने होइन। ईश्वरको सेवा जीवनको औचित्य हुन सक्दैन।
जीवनको औचित्य आनन्द हो। मानिस गीतमा, कथामा, कवितामा, मिथकमा, प्रकृतिको सौन्दर्यमा, संवेदनामा, अनुभूतिमा, प्रेममा, यौनआनन्दमा जीवित हुन्छ। कला र साहित्यले मानिस जीवित हुनुको यही औचित्यलाई उजागर गर्छन्। त्यसैले, उसलाई कला, साहित्य र दर्शनको माया छ। कवि हो नि त डेडलस। सिकारू कवि।
डेडलस किन नास्तिक? कला, साहित्यप्रतिको प्रेमका कारण।
म नि म? बुद्धि बिग्रेर?
नो, नो – स्टेक खाएर। मिडियम रेअर। टुलारूडम, टुलारूडम..।
'यु क्यान कम नाउ!'
'ओके, पो' नोएको जबाफ मोबाइलको पर्दामा झरिसक्यो! पानी थामिएको छैन। मानिसहरू वेटिङ एरियामा कार, ट्याक्सी, बाइक कुरिरहेका छन्। सात बज्न लाग्यो। नोए आउनेछ मलाई लिन।
पार्किङबाट निस्केर एउटा सिग्नल अनि एउटा क्रसिङ पार गरेर आउनुपर्छ उसलाई। पानी परेको बेला एउटा सिग्नल पार गर्न पनि आधा घण्टा लाग्न सक्छ कहिलेकाहीँ।
'ट्राफिक नमान...' (मा पछि लाआआमो लेघ्रो)! वेलकम टु मनिला।
म बसेको सोफा अघिल्तिरको टेबलमा एउटा मानिस किताब हातमा लिएर घोरिएको छ। गाढा नीलो रङको कोट। सफा तर पुरानो भनेर प्रस्टै थाहा हुने नीलो जिन्सको पाइन्ट। सफा चस्मा। जुत्ता भने अलि बढी पुरानो। ठाउँ ठाउँमा प्वाल परेको। सेतो भएकाले मैलो देखिने। रेस्टुरेन्टमा पनि किताब लिएर आउने मानिस पक्कै पढाकु हुनुपर्छ।
के पढिरहेको होला ऊ? ह्युमन सेन्टर्ड मोरालिटी अफ लडविग फुएरबा? बायोग्राफी अफ नेपोलिअन बोनापार्ट?
कहिले छुट्यौ जेलबाट रास्किल्नोकोभ? आठ वर्ष जेलमा बस्दा कमजोर भएछौ। घाँटी सानो भएछ। आँखामा चमक पनि घटेको हो?
हेर, तिमीले जतिसुकै थ्योराइज गरे पनि तिम्रो अपराध क्षम्य छैन। त्यस्तो क्रुर हिंसा तिमीबाट कसरी हुन गयो? खोट तिमीमा छ।
आफ्नै मस्तिष्कलाई नियाल। मन बिथोलियो भनेर मान्छे मार्न पाइन्छ? हद हुन्छ नि!
आल्योनालाई तिमीले लोभी र दुष्ट भन्यौ – त्यसो भए लिजाभेतालाई चाहिँ किन मार्यौ, भन त? तिमी अपराधी मात्र होइन क्रुर मानिस हौ। कानुनको पालना गरेर सजाय काट्दैमा मानिस आफूले गरेको क्रुर अपराधबाट मुक्त हुन सक्छ? सक्दैन।
मलाई यस कुरामा दुःख छ कि तिमीलाई आफ्नो क्रुरताका बारेमा ग्लानी छैन। क्रान्तिकारी भएर अहंकारी हुनु राम्रो होइन। अनि सुन, आई ह्याभ अ क्रस विथ योर सोफ्या! कति क्युट छे है ऊ? म भल्गर भएँ, हो?
तिमी चिसो मान्छे, तर म त कति छिट्टै सोफ्यालाई मन पराउन थालेँ।
तिमीले नै भनेको होइन — म्यान ग्रोज युज्ड टु एभ्रिथिङ, द स्काउन्ड्रल! म पनि स्काउन्ड्रल। अ प्राउड स्काउन्ड्रल। लौ जा!
