(यदि तपाईं कुनै प्राइभेट संस्थामा काम गर्न जाँदै हुनुहुन्छ भने एक लाख पटक सोच्नुहोस्। त्यहाँ तपाईं कुनै पनि हालतमा सुरक्षित हुनुहुन्न। तपाईंलाई कामबाट हटाउन कुनै कन्ट्याक्ट् साइनले रोक्दैन। त्यहाँ दशौं वर्ष काम गरेका तपाईंको अनुभव झूटा सावित हुन्छन्। तपाईंलाई केही नजान्ने अयोग्य ठहर्याइन्छ। तपाईंको कुनै गल्ती पनि हुनु पर्दैन। अहिले राम्रोसँग कुरा गरेर घर पुगेर ढुक्क नहुनुहोस्। भरे तपाईंलाई निष्कासन गरिएको खबर आउन सक्छ। यहाँ नातावाद र कृपावादभन्दा ठूलो कामको अनुभव छैन। तपाईंको जागिर त्यस बेलासम्म सुरक्षित हुन्छ जुन बेलासम्म प्रबन्ध निर्देशकले योग्य आफन्त भेट्दैन।)
करिब डेढ दशक अगाडिदेखि म प्राइभेट जागिर गर्दै आएकी छु।
प्राइभेट जागिर खाने क्रममा धेरै तीता र मीठा अनुभव संगाल्ने अवसर जुर्यो। मेरो पहिलो जागिरको सुरूआत काठमाडौंको बबरमहलमा रहेको सञ्जिवनी सञ्चार केन्द्रबाट भएको थियो। जुन मेरो दिदीको स्वामित्वमा रहेको थियो। त्यहाँबाट धेरै कुराहरू सिक्ने अवसर मिल्यो।
प्रोडक्सन हाउस भएकाले रेडियोमा चाहिने विज्ञापन उत्पादन गर्ने तथा विभिन्न सङ्घ संस्थाहरूका रेडियो कार्यक्रमहरू उत्पादन हुन्थे। ठूला ठूला नाम चलेका संस्थाहरूको कमिसनको खेल राम्रैसँग देख्न पाइन्थ्यो। हामी जस्ता साना प्रोडक्सन हाउसलाई थोरै रकम दिएर धेरैको बिल बनाउन लगाइन्थ्यो।
उनीहरूकै कर्मचारीबीच कसले कति खाने भन्ने विषयमा भागबण्डा नमिल्दा कतिपटक तयारी भएका कार्यक्रम रोक्नुपर्ने हुन्थ्यो। जसले भेट्छ त्यसले खाने लुछाचुडी चल्थ्यो। कसरी गुणस्तरीय कार्यक्रम तयार गर्न सकिन्छ भन्दा पनि कसरी सस्तोमा कार्यक्रम तयार हुन्छ भन्ने योजना बुनिन्थ्यो।
अफिसमा भएका सम्पूर्ण कर्मचारीलाई रेडियोमा बोल्ने अवसर मिल्थ्यो। रेडियोमा आवाज आउने भएकाले सबै मख्ख। कसैलाई पैसा दिनु नपर्ने। म प्राविधिक भए पनि आवाज दिने मान्छेको अभाव भएमा मेरो आवाजले पनि मौका पाइहाल्थ्यो।
पहिलो पटक रेडियोमा पठाएको आवाज मलाई अहिले पनि याद छ।
एउटा कार्यक्रमको अन्तिमको नारा थियो ‘पक्कै कुनै जादू हुँदै छ यहाँ परिवर्तन र विकासको जादू’ मेरो यो आवाज देशभरका धेरै रेडियोबाट बजेको थियो। त्यतिबेला म मख्ख परेकी थिएँ।
सञ्जिवनी सञ्चार केन्द्रबाट म बढुवा भएर धरानको नाम चलेको एफ. एम. मा रेडियो प्राविधिकको रूपमा भर्ना भएँ। त्यहाँ काम गर्ने कर्मचारीहरूको बाहिरी क्रेज र भित्री व्यथा बराबर थिए।
