'चाउरिएका हातले तरकारी केलाउँदै गर्दा अझै मेरै चिन्ता गरी 'भोक लाग्यो होला, पख्नुस् है' भन्दै हतार हतार हात चलाउँदै फटाफट पकाएर दिने अरू कोही नभएर मेरी बुढेसकालकी लाठी, मेरी सहारा, मेरी साथी, मेरी आड, मेरी भरोसा, अनि मेरी सबै थोक अर्थात् मेरी अर्धाङ्गिनी। हो, मेरा लागि मेरी श्रीमती सबै हो किनकि उनी छिन् र त अनि म छु। सायद म भएर पनि कहीँ कतै पक्कै उनी छिन्। तर बढीमा म भएर उनीभन्दा उनी भएर म बाँचिरहेछु।'
बिहान उठ्यो, सबै घर धन्दा गर्यो, खाना बनायो, जुठा-भाँडा सफा गर्यो, भैँसी-बाख्रालाई स्याहार्यो, खाजा बनाएर खायो। फेरि सबै घर-गोठका काम सक्यो अनि आगो फुक्दै एउटा हातमा ढुङ्ग्रो र अर्को हातमा चुरोट सल्कायो। सायद दिनभरिको थकान पछिको मिठो गफमा साथ दिने साथी बूढाबूढीका लागि उहीँ चुरोटको खिल्ली नै थियो। १४ वर्षमा बिहे भएर १८ वर्षबाट लगातार छोरा र छोरी गर्दै ७ वटा बच्चा जन्माएर हुर्काउनुको पीडा उहीँ पीडा सहने आमाका शरीरका कोण-कोणलाई नै थाहा होलान्।
समय जति सहज र सजिलो अहिले देखिन्छ सायद त्यो बेला सरल भने पक्कै थिएन। साँझपख अगेनामा आगोको रापसँगै बुढा बा-आमाका तिता-मिठा यथार्थहरूसँग भुलिन पाउनु पनि सौभाग्य नै हो किनकि जुन हामीलाई आजका दिनमा सुन्दा एकादेशका कथा जस्ता लाग्छन्, कुनै बेला ती बा-आमाका लागि वास्तविकता थिए।
क बाट कलम अनि ख खरायो भनेर चर्को-चर्कोसँग उच्चारण गरेका ध्वनिहरू आमाका कानमा नगुन्जिएका हैनन्। ती ध्वनिहरूले आमालाई आफूतिर नतानेका पनि हैनन्। तर घरको तालमेलले आँखा अघिका भैँसी र बाख्रातिर डोर्याउँदै थिए। रहरले आमा ती ध्वनिहरूलाई पछ्याउँदै बाहिर झ्यालनिर बसेर ती पढाइका दृश्यहरू ननियालेकी पनि हैनन्। तर विद्यालयमा बसेर पढ्न पहिला भर्ना हुनु पर्छ, ड्रेस लगाउनु पर्छ। त्यसै यसरी सुन्न पाइँदैन भनेपछि आमाका रहरहरू त्यही ओइलाएर गए।
आमालाई त्यसअघि लाग्थ्यो, पढ्न पाए मैले पनि अरू जस्तै लेख्न जान्थेँ, घरमा आएका चिठी पढ्दियो भन्दै अरूका दैलोमा जान पर्दैनथ्यो तर आमाका कुरा कसले बुझिदिने? त्यो बेला आमाको पढाइभन्दा घरकै काम प्यारो थियो सबैलाई।
आफ्ना रहरहरूलाई दबाएर घरकै काम नै ठुलो मानी आमा पनि त्यही बाटोमा मोडिनु भयो जुन बाटोले आज आमालाई अशिक्षितको उपनाम दियो। भनिन्छ नि, कि त पढेर जानिन्छ कि परेर जानिन्छ। हो, आमा मात्रै नभएर यहाँ आमा जस्तै कयौँ आमाहरू पढेर भन्दा पनि परेर अझै अब्बल नै हुनुहुन्छ झैँ लाग्छ र लाग्नु स्वाभाविक हो। हामीले कापीका पानामा लेखेर जान्ने कुरा आमाले भोगेर नै बुझ्नु भयो।
बा भन्नु हुन्थ्यो, जीवन जिउन त्यति सजिलो पनि छैन र उति सारो गाह्रो पनि छैन जति सोचिन्छ। बेला-बेला बा टुक्काहरू भन्नु हुन्थ्यो जसभित्र गहिरा भाव लुकेका हुन्थे। अनि त्यही अनौठा टुक्का र गहिरा भावलाई लिएर म केही समय आफैसँग हराउँथेँ र झल्याँस्स भएपछि तिनका पछाडिका अर्थहरू बालाई सोध्थेँ। बा कुनै टुक्का त्यो भनेको त्यही नै हो भन्नु हुन्थ्यो भने कुनैलाई मज्जाले गाउँलेकै उदाहरण दिएर बुझाउनु हुन्थ्यो।
