खानेपानी ! यत्ति शब्दमात्रै काफी छ यसको महत्व बुझाउन। थप प्रष्टाइरहन आवश्यक नहोला। पानीको प्यासले तिर्खाइरहको मेरो गाउँको व्यथा यहाँ लेखिरहँदा विगतका ती अप्ठेरा क्षण सिनेमाका रिलझैं घुमिरहेका छन्। त्यो बेला मैले भोगेँ र अहिले पनि मेरा गाउँलेहरुले त्यही समस्या भोगिरहेका छन्। अर्थात् खानेपानी जस्तो आधारभूत आवश्यकताको समस्याले सिंगो बस्ती अप्ठेरोमा छ।
सानोतिनो ८-१० घरको गाउँ हैन। झण्डै २ सय २० भन्दा बढी घरधुरीमा खानेपानीको चरम संकट छ। जहाँ झण्डै ढेड सयभन्दा बढी दलित समुदायको बसोबास छ। खानेपानीको अभाव भएको यो गाउँ हो, बागलुङ नगरपालिका वडा नम्बर-८ सिगानाको लामिचौर।
जहाँका गाउँलेहरुले १ गाग्री पानीको लागि आधा दिन फाल्न बाध्य छन्। त्यही पनि सहज रूपमा पाउन निकै मुश्किल छ। वडा नम्बर ८ को लामिचौरबाहेक सिंगो सिगानाभरि १ घर १ धारा छ। तर, लामिचौर दलित बस्तीमा सरोकारवाला वडाका जनप्रतिनिधि, नगरपालिका र राज्यले विभेद गरेकै कारण आजको समयमा पनि खानेपानीको लागि संघर्ष गर्नुपर्ने अवस्था छ।
बस्तीको तल्लो भागमा सबैभन्दा धेरै परियारहरुको बसोबास छ। परियारको झण्डै डेढ सय घर होलान्। त्यसभन्दा माथि १२-१४ घर विश्वकर्माका छन्। अनि कार्की क्षेत्रीका घर ४० घर होलान्। बस्तीको छेउतिर ब्राह्मण जातिका ४-५ घर छन्। यो क्षेत्रलाई लामिचौर भनिन्छ।
यो गाउँको देब्रेतिर सिंगाना माध्यमिक विद्यालय लामिचौर छ, जहाँका जम्मा विद्यार्थीमध्ये दलित समुदायका ९० प्रतिशत छन्। पढाउने शिक्षक स्थायी रूपमा दलित समुदायबाट १ जना पनि छैनन्। १-२ जना स्थानीय स्रोतबाट नाम मात्रका छन्।
आर्थिक, सामाजिक, राजनीतिक तथा सामाजिक रूपमा पछि परेको यो बस्तीमा आजको समयमा पनि परिवर्तन छैन। खानेपानीको त चरम संकट भोगेको गाउँका दुःखका कथा अनेक छन्। तर, यतिबेला खानेपानी र त्यसका लागि गरिएका संघर्ष र राजनीतिक पार्टीले देखाएका सुन्दर आशा तथा गरिएका तिता कुराहरुको बयान गर्नु सान्दर्भिक होला।
परिस्थितिबस यतिबेला परदेशमा भएर तत्काल भोग्न नपरे पनि मेरा गाउँलेले यो लेख पढिरहँदा पनि भरेको लागि खानेपानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिरहनेछ।
कुरा गरौं अलि पहिलाको। हाम्रो घरबाट झण्डै ३-४ मिनेटको दुरीमा सिगाना मावि लामिचौर र १५-२० घरको सामूहिक एउटा धारो थियो। वर्षायाममा त धमिलो भए पनि पानी आउँथ्यो। तर, हिउँदमा खानेपानीको के कुरा गर्नु र! धेरै समय त पानी नै धाराबाट नखस्ने र घण्टौं समय लगाएर बल्ल १ गाग्री भरिने। अनुमान लगाउन सकिन्छ कति सानो पानी खस्थ्यो भनेर।
त्यो धाराको भर परेर समय कटाउने कुरै भएन गाउँका आमा, हजुरआमा, भाउजु, दिदीबहिनीहरु खानेपानीको जोहो गर्न गाग्री बोकेर घण्टौं लगाएर कहिले कानेपानी, कहिले बाहुनको खोला पुग्थे। अहिले पनि गाउँलेहरु त्यसो नगरी खानेपानी पाउन मुश्किल छ।