वर्षौंदेखि बिना पारिश्रमिक काम गर्नु पर्दाका व्यथा। हँसिलो अनुहार लगाएर आफ्ना श्रोताका सामु बोली सकेर कन्ट्रोल रूममा आएर धुरूधुरू रुन्थे साथीहरू। कसैको ग्यास भर्ने पैसा छैन, कसैको सब्जी किन्ने पैसा छैन, कसैको खाजा खाने पैसा छैन, कसैको आमालाई उपचार गर्ने पैसा छैन।
अफिसमा मागे हरपटक त्यही उत्तर दोहोरिन्छ।
‘आज छैन मार्केटबाट पैसा उठेकै छैन। तपाईंहरू नै एक्टिभ हुनुहुन्न उठाउनु न पैसा। मेरो पनि त्यही हाल छ गोजीमा एक रूपैयाँ पैसा छैन। आज गाडीमा तेल त बूढीसँग ५०० रुपैयाँ मागेर हालेको।’
दोष त्यही कर्मचारीले पाउँथ्यो तलब पाउनु त कहाँ हो कहाँ ।
रेडियो रेडियो मात्र थिएन त्यहाँ हर प्रकारका मानिस आउँथे। हरेक धन्दा चल्थे। हामी मौन हुन्थ्यौं आफ्नो जागिर बचाउन। जो बोल्न खोज्छ उसको जागिर जाने पक्का छ। वर्षौंको तलब माया मार्नु पर्छ। अर्को अनौठो अनुभव छ मेरो उही समस्या उही व्यथाबाट गुज्रिएको हामी कर्मचारी कसैले कसैको पीडामा साथ दिएनौं। उसको पक्षमा बोल्दा आफ्नै जागिर जाने डर थियो हामीमा हामी मार्केटको आफ्नो क्रेजलाई जोगाउन जस्तोसुकै समस्या झेल्न तयार थियौं। धरानमा महिला प्राविधिक भनेर मेरो साह्रै सम्मान हुन्थ्यो। बजारतिर निस्कँदा सबैले हाईहाई गर्थे। जागिर नछाड्न सल्लाह दिन्थे।
एक्लै डेरा बस्न र कहिलेकाहीँ आउने तलबले नधान्ने भएपछि म काठमाडौं फर्कें। त्यहाँ पनि कलेज पढ्दै एउटा एफ. एम. मा काम गर्न थालेँ। काठमाडौंका एफ.एम. का व्यथा धरानका भन्दा कम थिएनन्। एफएमले दिने तलबले बस भाडा, खाजा खर्च, पुर्याउन गार्हो हुन्थ्यो। आकलझुक्कल तलब पाइन्थ्यो। तलब माग्न भिख मागे झैं गर्नु पर्थ्यो। निन्याउरो मुख लगाएर खान नपाए झैं। हजुर! हजुर! धेरै दिन गर्यो भने दुई चार हजार पाइन्थ्यो। महिना मर्दा पाउने तलब कहिल्यै पाइएन।
रेडियोले हामी बाहिरबाट गएकालाई अलिक प्राथमिकता दिएको थियो। भाडा तिर्ने पैसा भएन भन्यो भने कहिलेकाहीँ दुई चार हजार पाइहालिन्थ्यो। काठमाडौंमा घर हुने साथीहरू हामीले पैसा पाएको देखेर डाहा गर्थे। उनीहरूलाई भाडा तिर्नु पर्दैन किन चाहियो पैसा भन्थे रे। दसैंमा बलैले अलि अलि पैसा सबैले पाउँथ्यौं। हामी जस्ता सहरमुखीहरू सहरमा टिक्न र नाम कमाउन काम गर्थ्यौं। भने त्यहाँका हुनेखानेका छोराछोरी नामकै लागि खट्थे। प्राइभेट संस्थामा एउटा मात्र धन्दा चल्दैन थियो। मिडियाको ओतमा ओतिएर अनेक धन्दा चल्थे। हामी कर्मचारी केही थाहा नपाएको बहाना गर्थ्यौं। उनीहरू हामीलाई बुद्धू ठान्थे। हाकिम प्राय: हुलमा अफिसमा आउथे र हुलमै निस्कन्थे।
खै किन डराउथ्यौं हामी त्यति धेरै आफूले काम गरेको पारिश्रमिक गर्वका साथ छाती फुलाएर कहिल्यै माग्न सकेनौं। नमागी महिना मरेपछि तलब दिनुपर्छ भन्ने कुरा मिडिया हाउसका हाकिमहरूलाई थाहै थिएन।