बा पनि त पढेरभन्दा परेर जान्नेमै पर्नु भयो। बा-आमा बिचको त्यो मेलमिलाप, हाँसो-मजाक, माया, एकअर्कालाई बुझ्न सक्ने क्षमता र सबैभन्दा प्यारो त बा-आमाका आडमा बसेर उहाँहरूकै सङ्घर्षका वास्तविकता सुन्न पाउनुमा निकै खुसी लाग्थ्यो किनकि त्यसबाट एक किसिमको छुट्टै प्रेरणा मिल्थ्यो।
बा चुरोटको अर्को खिल्ली सल्काउँदै अलि भावुक हुँदै भन्नु हुन्थ्यो, 'पहिला भकारीमा धान कम भएर खान धौ धौ हुन्थ्यो, ढिँडो रोटी खाइन्थ्यो। अहिले भकारीमा धान टन्नै छ तर खाने उहीँ हामी बुढाबुढी मात्रै छौँ। कहिलेकाहीँ उहीँ तिमीहरू अनि बेला मौकामा छोरा-बुहारी आउँछन् तर एक दिन आएर बसेर कति नै खाएर जान्छन् र! त्यही नि बजारमा बसेर लामा लामा धानका चामलको भात खाइरहेका यहाँको चामल नै कस्तो अर्कै भन्दै त्यही नि इति पनि खान्नन्, यस्तै रहेछ संसार अब कति नै पो बाँचिन्छ र!'
बा फेरि गफको तालमा अर्को चुरोट सल्काउन के लाग्नु भएको थियो मैले उहाँको हातबाट चुरोटको बट्टा नै खोसेर 'यसरी धेरै चुरोट खानु हुँदैन के बा, चुरोट नखानु न अनि अझै कयौँ वर्ष बाँचिहाल्नु हुन्छ नि। अरू के नै रोग छ र?' भन्दै बालाई अझै पहिलेका बारेमा म अनेक प्रश्न गर्दै थिएँ।
त्यत्तिकैमा आमाले उताबाट 'हैन गफ सकिएन नातिनी र हजुरबाको? अझै कति बस्नी हो बिहान छिट्टै उठ्न पर्छ' भन्नै गुन्द्री उठाउन लाग्नु भयो।
आमा के-के बरबराइरहनु भएको थियो, त्यही बेला बाले 'तिमी छ्यौ किन पिर लिनु, भाले बास्नु अघि सधैँ उठाइहाल्छौ' भन्दै हाँस्दै ओछ्यानतिर जानु भयो। म पनि आफ्नो बिस्तरातिर लागेँ।
मलाई त्यस रात अबेरसम्म निद्रा परेन। मेरा मस्तिष्कमा उहीँ बा-आमाका कुराहरू अनि आखिर बुढेसकालमा एक्लै बसेका बा-आमातिर गयो। हुन नि फेरि जसरी सहरमा बसेर गाउँ जाँदा त्यहाँको भात मिठो लागेन भनेर नाति-नातिनीले भनेझैँ बा-आमालाई पनि सहरको प्याकेटको दूध खल्लो लाग्थ्यो। आफ्नै हातले भैँसी दुहेर कराइभरि दूध बनाएर आगोमा उमालेर पिएको जस्तो स्वाद कहाँ हुनु! सायद यस्तै कुराहरूले गर्दा पनि बा-आमालाई एक्लै भए पनि गाउँमै बस्छौँ भन्ने लागेर होला।
त्यस रात कयौँ कोल्टे फेरेँ, उठेँ, पानी पिएँ तर अहँ! निन्द्रा नै परेन। तर बिहानीपख भने निदाएछु। पछि बाको बोली सुनेर उठेँ। चिया बनाएर बा-आमालाई दिएँ र दुई दिनको बसाइँपछि म पनि फर्कनु नै थियो आफ्नै कर्मथलो राजधानीमा। आमाले भात र तरकारी बनाइहाल्नु भयो र म पनि बा-आमालाई छिट्टै आउँछु भन्दै अघि लागेँ।
यात्राभरि बा-आमालाई नै सम्झिँदै आएँ। मैले पनि मेरो बुढेसकाल कल्पिएँ र जवानीमै बुढेसकाल लागेजस्तै म मेराअघि बा-आमा निकै निरोगी र निडर अनि सक्षम पाएँ।