सानो छँदा स्कुलमा बस्न घरबाटै बोरा या गुन्द्री लैजाने गरिन्थ्यो। कक्षा ४ पुगेपछि बेन्च आयो। त्यो खुसी नै बेग्लै। टुकी बालेर पढिन्थ्यो। भाइबहिनीले चलेर बलिरहेको टुकी पल्टाइदिन्थे। बिहान उठेर मुख धुँदा नाकभरि कालो ध्वाँसो आउँथ्यो।
धेरै सरकारी कर्मचारीहरू त्यही सरकारी स्कुलबाट आएका छन्। तर उनीहरूले त्यो बोरा सायद बिर्से होलान्। त्यसैले आफूलाई सरकारी स्कुलमा पढेकोमा गर्व गर्दैनन्, सन्तानलाई बोर्डिङमा पढाउँछन्।
लोक सेवा उत्तीर्ण गरेकालाई सहरकाले 'यिनीहरू घोकन्ते, यिनीहरूलाई अंग्रेजी फिटिक्कै आउँदैन' भन्छन्। सरकारी स्कुल पढेका लोकसेवामा नाम निकाल्नेहरूले 'सहरियालाई त नेपालीमा गन्न, निवेदन त लेख्न आउन्न' भन्छन्। तर दुवैले देश बुझेका छैनन्। छ भने उनीहरूमा अहम्, अहंकार र दम्भ छ।
कन्भेन्ट स्कुलमा फी सस्तो, गरिबको पहुँच छैन, हुनेखानेहरू नै बच्चा पढाउँछन्। गरिबहरू बच्चालाई सरकारी स्कुलमा पढाउँछन्, शिक्षकहरू आफ्नो बच्चा सरकारी स्कुलमा पढाउँदैनन्। सहरियाहरूले सरकारी जागिर खानेलाई, स्कुल पढेकाहरू र अंग्रेजी नजान्नेलाई गन्दैनन्, हेप्छन्।
बोरा, सुकुल बोकेर स्कुल जाने, जाँगे लगाउने, खाली खुट्टा, सनफराइसको सेतो सर्ट, पार्कर मसीको ट्याबलेट तातो पानीमा पगालेर मसी बनाउने दैनिकी हुन्थ्यो। स्कुलको बाटोमा गाईगोरु देखेर पर्खालमा चढेर हिँड्नुपर्थ्यो, पर्खालमा पनि सिउँडी रोपेको हुन्थ्यो। हिला, चिप्ला खेतका आली कान्लामा डिलमा हिँडेर स्कुल जाँदा चिप्लेर धेरैचोटि लडेको याद ताजा छ।
स्कुलबाट फर्केर भुटेको मकै खाइन्थ्यो। गाईभैँसी भएकोले मोही सधैँ हुन्थ्यो। बेलौती, आरुबखडा, आरु, तिजु, दमौरा, अमला, अमरो, पानीअमला हुन्थ्यो कुनै बेला। साथीहरूले स्कुलमा ऐंठे, पुष्टकारी बेच्थे। दस पैसामा पापड पाइन्थ्यो। जेवी, शीतल मिठाई, पिरे मिठाई, सुन्तला मिठाईको पाँच पैसा पर्थ्यो। स्कुलमा शौचालय थिएन।
मिन पचास बिदामा धान काटेर सकेपछि खेतहरूमा गाईभैँसी चराउन जाँदा गोबरको गुइँठा बाल्ने र डण्डीबियो, खाल्टे, चिप्लेटी, फिरफिरे, मोजाले बनाएको भकुण्डो खेल्थ्यौँ। साना गाई, भैँसी थोरै दूध दिने, भैँसी हेर्न जाँदा भैँसी हराउँथे। खोज्न टाढासम्म जानुपर्थ्यो। अरुको खेती खाएमा 'कांजी हाउस'मा लैजान्थे, जरिवाना तिर्नुपर्थ्यो।
एउटै जग्गामा दुई/तीन खेती गर्ने चलन थिएन त्यतिबेला। पोखरामा कुडहर फाँट, खराने फाँट, बिरुवा फाँटमा धेरै जमिन खाली थियो। हराएको भैंसी खोज्न धेरै ठाउँ जानुपर्थ्यो। भैँसी नभेटे खोजेको मतलब हुँदैन थियो, घरमा गाली गर्नुहुन्थ्यो। स्कुलबाट आएपछि खेतमा पानी लगाउन जाने, गह्रामा टन्न पानी भरेपछि घर फर्किन्थ्यो।
चाउचाउ, बिस्कुट, पाउरोटी, खाजा, टाई, सर्ट, पाइन्ट जुत्ता, मोजा, स्कुल बस, घर-घर आएपछि दुनियाँ बदलियो। गाउँमा तरकारी सहरबाट जान्छ, वनजंगल बढेकोले दिउँसै कोइली कराउँछ उराठलाग्दो। खेती गरे बाँदरले खान्छ, केही राख्दैन। जमिन मुनिको बदाम पनि खोतलेर खान्छ, जमिन माथिको त के कुरा।
