बिहान १० बजे।
रूपन्देहीको जिल्ला प्रशासन कार्यालयमा राष्ट्र गानको धुन बजिरहेको थियो।
त्यही बेला कार्यालयको गेटै अगाडि गीता ढुंगाना ठेलामा पसल थाप्दै थिइन्।
फलामका पाइप जोडेर बनाइएको ठेलाका चक्का पुराना र मक्किएका छन्। पातलो टिनको छानो छ।
त्यही ठेलामा राहदानी (पासपोर्ट) र नागरिकता हाल्ने खोल (कभर) हरू डोरी बाँधेर झुन्ड्याइएको छ। केही थान नेपाली कागज, हुलाक टिकट, प्लास्टिकको फाइल ब्याग तथा नागरिकता र राहदानीका लागि चाहिने फारम पनि छन्। चिप्सका दुई–चार प्याकेट, चटपटेका लागि चाहिने एक–दुई पोका भुजा, दुई–चार दाना उसिनेका आलु, प्याज, नुन, खुर्सानी, केही प्याकेट चुइङगम र चकलेट पनि सजाइएको छ।
यी गीताले दिनभरि बिक्री गर्ने पसलका सामग्री हुन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धिताल डाँडामा जन्मिएकी गीता भैरहवा आएको २५ वर्ष भयो।
'२० वर्षदेखि यही जिल्ला प्रशासन कार्यालय अगाडिको यही ठाउँ र यही ठेलामा पसल थापेर गुजारा धान्दै आएकी छु,' ४६ वर्षीया गीताले भनिन्।
६ दिदीबहिनी र एक भाइमध्ये सबभन्दा जेठी हुन् गीता। धिताल डाँडामा कुटो–कोदालो गर्दै बाल्यकाल बिताइन्। खेतीपातीबाटै आठ जनाको परिवार पाल्न आमाबुबालाई सजिलो थिएन। त्यसैले गीता उनीहरूलाई सघाउँथिन्।
स्कुल जाने उमेरमा वनपाखादेखि खेतबारीको र भाइबहिनी हुर्काउने काम उनले गरिन्।
माछापुच्छ्रेकै डिल्लीप्रसाद ढुंगाना भैरहवामा ठेला–पसल चलाउँथे। २०५८ सालमा गीताको डिल्लीसँग बिहे भयो। बिहेपछिका दुई–तीन वर्ष जेनतेन चले। चार वर्षमा उनीहरूका दुई छोरा जन्मिसकेका थिए।
२०६३ सालमा अचानक डिल्ली बिरामी परे। टाउको दुख्ने, चक्कर लाग्ने र बेलाबेला बेहोस हुने समस्या भयो। टाढा लगेर उपचार गर्न पैसा थिएन। भैरहवाको भीम अस्पतालमा उपचार भइरहँदा उनको मृत्यु भयो।
काखमा दुइटा दूधे छोरा, आम्दानीको बाटो केही थिएन। कमाउने श्रीमानको मृत्यु भएपछि गीताका अगाडि दुःख र संघर्षका पहाड तेर्सिए।
'श्रीमानको मृत्युपछि एक्लै हातखुट्टा खियाएर हुर्काएका छोराहरू अहिले २० र २३ वर्षका पुगे,' उनले सुनाइन्।
अहिले पनि उनी संघर्ष गरिरहेकी छन्।
दुई–तीन वर्ष पहिलेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धेरै जनाले ठेलामा पसल चलाउँथे। सिद्धार्थनगर नगरपालिकाले सडक पेटीका ठेला हटायो। वर्षौंदेखि त्यही ठेलामा पसल थापेर छोराहरू हुर्काएकी गीताको दुःख देखेर होला, हटाएन।
'मैले भोगेको दुःख त यही सडक र ठेलाले पनि बुझेको छ जस्तो लाग्छ। दुइटा दूधे बालकसँग सडकमा ठेलामा पसल चलाएर खान कत्तिको दुःख भयो होला,' गीताले भनिन्।
गीताले बीस वर्ष पहिले दुई हजार पाँच सय रूपैयाँमा यो ठेला किनेकी थिइन्। फलाममा खिया लागेर कच्याककुचुक भएको यो ठेलाको आकार मात्र थियो। उनले हरेक वर्ष यसलाई मर्मत गरेर अहिलेको स्वरूपमा ल्याइन्।