देख्यौ — म कसरी आफ्नो कमजोरी स्वीकार गर्छु। आत्मालोचना गर्छु। तिमी गर्दैनौ। समस्या त्यहाँ छ। बाई द वे, मलाई सोफ्याको नम्बर दिन सक्छौ? म उसलाई हरेक बिहान 'लभली मर्निङ, ह्याभ अ नाइस डे' भनेर ह्याट्सएप मेसेज पठाउनेछु। मलाई पनि ठरकी तालुखुइले चाचाजी बन्नुछ। तिमी माइन्ड नगर। प्रेम पवित्र हुन्छ। जसले जसलाई गरे पनि। तिमी प्रेमबाट आहत छौ, र विचलित छौ। तर, म छैन।
फिजिक्स सर, तपाईंले भनेको अर्को कुरा पनि मलाई याद छ — ईश्वर नमान्नेहरू ह्रिंसक हुन्छन्। तर, मेरो मन कमलो छ। म आफ्ना सबै गल्तीहरू स्वीकार गर्छु। भक्तपुरवाला मिनिबसमा भिडभाडको मौका छोपेर एउटी केटीलाई चिमटेको थिएँ। तीस वर्षअघिको कुरा। एउटा सहकर्मी थियो मलाई हरेक कुरामा सताउने। त्यसले पिउने पानीको जगमा पिच्च थुकिदिएको छु। छिमेकीको भकारीभित्र बिरालाका बच्चा हालेर ढक्कन लगाइदिएको पनि हो — धन्न नमरेका! आजसम्म कसैलाई नभनेका कुरा तपाईंलाई भन्दैछु। किनकि मेरो मनमा यी कुराको पश्चात्ताप छ। म आत्मा आलोचना गर्न सक्छु। रास्किल्नोकोभन्दा म असल। फिजिक्स सर, प्लिज, मलाई क्रुर नठान्नुहोला।
'आइ एम हिअर, पो!' नोएको मेसेजले मोबाइल भ्यार्र गर्यो। टाउको उठाएँ। अगाडिको टेबल रित्तो भइसकेको थियो। मलबाट बाहिर निस्किँदैछु। पानी थामिएको छैन। वेटिङ एरियामा रास्किल्नोकोभसँग आँखा जुध्यो। ऊ पनि कसैलाई पर्खिरहेको छ।
उसको हातको अघि पढिरहेको किताबको खोल प्रस्ट देखिन्थ्यो।
हाउ टू विन फ्रेन्ड्स! हत्तेरी। पुअर च्वाइस। हतारहतार गाडीभित्र पसेँ। नोएले गाडी हुलिया भर्गसतिर मोड्यो।
युलसिज पढिरहेको छु। पुस्तकले घुमाएको घुमायै छ। अधिकांश समय जेम्स जोयसको 'स्ट्रिम अफ कन्ससनेस' मा झुलिरहेको हुन्छु — युलिसज पढिरहेको झुलिसज। सानो खहरे खोलामा कलकल कलकल पानी बगेजस्तो मनभित्र कुराहरू बगिरहन्छन्। कहिले युलसिजका पात्र मसँग गफ गर्न आइपुग्छन्, कहिले हार्ट अफ डार्कनेसका पात्र।
उता दोस्तोभस्कीको रास्किल्नोकोभको अर्कै स्वाग छ। समय र सन्दर्भ छासमिस। पुस्तक पढ्दा अरूलाई नि यस्तो अनुभव हुन्छ? कि मलाई मात्र हो? जोयसको मेटेमसाइकोसिसमा बाँचिरहेको छु। मलाई के भएको छ हँ? श्रवण मुकारूङको बिसे नगर्ची त भइनँ म?
'हेभी रेन, पो!'
नोए अल्छी देखिन्छ। उसको बोलीमा बोझ छ। अविरल झरीले मौसम पट्यारलाग्दो बनाउँछ। आलस्य जन्माउँछ।
'ट्रु'!
मेरो प्रतिक्रिया। सडक, विस्तारै गुडिरहेका गाडी, वरपरका बिल्डिङ, बिल्डिङमा टाँगिएका होर्डिङ बोर्ड, फुटपाथका मानिस, उनीहरूले बोकेका छाता सबै कुरालाई पानीले छोपिदिएको छ। यस्तो लाग्छ हामी गुडिरहेको सडक, सडक नभएर नदी हो। हामी गाडीमा होइन, डुंगामा एउटा विकराल यात्रामा छौं।
म मल कसरी पुगेँ?
