हाँडीखर्क हुँदै बालाकोट निस्केका गञ्जु बुढा र उनका कान्छा बाउलाई बाटो देखाउन आकाशको जून खुलेको थियो। चिसो बतासमा खुइय गर्दै उकालो चढेका उनीहरू झरुवा आइपुग्दा गौँडोमा बाघसँग जम्काभेट भयो।
गौँडामा तलतिर मुख लगाएर बसेको बाघ र उनीहरूका आँखा जुधे। रुइसेका ओठ कापे, हातखुट्टा झरुवाको पानीजस्तै चिसो भए। उमेरले बुढो भए पनि ज्यानमा तागत भरिएका गञ्जुले बाघसँग डर मानेनन्। नजिकै गए, मानौँ बाघसँग कुस्ती खेल्न पनि तयार छन्। गञ्जुको आँट देखेर बाघले सर्लक्क बाटो छाडिदियो र नजिकैको झाडीतिर पस्यो।
त्यो रात गञ्जु बुढाले रुइसेलाई घर पठाएर आफू भने लुँखुको महाशिलातिर लागे। बालाकोटमा कुनै ठुलो निर्णय लिनु परेमा औँसी र पूर्णिमामा महाशिलाको चिसोमा सुत्यो भने राति दीक्षा प्राप्त हुन्छ भन्ने विश्वास थियो। निधारमा पाली लगाएर हेर्नुपर्ने अग्लो र ठुलो महाशिलाको ढुङ्गो, ढुङ्गोमाथि अरू ढुङ्गाहरू छाना छाएजस्तो गरी मिलेर बसेका, छानोजस्तो बनेको ढुङ्गाको हारमा सानो सुरुङजस्तो बनेको। हो, त्यही सुरुङमा सुतेर गाउँका पुराना बुढाहरूले दीक्षा पाएको लोकोक्ति सबैका मुख मुखमा थियो।
बुढापाकाहरूले त्यो सुरुङमा हरेक रात एक जोडी बाघ बघेनी आएर बस्ने गरेका कहानी सुनाएका थिए। पहिलो चोटि त्यो सुरुङमा जाँदै गरेको गञ्जुको मनमा डरको चिसो शीत नपरेको होइन, तर आँट गर्यो भने के पो होला र भन्ने सोचले बलियो बन्यो। आफ्ना बाउबाजे पनि त्यो सुरुङमा सुत्दा बाघ बघेनी आएर नजिकै बसेको र फनक्क फर्केर गएको कुरा उसलाई ताजै लाग्यो। त्यो रात उनी त्यहीँ सुते।
गञ्जु बुढा निदाइसकेका थिएनन्, एक जोडी बाघ बघेनी आइपुगे। सुरुङको मुखमा एकैतिर मुख फर्काएर पुच्छर दाहिने घुमाएर बसे। दाहिने घुमेका पुच्छर देखेपछि उनले आनन्दको सास ताने। थाहा थियो– दाहिने पुच्छर घुमाउनु भनेको खुसी हुनु हो, यस्तो बेला कुनै पनि जनावरले कसैलाई आक्रमण गर्दैनन्। बाघ बघेनीले एक अर्काका गाला चाटे, जिब्रोले जिब्रो चाटे। अनि ठुलो मुख बाएर एकछिन गञ्जुलाई हेरिरहे। र फनक्क फर्केर गए।
उनलाई अब ढुक्कको निद लाग्यो। अनि ढुङ्गाको चिसो भुईँमा लुपुक्क परेर सुते, निदाए।
राति सपनामा यस्तो देखे–
सेतीबेनीको दोभानमा नुहाएर फर्केका उनी उरामपोखराको बाटो तल सिउँदी खोलामा झरे। खोलो ठुलो थियो, तर्ने आँट आएन। पौडिएर पारि तर्छु भनेर खोलामा पसेका मात्र थिए, पानीबाट एउटी युवती प्रकट भइन्। उनैले हात समाएर खोला तारिदिइन्। फेरि आफू अलप भइन्। उनलाई अचम्म लाग्यो। यताउता हेर्दा कोही देखिएन। नजिकैको टुनीको बोटको टुप्पोबाट झरेको चराको गीत र पानीको आवाज बाहेक केही सुनिएन। कुनै देवी प्रकट भएर आफूलाई उद्धार गरेको सोचे अनि खोलाको बगरमा टाउको भुईँमा राखेर खोलालाई ढोगे। जुरुक्क उठेर बेउलीबासको उकालीतिर लागे।
बेउलीबासको गाउँ कटेर माथि पालथानको मन्दिरमा पुगे। क्षेत्रपाल भनेर पूजा गर्ने ढुङ्गामा शिर नुहाएर ढोगे। पिपल र शमीको बोटलाई तीन पटक दाहिने परिक्रमा गरे। ढिकको पाती टिपेर पोखरीको मौलामा पर्ने गरी चढाए। अनि कटुसको जंगलको उकालो बाटो फेरि पैयूँ डाँडातिर निस्किरहे।
डाँडामा पुगेका मात्र थिए, एक हुल कस्तुरी उनको नजिकै आइपुगे। मानौँ उनैलाई लिन गएका कस्तुरी हुन् ती। सिउदीखोलामा आफूलाई खोला तारिदिने युवतीलाई सम्झे अनि सोचे– कुनै देवीले मलाई केही संकेत गरेकी छिन्। अनि थचक्क भुइँघाँसमा बसे।
