आमा ८६ वर्षको हुनुभयो। बुबाले छोडेको १० वर्ष बित्यो। बुबा हामीबीचमा नरहेपछि बुबा र आमा दुवैको कर्तव्य आमाले नै निभाउँदै आउनु भएको छ।
हामी तीन सन्तान, दिदीको विवाह भएको ५० वर्ष भैसक्यो। दिदीका पनाति भैसके। पूर्वीय परम्परा र नेपाली समाजको संस्कारअनुसार हामी दाजुभाइ सल्लाह गरेर नै छुट्टाछुट्टै बस्न थालेको पनि करिब १६ वर्ष भैसक्यो। साँच्चै भन्दा हामी दाजुभाइ भिन्दा भएका होइनौँ र आज पर्यन्त छैनौँ पनि।
म १६ वर्ष अगाडिको त्यो दिन सम्झन्छु जुन दिन साँझ भाइ र म करिव दुई घण्टा सँगै बसेर छलफल गर्यौँ र छुट्टिएर बस्ने निर्णयमा पुग्यौँ। हामीले सम्पत्ति अति सजिलोसँग बाड्यौँ। आज कतिपय दाजुभाइको पैतृक सम्पत्तिमा झगडा भएर बोलचाल नै बन्द भएका घटना थाहा पाउँदा लाग्छ हामीले बडो सहजताका साथ निर्णय लियौँ।
पुरानो घरमा म बस्ने र भर्खर किनेको घरमा भाइ बस्ने। अरु सामान आवश्यकताअनुसार भाइले लैजाने। यो वा त्यो भनेर गिन्ती गरेर केही बाँडेनौँ हामीले। बुबाआमाको लागि जिउनी उहाँहरूसँगै सल्लाह गरेर राख्ने निर्णय थियो हाम्रो।
त्यही दिन हाम्रो निर्णय बुबा-आमालाई सुनायौँ। केही क्षण त दुवैजना केही बोल्नु भएन। एकछिनको सन्नाटापछि के गर्यौ त, कसरी बस्ने भयौ भनेर सोध्नुभयो बुबाले। मैले सबै कुरा बताएँ। तिमीहरू खुसी र सन्तुष्ट छौ भने मैले भन्नु के छ र भन्नुभयो बुबाले। आमा केही बोल्नु भएन, मात्र आँखाबाट बरर आँसु झार्नुभयो। मैले जिउनीको बारेमा कुरा राखेँ।
बुबाले प्रस्ट भाषामा भन्नुभयो कि ‘हाम्रो जिउनी या भनौँ सम्पत्ति तिमीहरू हौ। छोरा, बुहारी, नाति, नातिनी सबै-सबै हाम्रा जिउनी हुन्, किन चाहियो हामीलाई छुट्टै सम्पत्ति?’
आमा केही बोल्नु भएन। बुबाले यसो भनिरहँदा भाइ र म साँच्चै अवाक भयौँ। लाग्यो हाम्रा बुबाआमा साँच्चै इश्वर रहेछन्।
म आफूलाई भाइभन्दा केही भाग्यमानी ठान्छु यस कारण कि म आमासँग बस्न पाएको छु।
कतिपयले भनेको सुन्छु कि मैले आमाबुबा पालेको छु। बुबाआमाले परिश्रम, मेहनत र आफ्नो सम्पूर्ण जीवन खर्चेर सन्तान हुर्काउने, पढाउने, बलवान बनाउने, आयआर्जन गर्न सक्ने बनाउने अनि उमेर ढल्केका बुबाआमासँग बस्ने छोरा बुहारीले चाहिँ भन्ने कि मैले बुबाआमा पालेको छु।
यो कसरी हुनसक्छ? बुबाआमाले कमाएको भौतिक, सामाजिक र बौद्धिक सम्पत्तिको विरासतमा रजगज गर्ने अनि गफ दिने कि मैले बुबाआमा पालेको छु वा बुबाआमा मसँग बसेका छन् भनेर।
