पोखराको पृथ्वीनारायण क्याम्पसको आफ्नै इतिहास र पहिचान छ।
पोखरा महानगरपालिकाको वडा नम्बर १ बगर, भीमकालिपाटनमा अवस्थित यो क्याम्पस देशकै पुरानो र ठूलो क्याम्पस हो।
त्रिभुवन विश्वविद्यालय स्थापना भएको एक वर्षपछि २०१७ सालमा स्थापना भएको यो क्याम्पसमा हाल बाह्र हजार भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन्।
मानिसको जीवन हुँदो हो त क्याम्पसले अवकाश प्राप्त गरिसक्ने उमेर भयो। तर यो त एउटा संस्था हो। अविच्छिन्न चलिरहनु पर्छ, हाम्रो छातीभित्र भएको मुटु जस्तै। यो ६५ वर्षको जीवनमा क्याम्पसले लाखौं विद्यार्थीहरूको जीवनको रूपरेखा कोरिदिएको छ। औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पस कहिल्यै प्रवेश नगरेकाहरूले पनि यसलाई छोटकरीमा पि. एन. क्याम्पस भनेर चिन्छन्।
पि.एन.क्याम्पसमा प्रवेश गर्ने दुइटा गेटहरू छन्: तल्लो मूल गेट र माथिल्लो सानो गेट।
यही माथिल्लो गेटतर्फ जाने सडकको बायाँतर्फ क्याम्पसभन्दा पनि बुढीआमाले सञ्चालन गरेको एउटा अनौठो बिजनेस मोडेल छ— (आलु) चप खाने ठाउँ।
एउटा विशुद्ध पारिवारिक बिजनेस। भिमकालिपाटन वरपरका नदीपुर, अधिकारी टोल, विन्दुबासिनी, नयाँ गल्ली, हरिचोक, सिमपानी, केआई सिंह पुल क्षेत्रमा बसोबास गर्ने निम्न वर्गका स्थानीयदेखि त्यही बाटो भएर ओहोरदोहोर गर्ने साना व्यापारीहरू, हकरहरू, र विषेशगरी पि.एन.क्याम्पस अध्ययन गर्ने प्राय: सबै विद्यार्थीहरू आफ्नो अध्ययन अवधिमा एक न एक पटक चप खाने ठाउँमा गएको हुनुपर्छ।
कतिपयको त नियमित खाजा खाने ठाउँ नै होला। फरक फरक समयमा भए पनि पि.एन.क्याम्पस पढ्ने आम विद्यार्थीहरू बीचको एउटा साझा अनुभव होला त्यो आलु चप।
विगत २५ वर्षदेखि म आफैले जान्दछु त्यो ठाउँ। म पहिलो पटक जाँदाखेरी नै सबैकुरा हेर्दा दस पन्ध्र वर्षभन्दा बढी सञ्चालन भइसके जस्तो देखिन्थ्यो। कहिलेदेखि सुरू भएको हो म यसै भन्न सक्दिनँ। जस्ताको छाना भएको एक पाखे घर छ। भित्र छिर्ने साँघुरो ढोकासँगै बायाँतर्फ रहेको सानो पालिमुनि विगत पच्चीस वर्षदेखि उस्तै बान्कीका कुनै मिलाएर राखेका र कुनै त्यसै फालेका दाउराहरू देखिन्छन्। पालि बाहिरको अलिकति आँगन जस्तो भागमा बाङ्गोगरी यताउता बाँधिएका कपडा सुकाउने दुई तीन वटा डोरीमा सधैँ उस्तै अर्धना कपडाहरू सुकाइएको हुन्छ। नजिकै पुगेपछि आउने आलु चप पकाएको बास्ना पच्चीस वर्षदेखि उस्तै छ। भित्र पस्ने ढोका साँघुरो र होचो छ। जवान मान्छेहरू ढोकाबाट भित्र जाँदा थोरै झुक्ने गर्छन्। त्यो ढोकाबाट प्राय:जसो पातलो धुवाँ बाहिर निस्किरहेको हुन्छ।