यो वर्षौंसम्म चल्दै आएको छ। हिसाब छैन खानेपानीका लागि कति समय खर्च भयो। केटाकेटी छँदा हिउँदको समयमा शनिबारको दिन नुहाउन धारामा ठूलै रमिता लाग्थ्यो। १ बाल्टी पानी पाउन पुरा बिहान फाल्नुपर्थ्यो। यसो सोचेर ल्याउँदा हाम्रा आमाहरूले धेरै दुःख भोगे र अवस्था अहिले झनै विकराल छ।
पहिला हजुरआमाले धारामा पानीका लागि जम्मा भएर कुरा गरेको धमिला याद छन्, कस्तो ठाउँमा परिएछ आधा जुनी गाग्री बोकेर हिँडेरै गयो। अलि पछि हामी किशोर हुँदा यदाकदा सुनियो यो लामिचौरमा त खानेपानीको धेरै दुःख छ भनेर केटी माग्न जाँदा पनि छोरी दिएनन् रे! किशोरवय काटेपछि शिक्षाका लागि भनेर सहर पसियो। अहिले म लगायतले प्रत्यक्ष नभोगे पनि सयौं घरको दुःख त्यही हो।
खानेपानी पाउन यो दुःख छ। अब अनुमान लगाउनुहोला। नुहाइधुवाई। वस्तुभाउका लागि। तथा अन्य घर निर्माण लगायतमा पनि कति समस्या झेल्दो हो यो लामिचौरले। अन्तजस्तै आर्थिक रुपमा सम्पन्नहरु गाउँ छाडेर सहर पस्दै छन्। जो विपन्न छन् उनीहरुको लागि भने समस्या चुलिँदै गएको छ।
अँ साच्ची अब स्थानीय चुनाव पनि नजिकिँदै छ। र, अहिले लामिचौरको दलित बस्तीका हरेक घरमा आश्वासनका खानेपानी मात्रै होइन अरू पनि धेरै विकास निर्माण र परिवर्तनका बाचा कसमहरू पुगेका छन्।
हरेक राजनीतिक पार्टीले यो चुनावमा हामीलाई भोट हालेर जिताऊँ, हामीले खानेपानी जसै गरी ल्याउँछौं भन्छन्। जितेर जाने उतै हराउँछन्। पराजित हुनेहरु विजयी भएकाले गर्ला नि भनेर कानमा तेल हाली बस्छन्। र, अहिले चुनाव नजिकिँदै जाँदा ५ वर्षअघिका बाचाहरू यतिबेला गाउँ छिरेका छन्।
भोट बैंकमात्रै भएको यो बस्तीका हरेक परिवार हिउँदको समयमा अरू सबै कामकाज छाडेर खानेपानीको पछि दगर्नुपर्ने अवस्था छ।
खासमा लामिचौरले खेनेपानीको लागि भोगेको समस्या के हो त? २०४५ साल तिर सिगानाको लामिचौरको भेगदेखि सायकोटसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न भयो। टाढा–टाढा धारा भए पनि जसले ती गाउँलाई ठिकै भएको थियो। यो खाने पानीको मुल हाल सिगानाभित्रको नभएर छिमेकी हालको काँठेखोला गाउँपालिका –७ रेशमा छ।
सुरूमा खानेपानी ल्याउने बेलामा मूल दर्ता तत्कालीन समयमा गरिएनछ। समय बित्दै जाँदा खानेपानीको मूल पनि मुहानभन्दा तल–तल सर्दै जाने रहेछ। र सँगै त्यो वरिपरि सल्लाको वन भएकाले समयसँगै मूल सुक्दै जाने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ।
त्यहाँ भएको खानेपानीको मुहान बौडेचौर मुनिको वरपरमा पुनर्निर्माण गर्न पनि छिमेकी रेशका बासिन्दाले अवरोध गर्दै आएका छन्।