म त किमार्थ भन्न सक्दिनँ मैले आमा पालेको छु वा मसँग आमा बस्नु भएको छ भनेर। आमा बुबाले आर्जेको भौतिक, सामाजिक र धार्मिक जगमा मेरो यात्रा सुरु भएको र म यहाँसम्म आइपुगेको हुँ। त्यसैले गौरवका साथ भन्छु म आमासँग बसेको छु र आज पर्यन्त आमाले मलाई पाल्नु भएको छ।
यो सौभाग्य मेरो भाइले पाएको छैन। त्यसैले म भाइप्रति क्षमाप्रार्थी छु।
तर आमाको माया भने चाहे विवाह भएर भिनाजुको घर गएकी दिदी र उनका सन्तान हुन्, चाहे छुट्टै घरमा बस्ने भाइ, बुहारी र नातिनातिना हुन्, चाहे दिनरात सधैं सँगै रहने म, देवकी र मेरा सन्तान, सबैमा समान छ र उत्तिकै प्रगाढ पनि।
आमालाई मुटुको रोग छ, बाथको रोगले नियमित सताइरहन्छ, ग्यास्टिक त नेपालीको खान्दानी रोग नै भैहाल्यो, आमालाई नहुने कुरै भएन। ८६ वर्षको हुनुभयो, कमजोर शरीर, सधैंजसो टाउको दुख्ने, खोकी लाग्ने, रुघाले सताउने आदि त भैरहन्छ आमालाई।
औषधि त एक झोला छन् आमाका। दशौँ थरी औषधि खानुपर्छ। कहिलेकाहीँ त औषधि खान दिक्क पनि मान्नुहुन्छ तर पनि चिकित्सक र हामीले भनेअनुसार अत्यन्तै अनुशासित तवरले औषधिको प्रयोग गर्नुहुन्छ।
मलाई त लाग्छ आमा पूर्ण रुपले स्वस्थ कहिल्यै हुनुहुन्न तर पनि बिहान सधैं ५ बजे उठ्नुहुन्छ, बाथरुम जानुहुन्छ, सधैंजसो नुहाउनुहुन्छ, बिहान-बेलुका नै धूपबत्ती नियमित गर्नुहुन्छ।
आमालाई आफू कमजोर भएको, अस्वस्थ भएको वा बिरामी भएको भन्दा बढी चिन्ता हामीलाई केही होला कि भन्ने छ। कहिलेकाहीँ म बिहान अबेरसम्म सुतेँ भने आमा आएर निधारमा छाम्नु हुन्छ र ज्वरो आयो कि के हो बाबु भनेर सोध्नु हुन्छ।
भाइ प्रत्येक शनिबार आमालाइ भेट्न आउँछन्। बुहारी र भतिजी प्रत्येक दिन जसो फोन गर्छन्। एउटा शनिबार भाइ आएन भने किन होला? केही भयो कि फोन गर त बाबु भन्नुहुन्छ। बुहारी र भतिजीको फोन ढिला भयो भने छटपटिनु हुन्छ किन गरेनन् भनेर।
मेरो छोरी प्रत्येक दिन अफिसबाट आउँदा माइत नपसी घर जाँदिनन्। सधैं आउने बेलामा छोरी आइपुगिनन् भने फोन गर त शशीले किन ढिला गरी भनेर भन्नुहुन्छ। छोरी पनि हजुआमालाई नबोलाई कहिल्यै घर जान्नन्।
प्रत्येक दिन बिहान दिदीसँग कुरा गर्नैपर्छ। दिदीसँगको कुरामा सधैं दिदीको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गर्नुहुन्छ। दिदीको फोन आएन भने आफैं गर्नुहुन्छ। फोन लागेन भने दिनभरि चिन्तित।
अच्चम लाग्छ मलाई, अहिलेसम्म पनि आमालाई छोरा, छोरी, बुहारी, नाति, नातिनीको कति चिन्ता लाग्छ। त्यसैले भनेको होला आमा शब्दै काफी। व्याख्या, विश्लेषण गर्नै पर्दैन।