त्यही बेला आकाशबाट एक थुँगा फूल उनको अगाडि खस्यो। कस्तुरीको बिनाभन्दा बढी सुगन्ध छायो त्यो परिवेशमा। उनी अवाक् भए।
हेर्दाहेर्दै फूलले आइमाईको रूप लियो। खुला छोडिएको लामो कपाल, चम्किला ठुला आँखा, मसिना आँखीभौँ, थेप्चो नाक, सिरुपाते ओठ, पुटुक्कका गाला, लोभलाग्दो छाती, बाघको जस्तो कम्मर, लामा खुट्टा। ज्यानमा धोती लगाएको र त्यसैले लाज ढाकेको। यस्तो रूप लिएको त्यो फूल अब स्वर्गकी अप्सराजस्तो देखिएको थियो। गञ्जु बुढा ती आइमाईलाई देखेर एकछिन आत्तिए। पसिना छुट्यो निधारबाट। हातले पसिना पुछे अनि हातलाई फेरि घाँसमा दलेर पुछे।
उनको दाहिने हात समाएर उठाइन ती आइमाईले। सरासर अलि माथिको थुम्कोमा पुर्याइन्। आफ्नो परेला निकालेर राखिन्। अनि भनिन्– ‘बाँसी नदीको किनारमा नुहाउँदै गरेका राजकुमारलाई ल्याएर यहाँ राजा बनाउनू। राजा खोजेर ल्याएपछि उ त्यो परको बारीमा दरबार बनाउनू। यो थुम्कोमा नित्य पूजा लगाउनू। पछि उत्तरतिरका राजाले खुँडा उपहार दिनेछन्, तिनलाई समेत यही ठाउँमा पूजा गर्ने चलन चलाउनू।’
यति भनेर अलप भइन् उनी। यताउता हेरे– कस्तुरीका हुल उनीसँगै थिए।
त्यही बेला महाशिलाको चिसो ढुङ्गे सुरुङमा गञ्जु आले ब्युँझिए।
***
त्यो वर्षको चैते दसैँको दिन। सल्लाहअनुसार चारै जना बुढाहरू खाइलाग्दा, बलिया अनि आकर्षक मुहार भएका एक-एक जना मगर केटाहरूलाई लिएर मर्दी खोला र सेती खोलाको दोभानमा भेट भए। शेरु चितौरेले आउँदै गर्दा गुहुसुमबाट दुई ओटा कुखुराका भाले लिएर आएका थिए। भाले काटेर एउटा ढुङ्गामा रगत चढाए।
भालेको बली चढाएको त्यो ढुङ्गामा चारै जनाले शिर निहुराएर ढोगे। अनि राजा खोजेर ल्याई ढुङ्गालाई दरबारमा राख्ने सल्लाह गरे।
गञ्जु बुढाले महाशिलाको ढुङ्गे सुरुङमा सुत्दा आफूले देखेको सपना सबैलाई बताए। अनि चार जना ती मगर केटाहरूलाई काशी नजिकैको बाँसी भन्ने नदीमा हाम्रा राजाले नुहाउँदै गरेका हुन्छन्, उनलाई फकाएर लिएर आउनु भनी ढुङ्गामा चढाएको रगत आफ्नो दाहिने हातको बूढी औँलाले झिकेर केटाहरूको निधारमा लगाइदिए।
दाहिने कम्मरनेर कछाडमा बटारेर राखेका केही भोजपत्रका साना चिर्कटा र भोजपत्रमै लेखेको एउटा अलि लामो चिठी झिकेर राकम मगरको झोलामा राखिदिए। चिठी झोलामा राख्दै गर्दा भने– ‘यो चिठीमा यहाँको सबै हालको बारेमा संस्कृतमा लेखेको छ। कसैले को हौ, कहाँ आएका हौ भनेर सोध्दा पुछारमा पहेँलो रङले लामो धर्सो तानेको चिर्कटो देखाउनू, दरबारको मूल ढोकामा सैनिकलाई पनि त्यही देखाउनू। नदीमा नुहाउँदै गरेको राजकुमारजस्तो कोही भेटे पनि त्यही देखाउनू। दरबार पुगेर राजालाई शिर नुहाएर ढोग्नू र रातो कपडाभित्रको चिठी दिनू। त्यो चिठी दिँदा अघि घरबाट लिएर आएको शालिग्रामका पञ्चदेव पनि सँगै दिनू। अनि कहीँ कतै बाटोघाटोमा अप्ठ्यारो परेमा हरियो अक्षर लेखेको चिठी देखाउनू, तिमीहरूलाई कसैले केही गर्दैन।’
केटाहरूले हस् भनेर इसारा गरे।
गञ्जुले अझै थपे– ‘बरु जाँदा एकचोटि बल्ढेङगढी पनि पसेर जानू। त्यहाँका प्रजाले राजाको बारेमा गरेका कुरा सुन्नू। तर तिमीहरू राजा खोज्न हिँडेको भनेर कसैलाई नसुनाउनू। यी चिठी पनि अति गोप्य राख्नू।’
यति भनेर राजा खोज्नका लागि बिदा गरे। राकम अरू केटाहरूलाई पछि लगाएर सेतिवेणी जाने बाटो पछ्यायो।
यो पनि
पैयूँ राज्यको सेतिबेनीमा यसरी लागेको थियो पहिलो मेला!