सेती नदीसँगै सुसाउँदै आउन्या सैपालको ठन्डा बतास छुट्न्या भयो। जागिरे बाले आफूसँगै मलाई कैलालीको चौमाला लैजान्या भए। म बासँगै मरूभूमिको तात्तातो लु बहन्या भावर जान्या भयाँ। जन्मथलो गोलाइको काख छाडिकन चौमालाको छातीमा हुर्किन!
भावर जान्या दिनको खुलदुल मन। चीलगाडी (जहाज) को प्रतीक्षामा छकालैदेखि गगनतिरै झुण्डिएका नयन।
बैस्याडीको घरमा बिदाइ आसिक (आशिष) दिएसँगै असी वर्षिया बजीको हाउभाउमा बेचैनी पोखिँदै थियो। कुप्रे शरीर लिएर आँगनीको डिलसम्म त्यसै पुग्नुभयाको होइन। डाँडामाथिको घाम भइसकेकी बजीलाई अब नाति देख्न पाउन्या नाइँ लाग्यो होला। डिलबाटै ओझेल परून्जेल हेर्नुभयो, अघि अघि हिँड्याका बालाई। बीचमा पुष्प दाजु र पुछारमा पुलुक्क पुलुक्क फर्किँदै हिँडन्या मलाई।
कलेजो आफैबाट एक एक पाइला टाढिँदै गएको हेरिरहँदा मेरी आमाको मुटुमा पहिले गानो उठ्यो होला। दौडिँदै गएर मुटुको टुक्रालाई फिर्ता ल्याऊँ पनि लाग्यो होला। तर नसकेपछि मनमा भक्कानो फुटाउँदै कैयौं दिन आँखामा अँध्यारो छाइरह्यो होला।
केटौलो छटपटाहट ममा पनि झल्कियो। मेरा सतर्क नजर बाटोतिर सोझिन्थे। दुःखी नजर छुट्दै गएको घरतिर फर्किन्थे। अनि कौतुहल नजर जहाज आउने आकाशतिर बरोबर डुल्थे। मस्तिष्कमा रिलझैं घुम्दै थिए सम्झनाहरू। भाँडाकुटी खेलेको आँगनी, पछारिँदै उठ्दै दौडिएका गोरेटाहरू।
सेती किनारको स्कुलले उसका भित्तामा चित्र बनाउने, मास्टरका आँखा छल्दै कमेरोका चकले कालोपाटीमा कोर्ने एक चकचके विद्यार्थी भोलिदेखि भेटन्या छैन।
घर अगाडिको दारिमको रूखले फेदमा बसेर बालबोली गुनगुनाउने आवाज सुन्न्या छैन। पिठाराको आरूको बोटले उसलाई सहारा बनाएर पाखामाथि चढ्दा हाँगा भाँचिने समस्या झेल्न्या छैन।
बुढी बजीले नाति भनी डाको लाउँदा 'हउ' भन्न्या 'बौलारी' हुन्या छैन। दिनभरिको थकान मेटिने गरी ठूला बालाई घुगुती खेलाई माग्न्या 'माधन्न्या' लाटो हुन्या छैन। लाटी पुइजुले खिपले हाडे ओखरको गुदी निकालेर खान बोलाउँदा दौडी आउन्या भदु भेटिन्या छैन।
सिल्क्या डाँडाको दोकानले पैसा पाउनासाथ बत्तिँदै मिस्री किन्न आउन्या बाल ग्राहक घटेको महसुस गर्न्या छ। बाउत खेल्न गाड जान्या साथीसंगीको एक साथी हराउन्या छ।
न दोपहरमा टाउको ठडाएर ढुंगामाथि रङ बदल्दै बस्ने छेपारालाई ढुंगाकै निशाना बनाउन फुच्चे केटो आउन्या छ। न जाड्य कुकुरले जति खोज्या पनि भेटन्या छ- खाना दिन्या र बेलाबेला अँगालिँदै लुटपुटिन्या 'मालिक' लाई।