थाहा छैन। एक्लै आएँ। आउँदा हातमा छाता थियो। त्यो छाता मलमा कतै छुट्यो। विकराल कालो नदीको एउटा कुनामा अड्केको थिएँ म।
सर्प आकारको कालो नदी। नोए मलाई उद्धार गरिरहेको छ। नदीका दुवै किनारामा बाक्लो कालो जंगल। जंगलभित्र काला मानिस। आकाशमा कालो बादल। यही चकमन्न कालो अन्धकारभित्र म दशकौंदेखि हराएको थिएँ। अन्धकारलाई जीवनको नियम बनाएर।
नोएलाई थाह छैन म के चाहन्छु। ऊ मलाई उद्धार गर्न चाहन्छ। मेरो रोग निको पार्न चाहन्छ। उद्धार हुने मेरो चाहना नै होइन, न त स्वस्थ हुने मेरो लक्ष्य हो।
मेरो त जीवनको लक्ष्य नै विकराल अन्धकार हो। यसैमा विलिन हुने हो। मलाई यही कालो नदी, कालो जंगल, यहाँका काला मानिस, आकाशको कालो बादलसँग मिसिनुछ। 'हार्ट अफ डार्कनेस' मा थला पर्नुछ, मर्नुछ।
'रामबुतान पो, १०० पेसोस, फ्रेस...' — एक हातमा छाता र अर्को हातमा रामबुतानले भरिएका थैला समातेर एउटा बुढोबुढो मानिस गाडीको ढोका ढकढक पार्दैछ।
'तिमी बाटामा जे पायो त्यही किनेर घर नल्याऊ। सडकमा किनेको कुरा राम्रो हुँदैन। मैले भन्देको छु है!'
मैले पनि सुन्देको छु। त्यसैले किन्दिनँ।
कसैले गाडीको ढोका ढकढक पारे म फोनमा घोप्टिन्छु। उसको अनुहार हेर्दिनँ। अनुहार हेर्दा माया लाग्छ। तर मायाले खराब सामान असल बनाउँदैन। हरिया, काँचा, अमिला रामबुतानलाई राता र गुलिया बनाउँदैन।
फेरि अर्को ढकढक। बाटामा अनेकथरी सामान बेच्नेले पनि कति हैरान बनाउँछन्। भनिसकेँ त किन्नु छैन भनेर, मुखले नभए पनि हाउभाउले। अब अर्को हाउभाउ देखाउनुपर्यो। रिसाएको हाउभाउ। टाउको उठाउँछु।
ओ माइ गड! गोलो अनुहार पुक्क परेका गाला, मिलाएर काँटेका बाक्ला काला जुँगा, तालुमा पातलो कपाल, अन्दाजी ५ फिट ९ इन्च, कालो रङको कोट, डेक्चीको पिँधजस्तो भुक्क उठेको र वरिपरि फराकिलो ह्याट, गोरो छाला, गम्भीर मुद्रा। हातमा छाता समाएको छ उसले।
हलुका मुस्कानसहित ढोका खोल्न इसारा गर्छ। म हतारहतार गाडीको ढोका खोल्छु। छाता फोल्ड गर्दै ऊ गाडीको सिटतिर निहुरिन्छ।
'चिन्यौ?'
'किन नचिन्नु? तर, यहाँ कसरी?'
'पेनेलोपेसम्म त तिमी पनि हामी सँगै थियौ। म त्यो कवि डेडलससँग लिभिङ रूममा बात मार्दै थिएँ। मोली बेडरूममा सुत्ने तरखर गर्दै थिई क्यारे। तर भोलिपल्ट के भयो तिमीलाई थाहा छैन। मेरो जीवन आनका तान बदलियो। मोली कता सिल्ली मिली कता म कता पुग्यौं। यो सब कसरी भयो मलाई नै थाहा छैन।'
'खासमा भयो चाहिँ के? प्रस्ट भन त लिओपोल्ड।'
'मोली बोयलानसँग पोइल गई।'
'ओ माइ गड! रिअल्ली?'
'हो त, सञ्जीवजी!'
