अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- ‘इफ सम्थिङ गुड ह्यापेन्स ट्राभल टु सेलिब्रेट, इफ सम्थिङ ब्याड ह्यापेन्स, ट्राभल टु फरगेट, इफ नथिङ ह्यापेन्स टु ट्राभल टु मेक सम्थिङ ह्यापेन।’ अर्थात् जिन्दगीमा केही राम्रो भए खुसी मनाउन भ्रमण गर, केही नराम्रो भए बिर्सनलाई भ्रमण गर, केही पनि नभए केही हुनको लागि भ्रमण गर।
मलाई यो सुनेपछि मनकै कुरा आयो जस्तो मात्र लागेन कि जीवनभर यो भनाइले घचेटिरह्यो। हामी बाँदरकै सन्तति भएर होला चञ्चलता हाम्रो जिनमै छ जस्तो लाग्छ। कानुन, अनुशासन, मूल्य, मान्यता, संस्कार आदिका खोलहरूले ढाकिएर मात्र शान्त बनेका छौँ।
हाम्रा पुर्खाहरू स्थिर वासस्थान, राजनीतिक सिमाङ्कन, विधि विधान मात्र पनि नभएकै कालमा जन्मिएर कति हन्डर काटे। अहिले हाम्रो युगमा स्थिर राज्य छ। बास बस्ने पक्की संरचना छ। जीविकोपार्जन गर्ने अनेक थरी तरिका छन्, प्रविधि छ, सुविधै सुविधा छ। तैपनि मन अस्थिर छ।
सभ्यताले बाटोबाटै हिँड्न लगाउँछ तर मन उडेर बाटो पारिको रुख चढेर सुरेली खेल्दै झर्छ। खुट्टाले गर्ने हिँडडुल पहिला बाध्यता थियो। अहिले रहर, डर, डाक्टरको प्रेस्क्रिप्सन पनि हो। बाध्यताले गर्नु पर्ने बाहेक रमाइलोको लागि गरिने हिँडडुल अहिले पनि धेरैको लागि सपना नै छन्। युवाहरूका ‘बकेट लिस्ट’ मा सूची बनेर बसेका छन्।
यात्राका निम्ति हामीलाई खुम्चाउने अरू परिस्थिति पनि छन्। बगेर गर्ने यात्रा हाम्रा नदीहरूमा एकदमै न्यून छन्। उडेर गर्नेमा हाम्रो हैसियत उडेको उड्यै गर्न सक्ने छैन। त्यसैले नहिँडी सुखै भएन। यी बाहेक गुड्ने सुविधा बढ्दै गएको छ। डाँडैभरि डोजरले माकुराको जालो झैँ बाटो बुनेको छ। पिच र बाटो चौडा जति बढेका छन्। सवारी साधन पनि झन् थपिएका छन्।
अहिले सडकमा ट्राफिक चेकिङ बढ्न थालेको छ। यातायात व्यवसायीले अग्रिम बुकिङ खुलाएका छन्। दसैँ अफरका विज्ञापनले बजार झिलिमिली बनेको छ। अब काउन्टडाउन सुरु भइसेकेको छ। दसैँ अर्थात् हामी नेपालीहरूले सबैभन्दा बढी यात्रा गर्ने समय हो र थानकोटबाट स्टार्ट भएको खुसी धनगढी गएर टुंगिन्छ। झापा पुगेर टुंगिन्छ। पोखरा, चितवन, नेपालगन्जका खुसीका झोलाहरू ओखलढुङ्गा, गोरखा, जुम्ला पुगेर खुल्छन्। घर उज्यालो बनाउँछन्। गाउँलाई गुलजार बनाउँदछन्।
उमेरसँगै चाडपर्वका रङहरू फिक्का हुँदै जान्छन्। तर ती सामान्य घटनाहरूबाट बनेका असामान्य मिठा स्मृतिहरू सधैँ भरिका लागि रहन्छन्।
मलाई पनि चाडबाडभन्दा पनि त्यस अघिको चहलपहल बढी रमाइलो लाग्छ। बसपार्कको अस्तव्यस्ततामा छुट्टै रमाइलो लाग्छ। बसपार्कको ठेलमठेल पार गर्दै काउन्टरबाट ठुलो विजय प्राप्त गरे झैँ एउटा टिकट हात पर्छ। तर बसको सिटसम्म पुग्दा त्यहाँ अर्कै कोही बसिरहेको हुन्छ। वृद्ध, अशक्त, बच्चाको आमा बाहेकका क्याटेगोरीबाट सिट पाउने सम्भावना शून्य बराबर नै हुन्छ। यस्तोमा मुढा पाउने भाग्यमानी बाहेक अरूले झोला, सुटकेस, बोरा, रङ्गको बट्टा, घोप्टाएका बाल्टिन आदिमा चित्त बुझाउनै पर्ने हुन्छ।