अनवरत हिँडाइसँगै अनवरत विचारको आवागमन चल्दै गयो। पानी नाउलो, पलान्टुडा, खातिवाडा, खोचा, भीडमुनि, पानकोट, चैनपुर, सिमखेत कट्दै गए। अनि दृश्यमा आयो ग्याविन जालीले घेरेको देवलको एयरपोर्ट। बाहिर आउनेलाई स्वागत गर्न र जानेलाई मन्याठोको सप्को हल्लाएर बिदाई गर्न बसेको एक डल्लो भीड। भीडमा चीलगाडी हेर्न आयाका केही मुल्यामुली। पऽऽऽर चैनपुरसम्म सामान ओसार्ने अवसर पर्खिएका केही भरिया।
पहिलो पटक नजिकबाट देख्दै र चढ्दै थिएँ जहाज। उन्मादसाथ गेटतिर लम्कियौं। सुरक्षा जाँच, काउन्टरमा टिकट जाँच हुँदै तौल नापजाँच हुने नै भयो। केही थान कपडा, आमाले हालेका थोरै सिरौला, केही दाना ओखर र केही गोटा मिस्री त हो झोलामा। जहाज चढ्नुअघिको प्रक्रिया सकियो, केवल प्रतीक्षा रह्यो।
केहीबेरमा दुई धर्के पुछारवाल आकाश भैरव अंकित जहाज डाँडाकाँडा थर्काउँदै आयो। आकाशमा एक फन्को लायो। एयरपोर्टको दक्षिण कुनाबाट गुड्दै हाम्रै अगाडि अडियो। दुवै पखेटा रोकिए। ढोका खुल्यो। साँघुरो जहाजबाट एकएक यात्रु निहुरिँदै झरेर जहाज खाली भएपछि उक्लिने पालो हाम्रो।
दायाँबायाँ सिटका लहर, बीचमा ग्यालरी। बाले बायाँतिरको कुनै सिटमा राखिदिए। पेटी बाँधिदिए। बा, बा मात्र नभएर परिचारिका समेत बने। अहिले पनि बा सन्तानका लागि हरेक भूमिका निर्वाह गर्छन्। मैले यो कला बासँग सिक्नै सकेको छैन।
सिटहरू भरिए। ढ्याप्प ढोका बन्द भयो। उडान भर्न पखेटा फनफनी घुमाउन थाल्यो जहाज।
बेली रात चोटाको खाँबोमा झुन्डिएको पानासोनिक रेडियोमा शाही नेपाल वायुसेवा निगमको उडानसम्बन्धी सूचनामा 'धनगढी-चैनपुर-धनगढी नौ तीस बजे' भनेको सुन्दा कम्ती आनन्द आएको थिएन। त्योभन्दा आनन्द आयो जहाजमा एक मुठी चकलेट अठ्याउँदा। अरूको देखासिकी गरेर कपास पनि लिएछु। बुझेर लिनेले कानमा राखे, मैले गोजीमा।
जहिल्यै मेरो घर माथिको आकाश नाप्दै उड्ने, मेरा बाजस्ता जागिरेलाई ओसार्ने शानेवानिको ट्विनअटरले यसपालि मलाई पनि ओसार्यो। जहाजले भुइँ छोड्दा, पहाडका बीचैबीच कावा खाँदा, सुन्दर भूगोल देख्दा, फुच्चे जहाज कोल्टिँदा बेजोड आनन्द। उचाइमा स्वाट्ट तल झर्दा मुटुले ठाउँ छोड्दाको रोमाञ्चकता। जहाज चढ्न गज्जबै हुन्या रहेछ।
म बासँगै भावरको गेटा एयरपोर्टमा झरेँ। रिक्सामा सडक दायाँबायाँका फाँट छिचोल्दै धनगढी पुगेँ। धनगढीबाट बसमा उत्तरतर्फ अत्तरिया। अगाडि मात्र बस्न मिल्ने झिलिमिली ट्रकमा डाइभर्सनहरू नाघ्दै अत्तरियाबाट चौमाला।