मूल दर्ता पनि नभएको भन्दै उनीहरुले मुहान वरपर केही गर्नै दिँदैनन्। आजभन्दा साढे ७ वर्षअघि म पनि ४/५ पटक मुहान वरिपरि पुनर्निर्माण गर्न भनेर ढुंगा, बालुवा, सिमेन्ट लिएर गाउँलेसहित गएको थिएँ। तर, रेशबासीले छुनै दिएनन्। त्यो पल आज सम्झँदा पनि रिसले आगो बन्छु। अनुमान लगाउनुहोस् अवस्था के होला। हाम्रो माग केही छैन ३५ वर्षअघिबाट खाएको पानीको मूल पुनर्निर्माण गरेर त्यसै खेर गएको पानी लान देऊ भन्ने हो। तर, उनीहरुले रोयल्टी दिनुपर्ने र मूल भएको क्षेत्र वरिपरि २०-३० लाखको विकास योजना दिनुपर्ने रे? एउटा दलित बस्तीले कहाँबाट दिने त? र, यी माग राख्ने खानेपानीको मूल भएका स्थानीयको नभएर काँठेखोला गाउँपालिका –७ रेशका जनप्रतिनिधि र ठूला भनौदाहरु हुन्। यिनीहरुले त्यो मूल वरिपरि छुन पनि दिँदैनन्।
यही मूल पुनर्निर्माण सम्बन्धमा लामिचौरका गाउँलेले बागलुङ जिल्ला तहमा दर्जनौं पटक छलफल बैठक गरे। तर, पार लागेको छैन। म आफैंसहित हामीले पनि पहिला सिडिओसहित जिल्लाका नेताहरुलाई धेरै अनुरोध गरियो तर, न मूल दर्ता गर्न दिन्छन् न त पुनर्निर्माण गर्न। बैठकहरुमा धेरै चर्का छलफल मात्रै हैन झगडा नै परेका छन्।
परदेश पसेपछि पनि रेशका वडा अध्यक्ष प्रेम लामिछानेसँग २ वर्षअघिसम्म ४-५ पटक लामा फोन संवाद भएका छन्। तर, उनीहरु टसमस हुँदैनन्। उनी एमालेबाट विजयी भएका हुन्। संघ र प्रदेश सांसद पनि एमालेबाट विजयी भएकाले उनीहरु सहित पनि धेरै चरणमा छलफल हुँदा पनि दिन मानेनन्। रेशबाट जाने खानेपानीले बागलुङ बजारको प्यास मेटिरहेको छ तर, २-३ सय घरलाई खानेपानी दिन किन रेश यतिधेरै अनुदार भएको होला? के रेश आफूलाई काकाकुल घोषणा गर्न चाहन्छ?
रेश एमालेको गढ हो। हरेक चुनावमा एमालेलाई त्यहाँबाट झण्डै दुई तिहाई मत आउँछ। मतका लागि पनि एमाले नेता तथा सांसदहरू रेशलाई चिढाउन चाहँदैनन्। यो आरोप होइन सत्य यही हो। भोटका लागि खानेपानीमा पनि कति फोहोरी राजनीति है! प्रत्यक्ष उदाहरण लामिचौर हो।
अघिल्लो स्थानीय निकायको चुनावअघि लामिचौरमा गएर एमालेका मेयर पदका उम्मेदवार जनक पौडेल र उपमेयर राप्रपाका सुरेन्द्र खड्का र एमालेका वडा अध्यक्ष जीतबहादुर जिसी (राजन) ले खानेपानी ल्याउने आशा मात्रै देखाएनन्। वाचा कसम खाए। मूल भएको स्थानमा पुगेर माटोको टीका निधारमा धस्दै १ वर्षभित्र खानेपानी नल्याए झुण्डिनेसम्म भन्न भ्याए। लामिचौरबासीसँग लिखित सम्झौता गर्दै भोट खन्याउन अनुनय विनय गरे।
गाउँलेले पनि खानेपानी ल्याइदेलान् भनेर झुठा बाचामा फँसे। र पौडेल, खड्का र जिसीसहित वडामा पुरै एमालेलाई जिताए। चुनाव जितेपछि २ वर्ष भुले। २-४ पटक रेशका जनप्रतिनिधिसँग छलफल गरे तर, रेशको भोट गुम्ने डरले कडा कदम चाल्न मेयर जनक पौडेल र सिंगो एमालेले सकेन। अनि २ वर्षअघि लामिचौरमा १ वर्षभित्र काँठेखोलाबाट लिफ्ट प्रणालीबाट खानेपानी तानेर ल्याउने भन्दै तामझाम सहित मेयर पौडेलले शिलान्यास गरे। ३ वर्ष त्यसै बितिगयो।