म गाडीको सिटमा थोरै खुम्चिन्छु। जी भनेर कसैले बोलाउँदा असजिलो लाग्छ मलाई। गाली गरेजस्तो लाग्छ।
'लिओपोल्ड ब्लुम, जी लगाइराख्नु पर्दैन। अबदेखि मलाई जी नभन है। सञ्जीव मात्र भन।'
'हस्। तिमीलाई थाहै छ सञ्जीव – मोलीको त्यो बोयलानसँग लसपस थियो। मलाई थाहा नभएको होइन। तर मैले वास्ता गरिनँ। हुन त मेरो पनि मन अलिअलि बरालिएकै थियो। त्यो नक्कली मार्थालाई बेलाबेलामा चिठी लेख्ने गर्थेँ।'
तिम्री स्वास्नीलाई मनपर्ने अत्तरको नाम बताऊ न भनेर त्यसले मलाई हैरान पारेकी थिई। मलाई काउकुती लगाइदिने कुरा गर्थी। तर, कुनै अर्कीलाई स्वास्नी बनाउने मेरो सोच थिएन। मैले अत्तरको नाम उसलाई बताइनँ। उसको एकदिन भेटौं भन्ने प्रस्ताव स्वीकार गरिनँ। मोलीले पनि मलाई छाडेर बोयलानसँग जाली भनेर पनि कहिलै सोचिनँ। त्यो दिन बिहान ब्रेकफस्ट र चिया बोकेर मोली सुतेको बेडरूमको ढोका खोल्न जान्छु त मोली गायब। ओछ्यानमा सानो चिर्कटो लेखेर छोडेकी रहिछ।
'म बोयलानसँग जिब्रल्टार जाँदैछु, मलाई नकुर्नू। सधैं खुसी रहनू। सिल्ली मिलीलाई धेरै माया दिनू!'
मोली त निष्ठुरी रहिछ। तर, मेरो हृदयमा ऊ अझै पहिलेजस्तै बसिरहेकी छ। उसलाई एक पटक भए पनि भेट्न सकिन्छ कि भनेर उसको पछिपछि भौंतारिरहेको छु'।
'उसो भए तिमी जिब्रल्टार जानुपर्ने त। मनिलामा किन आयौ?'
'ऊ बोयलानसँग कन्सर्ट गर्न मनिला आएकी छ। ग्लोबल सिटीमा भोलि उसको कन्सर्ट छ। यी हेरऽ मैले कन्सर्टको टिकट किनिसकेको छु।'
खल्तीबाट कन्सर्टको टिकट आधा बाहिर निकाल्यो लिओपोल्डले। सिम्फनी अन्डर द स्टार्स विथ मोली बोयलान एन्ड ब्लेजेज बोयलान, बिजिसी एम्पिथिएटर, मेट्रो मनिला!
हत्तेरी कहाँबाट पागल प्रेमीसँग फसियो!
'लिओपोल्ड, मोलीको पहिलो प्रेमी तिमी होइनौ। बोयलान अन्तिम नहुन सक्छ। प्रेम चलिरहन्छ। समस्या प्रेममा छैन, प्रेमीलाई आफ्नो सम्पत्ति बनाउने चाहनामा छ। मोली तिमीबाट मुक्त हुन चाहन्छिन्। अब उनको पछि नलाग। उसलाई बाँच्न देऊ। तिमी डब्लिन फर्क।'
'ओके पो,' नोएले घर आइपुगेको घोषणा गर्छ।
२ लिली स्ट्रिट, भ्याले भर्दे २।
म गाडीबाट बाहिर निस्किन्छु। किबु खुसीले पुच्छर हल्लाउँछे।
'भोलिको लागि सपिङ जानुछ, तिमी कता गायब, त्यति एउटा चस्मा किन्न त्यत्रो बेर लाग्छ? ल हिँड टिएनदेसितास। नोए यु क्यान गो। गाडीको चाबी बोक।'
'ए हो त नि है, मैले त बिर्सेको, चस्मा पसलमा हुल थियो। हिँड। बोके आर यू अल राइट?'
'अँ अँ। जाउँ, जाउँ। भोलि कसकसलाई बोलाएको छ रे?'