माटोले अग्ल्याइएको पूर्व-पश्चिम महेन्द्र राजमार्गको निर्माण चल्दै थियो। सडक सबै पक्की थिएन। कति ठाउँमा पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने बाटो। कतै कल्भर्ट थिए, कतै डाइभर्सन। कतै खोलामै गाडी हाल्नुपर्ने। राजमार्गमा छिटफुट गाडी, त्यो पनि बसभन्दा ट्रक धेरै।
अत्तरिया-चौमाला सत्र किलोमिटर सडक। सत्तरी मिनेट लाग्यो होला छिचोल्न। त्यसपछि राजमार्ग दक्षिणको सानो सालघारी कटेपछि देखियो चौमाला बजार। काठेसाँघु तरेर खोलापारि जानुपर्ने। गहिरो टापूजस्तो। अधिकांश काठे घरहरू। मेरो केही समय त्यही सेरोफेरोमा अविस्मरणीय भई बित्यो।
गर्मी नलागोस् भनेर बाले निमपत्ता खानैपर्ने नियम लाइदिए। हरबिहान पिरो लाल दन्त मन्जन हत्केलामा खन्यायो। चोरऔंलाले टिपेर दाँत माझ्नासाथ तितेपाती भन्दा तितो निमपत्ता चपायो। पहाडमा त्यति तितो केही खानु नपरे पनि बानी पर्न समय लागेन।
नुहाउन डिटोल साबुन र घमौरा रोक्न नाइसिल बाका ब्रान्ड थिए। अन्डरवेयरमा डोरा, वासिङ पाउडरमा निरमा भएजस्तै। निलो बिर्के लाम्चो बट्टाका स-साना प्वालबाट निस्किने नाइसिल पाउडर काखी, घाँटीमा छर्किएर बाटोमा निस्किँदा लाग्थ्यो, सबसे खुश्बुदार मै छु चौमाला बजारमा।
म स्कुलबाट टिफिन टाइममा बजारको दुईतले पहेँलो पक्की घर पुग्थेँ जहाँ राष्ट्रिय वाणिज्य बैंक थियो। मैले पहिलो बैंक देखेको, बैंकभन्दा पनि सुरक्षागार्डको हातमा दोनाले बन्दुक देखेको त्यही हो। बा बैंकका खजाञ्जी। मलाई खजानासँग सरोकार थिएन। हरदिन टिफिन खर्चबापत बाले मेरो गोजीमा हालिदिने दुई रूपैयाँसँग थियो।
एक त भोक, त्यसमाथि घण्टी बज्नुअघि स्कुल फर्किनुपर्ने। तुफान दौडिँदै पसल पुग्यो। एक गोटा पाउरोटी अनि स्टिल गिलासमा दूध किन्यो। चोपल्दै हत्तपत्त पाउरोटी खायो। चौमाला आसपास भर्खर पाउरोटी भट्टी खुलेकाले यसको 'मार्केट' लोभलाग्दै थियो।
बा भने बैंकको भीडमा प्रायः खाजा खान नपाउने भएकाले बेलैमा कोठा पुगेर खाना बनाउँथे। बाले बनाएको खाना, त्यसमा नवरंग अचारको स्वादले दिउँसो खाएको पाउरोटीको स्वादलाई जित्थ्यो। तर खानापछि बाकै काखमा लुटपुटिँदा आउने आनन्दलाई कहिल्यै केहीले जित्न सकेन।
गोमन, धामन, करेत। तराइमा बिगबिगी फैलाउने विषालु सर्पका प्रजाति। तिनको दंशबाट मृत्यु भएका खबर आइराख्थे। कहिले ती तातो जमिनभित्र बस्न नसकी फुत्तफुत्त निस्किन्थे। कहिले ओत खोज्दै घरभित्रै पुग्थे। जमिनमा तिनको सलल बगाइ। पानीमाथि उस्तै तैर्याइ। फाटेको सलबले जिब्रो। कहिल्यै बन्द नहुने र नझिम्किने आँखा। भयभित बनाउन अरू के चाहियो?
