बिहानीपख पल्लाघरे नरेन्द्र दाइ हतार-हतार दौडिरहेको देखेर मैले सोधें, ‘हैन दाइ बिहान बिहानै कता हिँड्न लाग्नुभयो?’
हिँड्दा हिँड्दै दाइले उत्तर दिनुभयो, ‘त्यहाँ पुस्तक पसलमा नयाँ सामान्य ज्ञानको किताब आएको छ रे त्यही लिन जान लागेको।’
मैले फेरि प्रश्न गरें, ‘किन आवश्यक पर्यो सामान्य ज्ञान अहिले?’
उहाँले अचम्म मान्दै भन्नुभयो, ‘ल तिमीलाई थाहा छैन! शिक्षक सेवा आयोगले धेरै स्थायी शिक्षक पदको विज्ञापन गरेको नि’ मैले नजानेको गरी टाउको हल्लाएँ।
दाइले बेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो, ‘अरू पेपरको लागि त गाइड र गेस पेपर किनिसकें लटरपटर लेखिहालिन्छ तर सबभन्दा बढी यो सामान्य ज्ञानमा ध्यान दिनुपर्ने रहेछ। यो सामान्य ज्ञान जाने त नाम ढुक्क निस्किन्छ।’
यति भन्दै उहाँ पुस्तक पसलतिर लाग्नुभयो।
म टोलाइरहें अनि मनमनै भन्दै थिएँ, ‘हैन यो शिक्षण पेशा र सामान्य ज्ञान बीचमा कहाँनिर सम्बन्ध रहेछ?’
बेलुकीपख बजारतिर के निस्केको थिएँ, कोभिड महामारी बीचमा पनि मानिसहरूको भीडभाड देखेर म छक्क परें।
नरेन्द्र दाइले भन्नु भएजस्तै पुस्तक पसलहरू शिक्षक सेवा आयोगका लागि भनेर प्रकाशित गरिएका गाइड र गेस पेपरहरूले रङ्गीविरंगी रहेछन्।
आवेदन भर्ने प्रतिस्पर्धीहरूको तछाडमछाड थियो। कुन गाइड राम्रो छ, कुन गेस पेपर किन्दा ठिक हुन्छ भन्दै एक आपसमा छलफलमा ब्यस्त थिए।
यो रमाइलो भीड हेर्न धेरै दर्शकहरू लाम लागेर उभिइरहेका थिए त्यसमा म पनि थिएँ।
यसैबीच त्यही भिडमा पुस्तक किन्न आएकी एक महिलाले सोधिन्, ‘हैन साथीहरू अरू त यताउता गरेर लेखिएला तर यो सामान्य ज्ञान कसरी पढ्ने हो, देशभरका जिल्लाको नाम कसरी थाहा पाउने हो, भन्नुपर्यो।’
अर्की महिलाले तत्काल उत्तर दिइहालिन्, ‘गुरू बा अब दारु नरोक बरू गुलियो पान प्यु।’ यो उत्तर सुनेर त्यहाँ भएका सबै जना चकित भए।
मलाई पनि आश्चर्य लाग्यो।
अहिलेसम्म यस्तो वाक्य कहिल्यै सुनेकै थिइनँ। मजस्तै अनविज्ञ अरू पनि रहेछन् अनि एक जनाले प्रश्न गरिहाले, ‘के भन्न खोज्नु भएको हो, प्रष्ट पार्नुपर्यो।
यति सुनेपछि ती महिलाले सजिलै भनिन्, ‘यो त लुम्बिनी प्रदेशमा पर्ने जिल्लाहरूको नाम सम्झने सुत्र हो। जस्तै गु बाट गुल्मी, रू बाट रूकुम पूर्व, बा बाट बाँके गर्दै ती महिलाले बाह्र वटै जिल्लाको नाम खरर भनिन्।
यो देखिपछि अन्य प्रतिस्पर्धीहरूमा पनि उत्सुकका जाग्नु स्वाभविक नै हो।
सबैले सोध्न थाले कहाँ छ यस्तो सुत्र ?, कसरी थाहा पाउने आदि इत्यादि।
सबैको प्रश्नको उत्तरमा ती महिलाले आफूले यी सबै कुरा ट्युसनमा पढेर सिकेको जनाइन्।
यसपछि अरूले पनि यही ठाउँमा ट्युसन पढेर सामान्य ज्ञानका सुत्रहरू घोक्ने र सेवा आयोगको परीक्षामा पास भएर शिक्षक हुने आशाका साथ त्यहाँबाट बिदा भए।
यति धेरै चर्चा र परिचर्चा पाएको शिक्षक सेवा आयोगको परीक्षाको संरचना कस्तो रहेछ भन्ने मलाई पनि उत्सुक्कता जाग्यो र यससम्बन्धी सामग्री खोज्न थालें। नेपालका सामुदायिक विद्यालयको लागि आवश्यक शिक्षकको छनोट र तिनीहरूको पदोन्नतिका लागि आधारभूत तह (निम्न माध्यमिक / प्राथमिक तह ) र माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको प्रथम पत्र सामान्य परीक्षा वस्तुगत / बहुवैकल्पिक परीक्षा प्रणाली अन्तर्गत हुने रहेछ। यो पत्रको कुल १०० अङ्कभारमा आधारभूत र माध्यमिक तहमा क्रमश ३० र ४० अङ्कभार बराबर सामान्य ज्ञानसँग सम्बन्धित प्रश्नहरू सोधिने रहेछ।