यो वर्ष आमा अलि बढी नै बिरामी हुनुभयो। करिब एक महिना जति त थलिनु नै भयो। आमा बिरामी भएको थाहा पाएर दिदी भेट्न आउनु भएको थियो। आमा र दिदी भलाकुसारी गर्दागर्दै आमा नमिठोसँग रुनु भयो, सँगै दिदी पनि रुन थाल्नुभयो। म पल्लो कोठाबाट सबै कुराकानी प्रत्यक्ष सुनिरहेको थिएँ।
आमा दिदीलाई भन्दै हुनुहुन्थ्यो- छोरी, यो पटक चाहिँ म बाच्दिनँ कि भन्ने लागेको थियो। न भात खान मन लाग्ने, न कुनै फलफूल वा बिस्कुट, न चिया पिउन मन लाग्ने, न दूध केही पनि मुखमा हाल्न मन लागेन। दिनानुदिन गल्दै गएको थिएँ। तर छोरी मलाई देवकीले बचाई। यो मेरो बुहारी मात्र होइन, तिमी जत्तिकै माया गर्छे यसले। आफू अगाडि बसेर जबरजस्ती खुवाउँछे। कहिले हर्लिक्स, कहिले दूध, कहिले मकैको खोले, कहिले ज्वानाको रस, कहिले दाल, घण्टा घण्टामा पियाइरही मलाई। मेरो शरीरलाई कमजोर हुन दिइन।’
‘कहिले भात ल्याउँछे, कहिले जाउलो, कहिले मकैको ढिडो ल्याउँछे, कहिले गहुँको रोटी। ल्याएपछि अलिकति त खानै पर्यो। त्यसैले बचायो छोरी मलाई। यो कालबाट बाँचें म’ अब भनेर आमाले आँसु पुछ्नु भयो।
यी सबै वार्तालाप सुनिरहेको म, मेरा पनि कुनबेला आँखा रसाएछन् थाहा नै भएन। मैले आफूलाई गौरव पनि ठानें कि श्रीमतीले आमालाई यसरी हेरविचार, स्याहार, सुसार र माया गरेकोमा।
भाइबुहारी पनि प्रत्येक शनिबार आउँछिन्, आमालाई चिल्लो लगाइदिने, जीउ माडिदिने, कपाल कोरिदिने गर्छिन्। आमा मख्ख पर्नुहुन्छ। अनि भन्नुहुन्छ- म कति भाग्यमानी! देवी जस्ता बुहारी पाएँ। अहिलेसम्म तिमीहरूको मायाले बाँचेको छु। अनि थप्नुहुन्छ कि मेरा दुवै बुहारी छोरी सरह छन्।
तर पनि आमा हाम्रो चिन्ता गर्न भने छोड्नुहुन्न। यो चिन्ता भन्ने कुरा पनि कस्तो रहेछ। आमाले हामीलाई जन्माउनु भयो। हामीलाई बढाउने, हुर्काउने, पढाउने, जागिरे बनाउने, विवाह गर्ने आदि बारे बुबाआमाले चिन्ता गर्नुभयो र आफ्नो कर्तव्य निर्वाह गर्नुभयो।
हाम्रो विवाह भयो, नातिनातिनी जन्मिए। आमालाई उनीहरूको पढाइ, विवाह, घरजम आदिको चिन्ता। अहिले पनातिनी छिन् उनको स्वास्थ्य, पढाइ आदिको चिन्ता छ आमालाई।
कहिलेकाहीँ आमालाई ‘कति चिन्ता लिनुहुन्छ आमा तपाईं, अब आनन्दसँग बस्नुहोस्। कसैको चिन्ता लिन पर्दैन’ भन्दा पटक्कै लाग्दैन आमालाई।
‘बाबु आफ्नो सन्तानको उन्नति, प्रगति र समृद्धिको बारेमा नसोच्ने कुन अभिभावक होला र? म त झन् आमा। तिमीहरूलाई मैले ९ महिना गर्भमा राखेँ, जन्माएँ, दशधारा दूध पिलाएँ। तिमीहरूलाई ढाडमा, काँधमा, पिठ्युँमा, काखमा बोकेर घाँस, दाउरा, मेलापात, पानी, पँधेरो, गाईगोठ, भान्छा, गाउँघर गरेँ र यत्रा बनाएँ। हाम्रा सन्तान असल, नैतिकवान र परिश्रमी नागरिक बनून् भनेर सधैं भगवानसँग प्रार्थना गरिरहेँ। अनि मलाई चिन्ता नभए कस्लाई हुन्छ?’ भनेर उल्टै प्रश्न गर्नुहुन्छ आमा।