एक वर्ष चक्का फेरिन्, अर्को साल फल्याक बिच्छाएर सामान राख्ने बनाइन्। अर्को वर्ष फल्याक हटाएर फलाम राखिन्, अनि अर्को साल टिन राखेर छानो बनाइन्। तर अहिले पनि उनको ठेला सग्लो छैन।
श्रीमानको मृत्युपछि गीताले ठेलामा पसलसँगै अरूको घरमा झाडु र पोछा लगाउने काम गरिन्। सार्वजनिक बिदाको दिन हाटबजारमा सामान बेचिन्। एउटा घरमा महिनाभरि झाडु र पोछा लगाउँदा ७ सय रूपैयाँ आउँथ्यो। कुनै घरले एक हजार पाँच सय रूपैयाँसम्म दिन्थे।

'मैले धेरै वर्ष धेरै नै दुःख गरेँ। बिहान तीन बजे उठेर छोराहरूलाई खाना पकाएर ६ बजे अरूको घरमा पुगिसक्थेँ। दिनभरि ठेलामा पसल गरेर साँझ फेरि एक–दुई घरमा काम गर्न पुग्थेँ,' उनले भनिन्, 'अब त शरीर पनि थाकिसक्यो। अब जति कमाइ हुन्छ, त्यति खान्छु भनेर अरूको घरमा काम गर्न जान छाडेँ। जेठो छोराले पनि दुई–चार हजार सघाउन थालेको छ।'
उनका जेठा छोराले भैरहवाको आश्रममा बसेर संस्कृत पढे। अहिले काठमाडौंको आश्रममा बसेर आचार्य गर्दैछन्। पूजापाठ पनि गराएर कमाउन थालेका छन्।
कान्छो छोरा काठमाडौंमै आइटीमा स्नातक तह पढ्दैछन्।
'जेठोलाई पढाउन त्यति खर्च परेन। आश्रममै बसेर पढ्यो, अहिले अलि अलि पूजापाठ गराएर कमाउन थालेको छ। उसले सघाउन थालेपछि कान्छोलाई पढाउन सकिएको छ,' गीताले भनिन्।
पहिले ठेलाको व्यापार राम्रो भए पनि अचेल घट्दै गएको छ।
चार–पाँच वर्ष पहिलेसम्म पान, गुट्खा र चुरोटबाटै दिनमा तीन–चार सय रूपैयाँ आम्दानी हुन्थ्यो। अहिले त्यस्ता वस्तुको बिक्री बन्द छ।
त्यस्तै हुलाक टिकट मात्रै दिनको एक हजार रूपैयाँभन्दा बढीको बिक्री हुन्थ्यो। अहिले दिनमा आठ–दस वटा पनि बिक्दैन। राहदानी र नागरिकताको खोल, नेपाली कागजको बिक्री पनि घटेको छ।
नागरिकता र पासपोर्टको फारम अनलाइनमा भर्न थालेपछि र पहिले जिल्ला प्रशासन कार्यालयबाट मात्र हुने सेवाहरू अहिले इलाका प्रशासन कार्यालयबाटै हुन थालेपछि पनि आफ्नो व्यापार घटेको उनले बताइन्।
'यहाँबाट हुने सेवाहरू कतिपय अनलाइनमा गए, कति इलाका प्रशासनतिर गए। जनतालाई त सजिलो भएको छ होला तर हाम्रो व्यापार हरायो,' उनले भनिन्, 'पहिले दिनमा चार–पाँच हजारसम्मको व्यापार हुन्थ्यो। अहिले हजार–१२ सयको हुन पनि मुस्किल पर्छ।'
उनले चटपटे बनाउन थालेको भने दुई महिना मात्र भयो।
गीताको तनाव व्यापार कम भएकाले मात्र बढेको छैन। नगरपालिकाले सडकमा ठेला राख्न नपाइने भन्दै सटर लिएर व्यवस्थित पसल चलाउन आग्रह गरिरहेको छ। यसअघि पनि सडकमा ठेला राख्न नदिने भन्दै पाँच–६ वर्ष नवीकरण गरिदिएको थिएन।
उनका अनुसार गत वर्ष उल्टै नवीकरण किन नगरेको भन्दै साढे २२ हजार रूपैयाँ जरिवाना लिएर नवीकरण गरिदिएको थियो। अहिले फेरि नवीकरण गर्न नमानेको उनले बताइन्।
'पोहोर ऋण खोजेर जरिवाना तिरेर नवीकरण गरँ। अहिले नवीकरण गर्न जाँदा अब ठेला हटाउने हो, नवीकरण गर्न मिल्दैन भनेर फर्काइदिए। अहिले नवीकरण नगर्ने हो भने पोहोर जरिवाना लिएर किन नवीकरण गरेको होला है,' गीताले गुनासो गरिन्।