अचेल गाउँमा दलालको बिगबिगी छ। गाउँमा नयाँ मान्छे कोही जानै हुन्न। कहाँ, किन, कसरी, कहिले भन्ने प्रश्न गरिन्छ। डाँडा र पहाड, डोजर लगाएर विघ्न छ। वनजंगल बढेर दिउँसै निगाले बाघ/चितुवा आउँछ।
सडक सरकारले बनायो, बाटोमा फाट्टफुट्ट बिहान-बेलुकी मात्र गाडी चल्छन्। दिउँसो बाटोमा कमिला हिँड्छन्, निसाम्य छ। एक-दुई वटा मोटरसाइकल चल्छन् अफिस समयमा, मोटर धेरै घुइँचो हुन्छ। सरकारको लगानी छ तर बालुवामा पानी। उपभोक्ता हिसाब नगरी सडक बनाएरपछि हालत यही हुन्छ।
हामी पक्कै सहरियाहरूले भनेजस्तो पाखे थियौं। किनकि श्रद्धा गर्ने, डराउने, आज्ञाकारी हुने हामी पाखे नै थियौँ। गाउँमा स्कुल छ तर पढ्ने विद्यार्थी छैनन्। अहिलेका बोर्डिङ स्कुलहरूमा स्कुले नानीहरू चाउचाउ, कुरकुरे, चुइगमको खाजा देख्दा युग बदलिएको र हामी साँच्चै पाखे हौं झैं लाग्छ।
पाहुनाहरूले बिस्कुट ल्याउँदा पनि के-के नै लाग्थ्यो। कहाँ पाउनु हामीले चाउचाउ, बिस्कुट, कुरकुरे, चुइगम? काठमाडौँ आएर फर्केका पाहुनाहरूले कहिलेकाहीँ गुदपाक कोसेली लैजान्थे। गुदपाकलाई गाउँतिर बम्बैसन भनिन्थ्यो।
दस बजे प्रार्थना 'गोडा फाट अनि सर्तक' भन्ने कसरत गर्दै कक्षा सुरु हुन्थ्यो। अतिरिक्त कृयाकलापहरू, गृहकार्य खासै हुँदैन थियो। पिरियडलाई हामी प्लेट भन्थ्यौँ। यी सब दिन कहाँ गए आज!
एक गाग्री पानी भर्न एक बिहान कुर्नुपर्ने, मासु खान दसैँ आउनु पर्ने, नुहाउन शनिबार हुनुपर्ने, फलफूल खान बिरामी हुनुपर्ने किनकि यहाँ सहरमा त घरभित्रै धारा, दिनदिनै मासु, फलफूल खान कुनै आइतबार छैन।
कोठामा टिन चुहिएर किताब-कापी भिज्ने, पानी परेको बेलामा सरले पढाउँदा टिनमा आवाज आएर पढाएको नबुझिने, ब्ल्याक बोर्डमा ब्याट्रीको कालो लगाउने, हरेक शुक्रबार स्कुल ग्राउन्ड सफा गर्ने हुन्थ्यो। खानेपानीको लागि अञ्जुलीमा थापेर खाँदा पोखेर पालेदाइले घण्टी बजाउने डन्ठीले किन पानी पाखेको भनेर पिट्नुहुन्थ्यो।
फुल्टिन (फाउन्टेन पेन) मा मसी भरेर लेख्नुपर्ने। कहाँ पेन्सिल, इरेजर र शार्पनर पाउनु? त्यो बेलाको पीडा धेरै थियो। त्यसैले पाखे भन्नु अन्यथा होइन। स्कुलमा जाँदा कहाँ टिफिन पाउनु र? खेल छुट्टीमा दौडेर घर पुगेर बेलौती टिपेर खाइन्थ्यो। स्कुलमा भलिबल हुन्थ्यो। कहिलेकाहीँ बल तल खोल्सामा पुग्थ्यो। स्कुल भिरालो ठाउँमा भएकाले बल गुडेर कहिले खेतमा, कहिले कुँवामा पुग्थ्यो। शनिबार छुट्टीमा चिप्लेटी खेल्थ्यौँ। खाली चौर भिरालो ठाउँबाट काठको पिर्का जस्तोमा बसेर तलतिर आउँदा गाडी चढेको जस्तो भान हुन्थ्यो।
चार कक्षामा एबीसी सुरु गरेको कक्षा ६ मा पुग्दा बल्ल आफ्नो नामसम्म लेख्न आउँथ्यो। त्यसैले कन्भेन्ट स्कुल र बोर्डिङ पढेका सहरियाहरूले हामीलाई मान्छे नगन्नु र होच्याउनु स्वभाविकै थियो।
टाई नदेखेका हामीलाई आजकल छोराछोरीहरूले टाई बनाइदिनुस् न बाबा भन्दा 'आउँदैन' भन्नुपर्छ, छोराछोरीहरूले युट्युब हेरेर बनाउँछन्। बच्चालाई विगतका गाउँको स्कुलका कुरा सुनाउँदा दन्ते कथा लाग्छ।