लेडिज भएकाले छतमा जानु परेन तर चाडपर्वका छुट्टीमा घर जाँदा सिट पाएको खासै याद भएन। तर बसमा चिनेका मान्छे थपिँदै जान्छन् र नचिनेका पनि चिनिँदा आफ्नै पर्छन्। त्यो रमाइलो खैलाबैलामा सिटको असुविधा छायामा पर्छ। गह्रुङ्गो झोला र हलुङ्गो मन घर पुगेपछि पिङभन्दा पनि बढी बत्तिन्छ। पढ्न लगेका किताब कापी चोखै फर्किएर आउँछन्।
तर अघि पछिको दृश्य बेग्लै हुन्छ। दसैँमा पो यात्रु चुपचाप बसमा छिर्छन्। अरू बेला यात्रुलाई झोला तानातान गर्दै बसका सहचालकहरू बाटो छेक्न आइपुग्छन्। भाडाको लागि कसैको विवाद त्यहीँ टुङ्गिन्छ। कसैको अर्को राउन्ड गलफती बसभित्र पनि चल्छ। पेट्रोलको भाउसँगै बढेको बढ्यै गर्ने बस भाडा सुन्ने बित्तिकै यात्रुलाई दिक्क बनाउँछ।
हरिवंश आचार्यको ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले २ रुप्पेको टिकट काट्दछ’ भन्ने गीत सुन्दै रमाएको अस्ति भर्खर जस्तो लाग्छ। अहिलेका ‘किलिन्डर’ ले काट्ने टिकटको ‘रुप्पे’ सुन्दा झसंग भइन्छ। ओहो धेरै उमेर पो भइसकियो क्यारे!
देशै रमाइलो छ हाम्रो। सडकमा केही झलक देख्न सकिन्छ।
जति बाटोघाटो हाम्रो खराब छ, त्यत्तिकै ओभरटेक गर्ने होडबाजी पनि छ। सबैलाई अरू नियममा बसे हुन्थ्यो, आफू चाहिँ नबस्न परे हुन्थ्यो झैँ छ। जहाँसुकै उभिएर हात खडा गर्दिन्छन्। हिन्दी फिल्मको डाइलग झैँ ‘जहाँ हम खडे होते है, वहीँ से लाइन सुरु होता है।’ पाइला पाइलामा स्टेसन बनाइदिन्छौँ।
कहिलेकाहीँ दुई वटा गाडीका चालक गाडी रोकेर बिच सडकमा गफ सुरु गर्छन्। पछाडिका दुई/चार वटा गाडीले गाली स्वरूप चर्को हर्न नबजाएसम्म छुटिन्नन्।
राजमार्गमा कुखुरा बाख्रा मात्रै छोडिन्नन्, बिस्कुन पनि सुकाइन्छ, जग्गे पनि लगाइन्छ। अहिलेका बच्चाहरूले नेपाल बन्द ‘इन्जोए’ गर्न पाएनन् नत्र बन्दका दिनमा क्रिकेट म्याच पनि चल्थ्यो।
कुनै साधनहरू हर्नबाहेक सबै थोक बज्ने स्थितिसम्म पनि चलिरहेका हुन्छन्। कहिलेकाहीँ बसले यात्रुलाई होइन, यात्रुले बसलाई धकेल्दै गन्तव्यसम्म ल्याइपुर्याउनु परेको हुन्छ। तैपनि यातायात कर्मचारी सेवा दिइरहेकै हुन्छन्।
सेवा मात्र होइन मनोरञ्जन पनि दिने गर्छन्। मोबाइल, अरू ग्याजेट नहुँदाको बेलामा त केही विकल्प नै थिएन। अब अचेल उनीहरूको रोजाइका गीत कर्कश आवाजमा नसुने पनि सकिन्छ। साथमा इयरफोन बोक्न नबिर्सिएमा। मेरा मन पर्ने गीतहरू थोरै मात्र छन्। चर्को आवाजमा मन नपरेका गीत सुन्न बाध्य हुनु मलाई गाली सुन्न जति कष्टकर लाग्छ।