प्रतीक, रक्षा, विभान, ललित, भानी। म चिन्दिनँ। उनका साथी। फिलिपिन्स घुम्न आएका। उनीहरूसँग टाइम छैन। बुधबार नेपाल फर्किँदैछन्।
'वेलकम, कस्तो छ तपाईंलाई, नमस्ते, ल नानु आऊ, सञ्चै हुनुहुन्छ? यता पार्क गर्न मिल्छ। द्याट्स पर्फेक्ट। नो वोरिज। प्लिज मेक योरसेल्फ कम्फर्टेबल।'
हामी होस्ट। विनम्र। नौनीजस्तै। पाहुनाको हातमा च्वाइस अनुसारको ड्रिंक्स। चिप्स। ड्राइ फ्रुट्स।
प्रतीकः वी नेभर मेट, बट आई ह्याभ रेड योर ब्लग आर्टिकल्स! य: आर अ प्राउड अथेइस्ट। द्याट्स इन्ट्रेस्टिङ।
मः हाहा। हिही। त्यो धेरै वर्षअघिको कुरा।
कान रातो भएछ। वाइनले? कुराले? म लजाएँ कि? कुरा मेरो बारेमा थियो। सञ्जीवका बारेमा। अर्बौं, खर्बौं ग्रहका बीचमा एक पृथ्वी, यति ठूलो पृथ्वीभित्र एउटा जाबो जीव— म, सञ्जीव। म अथेइस्ट भएर, नभएर के फरक पर्छ? किन फरक पर्छ?
रक्षाः ओ, त्यसो भए तपाईं अथेइस्टबाट धार्मिक हुनुभएको? बट द्याट्स प्रिटी कमन, यु नो! मैले चिनेका थुप्रै मानिसहरू उमेर छिप्पिँदै गएपछि धर्मकर्मतिर लागेका छन्।
फिजिक्स सर, यू आर नट अलोन।
बन्द टिभीको कालो स्क्रिनले ऐनाको काम गरेको छ। ऐनामा आफूलाई हेर्छु। कपाल सेतै। बुढो भएको छु। पचास नाघिसकेँ। अनुहारमा चाउरी पर्न सुरू भइसक्यो। मिडलाइफ क्राइसिसको चक्कर सकिएर लेटलाइफ क्राइसिस सुरू हुन लागेको छ। धर्मकर्ममा मन पलाएन। तर, फिजिक्स सरको दाबी गलत थिएन। मलाई पहिला नास्तिक हुनु थियो। अहिले केही हुनु छैन। फिजिक्स सरसँग माफी माग्नु छ। संयोग जुरेको छैन। उहाँले लेखेर राख्नु भनेको कुरा मैले सम्झेर राखेको छु। आजभोलि म फत्तेमानका भजन सुन्छु।
'म दीनदुःखी अनाथ प्रभो, ममाथि दयाको भिक्षा देऊ।'
मः आजभोलि ईश्वर र धर्मका बारेमा धेरै सोच्दिनँ। पहिला सोच्ने गर्थेँ। द्याट्स ह्वाई आइ वज एन अथिइस्ट!
विभानः ट्विटरमा तपाईंले जनै मिल्काउनुपर्छ, फ्लस गर्नुपर्छ भनेको मलाई याद छ। डन्ट यू थिंक द्याट वज अ बिट टू मच?
शान्त, शीतल, सौम्य, ड्रिंक्समय, ड्राइफ्रुट्समय वाइनमय, लेमनेडमय वातावरण एक्कासी तनावपूर्ण बन्न सुरू हुन्छ। पाहुनाका मुहार राताराता देखिन थाल्छन्। पाहुना केटाहरू सर्टका बाहुला माथि सार्छन्। केटीहरू आफ्नो सल कम्मरमा बाँध्छन्।
ललितः हाम्रो महान पूर्वीय संस्कृति, जुन संसारका अन्य सबै धर्म, संस्कृति, परम्परा, दर्शनभन्दा माथि छ। त्यसको उच्च स्थानमा रहेको शिखाशुत्र जनै विगतमा गौरवको विषय थियो। आज पनि छ र रहनेछ। यी हेर्नुस् मेरो जनै। मेरो छातीमा टाँसिएको यस्तो पवित्र कुरामा तुच्छ टिप्पणी गर्ने तपाईं को?'
भानीः योर थट्स आर डिस्गस्टिङ।
प्रतीकः तँलाई अब तपाईं भनिरहनुपर्ने आवश्यकता छैन। तँ अराजक फटाहा होस्। तँ जे मुखमा आयो त्यही बोल्ने?
रक्षाः यसलाई आज ठीक पार्नुपर्छ।
विभानः हो हो, आज यसको करङ भाँच्नुपर्छ। प्रतीक, तिमी यसको कलर समात, म हात पछाडी लगेर बाँध्छु।
'पार्किङको पैसा तिर! के घोरिइराको'?