ढोकाबाट भित्र छिर्ने बित्तिकै धुवाँले आँखा साना भइहाल्छन्। बायाँ पट्टी दुई चार बोरा आलु र एक दुई बोरा मैदाको पिठो देखिन्छ। अनि नियमित प्रयोगमा नआउने थोत्रा सामान थन्क्याएर राखेको एउटा पुरानो सोकेस। सोकेससम्म पुग्ने बित्तिकै आगो दन्किरहेको चुलो देखिन्छ। चुलोमा ठूलो कालो कराईमा आधाभन्दा बढी तेल तातिरहेको हुन्छ। नजिकै एउटा बेञ्चको एक छेउमा दुवैतर्फ खुट्टा खसालेर बस्दै आफ्नो अगाडि राखिएको सबभन्दा ठूलो साइजको अल्मुनियमको बाटामा चुली लगाएर राखिएको उसिनेको आलु र मैदाको मिश्रणलाई सुम्सुम्याउँदै गरेको देखिन्छिन् एउटी बुढीआमा।
एउटा हत्केलामा दूध प्याक गरेको खाली प्लास्टिक राखेर त्यसमाथि अलिकति आलु र मैदाको मिश्रण राखी अठ्याउने अनि सानो गोलो आकार दिएर त्यसलाई प्लास्टिकबाट निकालेर तातो तेलमा राखेर खैरो भइन्जेल फर्काई फर्काई पकाएपछि मिठो चप तयार हुन्छ। त्यसका लागि छुट्टै थप पिठो, एउटा बाल्टीमा पानी, दुई तीन लिटर तेलको पोकाहरू, एकपछि अर्को थप्नुपर्ने दाउरा, चप निकाल्ने ठूलो स्पाइडर स्किमर, चप राख्ने अर्को ठूलो बाटा आदि सबै वरिपरि हाते पहुँचमा हुनुपर्छ। तेल तातेर खरिएपछि पहिले एक मुठी सुकेका खुर्सानी फुराउनुहुन्छ अनि दुइटा हात मेसिन जस्तै गरी चलाउँदै आमाले चप पकाउन सुरू गर्नुहुन्छ। चप पकाउने चुलो नजिकै एक जना मर्दले उचाल्न नसकिने ठूलो डेक्चीभरी आलु र केराउको झोलिलो तरकारी पाकिरहेको हुन्छ। त्यसको नजिकै आगोको राफमा एउटा ठूलो केल्टीभरी पानी तातिरहेको हुन्छ। बेलाबेलामा तरकारीमा तातोपानी थप्नुपर्छ।
मूल ढोकाबाट भित्र गएपछि तीन पाइला जतिमा भएको सोकेस सम्मको भागले ट्रान्जिसन कक्षको काम गर्छ। सोकेसभन्दा उता मुख्य प्रोडक्सन कक्ष भयो। अनि सोकेसको बायाँतर्फबाट भित्र सर्भिस कक्षतर्फ जाने सानो ढोका छ। त्यो ढोकाबाट भित्र गएपछि चप खान बस्ने ठाउँ छ। दुई दुई वटा टेबल र बेञ्च जोडेर दुवै तर्फबाट बस्न मिल्नेगरी राखिएको चार लहर बस्ने ठाउँहरू र एउटा कुनामा कालो चिप्लो खाट छ।
खाटको भित्तापट्टि थोत्रो डसनासहित बेरिएको विस्तारा र अन्य केही दैनिक प्रयोगका सामानहरू हुन्छन्। खाटको विमुख पल्लो पट्टी ठूलो टिभी र्याक छ। त्यस र्याकभित्र टिभीको दायाँबायाँ र तल्लो उपल्लो सेक्सनहरूमा तामा र चरेसका केही भाँडाकुँडाहरू, बट्टाहरू र केही यसै नचिनिने सामान छन्। त्यस सानो हलको दायाँपट्टि लहरै तीनओटा कोठाहरू छन्। ती सबै कोठाको ढोकामा धमिला पर्दाहरू टाँगिएका छन्। ट्रान्जिसन कक्षदेखि खाने ठाउँसम्म राखिएका र देखिने सबै समानहरू एन्टिक्यू लुक्सका देखिन्छन्।
'४० वटा चप है !'
'लाने कि खाने, बाबु ?'
'लाने'
एउटा स्कुले केटाको मौखिक अर्डर लिइयो।
'हाम्लाई ५ वटा तरकारी र २५ वटा चप है !'