हामी बाहिरका कर्मचारी यस मामिलामा अलिक माहिर थियौं। त्यसैले तलब कसरी माग्नु पर्छ भनी साथीहरू हामीलाई सोधिरहन्थे। एक दिन एक जना साथीलाई तलब माग्ने तरिकार सिकाएर हाकिमको कोठामा पठाएको त हाकिमले अरू नै कुरा सुनाउँदा सुनाउँदा गरेर बोल्ने अवसरै दिएन कार्यक्रमको समय भयो भन्दै त्यसै फर्किछन्।
तपाईंले सिकाएको केही काम लागेन भन्दै हाँसो गरेका थियौं। यस्तै कामको मूल्याङ्कन नहुने, आवश्यक पर्दा बिदा नपाइने, समयमा पैसा नपाइने र कर्मचारीलाई सहकर्मी होइन नोकरजस्तो ठान्ने प्रवृत्तिबाट दिक्क भएर मैले एफएमको जागिर छोडेँ।
धेरै प्रयत्न गर्दा पनि सरकारी जागिर खान सकिएन। झापा आएर रेडियो छोडेर पढाउने काममा लागेँ। पेसा त परिवर्तन भयो तर व्यथा परिवर्तन भएन।
बोर्डिङको जागिर कर्मचारी शोषणको ज्वलन्त उदाहरण सुरूका दिनमा इनरूवाको एउटा बोर्डिङमा पढाउन थालेँ। दुई वर्ष काम गरेको झूटा अनुभवको प्रमाणपत्र देखाएर काम थालेको भए पनि गुणस्तरमा समस्या झेल्नुपरेन। तर उही पैसा नपाउने समस्या त्यहाँ पनि दोहोरियो। जति शिक्षकलाई पेल्न सक्यो त्यति गुणस्तर वृद्धि हुने भएकाले बिहान-बेलुकी नभनी हामीलाई खटाइन्थ्यो।
मिटिङ, रिजल्ट , ट्रेडिङ, कार्यक्रमहरू प्रायः शनिबार पर्थे। कुनै शनिबार आफ्नो लागि खर्च गर्न पाइएन। तीन तीन महिनामा हुने मध्यावधि परीक्षा र त्रैमासिक परीक्षाका प्रश्नपत्र निर्माण गर्ने र कापी परीक्षण गर्ने काम स्कुलमा गर्न भ्याइँदैन थियो। घरमा राति गर्नु पर्थ्यो। आठ घण्टीमा आठै घण्टी पढाउनु पर्थ्यो। त्यस बीचमा लेसन प्लान, कक्षा र गृहकार्य परीक्षण, अतिरिक्त क्रियाकलापको तयारी, इसिए, सिसए सबै हेर्नुपर्ने। लिजर त परै जाओस् टिफिन समयमा पनि आरामले खाजा खान पाइएन दश मिनेटमा खाजा खाइसकेर केटाकेटी हेर्न निस्कनु पर्ने।
यति खटाइको पारिश्रमिक कति ?
काम सबैको बराबरी भए पनि तलब सबैको फरक फरक हुन्थ्यो। कसले कति बार्गेनिङ गर्न सक्यो तलब त्यसैमा निर्भर हुन्थ्यो। योग्यताको आधारमा बोर्डिङ स्कुलले शिक्षकको तलब कहिल्यै निर्धारण गरेन। सँगै पढाउने शिक्षक कसैले दश हजार, कसैले बीस हजार त कसैले तीस हजार तलब पाउँथ्यो।
जहाँ पनि बोल्ने कै पिठो बिक्छ भनेझैं जो बोल्न सक्यो त्यसले तलब पाउथ्यो नबोल्नेले छ महिनामा पनि तलब पाएन।
महिना मरेपछि तलब खुवाउनु पर्छ भन्ने कुरा बोर्डिङ सञ्चालकका नियममा थिएनन्।
कहिल्यै मासिक तलब लिन पाइएन। अबर पावर ५०००-१०,००० गर्दै वर्ष दिनमा तलब हिसाब गरे पनि छोड्नेको मात्र चुक्ता गरिन्थ्यो। नछाड्नेले फेरि उही प्रक्रिया!