'फिफ्टी पेसो पो...थ्यांक्यू पो।'
'पहिला ड्रिंक्स किनौं है।'
काखीमा झोला। ट्वाँक, ट्वाँक। वेलकम पो। वाइन, बियर, कोकोनट जुस, पोर्क रिब्स, चिकन विङ्स, सामन...।
ट्वाँकट्वाँक ट्वाँकट्वाँक। स्वार्र। थ्यांक्यू पो। हुचुचुचु भ्यार्र...।
पानी पर्न थामिएको छ। रात छिप्पिँदै गएकाले सडकमा मानिसहरूको हुल छैन। टिएनदेसितासलाई एक फन्को मारेर हामी हुलिया भर्गसतिर मोडिन्छौं। सडक छेउका रूखहरूले मकाती र ओर्टीगासका अग्ला बिल्डिङहरूमा बल्ने झिलिमिली बत्तीलाई छेकिदिएका छन्। फाट्टफुट्ट गाडीहरू तीव्र गतिमा हुँइकिरहेका छन्। टु लिली स्ट्रिट। हिअर यु आर।
'बुझ्यौ, एउटा कुरा किन्न बिर्सेछ।'
'के?'
'सोय सस। पोर्क म्यारिनेट कसरी गर्नु अब?'
'नो वरिज, म सेभेन एलभनबाट ल्याउँछु। विल बी ब्याक इन अ फिउ मिनट्स, तिमी सामान थन्काउँदै गर।'
सेभेन एलभनमा मानिसहरू यताउता सामान खोज्दैछन्। चकलेट, चिप्स, ड्रिंक्स राखेतिर फाट्टफुट्ट मानिस देखिन्छन्। पसलको एउटा कामदार पानीका बोटलहरू मिलाएर राखिरहेको छ। सेभन एलभनको रातो र पहेँलो रङको ड्रेस लगाएको एकजना बुढोबुढो मानिस काउन्टरमा बसेको छ। ऊ फिलिपिनो होइन। दक्षिण एसिया तिरको हुनुपर्छ। नेपाली? भारतीय? बंगलादेशी?
ग्राहक काउन्टरमा आउँदा पैसा लिएर उनीहरूका सामान कागजका थैलामा राख्दै दिँदै गरिरहेको छ। सोय ससको सानो बोतल समाएर म पनि काउन्टरनजिक पुगेको छु। अरू सबै ग्राहक निस्किसके। म अन्तिम ग्राहक। केही नबोली सोय ससको बोतल काउन्टरमा राख्छु, ऊ त्यो बोतललाई स्क्यानरको टाउकामा लगेर ट्वाँक्क पार्छ।
ऊः (मुन्टो उचालेर मेरो मुखतिर हेर्दै) मलाई चिन्नुभो सञ्जीवजी?
मः (अलमल्ल। सेभनएलभनमा नेपाली। मलाई चिन्ने। हत्तेरी। फेरी जी!) ओहो, मैले चिनिन तँ। सरी।'
ऊः बिर्सिनुभयो होला। केही छैन। म खिलाराज। हामी डन बस्को कलेजमा सँगै पढाउने काम गर्थ्यौं। म फिजिक्स पढाउँथेँ। तपाईं सोसियोलोजी पढाउनुहुन्थ्यो क्यारे होइन?'
मः हो हो। मेरी आम्मै! मैले त बिर्सेछु। आई एम भेरी सरी, खिलाराज सर। मैले बल्ल चिने तपाईंलाई। अनि तपाईं कसरी यहाँ आइपुग्नुभयो त? आई फिल भेरी गुड टू सी यू।
खिलाराज सरः आउनुस्, बाहिर गएर कुरा गरौं।
खिलाराज सर कुनामा सामानहरू मिलाइरहेको सहकर्मीलाई काउन्टरमा बोलाउँछन्, तगालोगमा। हामी पसल बाहिर निस्किन्छौं। उनी खल्तीबाट चुरोट निकाल्छन् र मतिर बट्टा सोझ्याउँछन्।
'सरी आइ डन्ट स्मोक।'
ओके। लाइटर प्याट्ट, फिजिक्स सरको मुखबाट चुरोटको धुवाँ सररर बाहिर निस्किन्छ र भौतिकशास्त्रको अकाट्य नियमलाई पछ्याउँदै आकाशतिर उकालो लाग्छ।
खिलाराज सरः मास्टरको जागिरले धानेन, बिजनेस गर्नुपर्यो भनेर थाइल्याण्ड गइयो। आफूलाई बिजनेसको धेरै आइडिया नाइँ। साथीले गर्दा भएको सानोतिनो पुँजी पनि फस्यो। त्यसपछि यता काम गर्न आइयो। यो एरियाका सेभन एलभनको म्यानेजर भएर काम गर्छु। आज यहाँ भिजिटमा आएको। एकछिन काउन्टरमा बसेको हुँ। परिवार पनि यतै छन्। पासिगमा अपार्टमेन्ट छ। तपाईं कसरी यता?