सेतो सर्ट र कालो पाइन्ट लगाएका पि. एन. क्याम्पस पढ्ने तीन जना केटा र दुई जना केटीको समूहको अर्को पनि अर्डर लिइयो।
'२० वटा चप र चार वटा तरकारी'
'६० वटा चप'
'१४० वटा चप'
'२५ ओटा चप र पाँच वटा तरकारी'
'एउटा तरकारी र ५ वटा चप यहीँ खाने, ३० वटा चप लैजाने है।'
एकैछिनमा यस्ता कैयौं अर्डरहरू भइरहन्छन्। अधिकांश ग्राहकहरू त्यहीँ बसेर खाने गरी आउँछन् भने केहीले लिएर जान्छन् र केहीले आफूले त्यहीँ खाएर परिवारका अरू सदस्यहरूको लागि लिएर जान्छन्।
लिएर जानेको लागि अर्डर अनुसारको संख्याका चपहरू लेखेर सकिएका कापीका पाना वा पत्रिकामा पोको पारेर एक पटक प्रयोग गरिसकेको प्लास्टिकमा राखेर दिइन्छ। लिएर जानेहरूले तरकारी लाँदैनन्। त्यहीँ खानेहरूले प्राय: सबैले तरकारी पनि खान्छन्। तरकारीको आफ्नै विशेष रेसिपी छ। चिल्लो हुँदैन, मसला भएजस्तो लाग्दैन। नुन ठिक्क। आगोमा पकाएको। स्वाद चाहिँ बेजोड!
'कति भयो मेरो?'
'३५ रुपैयाँ'
'हाम्रो कति भयो ?'
'कति खानुभयो ?'
'६ वटा तरकारी ३० वटा चप'
'एक सय .... रुपैयाँ'
हातले काम नछोडिकन आमाले मुखैले हिसाब गर्नुहुन्छ। आलु चप खान भित्र पस्दा र खाएर निस्कँदा यस्ता हिसाबहरू सुनिरहन पाइन्छ।
त्यो सम्पूर्ण संरचनाको भित्तामा करिब एक तिहाइ माथिल्लो भाग र छाना सबै धुवाँले कालो भएको छ। दुई तिहाइ तल्लो भागमा र भुइँमा गेरूमाटो पोतिएको जस्तो देखिन्छ। गेरूमाटो र धुवाँ स्पष्ट दायरा बिना अन्योन्याश्रित रूपमा मिसिएका छन्।
उत्पादन कक्ष र सर्भिस कक्षमा बुढीआमाका छोरी, बुहारी, नातिनीजस्ता देखिने ठूलासाना गरी करिब ६/७ जना जति सदस्यहरू आ-आफ्नो काममा खटिएका देखिन्छन्।
दुई तीन जना जिम्मेवारीविहीन साना नानीहरू यसै खेलिरहेका हुन्छन्। मैले जानेको सुरूआतको दस वर्ष जति सर्ट, पाइन्ट, चस्मा, छालाको जुत्ता र टोपी लगाएका एउटा बूढा बाले मूल ढोका बाहिर पालिमुनि, कहिले दाउरा मिलाउँदै गरेको र कहिले आँगनमा एउटा सानो टूलमा शान्तसँग बसेर गिलासभरी दूध चिया खाँदै गरेको देखिन्थ्यो। उहाँ बाभन्दा बाहेक अन्य पुरूष सदस्यहरू मैले त्यहाँ कहिल्यै देखिनँ।
पिएन क्याम्पसको नियमित अध्ययन पूरा भएपछि मेरो पनि त्यो चप खाने ठाउँमा जाने अनुकूलता भएन। केही वर्षहरू नै बिते। लामो समयपछि एकदिन जाँदा सबै कुराहरू उस्तै थिए। जस्ताको तस्तै। भित्र पस्ने बित्तिकै अर्डर गरेँ अनि सर्भिस कक्षमा गएर चपको प्रतीक्षा गर्दै थिएँ।
पश्चिमपट्टिको भित्तामा उनै बाहिर बस्ने बाको उज्यालो फोटो टाँसिएको रहेछ। सँगै ठूला दुइटा किला ठोकेर अड्याइएको सानो काठको फलिका माथि एउटा दियो बालिएको थियो र तामाको दुइटा साना चम्किला अम्खरामा जल राखिएको थियो र फूल सजाइएको थियो। मनमनै एउटा लख काटेँ। बुढी आमालाई हेरेँ। आमा उसैगरी मेसिन जस्तै हात चलाइरहेकी थिइन्।
पछिल्लो पटक अस्ति भर्खर एक पटक गएँ। पन्ध्र बीस वर्ष अगाडि देखिएका साना साना नानीहरू ठूला भैसकेछन्। सर्भिस गर्ने भइसकेछन्। त्यतिबेला सर्भिस गर्ने अलि ठूला नानीहरू आमा (हजुरआमा?) लाई चप पकाउन सहयोग गर्ने भइसकेछन्। प्राय: सबैलाई चिनेँ। एक दुइटा अनुहारहरू देखिनँ। ती बुढी आमाको टाउकोमा केही सेतो कपालका तान्द्राहरू थपिएछन् तर कार्यशैली र हाउभाउ उस्तै थियो। यस पटक चप कुरेर बस्दाबस्दै आफ्नो उमेर गन्न थालेछु। झस्याङ भएँ। म पनि त बुढो भैसकेछु!