आमाको कुराले म भावुक हुँदै केही बोल्न नसकेर आफ्नो कोठातिर लाग्छु।
केही वर्षदेखि आमाले ख्वाक्क गर्नुभयो भने पनि मलाई डर लाग्छ। आमा पूर्ण स्वस्थ भएको बेलामा त म ढुक्कले सुत्छु। सामान्य बिसञ्चो भएको बेलामा समेत रातको २/३ पटक उठेर आमाको कोठामा चियाउने गर्छु। श्वास प्रश्वासको चाल सुन्छु। आमाको र मेरो कोठा आम्ने साम्ने छ। त्यसैले आमा बिरामी भएको बेला दुवै कोठाका ढोका खुल्लै राखेर सुत्छु म।
७ वर्ष अगाडि आमालाई हृदयघात भयो। करिब एक हप्ताको गंगालाल अस्पताल बसाइपछि पूर्ण निको हुनुभयो। तर अब कुनै पनि बेला सामान्य हृदयघात हुनसक्छ, यो औषधि खुवाउनुहोला भनेर डाक्टर रबि मल्लले सल्लाह दिनुभएको छ।
साँच्चै त्यसपछि आमालाई दर्जनौँ पटक त्यस्तो सामान्य हृदयघात भैसक्यो। त्यसको संकेत पाउनासाथ त्यो सानो चक्की औषधि जिब्रोमुनि राखिदिन्छौं। देवकीले आमाको हात-खुट्टा, शरीर मालिस गरिदिन्छिन्। अनि विस्तारै आमालाई ठिक हुन्छ। त्यसैले त्यसबेलादेखि नै हामीले आमालाई एक्लै घरमा छोड्ने गरेका छैनौं, कि देवकी कि म सधैं आमासँगै रहन्छौँ।
हाम्रो भाग्य, ८६ वर्षमा पनि आमा भजन गाउनु हुन्छ, मन्दिरमा आरती उठाउनु हुन्छ, छोरी गीत गाउँछिन्, आमा नाच्नु हुन्छ। बिहान-बेलुका धूपबत्ती गर्नुहुन्छ। दिनको दुई पटक यसो वरपर घुम्नुहुन्छ र साथीसँगी भेट्नुहुन्छ। औँसी, पूर्णिमा, संक्रान्ति, जन्मदिन, चाडबाड आदिमा बिहानै हामीलाई टीका लगाइदिनुहुन्छ। अनि साँच्चै हामी मख्ख पछौँ कि जीवित देवीको आर्शीवाद पाएर।
दिदीभिनाजु लगायत उहाँहरूका सन्तान, हामी छोरा बुहारी, ज्वाइँ, नातिनातिनी सबै गरेर आमाका वरिपरि बस्ने हामी ३२ जना छौँ अहिले। यी सबैको संरक्षण गर्न पाउनु, नीति निर्देशन दिन पाउनु, सबैको सुख, समृद्धि र आरोग्यताको लागि आर्शीवाद दिन पाउनु पनि त आमाको भाग्य नै हो नि। हाम्रो भाग्यको त सीमा नै रहेन।
आजसम्म बुबा हामीबीच रहनुभएको भए यो घर झन् कति उज्यालो हुँदो हो। तर पनि आमाको दरिलो साथ, न्यानो काख अनि इश्वरीय आशीर्वादले हामीलाई शक्ति प्रदान गरिरहेको छ।
भिनाजुका बुबाआमा बितिसक्नुभयो। मेरी श्रीमतीका बुबाआमा र भाइ बुहारीका बुबाआमा पनि यो संसारमा हुनुहुन्न। हामीलाई पनि बुबाले चाँडै छोडेर जानुभयो। अहिले त दिदीभिनाजु, हामी दुई भाइ, दुई बुहारीका आमा मात्र होइन बुबा पनि तपाईं नै हो आमा हजुर।