इनरूवाबाट सुरू गरेको बोर्डिङ यात्रा गौरादहको एउटा बोर्डिङमा आएर समाप्त भयो। समाप्त यस कारणले भयो अब प्राइभेट जागिर नखाने निर्णय गरेँ।
त्यो विद्यालय जहाँ मैले पछिल्लो समयमा वैशाखको नयाँ शैक्षिक सत्रदेखि पढाउन थालेकी थिएँ। मेरो शैक्षिक योग्यता, विद्यार्थी क्रेज र अघिल्ला काम गरेको विद्यालयका प्रिन्सिपलहरूसँग बुझेर मलाई छनोट गरिएको थियो।
वैशाखको शैक्षिक सत्रको लागि माघदेखि नै ताकेता गरिएको थियो। कहिलेदेखि नियुक्ति हुने भन्दै बारबार फोन आउथ्यो। पहिले काम गरिरहेको ठाउँ टाढा भएकोले म पनि त्यहाँ आउन ब्याकुल थिएँ। नभन्दै नियुक्ति भइयो। कुनै दिन नराम्रो भएन। मेडमले के सक्नु हुन्न उहाँ त बुलेट हो भन्दै हौसला बढाइन्थ्यो। त्यही स्कुलमा गएर स्काउटको कठोर तालिम गर्ने अवसर मिल्यो। बच्चादेखिको स्काउटर बन्ने रहर पूरा भयो।
सबै सहकर्मी मित्रहरूले प्रशंसा गर्नु हुन्थ्यो। पहिले काम गरेको स्कुलमा भन्दा अलिक स्वतन्त्र भएर काम गर्न पाइने र घरबाट जान आउन नजिक भएकोले म खुसी थिएँ। तलब आउने शैली चाहिँ उही थियो। अभर परेर मागे पाइने नत्र उही। बेला बेलामा आफ्नो बारेमा प्रतिक्रिया लिने गरेकी थिएँ।
‘ठिक छ मेडम ठिक छ विद्यार्थी खुसी छन्। तपाईंले पढाउन थालेपछि नेपाली सुधार भयो भन्दै थिए।’ भन्ने प्रतिक्रिया पाएकाले ढुक्क थिएँ।
दसैंको बिदामा चार महिनाको तलब पाउनुपर्नेमा दुई महिनाको तलब लिएर मख्ख पर्दै हामी सबै विद्यालयबाट छुट्यौं। त्यसको भोलिपल्ट भाइबर ग्रुपमा निष्कासन गरिएको म्यासेज पढ्न पाइयो। के भएको रहेछ बुझ्न खोज्दा प्रबन्ध निर्देशकको फोन उठेन। उसका आसेपासे कसैले फोन उठाएनन्। पछि म्यासेज आयो कापी चेकिङमा मौखिक कम्प्लेन प्राप्त भएको।
एउटा प्रिन्सिपल भएर यस्तो लापरबाही?