मैले जानेको समयदेखि यस्ता साना बिजनेसहरू यसरी टिकेको देखेको छैन। देशमा राजनीतिक परिवर्तनहरू भए, अनेकौं आन्दोलनहरू भए, नाकाबन्दी भयो, कोभिड-१९ ले आक्रान्त बनायो तर अहिलेसम्म एउटा साइनबोर्डमा नाम पनि नभएको यो 'चप खाने ठाउँ' मा कुनै परिवर्तन भएन र ती उथलपुथलहरूले छोएन।
ऊ बेलादेखि आजसम्म एउटै शैली र स्वादमा चप र तरकारी खुवाउने ती बुढीआमाको रहर, बाध्यता वा बानी के होला? मैले अर्डर गर्दा र पैसा तिर्दा दुई वचन बोल्ने बाहेक अहिलेसम्म अन्य कुनै प्रश्न गरेर खुल्दुली मेटाउने प्रयास गरेको छैन। सायद अरूले पनि आमासँग अरू बढी प्रश्न गर्ने हिम्मत गर्दैनन् वा त्यस्ता प्रश्नहरू गर्ने माहोल नै हुँदैन त्यहाँ।
खासमा आमा काम गर्दिनन्, कामसँग खेल्छिन्। काम गरेको भए आमा बुढी भएको महसुस गर्दिहुन। गाह्रो हुँदो हो। वाक्क दिक्क लाग्दो हो। धनी हुन खोज्दिहुन्। तर ती बुढीआमा कामसँग खेल्छिन्। मानिसका भोका पेटहरूलाई तृप्त बनाउँछिन्। ती हजारौं पेटका देवताहरूले आमालाई शक्ति दिएको छ। त्यसैले आमा आफ्ना सिद्धान्तहरूबाट कत्ति पनि विचलित नभइकन अझै उस्तै सक्रिय छन्। मैले सोधेको त छैन तर मेरो ठम्याईमा आमाले आजसम्म एउटा सिटामोल पनि खानुपरेको छैन होला।
आफू काम गर्दागर्दै पनि भित्र पस्नेहरूसँग आँखा जुधे भने मिठो लवजमा आमा भन्छिन्, 'बस बाबु', 'बस नानी'। कहिलेकाहीँ पालो मिच्न खोज्ने र हतार गर्नेहरू पनि आउँछन् चप खान र लिन।
आमाले मिठो तर बोल्ड शैलीमा जबाफ दिन्छिन्, 'अर्काको पेट मार्नु हुँदैन, बाबु। पेटमा लात हान्नु हुँदैन।' अर्को पटकबाट तिनीहरूले कहिल्यै पालो मिच्ने र हतार गर्ने काम गर्दैनन्। बेला बेला आफ्ना परिवारका सदस्यलाई सम्झाउँदै चप पकाइरहकी हुन्छिन् आमा।
भन्छिन्, 'घाँटी हेरेर हाड निल्नु पर्छ...अरू घोडा चढे भनेर आफू धुरी चढ्नु हुँदैन ... लेखेको पाइन्छ, देखेको पाइँदैन ...' आदि इत्यादि।
आमासँग गज्जबको सामाजिकीकरण र अन्तरबयक्तीक गुणहरू छन्। वर्षौंदेखि नियमित रूपमा त्यही बाटो भएर ओहोरदोहोर गर्दै सामान बेच्दै हिँड्ने साना व्यापारीहरू खाजा खान पस्दा आमा सोधिहाल्छिन्, 'आज कतिमा दिएका छौ, आँप', 'आज कति कमायौ?'। ती साना व्यापारीहरू आफूलाई जन्म दिने आमासँग दुःख बिसाएझैं मनको कुरा कहन्छन्।