काँटा चम्चा नजान्नु, अंग्रेजी नबोल्नु, टाई लगाउन नजान्नु, आइसियोस्-गइसियोस् जस्ता आदरार्थी शन्द नबोल्नु, बोल्दा अंग्रेजी शब्द नमिसाई बोल्नु मोर्डन लुगा नलगाउनु, पिज्जा, बर्गर, जाम, बटर, मोमो, स्यान्डविचभन्दा मकै, रोटी, दालभातमा रमाउनुलाई नै यहाँ पाखे भनिन्छ।
'ह्याभ र ह्याभ नट' को भिन्नता निश्चय नै गाउँ र सहरको भिन्नतामा देखिन्छ।
'गाउँलेसँग बिहा गरेर के गर्छेस्?' धेरै सुनिन्छ। गाउँमा दुःख छ। घाँस-दाउरा गर्नुपर्छ, सहरको मान्छे गाउँमा किन जाने? गाउँलेसँग सहरिया केटीले विवाह गर्न मान्दैनन्। गाउँमा पढेकालाई जागिरमा राखेर के गर्ने? अंग्रेजी आउँदैन।
सहरियाहरू एसइई गरेपछि एम्बेसी धाउँछन्। सहरिया गाउँ जाने लहर बढेको छ, गाउँबाट सहर पसेर घर बनाएकाहरू आफ्ना सन्ततीहरूलाई आफ्नो गाउँ देखाउन चाहन्छन्। यो कुराले निश्चय नै सहरिया र पाखे भन्ने सोचमा परिवर्तन ल्याउला।
सहरका मानिसहरू गाउँका मान्छेहरूलाई योग्य बनाउन उसले घडेरी किनिसकेको छ, छिट्टै घर बनाउँछ समेत भन्न भ्याउँछन्। मानौँ कि सहरमा घर नहुनु अयोग्यता हो।
लोमान्थाङमा 'रुङवाको खाना घोडाको दाना' भन्ने भनाइ छ। 'रुङवा' भन्नाले तिब्बती भाषामा तलको मान्छे भन्ने बुझिन्छ।
नेपाल गाउँ नै गाउँले बनेको देश हो। हरियो वन नेपालको धन भनिथ्यो। वृक्षारोपण गरियो। वन भरियो तर गाउँमा ग्याँस बाल्छन्। गाउँमा चितुवा र बाँदरको बिगबिगी छ। सरकार कार्बनको व्यापार गर्ने भन्छ, कार्बनको पैसा सरकारलाई तर बाँदर र चितुवा दुःख गाउँलेलाई छ।
'न्याउली रोयो नेपाल बिग्रियो' रेशम चौधरीको गीत सार्थक छ।कसले सुन्ने पीडा? गाउँको मान्छेलाई चुनाव जितायो सहर पस्छ। गाउँ बिर्सन्छ। सहरमा घर किन्छ। ऊ अब सहरको भयो। गाउँको बारेमा बोल्दैन। सहरमा बस्नेलाई गाउँको दुःख के थाहा? यस्तै छ। पाखेहरूको हालत, गाउँ न गाउँ रह्यो न सहर बन्यो केवल नगरपालिकाको साइनबोर्ड मात्र झुण्डाइएको छ।
सार्वजनिक सवारीको पहुँच कम छ। गाउँलेहरू विदेशमा छन, लास उठाउन तत्काल मान्छे पाइन्न घन्टौँ कुर्नुपर्छ। युवा विदेशमा भएपछि खेती कहाँबाट हुनु? सबै बेसाएर खानुपर्छ। खेतबारी बाँझै छ।
गाउँको विकास साँच्चै महंगो छ। कि त लेनीनले जस्तै सहरका मानिसलाई गाउँ लखेट्न पर्यो, यो युगमा सम्भव छैन। तर समीक्षा गर्नुपर्ने बेला आइसक्यो। छरिएको बस्ती अभिसाप हो। यो अविकासको कारण हो।
अहिले अक्सर प्रशासनमा, सरकारी स्कुलबाट आएको गाउँका मानिसहरूको बाहुल्य छ। स्थायी सरकार मानएिका प्रशासकहरू विगत बिर्सेर गाउँलाई उपेक्षा गर्छन्। हामी बच्चा हुँदा राबिसे भन्ने सुनिथ्यो। भोलेन्टियर सर-मिस आउँथे। राष्ट्रिय विकास सेवा जुन पढेलेखेकाहरूलाई गाउँ चिनाउने माध्यम थियो।
शीर्ष नेताहरूकै शब्द र भनाइमा पनि सरकारी विद्यालय राजनीति गर्ने थलो बनेको छ। तराईतिर त सामुदायिक स्कुलको अध्यक्ष बन्न ठुलै चुनाव हुन्छ। नेताहरूलाई सहरका सामुदायिक स्कुलहरू त अहिले सम्पत्ति भाडामा लगाउन, आफन्तहरूलाई जागिर लगाउन काम लागेको छ। बोर्डिङ स्कुलको योगदानलाई कम आकलन गर्न सकिन्न तथापि सामुदायीक विद्यालयलाई पुनर्जीवन दिनका लागि पाखेहरूले नै योगदान गर्न जरुरी छ। सरकारी स्कुल सुधारौँ। गाउँको मुहार फेरौँ।