‘बर्न टु ट्राभल्स’ घुम्नको लागि जन्मिएको भन्ने आफ्नो रुचिको परिचय दिँदा जति रोमाञ्चित हुन्छ। त्यही परिमाणमा मेरो धैर्यताको परीक्षा लिन्छ मेरो रुचिले। जब भोक, प्यास, अनिश्चितता, असुविधा मात्र नभई शौचमा समेत अप्राकृतिक नियन्त्रण राख्नु पर्छ। ड्राइभर, कन्डक्टर पुरुष हुन्छन् नै यात्रु पनि पुरुष नै धेरै हुन्छन्। जसको हातमा स्टेरिङ उसको मर्जी। यस्तो ठाउँमा गाडी रोक्छन्। गर्नेलाई भन्दा देख्नेलाई अप्ठेरो लागेर टाउको बटार्नुपर्ने हुन्छ।
केही पटकको बहस निरर्थक भएपछि यति बुझेँ कि पितृ सत्ता जब्बर मात्रै होइन निर्लज्ज पनि छ। आफू नाङ्गिएर अरूलाई हेपेँ भन्ने ठान्छ। यिनीहरू र नगरबसको भिडभाडमा गलत फाइदा लिन खोज्नेहरू उत्तिकै मानसिक रोगी लाग्दछन्। विगत डेढ दशकमा यसमा केही सुधार भएको छ। महिलामैत्री र अपांगमैत्री शौचालयको पनि उपभोग गर्न पाइन थालेको छ। खुला दिसामुक्त अभियानले यसलाई केही नियन्त्रण गरेको छ।
यस्ता असहजताका बाबजुद पनि चलायमान जिन्दगीले सिकाउने पाठ, आर्जन हुने अनुभव त्यसको जगमा निर्माण हुने आत्मविश्वासको मजै बेग्लै छ। विद्यार्थी जीवनमा जोस जाँगर हुन्छ, साथी हुन्छन्। तर पैसा हुँदैन। रहरहरू त्यसै थाँती राख्नु पर्ने हुन्छ। जागिर खान थालेपछि पैसा त हुन्छ तर साथी हुँदैनन्। समय हुँदैन। बिस्तारै घर व्यवहारमा छिरेपछि त झन् परिस्थिति मिल्दैन।
पुरुषहरू त ‘सोलो ट्राभल’ हिँड्दिन ठुलो कुरा हुँदैन। तर महिलाहरूको ‘सोलो यात्रा’ अझै अजीव मान्छ हाम्रो समाजले। कामको बहानामा हिँडडुल हुने मौका पनि सबैलाई नजुर्न सक्छ। डुलुवा काम फेरि पनि ‘लेडिज टाइप’को मानिन्न। यो असुविधाको बाटो रोज्नुलाई स्वाभाविक रूपमा लिइन्न। किनकि हाम्रो उपलब्धि प्रगतिको मापदण्डमा खुसी, स्वतन्त्रता ज्ञान आर्जन, मिठा यादहरूको सङ्ग्रह पर्दैनन्। डुलेर कोही करोडपति बन्दैन। मन्त्री बन्दैन। तक्मा पाउँदैन।
‘किलिन्डर’ को टिकटको मूल्य हेर्दै ओहो जिन्दगीको धेरै समय गइसकेछ भन्ने उमेरसम्म पनि उपलब्धिको नाममा यादहरू र आत्मविश्वास मात्रै रहेछ। जसलाई दसैँमा घर जाने यात्रुको झोला जस्तै जतन गर्ने कोसिस गर्छु।
कामले, बिना कामले, रहरले, करले जे कारणले हिँडे पनि लामा छोटा यात्रा औसतभन्दा धेरै गरौँ। हरेक यात्राले केही न केही सिकायो। केही खानेकुरा, केही औषधी बोकेर हिँड्न, जगेडा कपडा साथमा लैजान, अगाडि सिटमा नबस्न, ढोकाको सिटमा नबस्न, लास्ट सिटमा नबस्न, छाता नभुल्न, पिसाब गरेर मात्र बस चढ्न आदि इत्यादि।
शरीरले थकाइ महसुस गरे पनि मन हुलंगो हुन्छ। जमेको पोखरी झैँ स्थिर हुने मानव स्वभाव होइन। त्यसैले जहाँसम्म सकिन्छ, जति सकिन्छ, जेमा सकिन्छ गर्न चाहिँ गरौँ। सबैलाई शुभ यात्रा।