म कसरी यता?
हँ! ओहो। आई निड टू थिंक। तर आज समय छैन। सोय सस लिएर घर जानुछ। पोर्क म्यारिनेट गर्नुछ। मलाई देखेर पुच्छर हल्लाउन किबु पर्खेर बसेकी छ। भोलि डिनर होस्ट गर्नुछ। प्रतीक, रक्षा, विभान, ललित, भानी। उनीहरूले पोर्क रिब्स चपाउँदा सोय ससको स्वाद आएन भने बित्यास पर्छ।
मः म कसरी यता भन्ने कुरा भोलि बताउँछु तर आज तपाईंलाई केही कुरा भन्नुछ।
खिलाराज सरः के कुरा हो? भन्नुस् न भन्नुस्।
मः सर, मंसिर महिनाको एकदिन हामी पिकनिक खान दक्षिणकालीमा जम्मा भएको याद छ? (फिजिक्स सर मुन्टो हल्लाउँदै याद नभएको इशारा गर्छन्)। तपाईंलाई छैन। तर, मलाई छ। त्यस बेला मैले हामी किन नास्तिक हुन आवश्यक छ भनेर लामो लेक्चर दिएको थिएँ। तपाईंलाई मेरो लेक्चर मनपरेको थिएन। म बोलिरहँदा तपाईंको तालुको छाला खुम्चेर माथिमाथि सर्दै थियो। म यसबाट थप उत्तेजित भएको थिएँ।
खिलाराज सरः होला।
मः म त्यस बेला किन उग्र नास्तिक थिएँ? तपाईंलाई थाहा छ? किनकि मलाई ईश्वर छ कि छैन भन्ने कुरामा चासो थियो। ईश्वर नभएको भए म नास्तिक हुन सक्दिनथेँ। त्यसैले म नास्तिक हुन तपाईं आस्तिक हुन जरूरी थियो। मेरो नास्तिकताको आधार तपाईंको आस्तिकता थियो। तर, आज म नास्तिक छैन।
खिलाराज सरः उसो भए मैले त्यो दिन भनेको कुरा सही रहेछ त!'
मः होइन, होइन। म त झन् कडा 'नास्तिक' भएको छु नि! तर, फरक खाले नास्तिक। नास्तिक नहुने नास्तिक। देउता खाने नास्तिक। मिडयम रेअर। मलाई ईश्वरको अस्तित्व र अनुपस्थितिबारे अब मतलब छैन। ईश्वर भए पनि केही छैन, नभए पनि केही छैन। जीवन कालो वा सेतो – नास्तिक वा आस्तिक -फोटोन वा इलेक्ट्रोन दुई वर्गको पेण्डुलममा झुलिरहने रालो होइन रहेछ खिलाराज सर। संसारका सबै कुरा सपाट छैनन्। जीवनका अनुभूति मूर्त र अमूर्त कुराका बीचबाट हेलिने गर्छन्। बांगोटिंगो, यताउता, वरपर, यत्रतत्र। संसार भूमिल। द वर्ल्ड इज डायफेनस!
मोबाइल ट्वांग— डिड यु फाइन्ड द सोय सस?
झसंग। म काउन्टर अगाडि उभिरहेको छु। काखीमा सोय ससको बोतल। पसलभित्र एउटा पनि ग्राहक छैन। काउन्टरको कर्मचारीले ठान्यो होला म कसैको सन्देश वा कसैलाई पर्खिरहेको छु। बल्ल पैसा तिर्ने ठाउँमा जान्छु। हल्का मुस्कान।
काउन्टरको सेभन एलभनको रातो र पहेँलो रङको ड्रेस लगाएको बुढोबुढो मानिसले मेरो सोय ससको बोतल स्क्यानरमा ट्वाँक्क पार्छ — थर्टी वन पेसो, पो।
म ऊतिर कार्ड तेर्स्याउँछु।
'सलामत!'