स्थानीय चुनाव घोषणा भएपछि १ डेढ महिनाअघि बल्ल मेयर जनक पौडेल र वडाको एमाले जनप्रतिनिधि तातेका छन्। गाउँको छेफतिर पानी जम्मा गर्ने भन्दै खाल्टा खनेर फेसबुकमा प्रचार थालेका छन्। र, मेयरमा फेरि एमालेबाट उनै जनक पौडेल उम्मेदवार छन् भने गठबन्धनबाट पहिला पराजित कांग्रेसका वसन्तकुमार श्रेष्ठ मैदानमा छन्। वडा अध्यक्षमा पनि एमालेबाट उनै राजन उम्मेदवार छन् भने उनीसँगै प्रतिस्पर्धामा अघिल्लो पटक केही मतले पराजित भएका कांग्रेसका छमबहादुर कार्की (राजु) छन्। उनी पनि लामिचौरबासी र खानेपानीको समस्यामा परेका उपभोक्ता हुन्।
लामिचौरले भने यी प्रश्न यसपालि दह्रोसँग उठाउँदैछ। तर, यसपालि के भनेर भोट माग्ने होलान् लामिचौरको दलित बस्तीमा? खानेपानी के हुँदैछ भनेर जवाफ दिने होलान् पौडेल र जिसीले? खानेपानीका लागि किन झुटा वाचा कसम गरिरहेका छौ? बागलुङ नगरपालिका–८ सिगानाभरी १ घर १ धारा हुँदा लामिचौरमाथि किन यस्तो विभेद? कहिलेसम्म खानेपानीको लागि संघर्ष गर्नुपर्ने हो? दलित बस्ती भएर यो विभेद गरेको हो?
खानेपानीसँगै यो दलित बस्तीमा भोटका लागि वाचा कसम मात्रै होइन रक्सीमासु र २-४ सय रूपैयाँमा भोट खरीद बिक्री हुँदै आएको तिता व्यथा लेखिरहँदा नमज्जा लागिरहेको छ।
पहिलो संविधानसभाको निर्वाचनमा मैले उमेर नपुगेर भोट हाल्न पाइनँ। माओवादीको जगजगी भएको त्यो बेला हाम्रो क्षेत्रबाट एमालेका रामजी शर्मा विजयी भएर गए। त्यसपछि लामिचौर फर्केनन्। दोस्रो संविधानसभाको निर्वाचनताका जिल्लामा बसेर पत्रकारिता गर्ने भएकाले गाउँमा जानेआउने भइरहन्थ्यो। त्यो बेलामा लामिचौरमा खानेपानीको सवालमा अलि जोडका साथ अर्जुन दाइ, पत्रकार साथी सज्जनलगायत हामी लागियो। र अहिलेसम्म सफल भएका छैनौं। अर्थात् लामिचौर लामो प्यासमा छ। पेटभरि खानेपानीको प्रतीक्षामा छ।
दोस्रो संविधानसभाको निर्वाचनका लागि गाउँमा सबै पार्टी आए भोट मागे। खानेपानी ल्याउने बाचा गरे। भोट हाल्ने २ दिनअघि बजारबाट घर गएको थिएँ। अरू साथीहरु पनि सहर बजारबाट आए। चुनाव भएकाले सबै साथी तथा दाजुभाइसँग भेट भयो।
भोट हाल्ने अघिल्लो दिन झमक्क साँझ ८ बजेतिर लामिचौरको हाम्रो दलित बस्तीमा एउटा अनौठो दृश्य देखा पर्यो। लठ्ठी बोकेका ३०-४० जना पाका युवाको टोली आयो। दिदीबहिनीहरू को हुन् भन्दै ढोका बन्द गरेर भित्र छिरे। यसो हल्लाखल्ला पनि भयो। अर्जुन दाइ, साथी विजय परियार र म भएर त्यो टोली नजिक गएर कुरा गर्न खोजियो। नजिक पुग्दासाथ चिनियो एमालेको टोली रहेछ। त्यो टोलीमा सिंगानाका एमाले शिक्षक र वरिष्ठहरु सबै थिए। एमालेका तत्कालीन सिंगाना गाविस अध्यक्ष (हाल बागलुङ वडा नम्बर ८) र सरकारी विद्यालयका स्थायी शिक्षक सुरेश मल्लसँग कुरा गरियो। सुरू मैले गरेँ, ‘यति राति किन? सुत्ने समयमा गाउँलाई तर्साउने गरी यो जमात के का लागि?’