उसले मलाई यो भन्दा अगाडि कहिल्यै तपाईंमा समस्या देखिँदैछ भन्ने कुराको जानकारी गराएन ।
म आफैंले प्रतिक्रिया लिन खोज्दा उसले कहिल्यै नराम्रो भनेन।
विद्यार्थीले कक्षामा कहिल्यै नराम्रो ठानेनन्।
लामो समय अध्यापन गरेर आएकी हुनाले सामान्य समस्या समाधान गर्न सक्ने थिएँ।
दुई महिना काम हेरेर मात्र कन्ट्याक्ट साइन गराएको थियो।
तर ममा एउटै कमजोरी थियो। म उसको नाता पर्ने मान्छे थिइनँ। आफूले लगानी गरेपछि आफ्नो मान्छेलाई जागिर खुवाउनु उसको लागि सामान्य थियो होला बाहिरका मान्छेलाई एउटा आरोप लगाएर निकाल्न के गाह्रो? मिठो बोलीवचन, हेर्दा सुन्दर देखिने त्यो व्यक्तित्वभित्र कति धेरै कालोपन रहेछ। आफन्त अथवा कोही नातेदार मभन्दा सस्तोमा खोजेर ठिक्क पारेर निष्कासन गरेको रहेछ। स्कुल बिदा भएको दिन म निष्कासित भएँ। स्कुल लागेको दिन अर्को मान्छे नियुक्ति गरियो।
कति असुरक्षित छौं हामी? आफ्नो काम र जागिरमाथि गर्व गर्न कहिल्यै पाएनौं। तलब नपाइएला भन्ने डरले कहिल्यै बोल्न सकेनौं। जागिर जाला भन्ने त्रास सधैं मनमा रहिरह्यो।
धन्य प्राइभेट जागिर जसले हामीजस्ता प्रशस्त जमिन भएका तर काम गर्न अल्छी गर्नेहरूलाई उपभोग गरेको छ।
कुनै सेवा सुविधा नहुँदा पनि हामी त्यही झुत्तिरहेका छौं।
जागिरको स्थायित्व नहुँदा पनि हामी झुत्तिरहेका छौं।
मेसिनझैं खटाइँदा पनि हामी झुत्तिरहेका छौं।
तलब नदिँदा पनि हामी झुत्तिरहेका छौं।
मन लागे उपभोग गर्ने र नलागे फालिदिने गर्दा पनि हामी झुत्तिरहेका छौं।
एउटा सहकर्मीलाई बिना कसुर निष्कासन गर्दा हामी मुकदर्शक बनिरहेका छौं।
जागिर जोगाउने नाममा हाकिमको चाकडीमा रूमल्लिरहेका छौं।
यसरी बिना दोष मलाई निष्कासन गर्दा त्यहाँ काम गर्ने अन्य कर्मचारीले कुनै आवाज उठाएनन्। किनकि सबैलाई जागिर जोगाउने हम्मे छ।
एकै व्यथा भएका हामी कर्मचारीबीच कहिल्यै व्यथा साटासाट भएन। हाकिम त्यही चाहन्थ्यो। सस्तो तलबमा राखेको उसको आफन्त जो मेरो ठाउँमा आएको थियो। त्यसले पढाएको बुझिँदैन गुरूआमा तपाईंले किन छोड्नु भएको भन्दै मेरा निर्दोष विद्यार्थी फोन गरिरहन्छन्। तर मेरा सहकर्मीले बिनाकारण तपाईंलाई निष्कासन गर्न दिँदैनौं हामी कुरा गर्छौं भनेर कहिल्यै भनेनन्। यही हामीमा एकजुटता हुन नुसक्नुको फाइदा प्राइभेट संस्थाका हाकिमहरूले उठाइरहेका छन्।
हाम्रो समाजमा पढे लेखेकाले जागिर गर्नुपर्छ खेती त नपढ्नेले गर्ने हो भन्ने भ्रम अझै हट्न सकेको छैन। जागिर गएको कुरा मैले मेरी आमालाई पहिले सुनाएँ। आमाले के भयो त राम्रोसँग खेती गरेर खानु अर्कोको काम गर्न नजानु भन्न सक्नु भएन दुःख मान्दै भन्नुभयो ‘तँ पनि हामी जस्तै भइहालिस् नि। यत्रो पढेको के काम लाग्यो?’
मेरो श्रीमान अन्त जागिर खोजिदिन लागि पर्नुभा’छ।
‘वैशाखसम्ममा अन्त पाइन्छ चिन्ता नगर। तर आफ्नै खेती गर्नुपर्छ धन्दा नमान’ भन्न उहाँको मुख लागेन।
गाउँमा अलिक पढे लेखेकी बुहारीमा गनिन्छु म सबैले भन्छन् ‘हामी तिमी जति पढेका भए त के के न गर्थ्यौं। तिमी यत्रो पढेर पनि खेती गरेर बस्ने ?’
खेती गर्न मलाई मेरो डिग्री बाधक बनेको छ।
खेती गर्न मलाई मेरी आमा बाधक बनेकी छन्।
खेती गर्न मलाई मेरो श्रीमान बाधक बनेका छन्।
खेती गर्न मलाई मेरो समाज बाधक बनेको छ।
खेती गर्न मलाई मेरो परिवार बाधक बनेको छ।
के आफ्नो खेती गर्नुभन्दा यस्तै प्राइभेट जागिर नै उपयुक्त हो त?