कुनै बेला साधुसन्तहरू र दीनदुःखीहरू पनि भित्र पस्छन्। मानिस हेरेर केही चप र दुई चार पैसा दिएर 'लौ... जाऊ' भन्दै मायाले बिदा गर्छिन् आमाले। लाग्छ यी भन्दा ठूला च्यारिटीमा पनि संलग्न हुन्छिन्। मार्केटिङ र बिजनेसको औपचारिक ज्ञान बिना च्यारिटीको शक्ति राम्रोसँग बुझेकी छन्। झिनामसिना कुरा गरेर बस्ने वातावण नै बनाउँदिनन् र आफ्ना दुःख, योजना र शिल्पहरू जो कसैलाई बताउँदिनन्। वर्षौंदेखि आमाले जतनका साथ बचाएका धेरै कुरा मध्य एउटा महत्वपूर्ण कुरा भनेको इमान र निष्ठा हो। छेवैको पिएन क्याम्पसको कक्षा कोठामा कहिल्यै नपसेकी बुढीआमाले बिजनेसका बहुमूल्य कडीहरू निःशुल्क अपनाएर बाँडिरहेकी छन्।
हुन त पाँच/छ जनाको समूह गएर पेटभरि खाजा खाँदा दुई सयदेखि तीन सय रुपैयाँ पैसाले पुग्छ। धेरैजसो पाँच, दस, बीस, पचासका नोटहरू आदानप्रदान हुन्छन्। बुढीआमाले आफै पैसा लिन र फिर्ता गर्न भ्याउनुहुन्छ। लिएको पैसा राख्ने आजसम्म कुनै सन्दूकको व्यवस्था छैन। कहिले ठूलो प्लास्टिक त कहिले झोलामा जम्मा गर्नुहुन्छ पैसा। बुढी आमाले अहिलेसम्म कति कमाइन् होला? साँच्चै कमाइ हुन्छ कि हुँदैन होला? कमाएको धन के गरेकी छन् होला? यस्ता प्रश्नहरू मेरो मनमा आजसम्म उठेका छैनन्। गएर त हेर्नुहोस्! तपाईंको मनमा पनि उठ्दैनन्। किनभने एक कप चियाको भरमा तेस्रो मानिसको बारेमा कुरा गरेर, अर्कोलाई आलोचना गरेर, एकादेशको अनुभव र भन्तेसुन्तेका कुरामा गलल्ल हाँसेर घण्टौँ समय बिताउन त्यहाँ कोही पनि मानिस जाँदैनन्।
पिएन क्याम्पसका सयौँ विद्यार्थीहरूले प्रत्येक वर्ष प्रोजेक्ट रिपोर्ट बनाउँछन्। घटानवृत्त अध्ययन गर्छन्। अनुसन्धान गर्छन्। अध्ययन भ्रमण गर्छन्। प्राध्यापकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्छन्। तर छेवैमा भएको क्याम्पसको जस्तै इतिहास बोकेको बुढीआमाको एउटा अद्भुत बिजनेस मोडेल अभिलिखित हुने अवसर कहिल्यै पाउँदैन।
यति ठूला शैक्षिक संस्थाहरूले आफ्नो वरपरको परिवेश चिनाउन सक्दैनन् भने विश्व नागरिक कसरी बनाउन सक्लान्? पिएन क्याम्पसको आड लागेर बसेकी बुढीआमालाई क्याम्पसले आफ्नो ६६ औँ वार्षिक उत्सवमा सम्मान गरिदिए उच्च शैक्षिक संस्था र ग्रासरूट बिजनेसको इकोसिस्टम स्थापित हुने थियो।