मल्लले सिधै भने, ‘दलित बस्तीमा हाम्रो मतलाई सुरक्षा दिन आएको।’
मैले भनें, ‘यो ठिक भएन सर, आजको समयमा यस्तो ठिक भएन। अरू गाउँ जानुहोस्।’
उनले अरूमा आवश्यक छैन, यो दलित बस्तीमा खाँचो छ भनेर जोड दिए। म लगायत अरू दलित साथीहरुले यो विभेद भयो, अपमान भो भनेर प्रतिक्रिया दियौं। हल्लाखल्लाले अरू गाउँले जम्मा भए। सबैको जोड भएपछि उनीहरु गाउँ छाडेर सायकोटतिर लागे। हामी सुत्न घर उक्लियो। अपमान र विभेद भएको महसुस भयो।
भोलिपल्ट बिहान गाविस भवन ठोकनफाँट मतदान केन्द्रमा सिंगाना उच्च माविका प्राचार्य गोपालकुमार शर्मा सरसँगै मल्ललाई भेट गर्दा नमस्कार गरेँ। नमस्कार भनेर जवाफ आएन। गोपाल सर हात मिलाएपछि मल्लतिर हात बढाएँ। उनले भने, ‘हिजो हामीलाई लेखेट्नु भयो हात नमिलाउने।’
गोपाल सरबाट के भयो र भन्ने भनाइ आयो। मैले विस्तार लगाएपछि गोपाल सरबाट पनि मल्लहरुको कमजोरी भएको भन्ने भनाइ आयो। चुनाव सकियो।
त्यो बेला हाम्रो बागलुङ– १ बाट कांग्रेसका कुमार खड्का विजयी बने। खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि उप–चुनावको कथा झन् भयवित पार्ने खालको छ। चुनावको अघिल्लो दिन एमालेले पहिलाको जस्तै हाम्रो दलित बस्तीमा गस्ती सहित पैसा बाँड्न गएका जिल्लाका एक दलित नेतालाई समातियो। त्यतिबेला म सक्रिय पत्रकार भएकाले अघिल्लो साँझमात्र घर गएँ। राति एमालेले जाँड खाएका युवालाई हल्ला गरेको र पैसा पनि बाँडेको भनेर मनबहादुर परियार दाइ र मनोज परियार मेरो घरमा आए।
फेरि पनि सुरेश मल्लसँगै कुरा भयो। जानु भनेर फेरि पनि धपाइयो। बागलुङ बजारका एक दलित नेता गाउँका किसान परियारको घरमा बसेको र पैसा बाँडेको कुरा सुन्नमा आयो। त्यसै जाने कुरा भएन। बुझ्न लागियो। विष्णु परियार भाउजु लगायतले १-१ सयका २ नोट देखाउँदै भोट हाल्न जाँदाको बाटो खर्च हो सूर्यमा भोट हाल्नु भन्दै दिएको बताउनुभयो। अरू पनि ४/५ जना भेटियो। फोटो खिचियो। साँझमा हामी पुग्नुअघि सकिएको जाँड पार्टी भएको घरमा पनि पुगियो।
पैसा बाँड्न गएका दलित नेता बसेको घरमा हामी पुग्दा केही एमालेका युवा थिए। ती पैसा बाँढ्न गएका घरको आँटीमा रहेछन्। तल झरेनन्। १/२ घण्टा कुरियो तल आएनन्। घरबेटीसँग चर्काचर्की पनि पर्यो। मलाई जिल्लाका दलित एमाले नेताको फोन आउन थाल्यो। मैले उनीहरूलाई भने दलितलाई पैसा बाँड्ने कहिलेसम्म? लामा कुरा भए। अन्त्यमा गलत गरे पनि पाहुना हुन् भन्दै छाडियो। उज्यालो नहुँदै लामिचौर छाडे। त्यो चुनावमा कांग्रेसकी चम्पा खड्का विजयी भइन्।
यस्ता कथा धेरै छन् जो मैले देखेँ भोगेँ। आजको समयमा यस्तो हर्कत सुहाउँछ त? हामीले कुनै पार्टी नभनेर दलितमाथिको विभेद र भोट खरीदको जमेको विरोध गरेका थियौं।
अहिले पनि गाउँमा चुनाव पसेको छ। स्वस्थ प्रतिस्पर्धा होस् तर विगत नदेहोरियोस् कुनै एमाले तथा अरू कुनै पनि राजनीतिक पार्टीबाट। खानेपानीको ब्याकुल भएको दलित बस्तीमा सक्छौ पानी पुर्याऊ, विकास र परिवर्तनको लहर छिराऊ सक्दैनौं भने विकृति नभित्र्याऊ।