बलिउडमा इच्छाधारी नाग-नागिनवाला फिल्मको समय थियो त्यो। कसैले नाग मारे उसको आँखामा छापिने फोटो हेरेर नागिनले, अनि नागिन मारे नागले बदला लिएरै छोड्छन् अरे भन्थे मान्छेहरू। कहिलेकाहीँ सपेराहरू बिन बजाउँदै सर्पको खोजीमा आउँथे। कहिले सर्प नचाउँदै आउँथे।
डाडाँकाडाँरहित फाँटिलो तराइ देखेको। मान्छेले चलाउने साइकल, गोरूले तान्ने बयलगाडा देखेको। घरघरमा चापाकल देखेर अचम्मित भएको। ॐ नमः शिवाय लेखिएका शिवजीका चमकदार मूर्ति राखिएका टाटा बस चढेको। नरिवलको जटा भरिएका सिट भएको रिक्सामा गुडेको। यस्ता कैयो अनुभव पहिलो पटक भावरले दिँदै थियो।
सालघारीको सेरोफेरो। बलौटे माटोको सुगन्ध। गर्मीमा 'उम्लिरहने' चौमालाको धरातल, हावापानी र खानपानसँग चिनाजानी बढ्दै गयो। पहाड र तराइको मिश्रित संस्कृतिको असर चढ्दै गयो।
पहाडमा छङछङ गर्दै बग्ने, गोलाइ गाडमा उछलकुद गर्दै र सेतीको सुसाइ सुन्दै हुर्केको मलाई कलकलाउनै नजान्ने चौमालाको खोला फिस्टे लाग्थ्यो। तर डाडीमान्या स्कुलको साँघुरो चौरभन्दा कैयौं गुणा विशाल चौर पाएको थिएँ मालिका स्कुल वरिपरि। रमाउने बहाना चौमालामा अनेकन भए पनि पहिलो सास लिएको, पहिलो पाइलो टेकेको गोलाइलाई जितेन।
चौमालाको खसी
ठाउँ बदलियो। भूगोल बदलियो। परिवेश बदलियो। मेरो चकचके स्वभाव बदलिएन।
एक दिन साना पहाडी घोडा जत्रैजत्रै खसी झुल्कियो आँगनैमा। घोडचढीकै रहर पलाउने गरी। नजिकै गएँ। सुम्सुम्याएँ। डोर्याएर अलि वर ल्याएँ। लामा लामा कान समातेर चढेँ उसमाथि। विकासे खसी पनि के कम! चौरमा दुई फन्को घुमाएर दोपहरको धुपमा तारा देख्ने गरी उत्तानो मुद्रामा पछारिदियो।
पछारिएको म उठ्न खोज्दा दाहिने हात गह्रौं लाग्यो। हेर्दाहेर्दै हात सुन्नियो, औंलाहरू चलमलाउन अटेरी गरे। खसी खोजेँ, देखिनँ। खसी त घटनापछि फरार भइसकेछ। म उठ्नै सकिनँ, जमिनमै थचारिइरहेँ।
घटनाको चस्मदिद पुष्प दाजुले जेनतेन पालीमुनि लग्यो। चारपाइमा सुताएर बालाई खबर गर्न तुफान दौडियो। म खसीबाट खसेको खबर पाउनासाथ खुइय्य गर्दै बा आइपुगे। लडेँ म तर घाइतेजस्ता बा देखिए। आमनेसामने हुँदा बाको अनुहारमा चिन्ता र मेरो अनुहारमा पछुतो एकैसाथ दौडिए सायद।
अस्पताल जानुको विकल्प रहेन। जाने पो केमा?
