विद्यार्थी संघमा आवद्ध भएकाले क्याम्पस कमिटी गठन गर्न केही समय अगाडि एउटा क्याम्पसमा पुगेका थियौँ। प्रशासनबाट समय लिइसकेपछि हामी कक्षाकोठातर्फ प्रस्थान गर्यौं।
'अबको एकछिनमा तपाईंले कुनै विषयमा नपढेको कुरा सिकाउनेछौँ हलमा आउनु होला,' भनेर जानकारी गरायौँ।
विद्यार्थी निकै नै हर्षित र उत्साहित देखिन्थे। खुसीले ताली पिटिरहेका। खासमा कार्यक्रम हुने समयमा एकाउन्ट विषय पढाइ हुने रहेछ र आज कार्यक्रमले गर्दा पढ्न नपर्ने भयो भनेर उनीहरु खुसी देखिएका रहेछन्।
एकैछिनमा सबै विद्यार्थी हलमा आए। कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुअघि मैले जानकारी गराएँ- 'आज हामी राजनीतिको कुरा गर्दैछौँ।'
अघिसम्म उत्साहित चेहराहरुले एकैपटक नाक खुम्चाउँदै भनिरहेका थिए- 'छ्या! राजनीति पो हो, बरु एकाउन्ट नै पढ्न ठिक थियो।'
अबको निर्वाचनमा ०७४ सालको भन्दा करिब १० लाख नयाँ मतदाता थपिँदै छन्। अधिकांश मतदाता तिनै क्याम्पस पढ्ने विद्यार्थीहरु नै रहनेछन् जो राजनीति शब्दसँग घृणा गर्छन्।
हाम्रोभन्दा अघिल्लो पुस्ता राजनीतिसँग प्रत्यक्ष सरोकार राखेको हुनाले राजनीति नगर्नेहरु पनि यसको बारेमा जानकार छन्। विभिन्न समयमा भएका व्यवस्था विरुद्धको राजनीतिक आन्दोलनमा सहभागिता भएका कारण पनि उनीहरु राजनीतिलाई स्वभाविक रुपमा स्विकार्छन।
तर अहिलेको पुस्ता मुलुकमा लोकतन्त्र स्थापित भैसकेपछिको पुस्ता हो। व्यवस्था विरुद्धका उतारचढाव नदेखेको तर बारम्बार आश्वासनमा राखेर भर्खर परिपक्व बन्दै गरेको मस्तिष्कलाई कन्फ्युज बनाइएको पुस्ता भने हो। यिनीहरु राजनीतिलाई बुझेर/नबुझेरभन्दा पनि ट्रेन्डको रुपमा नकार्छन्। घाम पूर्वबाट उदाउँछ भने झैँ यो पुस्ताको लागि राजनीति राम्रो होइन भन्ने शाश्वत सत्य लागेको छ।
सङ्गठन निर्माणकै क्रममा हामी अर्को कलेज पुगेका थियौँ। फ्लोरमा पहिलो प्रश्न राखियो 'तपाईंलाई आजसम्म सबैभन्दा बढी मनपर्ने नेता को हुनुहुन्छ?'
प्रायः सबै मौन देखिन्थे। प्रश्न अरु एक/दुई पटक दोहोर्यापछि एउटा बहिनीले हात उठाएर जवाफ दिइन् 'हिट्लर'। त्यसपछि अरु जवाफ आउन लागे- 'बाराक ओबामा।'
'अनि नेपालको नि?' हामीले प्रश्न पुनः तेर्सायौँ।
एउटा भाइले तुरुन्तै जवाफ दिए- 'लक्ष्मीप्रसाद देवकोटा।'
उनीहरुको जवाफले केही कुरा प्रष्ट पारिदिएको थियो।
पहिलो: अहिलेको पुस्ता राजनीतिलाई मन नपराउने मात्र होइन हाम्रा इतिहास, हाम्रा नेतृत्व, समग्र मुलुकको गतिशीलतासँग जोडिन चाहेको छैन। यो पुस्ता राजनीतिले मुलुकका हरेक अंगसँग जोडिएर काम गर्छ। यो आफैमा सही/गलत हुँदैन भन्ने चेतना हासिल गर्न सकेको छैन।
दोस्रो: सामाजिक संजालको बढ्दो प्रयोग, प्रविधिको पहुँचले यो पुस्ता स्मार्ट त बन्यो तर त्यही सामाजिक संजालमा फैलने समाचारहरुले नकारात्मक भ्रम सृजना गरिदियो। वास्तवमा यो पुस्ता कुनै कुराको गहिराइभन्दा फ्याक्ट सुन्न रुचाउँछ जसले गर्दा यो पुस्तामा राजनीतिक अध्ययन लगभग शून्यजस्तै छ।
नयाँ आउने मतदाता कुनै पनि पार्टीलाई राम्रो मान्दैनन्। उनीहरु सोच्छन् राजनीतिले देश बिगारेको छ। उनीहरु यो विषयमा बहस गर्दैनन्, उनीहरुलाई देशको चिन्ता छ तर देश बन्न राजनीतिक संस्कार भएको नेतृत्व चाहिन्छ भन्ने चेतना छैन।
नयाँ पुस्तामा राजनीतिप्रति मोह नहुनुका मूलभूत केही कारणहरु छन्। यसलाई फरक-फरक दृष्टिकोणले विश्लेषण गरिनुपर्छ।
ऐतिहासिक पक्ष
एउटा टिभी अन्तर्वार्तामा सद्गुरुलाई एकजना भक्तले प्रश्न गरेका थिए- 'गुरु हामीले मान्ने भगवान रामले पनि सीतालाई ल्याएर छोड्नु भएको थियो। भगवानले पनि त्यस्तो गर्न मिल्थ्यो?'