यसभित्र ब्रमाण्डसम्बन्धी जानकारी, नेपालको भूगोल, इतिहास, संस्कृति र सामाजिक व्यवस्था, आर्थिक विकास, राजनीतिक विकास लगायत विविध समसामयिक घटनाक्रमहरूका बारेमा अध्ययन गर्नुपर्ने रहेछ। यी विषयवस्तुहरू प्राय: परिवर्तनशील छन्। समय सँगसँगै सामाजिक व्यवस्था, आर्थिक विकास, राजनीतिक घटनाक्रमहरू पनि परिवर्तन हुँदै जान्छन्।
पाँच वर्ष पहिलेको सगरमाथाको उचाइ र अहिलेको उचाइ फरक छ, दस वर्ष पहिले नेपालका जिल्लाहरूको संख्या र अहिलेको संख्या फरक छ, हिजोको जनसंख्या र आजको जनसंख्या फरक छ।
यी विषय भोलिका दिनमा पनि परिवर्तन हुँदै जानेछन्। यसको मतलब आज यो विधामा ज्ञान हासिल गरेर उत्तीर्ण भएका व्यक्ति सधैंभरि यो उक्त विषयमा पोख्त छन् भन्न मिल्दैन।
अर्कोतर्फ सामन्य परीक्षा अन्तर्गत अन्य विषयवस्तु र विषयगत परीक्षाका लागि अधिकांश परीक्षार्थीहरूले बजारमा उपलब्ध विभिन्न गाइड र गेसपेपरमा मात्र भर परेको देखिन्छ।
एकातिर नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालय तहमा विद्यार्थीहरूको ज्ञानलाई संकुचित गरेको भन्दै गाइड र गेसपेपरहरू निषेधित गर्ने योजनाहरू बनाइरहने तर अर्कोतर्फ तिनै विद्यार्थीहरूलाई पढाउने सपना बोकेका भविष्यका शिक्षकहरू गाइड र गेसपेपरकै सहाराले सेवा आयोगको परीक्षा उत्तीर्ण हुन खोज्नु कत्तिको जायज होला?
वास्तवमा शिक्षकको छनोट विषयगत रूपमा प्रश्नबाट भन्दा पनि प्रयोगात्मक परीक्षाबाट छनोट गर्नुपर्ने हो किनकि अध्यापन ज्ञान मात्र नभई एउटा कला पनि हो। तर पनि शिक्षा आयोगको परीक्षा प्रणालीमा प्रयोगात्मक परीक्षालाई कम महत्वका साथ २५ अङ्कभार मात्र छुट्याइएको देखिन्छ।
कुनै पनि देशको विकास र समृद्धिको आधार भनेकै 'गुणस्तरीय शिक्षा' हो भन्ने कुरा विकसित मुलुकहरूले पुष्टि गरिसकेका छन्।
'गुणस्तरीय शिक्षा' को लागि योग्य र सक्षम शिक्षक छनोट हुनु आवश्यक छ। यसका लागि वर्तमान शिक्षक छनोट प्रणालीलाई परिमार्जन गरी समयको आवश्यक अनुसार युग सुहाउँदो प्रणालीलाई बढवा दिनुपर्ने देखिन्छ।
विशेषगरी विकसित मुलुकहरूमा विश्वविद्यालयतका अति उत्कृष्ट र प्रतिभाशाली विधार्थीहरूलाई शिक्षण पेशामा आकर्षित गरेको देखिन्छ।
शिक्षकको जिम्मेवारी सूचना प्रवाह गर्ने मात्र नभई अनुसन्धात्मक कार्यमा संलग्न भई समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु पनि हो। विद्यार्थीहरूको प्रतिभा र क्षमता पहिचान गर्न सक्नु र व्यवसायिक शिक्षा प्रदान गर्न सक्नु आजको आवश्यकता हो।
विश्वव्यापीकरणको यो युगमा शिक्षालाई निःशुल्क गरेरमात्र पुग्दैन, गुणस्तरीय हुनु पनि अपरिहार्य छ ।
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल सरकारले शिक्षामा बजेट वृद्धि गरेर २० प्रतिशतसम्म पुर्याउने वाचा गरे पनि अहिले लगभग १० प्रतिशतमात्र बजेट छुट्याउने गरेको छ । त्यसमध्ये पनि अधिकांश बजेट प्रशासनिक खर्चमै जान्छ ।
विद्यालय शिक्षाको सुधारका लागि सरकारले ल्याएका कार्यक्रम अत्यन्त खर्चिला तथा असफल देखिएका छन्।
विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम (एसएसआरपी), प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम (इजिआरपी), दिवा खाजा कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलगायत वार्षिक अर्बौं खर्च गरिएका कार्यक्रम कम प्रभावकारी देखिएका छन्।
यसर्थ, यस क्षेत्रको विकास र विस्तारको लागि योग्य र सक्षम शिक्षक छनोट हुनु अपरिहार्य देखिन्छ। यसका लागि विषयगतभन्दा पनि प्रयोगात्मक परीक्षालाई बढावा दिएर विश्वविद्यालयका उत्कृष्ट र प्रतिभाशाली विधार्थीहरूलाई यो पेशामा आकर्षण गर्नुपर्ने देखिन्छ।