त्यति बेला एम्बुलेन्स पढ्न मात्र पाइन्थ्यो चढ्न पाइँदैन थियो। साइकल चलाउन नजान्ने बाले चौधरी दाइलाई गुहारेर 'साइकल एम्बुलेन्स' मा दबाइ गर्न अस्पताल दौडाए।
साइकल पनि बच्चा बस्ने सिट नभएको। डण्डीमा कपडा बेरेर कमलो बनाइएको। म बायाँ हातले ह्यान्डल समातेर डण्डीमै बसेँ। बा झोला समातेर पछाडि क्यारियरमा बसेपछि गुड्यो साइकल पश्चिम अत्तरियातिर।
निर्माणाधीन राजमार्गमा अलकत्रामाथि छरिएका स-साना सेताकाला गिटी। गिटीमाथि एकनास गुडिरहेको साइकल। पांग्राको घर्षणले बेलाबेला गिटीबाट निस्किने झिल्का। नजर सडकमै गुडेका छन्। हात दुखाइको पीडा सडकका झिल्कासँगै हराइरहेछ।
उपचारका लागि दिल्ली गइरहेको कुरा बाटोमा बाले आफन्तलाई भनेको सुनेँ।
'ओहो! दिल्ली घुम्न पाइने रहेछ। त्यो खसी मलाई घाइते बनाउन पहिल्यै मेरो जीवनमा किन नआएको?' प्रश्न उब्जिएसँगै चौमालाको लामकाने खसीलाई मनमनै धन्यवाद दिएँ।
साइकल यात्रा अत्तरियामा सकियो। भोलिपल्ट बसमा सरर महेन्द्रनगर। त्यहाँबाट टाँगामा गड्डाचौकी हुँदै वनबासा। वनबासाबाट उत्तर प्रदेश परिवहनको बसमा बरेली। बरेलीबाट रेलमा मुरादाबाद हुँदै नयाँ दिल्ली। यातायातका साधन जम्मै चढियो सायद।
दिल्लीमा एक्सरेले घाँटी र कुमबीचको हड्डी भाँचिएको देखायो। डाक्टरले दुखाइ कम गर्न र हड्डी चाँडो जोड्न खाने औषधि लेखिदिए।
पल्लो कोठाका स्वास्थ्यकर्मीले हड्डी तलमाथि गरेर मिलाए। सुरूमा कुनै लेप लगाए। ब्यान्डेजले पूरै हात बाँधेझैं गरे। त्यसमाथि कटन बेरे। हात प्लास्टर भइसकेछ। पैंतालीस दिनपछि प्लास्टर काट्नू भनेर पठाइदिए। अस्पतालको चरण पनि पूरा भयो।
केटौले बुद्धिलाई उपचारको चासोभन्दा नयाँ दिल्ली घुम्ने चाहना बढी हुने नै भयो। त्यसमाथि देखेको पहिलो राजधानी सहर। घरैघरको लहर, गाडी नै गाडीको लश्कर। गगनचुम्बी महलहरू। बडेबडे पसलहरू। जेब्रा-क्रसिङबाट हिँड्नुपर्ने सडकहरू।
चिडियाखाना घुम्न, दुईतले बस र मिटरवाला अटो चढ्न, खेलौना गाडी किन्न पाउँदाको बेग्लै आनन्द। दिल्लीको एक हप्ते बसाइ सकिएको पत्तै भएन।
दिल्लीबाट फर्किने बाटो उही, यात्रा उस्तै। फरक थियो त केबल दिल्ली घुमेर आएको उमंगित मन।
चौमाला फर्किएपछि कैयौं दिनसम्म आँखामा दिल्लीका दृश्यहरू नाचिरहे।
म मलाई नयाँ दिल्ली पुर्याउने खसी भेट्न चौरतिर, चरनतिर नाचिरहे।
ऊ कतै देखिएन।
देखियोस् पनि कसरी! जीवनभरको सम्झना दिने चौमालाको लामकाने खसी बिक्री भएर धेरै टाढा पुगिसकेछ।
(उपाध्याय पिएलजिएसपी कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)