सद्द्गुरुको जवाफ थियो- 'भगवान रामले त्यो बेलामा चालेको कदमले अहिले तपाईंलाई केही फरक पार्छ? यदि तपाईंमा त्यो कुराले प्रभाव पार्छ भने मनमा राख्नुहोस्, होइन भने चिन्ता लिनुपर्ने विषय छैन। जब उहाँले पतिको भूमिका निभाउन पर्थ्यो, तीन हजार माइलभन्दा बढी यात्रा गरेर रावणसँग युद्ध गरेर फिर्ता ल्याउनु भो, जब राजा भएर काम गर्नुपर्थ्यो आफ्नो श्रीमती पनि भन्नु भएन। तर त्यो इतिहासले हामीलाई फरक पार्दैन, बरु आफ्नो भूमिका कहाँ-के प्रयोग गर्ने सिक्न सक्छौ, अहिलेलाई यत्ति सिक्नुहोस्।'
ठ्याक्कै यो पुस्ता पनि भगवान रामबाट किन गल्ती भयो भनेर दोष थुपारेर बस्ने पुस्ता छ। इतिहासमा नेताले गरेका राम्रा काम बिर्सिएर दुई/चार जना भ्रष्ट नेता देखाएर समग्र राजनीतिलाई नै दोष थुपारेर बसेको छ। यिनीहरु देश अमेरिकाजस्तो होस्, नेता त्यहाँको जस्तै हुन् भन्ने चाहान्छन् तर बुज्दैनन् कि पहिले आफू अमेरिकी मतदाताजस्तो बन्नुपर्छ।
आर्थिक पक्ष
एकजना नेताले भन्नुहुन्थ्यो 'हामीले राजनीति गर्दा दालमोट र चिउरा खाएर गर्थ्यौं। अहिले त कार्यकर्ता रक्सी र मासु नभएसम्म हिँड्दै हिँड्दैनन्। साइकलमा राजनीति गर्नेहरु गाडीका मालिक भैसके। राजनीति विकृत भैसक्यो।'
कहीँकतै उहाँको भनाइमा सत्यता छ। कार्यकर्ता धनी नेताको पछाडि दौडिन्छन् अनि नेता कार्यकर्ता पाल्नै भए पनि धनी हुनैपर्ने बाध्यता छ। यो पुस्ताले सबैभन्दा बढी बुझेको पक्ष यही नै हो। राजनीति गरेर पैसा कमाउने हो, देशलाई केही हुन्न भन्ने मान्यताले पनि असर पुर्याएको छ।
सैद्धान्तिक पक्ष
प्रायः नेताहरुको भेटघाटमा भनेको सुनिन्छ 'नमस्कार! म फलानो, पेसाले राजनीतिकर्मी।' उनीहरु राजनीति भनेको कुनै पेसा होइन भन्ने कुरा जानेर वा नजानेर सत्य बोलेका हुन्छन्। अरु काम नगरी उनीहरु राजनीतिमै होमिएका छन्। झोला भिरेरै नेता बनेका कतिपयलाई त आफ्नै पार्टीको सिद्धान्त के हो थाहा हुने कुरै भएन। फरक पार्टीका फरक सिद्धान्त कुन ठिक कुन बेठिक भन्ने कसरी छुट्टाउने?
एउटा क्याम्पसमा हामी त्यसरी नै पुग्दा विद्यार्थीहरुले 'हामी हजुरहरुको पार्टीमा बसिसक्यौँ' भनेर जानकारी गराए। एकछिन हामी अवाक्, कुन पार्टी भनेर सोधेको 'विप्लव पार्टी' को सङ्गठन। त्यतिबेला नेपाल सरकारले उक्त पार्टीलाई प्रतिबन्ध लगाएको थियो। ती विद्यार्थीहरु सोच्थे विद्यार्थी सङ्गठन भनेको सबै एउटै पार्टीको हुन्छ।
जसरी अहिलेको पुस्तालाई प्रविधि बुझाउन जति सजिलो छ, त्यसरी नै राजनीति बुझाउन निकै जटिल। उनीहरु राजनीति मुक्त समाज चाहान्छन् जबकि उनीहरु बुज्दैनन् राजनीतिले समाज मात्र नभएर यो संसार चलाइरहेको छ।